लोक कथा : झ्याल्ला भूमे

~दण्डपाणि अर्ज्याल~

गोरखाको कुसुण्डे र झ्यावा गाउँको बीचमा गडीडाँडा पहरेभीरबाट आएको झ्याल्ला खोलो छ । झ्यावा गाउँको पुछार भ्याल्ला फाँटमा झ्याल्ला खोलाको पूर्वपट्टि रहेको सिजुङ पंचायतमा भ्याल्लाभूमे भन्ने भूमि-देवता प्रख्यात छन् । यिनको उत्पत्ति सम्वन्धमा पूर्वकालमा खेत जोत्दा हलाले एक पत्थरमा ठक्कर लाग्दा पत्थर फुटी रगत आई खेतको पानी सवै रगतै भएको र हलिगोरुसमेत मरेको भन्ने जनश्रुती परम्परा छ । के भयो भनी खोजी-नीति गर्दा दवाडीका पूर्खा साउन पाध्येलाई म यहाँको रैथाने भूमिदेवता हुँ भनी स्वप्ना भएछ । त्यही हलाले ठक्कर लागेको पत्थरलाई नै देवता मानी पूजा गर्ने, रुद्री गर्ने गर्न थले छन् अनि बली दिने र दुध चढाउने ठाउँ भिन्ना-भिन्नै बनाएछन् । ती देवताको थान बोहोरी र गिनरीको फेदमा छ । मन्दिर छैन । पर्खालले घेरिएको छ । जो गयो सवैले आफै पूजा गर्ने चलन चल्यो ।

। एकदिन लादीका थपलियाहरूले झ्यावा लुट्ने मनसुबा गरी पैले भूमेको पूजा गरी खुसीपारि लुट्न जाने भनी पञ्चवली, बाजा-गाजासमेत गरी भूमे पूजा गर्न लागेका रहेछन् । त्यसै दिन साउन पाध्ये दवाडीका नाति कालु दवाडी घाँस काट्न भनी वनमा गएका बेला बाजा बजेको सुनी के रहेछ भनी हेर्न जाँदा तिमी को हौ ? कालुलाई चिनेका छौ ? भन्दा ‘मै हुँ’ भने छन् । हामी भयावा लुट्न आएका तिमी त्यहाँका मुख्य मानिस हौ । लौ कागजमा सही गरी देऊ भनी घेरा हाली अत्याउन लागेछन् । तेसैबेला तल्लो झ्यावाबाट यौटा भोटे आएर सोध्न थालेछ । थपलियाहरूले हामी झ्यावा लुट्न आएकाले यिनलाई पकडेको भनेछन् । कस्ले जित्छ म जोखना हेर्छ, दुवैले चामल, भेटी लेऊ भनी भोटेले भनेछ । लाङ्देलीले चामल भेटी दिए। एक्लो बाहुन कालु दवाडीसँग केही थिएन, उसले मसँग केही छैन भनी भन्दा भोटेले तिम्रो खल्तीमा हुनुपर्छ हात हाली हेर त भन्यो । हात हाल्दा चामल-पैसा निस्क्यो र भोटेले जोखना हेरी भन्न लागेछ- ‘तिमीहरूले झ्यावालीलाई जित्न सक्दैनौ । झगडा गयौ भने सवै नाश हुन्छौ’ । भोटेले भनेको कुरा र केही छैन भन्ने मान्छेले खल्तीबाट चामल पैसा झारेको देख्दा लाङ्देली डराई त्ससै भागेछन् र बाजा बजाउने दमैहरूले तिमी हरूवाका पछि हामी जाँदैनौ भनी तिनै कालु दवाडीलाई अघिलाई बाजाबजाई घर पुयाएछन् । ती दमाईहरूलाई सीरुवारी भन्ने ठाउँ घरवास दिई झ्यावामै कालुले बसाएछन् । आजसम्म धेरै दवाडीहरूको दमाई तिनै छन् । यस दिनदेखि थपलिया र ती दवाडीहरूको पानी बाराबारकुँदै थियो । टेकनीधि र एकनाथ दवाडी काठमाण्डू जाँदा बर्वन्दीको थापलाम ठाउँमा बास बसेछन् । एक गाग्राको पानीमा मिश्री राखी दुवैले पानी सारी खाएर पानी फका यसरी स्वयं भूमेले भोटेको रूप लिई जोखना हेरेकोले भूमेलाई झ्यावालीले ज्यादै मान्दै आएका छन् । तिनै कालुकी नातिनी बुहारी एकदिन तोरीको साग टिप्न भ्यावा फाँटमा गएकी थिइन् । गाउँदेखि फाँटको वीचमा ज्यादै ठुलो जङ्गल पर्ने, बाघभालु लाग्ने थियो । एकलै डराइ-डराई बेसी पुगिछन् । तोरी टिप्दाटिप्दै बेलुका भएछ । कोही साथी भेटछ कि भन्दा कोही भेट भएनछ । त्यो जङ्गल काटेर घर जान सारै डरलाग्दो हुँदा आत्तिएर छटपटाइ रहेको बेला एक भोटे उँधोबाट आएछ र किन डराएकी हिँड म पुयाइदिउँला भनेछ । झन् डराई मर्नु भएर काली-निली भईछन् । भोटेले नडराऊ म पुयाइ दिउँला, म पनि त यसै गाउँको हुँ नि ! भनेछ । त्यसपछि केही विश्वासमै साहस बटुली डराई-डराई सँगै बाटो लागिछन् । भोटे पछिपछि आउँदो रहेछ । घरै नजिक पीपलको बोटनेर आई पुगेपछि अव त घरजान सक्छयौ ? भनी भोटेले सोधेछ । बजैले सक्छ भनिछन । भोटेले एकपटक ससेली हालेछ । फर्केर हेर्दा ऊ त अन्तरध्यान भएछ । यो कुरा घरमा गई सासू ससुरासँग भन्दा ती भूमे देवता नै हुन् भने छन्। भूमेप्रति झन् श्रद्धा बढ्दै गयो र प्रचार हुँदै गयो । भूमेको पूजा-आजा, पञ्चवली, जात्रा-मात्रा बढ्दै गयो ।

| हालैको कुरा दाजु श्यामनारायण र भाई खडानन्द दवाडीकी बैनी पार्वती त्रिभुवनका दरवारमा नोकरी गर्थिन् । राजा कहाँ बसेकी पार्वतीलाई भेटन दुवै दाजुभाई गएछन् । बैनीलाई भेटे पछि उनले केही दिईछन् र भित्रबाट खानेकुरा दिंदा दाजुलाई गिल्टीका भाँडामा र भाइचाहिँलाई चरेसका भाँडामा राखी ल्याईदिएर अव म निस्कन पाउन्न तपाईंलाई दिएका भाँडा आफु- आफै लानु भनी भित्र गईछन् । बाटोमा आउँदा दाजुले भनेछ- तेरो भाँडा असल मेरो कमसल भयो, बरावर बाँडौं। भाईले भने- बैनीले आफू-आफू लिनु भनेकीले दिन्न-भन्दै आउँदा रहेछन् । तादी तरेपछि बट्टारतर्फ आउँदा छेउमा चौतारो छ त्यहाँ फेटा बाँधेका अग्ला–अग्ला दुई जना मानिस बसेका रहेछन् । तिमीहरू किन बाझेको ? कहाँ घर हो ? भनी सोधेछन् । दुई भाई बाहुनले बताइ दिएछन् । ती दुईले पनि सोधेछन् । फेटावालहरूले हाम्रो घर पनि यतै हो, देवी-जात्राको रमाइलो हेर्न आएका हौं भनी झ्यावाको सवै परिचय बताए पछि ती बाहुनलाई भनेछन्- हेर दाजुलाई राम्रो हुनेछैन, भाईलाई सवै राम्रो हुन्छ ! ती चौतारामा वस्ने मान्छले कथाभन्न हानथाप गर्न लागे पछि यौटाले भन्न थाल्दा अर्काको जीउ फुल्दै आएको दुईभाइले हेरीरहेका रहेछन् । कथा भनी सके पछि फुलेको जीऊ सुक्दै गयो र दुवै उठेर तलतिर लागेझैं गरेका थिए उत्तीखेरै हराए । ती हराए पछि दुई भाईले भने- यी पक्का हाम्रा झ्यावाका भूमे नै हुन् । समय बित्तै गयो। भूमेले भने झै दाज श्यामनारायणको सबै हराउँदै गयो, भाईको सवै बन्दोवस्त भयो र भाइका सन्तान छदैछन् । दाजु २०३१ मा र भाई ०३२ मा परलोक भए । यस्ता कथाले भूमेको महिमा बढ्दै आयो । आजभोली पनि गाईवस्तु हरायो भने भूमेलाई पाति चढाइ खोज्न गएमा तुरुन्तै पाईन्छ भन्ने विश्वास छ, इच्छा पूर्ण भएर नै होला। आज भोलि त त्यो ठाउँमा झन् टाढाटाढादेखिका मानिस पनि पूजा बली, पञ्चबली, होम, रुद्री गर्ने र दुध चढाउनेको सङ्ख्या प्रतिदिन बढ्दैछ । कैले काँही त ५/७ सय मानिसको आउजाउ हुन्छ ।

– गोरखा ।

(स्रोत :  “ज्ञानबिन्दु” बर्ष २, पूर्णाङ्क २, २०६५ कार्तिक – दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्रको प्रख्यात अनुसन्धानमूलक विशिष्ट पत्रिका)

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.