~रत्ननिधि रेग्मी ‘शुक्राचार्य’~
छन्द : शार्दूलविक्रीडित
आलापोट म आउँदा अघि निकै लाग्थ्यो बडो सुन्दर
स्वर्गैतुल्य रमाइलो अझ थियो यो ठाउँ नै आखिर
बस्थे शङ्र पार्वसित घुमी बाग्द्वारका छेउमा
झर्थे साँखु भएर दक्षिण जहाँ नेपाल– कैलाशमा ।।१।।
छन् पूर्वोत्तरतर्पm गागल तथा फेदी पहाडी शिर
यस्कै पश्चिम सुन्दरीजल उँभो देखिन्छ तारेभिर
डाँछी दक्षिण फाँट, उर्वर नयाँ बस्ती यहीँ पर्दछ
सानो लाग्छ उपत्यका शिखरमा साँखु–प्रभा छर्दछ ।।२।।
गोकर्णेश्वर– सुन्दरीजल हुँदै हामी जहाँ पुग्दछौं
ढोका दक्षिण पूर्वको स्थल हिँडे डाँछी, थली भेट्दछौं
यस्कै मास्तिर भद्रबास मलिलो माटो झनै उर्वर
आलापोट भनिन्छ स्वर्गसरिको सा¥है हुँदा सुन्दर ।।३।।
देवी, देव अनेक मन्दिर ठुला छन् रूप कागेश्वर
मेला लाग्छ विशेष पर्व शिवको सम्झेर जन्मोत्सव
पानीका झरना सयौं किसिमका झर्छन् भई द्यौस्थल
बग्छिन् बागमतीसँगै मनहरा यै भूमिमा निर्मल ।।४।।
एकातर्पm छ सुन्दरीजल सधैं शोभा दिने खालको
अर्कातर्पm पहाडका लहर छन् अग्ला नयाँ–पालको
छाँगा छन्, छहरा, हरा र लहरा सौन्दर्यले वेष्ठित
देख्ता लाग्दछ स्वर्ग नै यदि भने बन्दैन को मोहित ? ।।५।।
फल्छन् धान, मकै, गहूँ थरिथरी बारी तथा खेतमा
पाखामा लहलाउँदा कुसुम रे ! फुल्छन् यही भेकमा
तर्कारी, फलपूmल, गाउँ– घरमा छन् दुग्ध उत्पादन
गाई वस्तु हरेकका घरघरै, माछा यहीँ पालन ।।६।।
कोही जागिरमा र शिक्षक, कुनै उद्योग–व्यापारमा
कोही छन् परदेशमा, शहरमा, कोही यहीँ गाउँमा
यातायात विकासको गतिसँगै फेर्दै छ यो सभ्यता
केही छैन अभाव पूर्ण सब छन् मान्छे स्वयं देवता ।।७।।
लाग्दा घाम बिहान मस्त चिडिया गर्छन् अरे चिर्बिर
आ–आफ्ना घर कामकाजतिर नै लाग्छन् गरी तर्खर
पैह्लो याम भनौं वसन्त ऋतुको आरम्भ बोकीकन
गर्छिन् गान–बजान रे ! प्रकृतिले यै ठाउँ रोजीकन ।।८।।
यस्तो गाउँ भुलौं म आज कसरी मान्दैन भित्री मन
पैह्लो पर्दछ पाइला यदि भने फेरिन्छ है जीवन
हेर्ने चीज यहाँ अनेक थरि छन्, आँखा दुई मात्र छन्
देखेको जति पाइँदैन किन हो ? जो दृश्यमा कैद छन् ।।९।।
घुम्तीमा कविता सुनाउन भनी गोष्ठी चल्यो गाउँमा
लावा– लस्कर साथमा कविहरू आयौं यही ठाउँमा
आएको छ बडा दशैं नजिकमा मैह्ना हुँदा आश्विन
मैले यो शुभ– कामना सबजनालाई गरेँ अर्पण ।।१०।।
(यो कविता छन्दमा लेखिएकाले कृपया ह्रस्व, दीर्घ परिवर्तन नगरिदिनु होला, छन्दभंग हुनसक्छ ले.) ।
– महाकवि देवकोटा आश्रम, काठमाडौं ।
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिक – “इन्द्रेणी”)