~सरण राई~
के तिमी एक्लै हिँडिरहेका छौ ?
हो र, म एक्लै देखिन्छु
हिँड्दा हिँड्दै म एक्लै भएछु र हिँडिरहेछु
बेसुरा गतिशील बेग्लै भएछु र बगिरहेछु
भोकाभोका, दुब्लादुब्ला युवाहरू सँगसँगै हिँडेका थियौँ
खाना देख्दा झिना झपटीमा छुट्टियौँ कि…
खान पाउनेहरूले छाडेर गए
नपाउनेहरू पछाडि छुटे
पेट पाल्ने जीवन धान्ने बेइमानी युद्धमा
निर्मोही, निर्दयी अविरल यात्राको अन्तरालमा
म एक्लै भएँ कि… बूढो भएँ कि…
छट्टुहरू अगाडि गए, लाटाहरू पछाडि छुटे
अविरल यात्रा हिँडाइमा म एक्लै भएँ कि…
तर खै, म कहाँ एक्लै छु र ?
मसँग हिँडिरहेछन्
सुन्दर विचार, मनोरम आस्थाहरू
तीतामीठा अनुभूति, समयका अनुभवहरू
मानिसका पवित्र, कञ्चन मीठा सपनाहरू
छाल कहाँ एक्लै हुन्छ र ?
मसँग छन् म र मेरा
म एक्लैको विशाल सृष्टि भण्डार
मेरा वरिपरि घुमिरहने रमणीय नित नूतन अदृश्य संसार
हिँड्ने म, हिँडिरहने म, हिँडाउने म
म कहाँ एक्लै छु र ?
म एक्लै एउटा सशक्त समूह, समुदाय, समाज
एउटा संस्था, पूर्ण विवेक, अन्तर्मनको आवाज
सुन्दर भावना, सुन्दर रचना, सुन्दर जीवन कहाँ एक्लै हुन्छ र ?
होइन, तिमी एक्लै देखिन्छौ …
होला नि, हो नि, देखिनु र हुनुको फरक
हजारौँले घेरिएका जस्ता देखिनेहरू एक्लै छन्
अन्तरआत्मा मरेका तिनीहरू !
सृष्टिको सुन्दर धिपधिपे दियो बाल्न नछाड्ने म
एक्लो जस्तो देखिने म
छालजस्तै समुद्रले, शीतल बतासले, धरतीले घेरिएको म
म कहाँ एक्लै छु र ?
सुन्दर भाव, सुन्दर विचार, सुन्दर जीवन कहाँ एक्लै हुन्छ र ?
(स्रोत : नेपाल प्रज्ञा–प्रतिष्ठानको कविताप्रधान चौमासिक पत्रिका – “कविता” पूर्णाङ्क : ९८, असोज–पुस, २०७० बाट सभार )