कविता : प्रेम

~ध्रुवसत्य परियार~Dhrubasatya Pariyar

सिपाहीले सोध्यो–
हे पादरी, प्रेम के हो ?
भ्यालेन्टाइनले भने–
तिमीले तिम्रै मनको मलिलो माटोमा
तिम्रै हृदयको कलिलो हाँगामा
प्रेमको फूल फुलाउन सक्छौ
अनि, अनुभूतिको आगो बालेर
तिम्रै दिलको दीपिकामा
प्रेमको दियो जलाउन सक्छौ
तर प्रेमको फूल फुलाउन तिमीले खेप्नैपर्छ
मनको खेत खनिँदाको पीडा
प्रेमको दियो जलाउन
पहिले सहनैपर्छ
अनुभूति बल्दाको वेदना ।

०००

पीडाको भयंकर पर्खालभित्र
वेदनाको बगैँचामा
प्रेमको फूल फुलिरहेको हुन्छ ।
घृणाको घोर घरभित्र
उपेक्षाको अँध्यारो कुनामा
प्रेमको दियो जलिरहेको हुन्छ
घृणा गरिरहेकाहरुले नै तिमीलाई प्रेम गरिरहेछन्
केही पाइला पछि हटेर हेर त
घृणाको घर पनि प्रेमकै पहाडमा उभिएको हुन्छ ।

०००

प्रेम पाउन सजिलो छैन
प्रेमले सधैं पारि बोलाउँछ
पीडाको पहाड
खेदको खोला
आँसुको सागर
तिरस्कारको तारेभीर
धेरै धेरै दुःखपीर भन्दा पारि
जसलाई तिमीले तर्नैपर्छ
प्रेमका लागि तिमी झुक्नैपर्छ र झर्नैपर्छ
प्रेमले हारेर नै जित्दछ
प्रेम मरेर पनि बाँच्दछ
जीवनमा प्रेममा ज्योति भएर झल्कन्छ
मरणमा प्रेम मोती भएर टल्कन्छ
र सधैं प्रेम उन्मुक्त भएर टोलाउँछ
हो, प्रेमले सधैं पारि बोलाउँछ ।
000
हातमा तरबार लिएर
रिसले चुर हुँदै राजाले सोध्यो—
के तँलाई अहिले पनि प्रेमले नै बोलाइरहेछ ?
हो, मलाई अहिले पनि प्रेमले नै बोलाइरहेछ ।
भ्यालेन्टाइनले हाँसिहाँसी मृत्युवरण गरे ।
उनका पार्थिव शरीरलाई
सारा सिपाहीको जमातले सलामी चढायो
राजाले आफू अपमानित भएको महसुस गर्यो
त्यहाँपछि,
हरेक सच्चा सिपाहीको तोडतोड सलामले भन्छ—
यो एकसाथ ताना शाहको तिरस्कार हो
अनि प्रजातन्त्र र प्रेमवादको पूजा हो
जुन अझै अपुग भइरहेछ ।

(स्रोत : कविता संग्रह “बकपत्र”(०६५) बाट सभार)

This entry was posted in कविता and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.