~विश्वराज अधिकारी~
क्यानडा बसेको दस वर्ष भयो तर यो बितेको दस वर्षमा उसले थाहा पाउन नसकेको कुरा केही छ भने त्यो हो उसले यहाँ सुखमय जीवन बिताइरहेको छ वा उसको जीवन स्वदेशमा भन्दा झन् बढी दु:खमय हुन पुगेको छ, यो परदेशमा । कतिपटक उसले यस विषयमा चिन्तन मनन गर्यो । आफूले आपैंmलाई चित्त बुझ्ने किसिमको उत्तर दिन सकेको छैन, आफूलाई विदेशमा राम्रो लागेको छ वा छैन भन्ने आफ्नै अन्तरमनले सोधेको यो प्रश्नको । आफूलाई विदेशमा रमाइलो वा नरमाइलो, के लागेको छ त्यही आधारमा उसले अर्को एउटा निर्णय पनि गर्नुपर्ने छ । त्यो निर्णय हो– बाँकी जीवन विदेशमा नै बिताउने अथवा स्वदेश फकिर्ने । पहिलो प्रश्नको उत्तर उसले पाउन नसकेकोले दोस्रो प्रश्नको उत्तर खोज्ने आँट गर्न सकेको छैन, दिवाकरले ।
तर आज दिवाकरले निर्णय गर्नुपर्ने छ, टु·ोमा पुग्नुपर्ने छ– विदेशमा बिताइरहेको जीवन अनुभूतिको कसीमा आनन्ददायी छ कि कष्टकर ?
ऊ भान्सामा जान्छ, इलेक्ट्रिक ओभन अन गर्छ । माइक्रोवेभ ओभनमा सिरियलमा हाल्न (खाजाको लागि) दूध तताउँछ । घरमा चौबीसै घण्टा बिजुलीको आपूर्ति भएको देखेर द· पर्छ । नेपालमा जहिले पनि हुने लोडसेडिङ सम्झन्छ । माजी सकेको भाँडा डिस वासरबाट झिक्छ । तरकारी पखाल्न धारा खोल्छ । पानीको धारो बग्न थाल्छ ठूलो बेगका साथ । अटुटरूपमा पानीको आपूर्ति देखेर प्रसन्न हुन्छ । नेपालमा हुने पानीको अभाव सम्झेर आफू टोरन्टो बसेकोमा स्वयंलाई भाग्यमानी ठान्छ । जाबो पानीको पनि चिन्ता गर्नुपर्ने समस्याबाट मुक्त भएकोमा गौरव गर्छ । घरको गराजमा राखिएको कार झिक्छ । कार स्टार्ट गर्छ । बाहिर हिउँ परेर, अति नै चिसो भएकोले कार न्यानो पार्न एसी अन गर्छ । कार तात्दै जाँदा उसको प्रसन्नताको सीमा पनि विस्तारित हुँदै जान्छ । बेरोजगारी र अभावमा नेपालमा बितेका जीवनका कष्टकर क्षणहरू झलझल सम्झन्छ । फेरि आफूलाई भाग्यमानी ठहर गर्छ, विदेश बस्न पाएकोमा । सन्तोषको साँस फेर्छ । कारलाई हाइवेमा कुदाउँछ, बिना कुनै रोकटोक, स्टोरको दिशातर्फ लम्किंदै । फेरि, नेपालका साँघुरा सडकहरू, जाम, त्रिशूली नदीमा बस बेपत्ता, मोटर दुर्घटना आदि इत्यादि सम्झन्छ । अनि जुलुस, प्रदर्शन, चक्काजाम, बन्द, हडताल पनि सम्झन्छ । द· पर्दै कारभित्र बज्दै गरेको गीत झनै चर्को पार्छ ।
स्टोरबाट फर्केपछि ग्रोसरी थन्क्याउँछ । हरियो तरकारीहरूलाई फ्रिजमा राख्छ । फ्रिज बन्द गर्दा त्यसभित्र राखेको खसीको मासु देखेपछि बल्ल सम्झन्छ र आपैंmले सुन्ने गरी भन्छ– हत्तेरी, आज त भाइटीका पो हो, झन्डै बिर्सेको । आज बिहान भाइटीकाको दिन, खसीको मासु पकाउने विचार गरेको थिएँ, बिर्से छु । अहिले, साँझ पकाउने विचार गर्छ । तर फेरि आपैंmले सुन्ने गरी भन्छ– एक्लोको लागि के पकाउनु ? यस्तो मीठो मसिनो त आफ्ना परिवारका सदस्यहरू, दिदीबैनीहरूसँग बसेर खान पाए पो त रमाइलो हुन्छ । छेउको ऐनामा नजर पर्छ । भाइटीकाको दिनमा पनि निधार रित्तो देखेर खल्लो महसुस गर्छ । स्वदेशमा, भाइटीकाको दिनमा दिदीहरू घरमा आएको सम्झिन्छ । दिदीहरूले अति माया गरेको पनि सम्झन्छ । आफू सबैभन्दा कान्छो सन्तान, कान्छोलाई सबैले अझै बढी माया गर्ने सम्झन्छ, यो पैतीसवर्षे उमेरमा पनि । आज भाइटीका हो भनी झन्डै बिर्सेकोमा दिक्क मान्छ । केही दिन पहिले दशैं पनि यसै गरी बितेको थियो, एक्लै नितान्त एक्लै । भोलिपल्ट मात्र थाहा पाएको थियो हिजो टीका थियो भनेर । त्यो पनि घरबाट फोन आएपछि ।
काममा ज्यादै व्यस्त भएर इन्टरनेट चलाउन पाएको थिएन । उसले सोच्यो– यो दिनमा दसैं छ भनी थाहा पाएर पनि के गर्नु ? उसले कसलाई टीका लगाउनु, कसले उसलाई टीका लगाइदिने । यो उमेरसम्ममा पनि ऊ अविवाहित छ । यो उमेरसम्ममा पनि किन बिहे हुन नसकेको उसलाई पनि थाहा छैन, ठीकसँग । कसैले किन बिहे नगरेको भनी सोध्दा भन्छ– अब गर्छु, यो वर्ष गर्छु, अर्को वर्ष नेपाल गएको बेला उतैबाट बिहे गरेर आउँछु । कहिलेकाहीँ त उसलाई दिक्क पनि लाग्छ कसैले किन अहिलेसम्म बिहे नगरेको भनी सोध्दा । भन्न पनि मन लाग्छ– तिमीहरूलाई के थाहा विदेशमा, फरक समाजमा आफू मिल्दो पत्नी खोज्न कति गार्हो हुन्छ भन्ने कुरा । यी कुराहरू सम्झेर दिक्कदार लाग्छ विदेशको बसाइँ उसलाई । दुई वर्ष पहिले, कामको बोझले गर्दा, आमाको मृत्यु हुँदा पनि नेपाल जान नपाएको सम्झिन्छ । त्यसपछि बुबा बिरामी हुँदा नेपाल जान नपाएको आँखा अगाडि झलझली आउँछ । विदेशको, ठूलो शहरको, जीवन उसलाई यान्त्रिक लाग्छ, नीरस लाग्छ । जीवनका महत्त्वपूर्ण क्षणहरू मानसिकरूपमा कष्टकर किसिमले विदेशमा बितिरहेको छ जस्तो लाग्छ उसलाई ।
अघिदेखि घोत्लिएको विषय याद गर्छ । विदेशको बसाइँ उसका लागि कष्टकर वा आनन्दायी के रहेको भन्ने प्रश्नको उत्तर जुन उसको अन्तरमनले सोधेको छ को जवाफ दिनुपर्ने सम्झन्छ । यस प्रश्नको उत्तर आफूसँग नरहेको थाहा पाउँछ । तर पनि निर्णय गर्छ, दोस्रो विषयमा । निर्णय यस्तो गर्छ– शारीरिकरूपले विदेशमा बस्ने, मानसिकरूपमा भने स्वदेशमा नै ।
समाप्त
(स्रोत : प्रतीक दैनिक पत्रिका)