~महेश पौड्याल~
इन्द्रबहादुरले कतिवटा कथा लेखे त्यो अध्ययनको एउटा पाटो हो । तर उनले दिएका तीन सङ्ग्रहमा उनी तीनरूपमा प्रस्तुत भए, जसको प्रभाव नेपाली कथासाहित्यमा ठूलो पर्न गयो । विपना कतिपयले राईलाई एउटा सशक्त यथार्थवादी कथाकारका रूपमा प्रस्तुत गर्याे र दार्जिलिङका पहाडभरि छरिएका नेपालीहरूका दैनन्दिन दुःख र पीडाका कारुणिक यथार्थहरूलाई आख्यानको माध्यमबाट सतहमा ल्याइदियो ।
बालासन, छोटा रंगीत, टिस्टा, कालिम्पोङ र गान्तोक जोड्ने साँघुरो सडक, चियाकमान र त्यहाँ उम्रिएका असङ्ख्य दुःखका कारुणिक कथा, आम मान्छेका सपना र विसंगत जिन्दगी, र तल मैदानमा सुतेको बेखबर प्रशासन । यी ती चित्रविम्ब हुन्, जसको योगले हाम्रो सचेत मस्तिष्कमा इन्द्रबहादुर राई नाम गरेको एउटा विशाल गन्धमादन पर्वतको कलाकृति प्रस्तुत गर्दछ, जसबाट आज पनि सयौं आख्यानकारहरू नवीनताको सञ्जीवनी उघाइरहन्छन्, पिइरहन्छन् ।
बंगालको सिलिगुडीमा इन्द्रबहादुर राईको चेतनाभन्दा पनि पुरानो, एउटा आदिम मोड छ, जसको नाम हो दार्जिलिङ मोड । यो फगत एउटा अर्को मोड होइन, जहाँ संसारका कुनै पनि शहरमा जस्तो कुनै अन्जान पथिक अल्मलियोस् । यो मोड धेरै राम्रा नराम्रा परिवर्तनको साक्षी हो, नक्सलवादको एउटा दस्तावेज हो, उपेक्षा र प्रहसनको दर्शक हो, समथर मैदान र भोका पहाड जोड्ने एउटा गोरेटो हो । सारमा, त्यो मोड इन्द्रबहादुर राईजस्तै एउटा युगको नाम हो, जसले हरेक परिपवर्तनलाई दशकौंसम्म हेरेको छ, र सुटुक्क लेखेको छ, आफूले छोडिगएका अनगिन्ती पानाहरूमा । ती पानाहरू हाम्रा लागि ‘इन्द्रदृष्टि’ बनेका छन् ।
इन्द्रबहादुरका आख्यान भन्छन्, दार्जिलिङमा पहाडहरूमा जिन्दगी टिस्टा किनारमा कामदारहरूले पकाएको खीरजस्तै हो, जुन कल्पनाको तहमा रहँदासम्म मिठो छ, तर जब पकाइन्छ र खान बसिन्छ, कुनै कोणबाट पनि सपनाको आदर्श खीरजस्तो छैन । कि चामल खोटी छ, र चिनी कम छ, कि त मसला पुगेको छैन । सोचेजस्तो कहिल्यै पाएनन् इन्द्रबहादुरले जीवन । सोचेजस्तो हुँदैन भन्नु आफैंमा एउटा सिद्धान्त हो पनि भने, लीला अवधारणाका बारेमा लेख्दा वा बोल्दा व्यक्त गरेका कुनै हरफहरूमा इन्द्रबहादुर राईले ।
३ फेब्रुअरी १९२७ मा जन्मिएका थिए इन्द्रबहादुर राई । बालासन चियाबगान उनको मस्ष्किमा एउटा आदिम विम्ब बनेर प्रवेश ग¥यो, जसको गर्तमा दुःख र अनिश्चिता नै बढी थियो । छोटा रंगित र बालासनका किरिङमिरिङ मोडजस्तै जिन्दगीले हत्केलाका रेखाहरूमै लेखिदिएर गयो कथा, जसलाई इन्द्रबहादुरले कहिल्यै नमेटिने अक्षरहरूमा लेखेर छोडी गए, नेपाली साहित्यका तीर्थालुहरूका अघिल्तिर । उनका कथा फगत कथोपकथनको परम्परामा अर्को गन्थन होइनन् । ती सिद्धान्तको साक्ष्य हुन्, जुन सिद्धान्त राईले आफैं बनाए अनुभव र अध्ययनको जगमा, र आफैंले प्रयोग गरेर पनि देखाए ।
राईले उत्तरबङ्गाल विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा स्नातकोत्तर गरेका हुन् र विद्यावारिधि पनि गरेका हुन् । यो अध्ययनले उनलाई पश्चिमा सिद्धान्तहरू, विशेष गरी अस्तित्ववाद, क्युबिज्म, घटनाविज्ञान, प्रतिभासवाद, विनिर्माणवाद र उत्तरआधुनिकतासँग पौंठेजोरी खेल्न सिकायो र पृथकता खोज्न अभिप्रेरित गर्यो । भारतमा चलिरहेको भाषा आन्दोलन, भोको पिढीको अभियान, दलित पंथर तथा एंग्री यङ मेन र नेपालको राल्फा आन्दोलनले पनि राईलाई छोएकै बुझिन्छ । उनले पृथकताको बाटो रोजे, र सततः परिवर्तनशील हुनुलाई आफ्नो प्रयोगधर्मिताको मूल अभीष्ट बनाए । उनका यी मान्यताहरूको प्रयोगपक्षका साक्षी हुन् उनका कथा ।
कथा साहित्यमा के हो इन्द्रबहादुरको स्थान ?
इन्द्रबहादुर राईले साहित्यको क्षेत्रमा पचासको दशकमा प्रवेश गरेका हुन्, जसको अन्त्यतिर दार्जिलिङबाट प्रकाशित साहित्य संगम पत्रिकामा उनको ‘रातभरि हुरी चल्यो’ शीर्षकको कथा प्रकाशित भयो । त्यसताका दार्जिलिङ र नेपाली दुवै भूगोलमा यथार्थवादी सामाजिक कथाको धारा सुरु भइसकेको अवस्था थियोे, तर तीमध्ये अधिकांश आदर्शवादी हुन्थे । ‘रातभरि हुरी चल्यो’ विसंगत जिन्दगीको अनिस्चितता र अर्थहीन संघर्षका कुरा लिएर आयो, जसले कथा साहित्यको रजतपटमा एउटा नयाँ तर्क गरेर गयो ।
आँधीबाट प्रभावित एउटा गरिब परिवारको कारुणिक कथाको माध्यमबाट इन्द्रबहादुर राईले प्रकृति मानव अवस्थितिप्रति न संवेदनशील हुन्छ, न त संवेदनाहीन हुन्छ, तर ऊ फगत असंवेदित हुन्छ, र हाम्रा यथार्थ र अपेक्षाभन्दा माथि आफ्नै गतिमा निर्वाध कार्यरत हुन्छ भन्ने यथार्थ प्रक्षेपण गरे । सन् १९५९ मा दियालो पत्रिकामा उनको ‘सपनाको शक्ति’ प्रकाशित भयो, जसले राई ब्रान्डको विसंगत कथाकारितालाई नै अगाडि बढायो । १९६३ मा तेस्रो आयाम पत्रिकामा ‘ब्याक आउट काजु बदाम छोरा’ प्रकाशित भयो, जसबाट इन्द्रबहादुरको आयामेली चिन्तन कथासाहित्यमा प्रविष्टमात्रै भएन, परिपक्व पनि भयो । विपना कतिपय (१९६२), कथास्था (१९७२) र कठपुतलीको मन (१९८९) उनका कथाका तीन सँगालाहरू हुन्, जसको जगमा कथाकार इन्द्रबहादुरको भव्य व्यक्तित्व आलोकित भएर आएको देखिन्छ ।
विपना कतिपय सन् १९६२ मा श्याम ब्रदर्श दार्जिलिङबाट प्रकाशित भएको हो । यस संकलनमा राईले कथासाहित्यमा प्रवेश गर्दाताकाका तथा पचासको दशकभरि लेखेर फुटकररूपमा प्रकाशित कथाहरू संग्रहित छन् । यस संकलनमा उनका कतिपय कालजयी कथा संग्रहित छन्, ‘जसमा रातभरि हुरी चल्यो’, ‘जयमाया आफूमात्रै लिखापानी आइपुगी’, ‘सपना शक्ति’, ‘चपरासी’, ‘मेरी दिदी’ ‘रहलपहल’ आदि कथाहरू संग्रहित छन् । अधिकांश कथाहरू दार्जिलिङकै सेरोफेरोका हुन्, र त्यस भेगका नेपालीहरूको आर्थिक सामाजिक दुःख, रोजगारीका लागि पलायन हुनुको पीडा, र त्यससँगै आइपरेका दुःखहरू लेखिएका छन् । सपना र यथार्थबीचको बेमेल यी कथालाई जोड्ने मुख्य कडी हो ।
सन् १९७२ मा राईको कथास्था कथासंग्रह प्रकाशित भयो, जुन् आयामेली चिन्तनको उत्कर्ष पनि थियो । आफूले तेस्रो आयाम पत्रिकाको अंक एकमा प्रतिपादन गरेको दृष्टिकोणको प्रयोगपक्ष राईले यस संग्रहमार्फत् सतहमा ल्याए, जसलाई आज पनि पाठकहरू आख्यानमा आयामेली लेखनको सारतत्व बुझ्नलाई पल्टाइरहन्छन् । सम्पूर्ण स्थापित र पारम्परित परिभाषाभन्दा पृथक, आफ्नै एउटा विशिष्ट परिपाटीको निर्मितिमा उनका कथा यहाँबाट प्रविष्ट हुन्छन् ।
उनको कथाको सतहमा सामान्यजस्तो लाग्ने एउटा कथानक पाइन्छ, तर त्यसको अन्तर्यमा जीवनको, विषेश गरी यसको विसंगत यथार्थको गहिरो अन्तरर्बोध निहित रहेको पाइन्छ । उदाहरणका लागि, ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ एउटा समूहको बर्माबाट नेपालतर्फको यात्राको कथा हो, तर लिखापानी आइपुग्दासम्म बाटैमा सबै छिन्नबिन्न भएका छन्, हराएका छन् अथवा मेरेका छन् । एउटी पन्ध्र वर्षकी किशोरी जयमाया मात्रै लिखापानी आइपुगेकी छे, र ऊसँग उसको उमेरले धान्नेभन्दा धेरै गह्रुँगा जिम्मेवारी छन् । सतहमा सामान्य लाग्ने यस कथाले अपेक्षाको जिन्दगी र जमिनी यथार्थबीच कति गहिरो खाडल विद्यमान हुन्छ, र मान्छे आफ्नो इच्छाशक्तिले कम र कालक्रमले बढी निर्देशित हुन्छ भन्ने यथार्थ यस कथाबाट राईले अभिव्यक्त गरेका छन् । यो आफैंमा एउटा दार्शनिक तर्क पनि हो । कथास्था कथासंग्रहका अन्य कथाहरूमा ‘एउटा दिनको सामान्यता’, ‘एउटा विचारको यात्रापथ’, ‘ब्याक आउट काजु बदाम छोरा’, ‘त्यसरी बाँचेको छ त्यसरी’, ‘हामीजस्तै मैनाकी आमा’ आदि आदि कथाहरू संग्रहित गरिएको छ ।
सन् १९८९ मा प्रकाशित कठपुलतीको मन कथासंग्रह भने लीला अवधारणाको प्रयोगपक्ष हो भन्ने समालोचकहरूको बुझाइ छ । कृष्णको लीला अनेक ्रूपमा देखिएझैं संसार पनि अनेक छ, र एउटा सर्जकको सिर्जना पनि । त्यसलाई कुन दृष्टिकोणबाट हेरिन्छ, त्यसैअनुरूप त्यो दृष्टिगोचर हुन्छ । सत्य पनि एउटा तर्क हो । त्यो समय, स्थान र विचारसापेक्ष हुन्छ, तर कुनै पनि सत्य अन्तिम वा शाश्वत हुँदैन भन्ने लीलालेखनको मूल तर्क हो ।
इन्द्रबहादुरले कतिवटा कथा लेखे त्यो अध्ययनको एउटा पाटो हो । तर उनले दिएका तीन सङ्ग्रहमा उनी तीनरूपमा प्रस्तुत भए, जसको प्रभाव नेपाली कथासाहित्यमा निकै ठूलो पर्न गयो । विपना कतिपयले राईलाई एउटा शसक्त यथार्थवादी कथाकारका रूपमा प्रस्तुत ग¥यो, र दार्जिलिङका पहाडभरि छरिएका नेपालीहरूका दैनन्दिन दुःख र पीडाका कारुणिक यथार्थहरूलाई आख्यानको माध्यमबाट सतहमा ल्याइदियो । कथास्थामा आइपुग्दा राई पूर्णरूपमा आयामेली बनेर देखा परे, जससँगै उनको कथा लम्बाइ र चौडाइभन्दा पनि कुनै दार्शनिक गहिराइतिर लम्किए । यो तेस्रो आयाम अर्थात् गहिराइ उनको दोस्रो चरणका कथाको प्राणतत्व थियो । तेस्रो आयामका बारेमा राईले आफैंले भनेका छन्, ‘कथा वा कविता जे होस्, त्यो मात्र एउटा दुःखीको कथा कवितामा मात्र सीमित रहनुहुँदैन । त्यो माथि उठ्नुपर्छ, त्यो सानो कुरा पछाडि एउटा विशाल विचार निहित होस् माथि दर्शनको आकाश टाँगिएको होस् ।’ उनले यसै अवधारणालाई प्रयोगमा ल्याए, र कथास्थ लेखे ।
उनको तेस्रो कथासङ्ग्रह कठपुतलीको मन लीला अवधारणामा आधारित छ, जसले संसारिक ‘सत्य’ हरूलाई भ्रमको रूपमा चित्रित गरेको छ । नेपाली आख्यानसाहित्यमा यसको प्रभाव आजसम्म पनि निरन्तर रहेको छ । कृष्ण धराबासी, रन्तमणि नेपाल, सञ्जीव उप्रेती, कृष्ण बरालहरूका आख्यानमा लीलाको स्पष्ट प्रभाव आज पनि देख्न सकिन्छ । यो इन्द्रबहादुर राईले बनाएको राजमार्ग नै हो ।