कथा : बधाई छ दीपमाला !

~माधव ‘सयपत्री’~

किनकिन डी.बी. सरलाई महिला चालक भएको टेम्पु चढ्न मान लाग्छ । डीबी अर्थात् दिलबहादुर धामी सर ।

दिलबहादुर धामी सरको घर नेपालको पश्चिमी जिल्ला दार्चुला हो । जागिर खाने सिलसिलामा उनी रामेछाप पुगे । धेरै वर्ष रामेछाप उनको लागि उर्वरभूमि बन्यो । शिक्षकहरूको नामी सङ्गठनको जिल्ला अध्यक्ष जस्तो पदमा पुगे । धामी सर सबैका वाहवाह र प्रशंसाका पात्र बने । करिब १२/१५ वर्ष अस्थायी/स्थायी सेवा गरी आफू निकट राजनीतिक पार्टीको हातमा शिक्षा मन्त्रालय परेकै बेलामा दिलबहादुर सरले राम्रो ‘छलाङ’ मारे । छलाङ् त त्यस्तो पो छलाङ् । अरूका त कुराको मात्र छलाङ् । भ्यागुते छलाङ् ।

अहिले उनी त्यै फलदायी छलाङ्को उपयोग/सदुपयोग गरी सहरको सम्पन्न सामुदायिक विद्यालयमा अध्यापन गर्दैछन् । उता पनि प्रधानाध्यापक (प्रअ) थिए, यता सरुवा भएपछि त उनी प्र.अ. मात्र हैन उच्च माध्यमिकसम्म पढाइ हुने सो काँठे सहरिया ठाउँको उच्च माध्यमिक शिक्षालयका प्रमुख नै भएका छन् ।

डी.बी. अत्यन्तै शालीन छन् । शालीनताले मात्र उनको समग्र परिचय खुल्दैन । उनी एकदमै चतुर पनि छन् । श्रमको उचित कदर गर्नु, अर्काको सम्मान गर्नु, बुद्धिभन्दा पनि विवेक प्रयोग गर्नु उनको समग्र परिचय हो तर रामेछाप जस्तो दुर्गम जिल्लाबाट सुविधायुक्त राजधानीकै छेउछाउमा सरुवा हुँदा चाहिँ उनले बुद्धिबलको अत्यधिक प्रयोग गरे अर्थात् विवेकलाई बन्दकी राखेर बुद्धिलाई अघि सारे । काम तमाम भयो । उनी सहरवासी भए ।

भक्तपुरतिर चारआना जग्गा त किनेका छन् तर घर बनाउने थैली उनीसित छैन । एउटा सेकेण्ड हृयाण्ड बाइक किन्न श्रीमतीले कर गर्दा पनि उनले त्यति मन लाएनन् । बाइकमा लाग्ने तेलभन्दा माइक्रो वा टेम्पु भाडामा लाग्ने खर्च नै कम हुने हिसाब निकाले उनले । त्यसैले बाइक किनेनन् । एक वर्षका लागि उधारो मिलेको थियो । त्यो पनि वास्ता गरेनन् । अझ हिजोआज च्याउसरि उमि्रएका फाइनान्सहरूले किस्तामा बाइक मात्र कहाँ हो र कार, बङ्गलासमेत किन्ने पैसा दिन्छन् । यी सबै कुरा थाहा हुँदा पनि उनले केही गरेनन् । किन गरेनन्, भित्री कुरो त थाहा भएन ।

शनिबार सडकपेटीमा भीडभाड बढ्दैछ । सडक पेटीमा साहूहरूले सामानहरू थुप्य्राउन थालिसकेका छन् । उनले खोजेजस्तो सवारी साधन अझै आएको छैन । धेरै माइक्रोबस, मिनीबसहरू आए, गए अब दुई मिनेट बस्ने योजना बनाए । छेऊ पत्रिका पसल फिजियो । एउटा दैनिक पत्रिका किने । साप्तहिक ‘नेपाल’ पुरानो अङ्क रहेछ । किनेनन् त्यो । दैनिक कान्तिपुर बटोर्दै उनी यता सडकतिर आए । घाम पश्चिमतिर लम्किदै छ । लगभग डुब्नै लागेको छ ।

उनले सोचेजस्तै साधन आयो । अगाडिको सिटबाट एक जना झर्‍यो । डीबी सरले खोजेजस्तै भयो । टेम्पु चालक महिला नै थिइन् । टेम्पुभित्र सिट भरिएको थियो उनी चढ्ने बित्तिकै चालिकाले टेम्पु कुदाइहालिन् । चोक बानेश्वरको हो । त्यसको धर्म नै जाम हुनु हो । सडक अलि खुल्दा हृयाण्डिल घुमाएर छलिछलि अरू साधनभन्दा अघि लाग्थ्यो । कतै पूरै बाटो बन्द भएपछि त के लाग्यो र! गुडेर अगाडि जानुपर्ने साधन उड्न सक्दैनथ्यो ।

डीबी सरले आँखा अन्तै हेरेझैँ टेम्पु चालिकाका अनुहारमा हेरे तर उसले मुखमा मास्क लगाएकी थिई । उसका ठूलाठूला आँखा र फराकिलो निधार मात्र डीबी सरको दृश्यमा पर्‍यो । उसले कपालसमेत सलले छोपेकी थिई । उसका स्वचालित हातहरूमा हेरे, नाडीमा राम्रै खाले घडी बाँधेकी थिई । नम्बरी नै हुनुपर्छ, औंठी थियो आधा तोला जतिको ।

टेम्पु कोटेश्वरको भीमकाय भीडमा हरायो । ‘टिरिटिर… अ ।’ मोबाइल बज्यो । निकै घन्टी बजेपछि हेरी र रिसिभ गरी । भनी, ‘हेल्लो! तपाईं कहाँ अहिले ? म त याँ कोटेश्वरको जाममा परेकी छु ।’ उताको कुरा डीबी सरले बुझेनन् । फेरि ऊ नै बोली, ‘तपाईं छिट्टै कोठामा आउनु! बच्ची एक्लै कतै जाली । खाना पकाउँदै गर्नु । जाम खुल्यो भने म पन्ध्र मिनेटमा आइपुगी हाल्छु ।’

डीबी सरले अड्कल हाने- पक्कै फोन उसैको श्रीमान्को हो । ऊ पनि सवारी चालक नै छ तर के चलाउँछ त्यो चाहिँ अनुमान लगाउन सकेनन् । सोचे-यी जोडीको कमाइ पक्कै पनि राम्रै हुनुपर्छ तर त्यो पनि विश्वास गर्ने के आधारहरू छन् र! टेम्पु आˆनो हो वा साहूको नासो ? साहूको नासो भए त खासै के आम्दानी हुन्थ्यो र!

सहरको राष्ट्रिय रोग अलि घट्यो कोटेश्वरमा । सुकोमल हातहरू अनवरत टेम्पुको स्टेरिङ घुमाउन अभ्यस्त रहे । गोडा ब्रेकमा स्ट्याण्डवाइ देखिए । टेम्पुको गति तीव्र भयो । उसले वाचा गरिसकेकी छे- ऊ पन्ध्र मिनेटमा कोठामा पुगिसक्नुपर्छ ।

डीबी सरले चालिकाको अनुहार हेरे, अन्तै हेरेजस्तो गरेर । भाषा-भाव आँखाबाट मात्र कति नै बुझिन्छ र! फेरि सोचे-अहो कस्ता परिश्रमी हातहरू, जसले सडक चलाइरहेछ । सडक चल्नु भनेको त देश चल्नु हो । हुन त महिला विमान चालक थुप्रै भइसके । रक्षा राणाले विमानको ककपिट कसरी समालिन् होलिन् । यो त जमिनमा गुड्ने त हो । हैनहैन, उड्नेभन्दा गुड्ने महìवपूर्ण छ । उड्ने धनीले मात्र हो तर गरिबहरू, थोरै आयस्रोत हुनेहरू त गुड्नु नै पर्छ ।

डीबी सरलाई महिला चालकका हातहरूले स्टेरिङ बटारेको खुबै मन पर्छ । असङ्ख्य साधनहरूका बीच कोमल हातहरूको सलबलाई अझै अविस्मरणीय लाग्छ । लाग्छ- ‘अहो नेपाली महिलाहरू पनि सवारी साधन हाँक्ने भइसके । देश चलाउन सक्ने उषा नेपाल र बिन्द्रा हाडाकै हाराहारीमा यी टेम्पु चालिकालाई राख्दा के अन्याय होला र ।’ पौरखी र परिश्रमी हातहरूले चलाएको टेम्पु चढ्नका लागि मात्र पनि उनी पर्खन्छन् । महिला चालिकाहरू होसियारीपूर्वक सवारी चलाउँछन्, शालीन देखिन्छन् । भाडामा किचकिच गर्दैनन् । जिस्किदैनन् । त्यसैले उनी त्यस्तै टेम्पु चढ्छन् ।

टेम्पु बढिरहेछ अगाडि, ग्वार्कोको पुल, गुण सिनेमा, बीएण्डबी अस्पताल हुँदै उकालो चढ्यो टेम्पु । पुग्यो त्यो खेलकुद परिसर । फेरि बज्यो मोबाइल । त्यसै समय पछाडि बस्नेमध्ये कसैले टेम्पुको छानो ठटाएर टेम्पु रोक्ने सङ्केत गर्‍यो । दुवै काम एकैपटक गर्नुपर्ने भयो ।

टेम्पु रोकियो, खेलकुद परिसर अगाडि । उसले फोन फेरि उठाई भनी, ‘किन फेरि । म सातदोबाटो आउनै लागेँ । तपाईं कोठामा पुग्नु भो ? म पाँच सात मिनेटमा आइपुग्छु । छिटो जानुस् कोठामा । बच्ची कतै जान सक्छे । छिटोछिटो जानुस् म आइहाले । तरकारी ल्याउनुभो । अँ के ल्याउँ त! ल हुन्छ । म ल्याउँछु । खाना बसाल्दै गर्नु नि ।’ खै उताबाट कस्तो जवाफ आयो ऊ हाँसी तर उसले मुखको मास्क खोलिन । डीबी सरको उसको अनुहार एकपटक दृष्टिगोचर गर्ने अभिलाषा त्यत्तिकै तुहिने भयो । उनको पनि ओर्लिने बेला हुन लाग्यो ।

टेम्पुबाट ओर्लिएको ठिटोले पैसा तिर्‍यो । ऊ हिँड्यो । चल्यो फेरि टेम्पु दक्षिणतिरै । सामान्य जाम भयो । फोन बज्यो । सानी बच्चीको आवाज सुने डीबी सरले । ‘हेल्लो मम्मी कतिबेला आउने ।’

-‘ए नानु म आइहालेँ । तिमी के गर्दैछ्यौ त! खाजा खायौ ? बाबा आउनु भो । ल, खाजा खाएर होमवर्क गर्दै गर म आइहाले राखौँ ल! बाबालाई खाना पकाउनु भन ।’ उसले फोन राखी र त्यसलाई छेउकै पेरुङ्गोमा हाली । एकछिन जाम खुल्ने छाँट छैन । ट्राफिक प्रहरी जाम खोल्न प्रयास गर्दैछन् । डीबी सरले ड्राइभरको मुख हेर्न पाएकै छैनन् । यसभन्दा अगाडि जुन टेम्पु चढ्थे उनी हालखबर, घर व्यवहार सबै सोध्थे । एक किसिमले पत्रिकामै छाप्ने जस्तै गरी अन्तर्वार्ता लिन्थे । एकपटक उनको लेख आएको थियो चर्चित दैनिक पत्रिकामा-‘परिश्रमी र सेवाग्राही हातहरू’ शीर्षकमा ।

अब डीबी सर ओर्लिने ठाउँ आउन दुई तीन सय मिटर मात्र बाँकी होला । टेम्पु चल्यो । परिश्रमी हातहरूको कोमल औँलाहरू चल्न थाले । डीबी सरलाई खल्लो लाग्यो । आँटै गरेर सोधे- “बैनी घर कता होला ? यता कता बस्नुहुन्छ ?”

अँ हँ त्यो बोलिन । बोल्दै बोलिन । अनुहारको मास्क पनि हटाइन । ठ्याक्कै सातदोबाटो आइपुग्यो । डीबी सर बोले -“बैनी म यहीँ ओर्लन्छु, रोक्नुस् त ।” मात्र उसले मुन्टो हल्लाई र ब्रेक दबाई । रोकियो । डीबी सरले भाडा दिए । उसले लिइन । ‘किन’ प्रश्न गर्न सकेनन् । अचम्म ऊ किन भाडा लिन्न । भने, “भाडा लिनुस् के थोरै भएर हो ?” । उसले मुन्टो हल्लाई । मास्क खोली ।

देखे डी.बी. सरले – ओ हो उही दार्चुलाकै मनिपालकी दीपमाला । बधाई छ दीममाला टेम्पु ड्राइभर भइछौ । बिदा माग्दै एक वचन बोली- “सर म लागेँ । अरूले तिम्रो पेसालाई घृणा गरून् तर म तिमीलाई र तिम्रो पेशालाई उच्च सम्मान गर्छु । देश राम्ररी हाक्नु ।

-रामेछाप

(स्रोत : मधुपर्क २०६६ बैशाख)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.