कविता : उस्तै उस्तै लाग्छ

~रेखा पन्त~

बर्षौ देखी
मान्छे बस्न छोडेको रित्तो घर
चियाईरहन्छ
आफन्त बस्न छोडेको रित्तो मनले ।
त्यो घर एक्लो
अनि एक्लो म ।
लिपपोत विना फुस्रो र धुलोमैलो घर
सुनसान र बिरानो आँगन
जस्तै
गाजल, टिकी र कोरीबाटी बिना
फुंग उडेको मेरो मुहार
उदास र उजाड जिन्दगी ।

आकाश नै ढाक्ने गरी
मडारिन्छन् काला बादलहरू
जसरी
हृदय भरी सल्बलाउछन्
धमीला, मधुरा र खाटा बसिसकेका
कसैका पूराना यादहरू ।
चल्छ जोड्ले हावा हूरी
हल्लाउछ भत्कनै लागेका झ्याल ढोका
हाल्छू लामो सुस्केरा
कोहि आउछ कल्पनामा
अस्पष्ट आकृति बनेर
नुन चूक छरे झै लाग्छ
चिरा चिरा परेको कलेजीमा ।

चम्किन्छ बिजुली
चट्यांग परेर
मझेरी नै छेड्ला झै गरी
मेरो अतीत चहकिलो बनेर आउछ
पश्चात्तापको छुराले रेटेर
मुटु नै प्वाल पार्ला झै गरी ।
भक्कानो छुटेर आउछ
मुटु निचोरिए झै लाग्छ
दिन कालो र निलो हुन थाल्छ
मन अमिलो र धमिलो ।

जीर्ण घर माथि बर्षन्छ
घनघोर, मूसलधारे पानी
अनायासै बग्छन्
मेरा आँखामा
दुई नुनिला नदीहरू
गंगा र जमुना ।
देखिन मैले उदांगो घरले पिएको बर्षा
मात्र तप्किएको बलेनी देखें
जसरी म बर्षौ देखी लूकेर रोएको कसैले देखेन
केवल भिजेको परेली मात्र देखे ।
हूरीले उडाएसी छानो
बाँकी रहेका डाडा भाँटा जस्तै
समयले उडाएसी सातो
बाँकी रहदो रहेछ
हाड र छाला मात्र शरीरमा ।
थामियो झरी
पखालियो भित्ताको मैलो
बगायो माकुराका जालाहरू
मौसम शान्त बन्यो
म पनि धितमरून्जेल रोए
पखालियो कसैको झूटो प्रेम
बगायो नमिठा यादहरू
मन हल्का बन्यो ।
देखियो इन्द्रेणी घर छेउमै
सप्तरंगी झै लागेन
रंगीन त त्यो इन्द्रेणी हैन
आखाँ पो रहेछ
किन कि
मन उदास भएको बेला
भिजेका परेलीहरुले
इन्द्रेणी पनि फिका देखाइदिदो रहेछ ।
लाग्यो
मान्छे बस्न छोडेको घर

आफन्त बस्न छोडेको मन
उस्तै उस्तै हुँदो रहेछ !

-रेखा पन्त, गोरखा
हाल:ईजरायल

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.