कथा : भीडमा एक्लो मान्छे

~मधुवन पौडेल~Madhuban Paudel

ओहो ! कति भीड ! कहाँबाट आउँछन् मान्छे पनि ! त्यो दिन भोटाहिटीबाट इन्द्रचोक छिचोल्ने बाटो हिँडिनसक्नु थियो । रिक्सा, साइकल, गाडी अनि त्यसमा बाटोका दुवै छेउछाउमा नाङ्ले पसल ! अफिस छुटेर घर फर्केकाहरूको भीड, असनमा तरकारी किन्न जानेको भीड, अन्नपूर्णको स्थानमा बत्ती बाल्न आउनेको भीड, कुनाको पसलवरिपरि त सुत्केरीनिम्ति क्वाटी-वासः किन्नेको भीड अनि फाट्टफुट्ट हूलमूल गर्दै आएका अल्लारे केटाहरूको भीड !

यस्तो भीड मनोजका लागि खासै नयाँ थिएन तैपनि इन्द्रचोकतिर जानेभन्दा असनतिर आउनेहरूको भीड देख्दा उसको मनमा कौतूहल लाग्नु स्वाभाविकै थियो ।

भीडबाट कसैले चिच्यायो, “ए ! मनोजे ! कहाँ घर हिँडेको ? हिँड् जुलुसमा जाउँ ! भुट्टोलाई झुन्ड्यायो रे !”

मनोजले आफूतिरै लम्किरहेको एक हूलको माझमा वीरसुन्दरलाई देख्यो र मुसुक्क हाँस्यो । उसलाई तरकारी दुई मुठा, एक बट्टा दूध किनेर डेरा पुग्ने हतार थियो । त्यसैले ‘मलाई अन्तै जानु छ यार !’ भन्दै ऊ आफ्नै बाटो लाग्यो । वीरसुन्दरचाहिँ सनक्क परेर ‘स्साले खरदारको जागिरमा जिन्दगीभर बसेर स्वास्नीको फरियामै गुटमुटिई तँ …’ भनेर सराप्दै अघि बढ्यो ।

वीरसुन्दरको तीखो तर मार्मिक बज्रवाणले बिझे पनि मनोज खुरुखुरु आफ्नो बाटो लाग्यो । ऊ त्यस्तै त थियो । फेरि तीन दिनपछि ‘ए मनोजे ! म त भाउजूको हातको गुन्द्रुक भात खान आ’को ! तीन दिन भइसक्यो, कट्याककुटुकको भरमा हिँडेको’ भन्दै मनोजको ढोका ठटाउन आइहाल्यो । अनि, उसका बाह्र-सत्ताइस कुराले मनोजका लोग्नेस्वास्नी मात्रै होइन, छोरी पनि ‘त्यो अङ्कल त ते ते भन्थ ते ते ! बोली मात्र रन्थ !’ भन्दै झर्को पनि मान्ने गर्थी ।

वास्तवमा ऊ खराब मान्छे थिएन । डुम्रे बजारमा उसका बाबु सानो किराना पसल चलाउने गर्थे । एउटै छोरो भए पनि पुरेतका सबै छोरा काठमाडौँ बसेर पढेपछि ठूला मान्छे भए भनेर बाबुले उसलाई पनि पढ्न पठाएका रे ! तर, पाँच वर्षस्कुल चहार्दै जाँदा पनि वीरसुन्दरले म्याटि्रक पनि पास गर्न सकेन । कहिले कतै मारवाडीको गद्दीमा, कहिले कुनै नेताको भोलेन्टियर र कहिले बसको कन्डक्टरको जागिर खाँदाखाँदै ऊ बाबुआमालाई ढाँटिरहेको हुन्थ्यो । दुई वर्षघि हिउँदमा बाबुले बिहे पनि गरिदिएका थिए । तर, ऊ निश्चिन्त थियो, त्यसै नै खुसी थियो ।

“ए मनोजे, तेरोजस्तो स्थायी जागिर भए त शर्मिलालाई ल्याउँथेँ ! के गर्ने अब ! जहिले जाँदा पनि आँसुका ढिक्का खसाल्दै मलाई काठमाडौँ लैजाने भए लैजाऊ, नत्र भने कुनै दिन बास बस्न आउने लाहुरेले टिपेर लान्छ भन्दै रुने गर्थी रे !”

“एउटा टिक्ने काममा लाग्नर्ुपर्छ नि त ! अनि दुःखजिलो गर्दै चलिहाल्छ नि !” मनोज भन्ने गथ्र्यो ।

“तँ स्साले काँठे ! घरबाट चामल ल्याउँछस्, घरपतिका भाञ्जी पटाउँछस्, खरदारको तलब पाउँछस् र त मैले कहिलेकाहीँ १० रुपियाँ सापट माग्दा तीनतिर भाँचिएर झिक्ने गर्छस्, मजस्तो तन्नम्ले स्वास्नी कसरी पाल्ने ?”

“घरजम गरेर बसेपछि सबै कुरा सोझिइन्छ नि ! केही दिन दुःख होला, मेरी स्वास्नीले कम दुःख भोगी ?” मनोज नरम भएर भन्थ्यो । तर, ऊ केही सुन्दैनथ्यो र मेरी छोरीलाई ‘तिमी स्कुल कहिले जाने त नानू ?’ भन्दै कुरो अर्कोतिर मोडिहाल्थ्यो ।

तर, त्यस्ता दिन धेरैसम्म रहेनन् । केके भयो केके भयो, भुट्टोलाई झुन्ड्याएको विरोधको किचलोमा नेपालमा जनमतसङ्ग्रह हुने भयो । त्यसभन्दा पनि मनोजलाई ठूलो पीरचाहिँ ‘कतै चुनावमा जिल्ला खटाइदेलान् कि !’ भन्ने थियो । नभन्दै मनोज कुवाकै भ्यागुतोजस्तै थियो, निस्कनै डराउने !

“तँ त स्साले बेबकूफ छेरुवा होस्, यत्रो कुरा हुन लागेको छ, तँलाईचाहिँ काठमाडौँ छोड्नुपर्ला भन्ने डर ? स्वास्नी र छोरी कसरी बस्छन् भन्ने डर ? देशमा बहुदल आउने भइसक्यो ! अब लाग्नुपर्छ, के बुझिस् ?”

वीरसुन्दरका कुरा मनोजले हावामा उडाइदियो । यत्रो आउँछ बहुदल ? कसरी आउँछ ? साता दिन पनि भएको थिएन, वीरसुन्दर हस्याङ्फस्याङ् गर्दै बेलुकी अबेरै भएपछि आइपुग्यो ।

“ए मनोज १० रुपियाँ झिक् त, म त ट्रकमा बसेर भए पनि आजै राती वीरगन्ज जानुपर्ने भो पार्टीको काममा ! वीरसुन्दरको काँधमा एउटा झोला थियो । मनोजले गाह्रो मान्दै ट्याङ्का खोलेर पाँचका दुइटा नोट थमाइदियो । १० रुपियाँले के गर्छ भन्ने सोच्दै थियो, वीरसुन्दर हिँडिसकेको थियो । त्यसैदिन जनमतसङ्ग्रहको घोषणा भएको थियो । स्वास्नी कोठाभित्र पसेजस्तो देखेर मनोज भन्दै थियो, “आज पनि ठग्यो, तीनचोटि लिँदा एकचोटि तिर्छ ! होइन के भा’को यल्लाई ? वीरगन्ज त जाला ?”

धेरै कर्मचारी जनमतसङ्ग्रह गराउन जिल्लातिर खटिए । ऊ पनि खटियो । तर, सधैँ काम ठग्ने, ३ बजेपछि भाग्ने दुई-तीन जनालाई भने हाकिमले अत्यावश्यक र्’वर्क फोर्स’ भन्दै थमौती गरेका थिए । उनीहरूले चाहिँ काठमाडौँमै बसेर निर्वाचनको काम गर्ने भनेर !

मनोज झोलागुन्टा कसेर लाग्यो पश्चिम पहाडको जाजरकोट, स्वास्नीचाहिँ महिना दिन आनन्दले माइतीमा खुट्टा पर्सार्न गई । ‘ड्याडी तिमी आउँदा मलाई नाम्लो बुट्टेफ्रक् र चकलेट ल्याऊ है !’ भन्दै छोरी पनि मामाघर लागी । जाजरकोटको बसाइ राम्रै भो मनोजलाई, पुरानो एउटा साथी नापीमा रहेछ, खुबै खातिर भो । यहाँसम्म कि चुनावका दिन पनि सबै कुरा सभापतिको जिम्मा लगाएर तास खेलेर बिताउने कामसमेत भो ! सबै ठाउँमा त्यस्तै भो भन्थे !

फर्केर हाजिर भएकै दिन हाकिमको खप्की ! “के हो काजी घर बस्ने सुर छ कि ?विरोधीसँग लाग्ने ?” नापीको उसको साथी त बहुदलतिर पो लागेको रहेछ तैपनि त्यो जिल्लामा सरकारले नै जितेको थियो । मनोज एकपल्ट निकै तर्सेको थियो र आफ्नो सफाइमा धेरै अनुनय-विनय गर्‍यो । सानो कर्मचारी भएकाले मनोज जोगियो तर विचरा मतदान अधिकृत खोसिनेमा परे ! पहाडतिरको घामले डढेको बाउलाई देखेर छोरी भन्दै थिई, “काले भो मेरो ड्याडी !”

जनमतसङ्ग्रहपछि धेरैले साधना गरे । कतिले कतिलाई बिगारे साँधी नै भएन । आफ्नो टाउको जोगाउनतिर सबै लागे वास्तवमा ! मनोज लोकसेवाको जाँचको तयारी गर्दै थियो । एउटा शनिबार वीरसुन्दर टुप्लुक आइपुग्यो, एक्लै पनि होइन फेरि!

“मनोज तँलाई चिनाउन ल्याएको । ल मीना भाउजू, तपाईंलाई पनि साथी भो अब ! सधैँ घरजम गरेन भनेको होइन ? जागिर पनि होलाजस्तो छ ।”

वीरसुन्दरको कुरा सुनेर मनोज-दम्पती दङ्गै पर्‍यो, छोरी त हातभरि चकलेट पाएर झनै दङ्ग थिई ।

“बुझिस् मनोज – म त पकनाजोलतिर र्सर्ने भएँ, यतातिर पानी नै आउँदैन, के गर्नू ! फेरि त्यता आफ्नो गाउँका मान्छे पनि थुप्रै रहेछन्, सजिलो पनि होला । आउँदै गरुला नि ! तँ पनि, एकपल्ट सबै जना मकहाँ जानुपर्छ है ? डेरा मिलाउँ, अनि !”

वीरसुन्दरको नयाँ जीवनको सुरुआत त्यसरी भएको थियो । तर, त्यस दिन हिँडेको वीरसुन्दर फेरि मनोजको डेरामा आएन । यहाँसम्म कि उसँग आउने केटी उसकी ब्वाइते स्वास्नी पनि होइन रे’छे । पार्टीको काममा वीरगन्ज हिँडेको वीरसुन्दर त अञ्चलाधीशको दाहिने हात भएको थियो रे ! दुई महिनापछि उसैकी छोरी टिपेर हिँडेको ! त्यसपछि केके भो केके ! वीरसुन्दर मोटरसाइकल चढ्न थाल्यो । कहिलेकाहीँ भेट्दा ‘ए मनोज ! तैँले त सेक्सन अफिसर भएर भोज पनि ख्वाइनस् ! के गर्ने हेर् न तँलाई बोलाउँ भनेको अब आफ्नो घरमै सरेपछि लगुँला है !’ भन्थ्यो ।

मनोजले पछि थाहा पायो, वीरसुन्दरले पनि अधिकृतकै जागिर पाएछ !

“छोरीले दिक्क पारसिकी सिनेमा हेर्न जाउँ न यो हप्ता ?” डेराभित्र पस्नासाथ मनोजलाई स्वास्नीले फकाउँदै थिई । वास्तवमा निहुँ त हो नि छोरीको ! उसलाई पनि दिनभर स्कुल अनि घरधन्दाले गर्दा निस्कन मन लागेको होला नि भन्ने सोच्दै मनोज जवाफ दिँदै थियो ।

“दिउँसो एकपल्ट साथीहरूले बालकोट जाने भनेका छन् । सस्तो घडेरी छ रे, धमाधम घर पनि बन्दैछन् रे !”

“वीरसुन्दरले त बालुवाटारमा जागिर पाएछ हगि ? त्यस्तो पो जागिर ! लोकसेवाको झन्झट पनि छैन, हिजो असनमा परिणीता भेटेकी थिएँ, सौता पोइल गई रे भनेर दङ्ग छे । कति झपक्क भएर आएकी थी !”

“भाग्यै हो ! …सधैँ यस्तै छ । यसपल्ट पनि बाहिर जानेमा परिएन, नत्र जग हाल्ने पैसो आउँथ्यो कि ! त्यो दुई महिनाअघि आएको रमेशले पो चिट्ठा पार्‍यो ।”

“भइहाल्छ नि ! दिन आउनुपर्छ क्या दिन !”

“होइन, अहिले कतै हिँड्न पाए राम्रो, गाइँगुइँ हल्ला छ, राजनीतिक गतिविधि बढ्दैछन्, फिटिक्क केही भो भने जागिरै जान्छ । बरु बाहिर जान पाए ए ! त्यो त पढ्न गएको थियो भन्छन् । यता बस्दा त ननिस्के साथीभाइ रिसाउने, निस्क्यो भने उजुरीमा परिएला भन्ने डर ! त्यो वीरसुन्दर डाँकाले कस्तो राम्रो मान्छेको जागिरै खाइदियो भन्छन् ।” श्रीमती भान्छातिर लागेकी मात्र के थिई, मनोज भोड्काको क्वार्टर निकालेर बस्यो । अनि, सधैँ सुनिने कचकच सुरु हुन्थ्यो ।

“एउटा शुक्रबार नखाए हुन्न ? एसिडिटी बढेर त्यस्तो छ ! आज फेरि छोरीको लुगा किन्दा किन्दै मासु किन्न पनि भ्याइएन !”

“सुकुटी त होला नि ?”

मनोज दम्पतीबीच हरेक शुक्रबार यस्तै वार्तालाप हुने गथ्र्यो ।

आन्दोलन बढ्दै गयो अनि अफिसमा पनि झन्झन् कडिकडाउ ! सरकारी उर्दीको हाजिरमा पनि छड्के हुन्थ्यो । तैतै मनोजको र नौमहिने तालिम मिल्यो, उसलाई मानौँ ठूलो त्राण मिलेको थियो ।
“अब प्रमोसन पनि होलाजस्तो छ,” ऊ दङ्ग थियो ।

“वीरसुन्दरको त सेतो प्लेटको गाडी पनि भएछ ! के हो त्यस्तो पढ्नु पनि नपर्ने भटाभट प्रमोसन – प्राइभेट दिएर एमए गरेको रे नि त ?”

मनोज भोड्काको चुस्कीमा नै मस्त थियो । ऊ पनि वीरसुन्दरको कायापलट सम्झेर छक्क नै थियो । नपर्नु पनि किन !

जनआन्दोलन चर्कियो । परचियपत्र नलिई साँझ-बिहान हिँड्न पनि गाह्रो थियो । मनोजको जागिर पनि आउने-जाने समय ठेगान हुन्नथ्यो । यदाकदा हाकिमको निगाहले लिफ्ट पाइटोपल्थ्यो पनि । हाकिम पनि तर्सेको थिए ।

“खोइ पञ्चायत त ढल्लाजस्तो छ । बाहिरी दबाब पनि छ, गर्न पनि अति गरे । अब हामी पनि लाग्नुपर्छजस्तो छ कसो ?”

मनोज झसङ्ग भएको थियो । यी हाकिम वीरसुन्दरका मित्र थिए । कसरी भए उनै जानून् तैपनि उसले जवाफ दियो, “खै सर, काँठे मान्छे ! कहिल्यै राजनीति गरिएन, जो आए, गए पनि हाम्लाई त के र ?”

पञ्चायत ढल्यो, बहुदल आयो ! केके भयो केके ! वीरसुन्दरको त झन् कायापलट नै भयो । आन्दोलनमा ठूलो सहयोग गरेको रे उसले ! कति लाखापाखा लागे, कति खोसिए, लेखाजोखा नै भएन । मनोज भने जहाँको त्यहीँ थियो । एकाधपल्ट वीरसुन्दरले ए मनोज के छ हालचाल ? भनेको भरमा उसको मूल्याङ्कन हुने दिन पनि आयो । रेडियो, टीभी, पत्रपत्रिका जताततै कुनै न कुनै ठाउँ वा प्रसङ्गमा वीरसुन्दरको नाम हुने गथ्र्यो । कहिलेकाहीँ उसले ‘ए मनोज, त्रि्रो बालकोटको घर देखाउन लाने होइन ? छोरीलाई पनि बाहिर पठाइहालेछौ !’ भनिदिँदा मनोजका सहकर्मीहरू ऊसँगर् इष्र्या गर्थे ।
जनआन्दोलन-२ । वीरसुन्दरले एक दिन मनोजलाई एकान्तमा भनेको थियो, “बुझ्यौ – अब राज्य ढल्छ छिट्टै, केही गरिहाल्नुपर्छ नयाँ नेपालमा !” बिचरो मनोजको त एउटै चोला थियो, कर्मचारीको चोला ! त्यो त झन्डै-झन्डै इहलीला नसकुन्जेल के फेरिन्थ्यो र ?

टेलिफोनको घन्टीको चर्को आवाजले मनोज झसङ्ग भयो । “उठाउनोस् टेलिफोन ! कति जाँड खाएको -” श्रीमतीको चर्काइ ठूलो थियो । “हलो ड्याडी ! बेवसाइटमा वीरसुन्दर अङ्कलको भाषण लाइभ छ हेर्नुभो ?” उतातिरबाट उसकी छोरी मनीषा बोल्दै थिई, अस्ट्रेलियाबाट ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३००)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.