पत्रकथा : एउटा अर्धाङ्गिनीको चिठी

~अज्ञात~

प्राण प्रिय
धेरै धेरै सम्झना ।

बिहानको भालेको प्रथम प्रहरको बेला हो शायद । पूर्वतर्फ भुकभुके उज्यालो हुन आँटेको थियो । आज नमिठो निद्राभित्र तिमीलाई सपनीमा देखेँ । सम्झेर ल्याउँदा यो मुटु पिरो भएर आयो । असह्य वेदनाले छिया छिया परेको यो हृदयमा एक्कासी सुल चले झैँ हुन्छरू। बेला बेला स्मृतिका डोबहरूमा ती रोमाञ्चित क्षणहरू सम्झन्छुरू। रित्तो मन, रित्तो कोठा, अनि, कहिलेकाहीँ रात रातभरि निद्रा लाग्दैनरू। उफ…. आह….. ! यो मुटु पनि त्यसै ढुक्ढुक् गर्छरू। बिछोडको पीडा कस्तो हुन्छ भन्ने कुरा हामी दुवैले विभिन्न पुस्तकहरू अध्ययन गरेर र विभिन्न साहित्यद्वारा ज्ञान हासिल गरेको भएता पनि आफ्नो भोगाइ थिएन र त हजुर परदेश जाने बेलाभन्दा परदेश पुगेपछि पो न्यास्रोपनले सताएर होला । हजुरले दिन निबराई फोन गर्नु हुन्थ्यो । म पनि यहाँ कति तड्पिएँ । यो एक्लो मनलाई नै थाहा छ । फोनमा कुरा गरेर मनको बह नसकिएकाले यो चिठी लेख्न बसेकी छु ।

डल्ली भैंसी ब्याएको साता–एक भएको छ । दोस्रो बेदमा चार लिटर दूध थियो । यस पाली लिटर–एक बढ्ला जस्तो छ । बिहानको दूध बेचेर घर खर्च चलाउँला, बेलुकीको घरका सबैलाई एक एक मुठी ठिकै होला भन्ने सोचेकी छु । सासु आमालाई पनि एक गिलास तातो दूध भयो भने तैबिसेक होला । ब्लड प्रेसरको औषधि लिइराख्नु भएको छ । अरू सबै ठिकै छ ।

सानिका बाबा मनका कुरा कति छन् कति ? के लेखुँ के नलेखुँ ? हुन त हामी महिला चेलीले लेखेरै के नापिएला र ? नलेखे पनि होला भन्ने लाग्छ । घरकै कुरा लेखे बेसै होला । अँ हेर्नुस् न त सानिका बाबा, हामी बहुसङ्ख्यक नेपालीहरूको दैनिक जीवनयापनको अवस्था कस्तो छ । परिवारको एउटा न एउटा सदस्य मुग्लान जानै परेको छ ।

हाम्रै घरको कुरा गरौँ । हजुर परदेशमै हुनु हुन्छ । हजुरका काकाका छोरा पनि उतै । हाम्रो गाउँमा पनि घरैपिच्छे मुग्लानियाँ । अब पुराना कुरा गर्नु हुन्छ भने हाम्रो घरै लाहुरेको । हाम्रो हजुरबुवाको पालामा त गल्लावाल आएर गाउँका युवाहरूलाई नापजाँच गरेर लिएर जान्थ्यो रे ! लाहुर जानेहरू निकै रमाउँथे । हाम्रो हजुरबाबाले त खुशीले रमाएर घरमा बनेको मिठो मिठो खाने कुरा पनि बिर्सेरै जानु भएको थियो रे !

दोस्रो विश्वयुद्धको बेलामा जनताले चलाएका कैयौँ देशका आन्दोलनहरू दबाउन गोर्खाली फौजलाई ब्रिटिसहरूले लडाइँमा लिएर गएका थिए रे ! बिचरा ती निमुखा जनतामाथि अनाहकमा गोली चलाएर उनीहरूको ज्यान लिँदा आफ्नो छाती चरक्क चिरेर आउँथ्यो भनेर बाजेले भन्नु हुन्थ्यो रे ! के गर्ने ? भागेर आउँन नमिल्ने ! राती एक्लै एक्लै ती घटना सम्झेर निकै रूनु हुन्थ्यो रे ! ती निर्दोष मानिसहरूमाथि भएको अत्याचार सम्झेर ल्याउँदा मन दुखित बनाउँदै अत्यास लागेर आउँछ भनेर हामीलाई सुनाउनु हुन्थ्यो । लडाइँको दौरानमा उहाँको दाहिने पाखुरामा एउटा गोली लागेर उहाँ घाइते हुनु भयो । त्यही घटनापछि फौजबाट उहाँले घर आउने छुट्टी पाउनु भयो ।पछि त्यही घाउ क्यान्सर भएर त्यही व्यथाले बित्नु भयो ।

उफ सानिका बाबा, हामी साँच्चै वीर गोर्खाली भनेर चिनिएको केवल अङ्ग्रेजसँग नालापानीको लडाइँमा ती वीर योद्धाहरूले लड्दा लड्दै प्राप्त गरेको वीरताको गाथा मात्र त हो नि ! अब अरू हामी वीरताको गौरव गर्ने कुन ठाउँ छ ? भन्नुस् त सानिका बाबा । खै ! मलाई त केही पनि थाहा छैन । भए यो चिठीमा मैले बुझ्ने गरी लेखिदिनु होला ।

नालापानीको लडाइँको कथा सम्झिँदा त म रोम रोम हर्षित हुन्छु । गर्वले शीर ठाडो हुन्छ । सानिका बाबा अझ ती वीराङ्गनाहरूले आफ्ना बालकहरूलाई पिठ्युँमा बोकेर कसरी लडे होलान् ? हाँस्दा हाँस्दै छातीमा तातो गोली कसरी सहे होलान् ? एक छिनलाई मृत्यु पनि उनीहरूसँग डरायो होला, हैन ? सानिका बाबा, आह् ! सम्झिदा पनि मुटु सिरिङ्ग गर्छ । शरीरका नशा नशामा अथाह रक्त सञ्चार हुन्छ । साँच्चै सानिका बाबा, ती महिलाहरूको त्याग र बलिदानको भावना सम्झिँदा त म जस्तीको पनि छाती चौडा भएको भान हुन्छ । अगाध राष्ट्र प्रेमको कथाको कुरा लेख्दा मेरो मन हर्षले गद्गद् हुन्छ । ती देशका वैरीलाई सम्झिँदा अनायासै मुट्ठी त्यसै कसिन्छ । साँच्चै हो सानिका बाबा, देशभन्दा ठूलो अरू केही छैन । हो साँच्चै सानिका बाबा, यदि देशका लागि केही गर्ने अवसर पाएँ भने म पनि हाँसी हाँसी देशका लागि बलिदान दिन तयार छु ।

तर, खै किन हो कुन्नि ? मलाई एउटा कुराले यो मन सधै पिरोलिरहन्छ । प्रथम र दोस्रो विश्वयुद्धताका असी हजार गोर्खालीहरूले ज्यान गुमाउनु पर्‍यो रे ! हजुरलाई त थाहै छ नि, सानिका बाबा ! त्यसको सामुहिक समाधी स्याङजाको बाहुनडाँडामा बनाइएको छ रे ! कस्तो बिडम्बना ! अर्कैका लागि असी÷असी हजार नेपालीले व्यर्थैमा ज्यान गुमाउनु पर्‍यो । केवल जीवन धान्नका लागि असी हजार नेपाली महिलाहरूको सिउँदो पुछियो । असी हजार बालबच्चाहरू टुहुरा बन्नु पर्‍यो । उफ… यो कस्तो बिडम्बना ! ओह्… मलाई त रिङटा लागेर आयो सानिका बाबा । अब यसभन्दा बढी मैले केही सम्झिन सक्दिनँ ।

म पनि कस्ती आफ्नै घरको कुरा लेख्दा लेख्दै कता कता बहकिएछु कुन्नि ? शायद लाहुरेको नातिनी भएर होला हैन सानिका बाबा ? होश सम्हालेदेखि मैले वेदनाले भरिएका यी कथा र व्यथाहरू देख्दै र व्यहोर्दै आएकी छु । अब हजुर पनि त बन्दुक बोकेको युद्ध मैदानको सिपाही नभए पनि मरूभूमिको भेडा बथान वा उँटको बगालको क्याप्टेन त हुनु हुन्छ, हैन र ? रिसानी माफ होस् है ? मैले हजुरलाई हेपेर यसो भनेको हैन । मैले सुनेको कुरा साँचो हो । ढाँटेपाते हैन नि !

अहिले तेस्रो मुलुकमा करिब तिस लाख नेपालीहरूले आफ्नो रगत, पसिना बेचिरहेका छन् । बिदेशबाट वर्षौं सोह्र खरब रूपैयाँ नेपाल आउँछ रे ! तर, खै के गर्ने जताबाट आउँछ, त्यतै गए जस्तै छ । किनकि दिनदिनै पन्ध्र सय बलिया बाङ्गा नेपाली विदेश जाने क्रम रोकिएको छैन, बरू उताबाट दैनिक छ जनाको लाश बाकसमा फर्किएको फर्कियै छ । उफ… कस्तो विडम्बना ! यसरी वर्षमा करिब एक हजार नेपालीले व्यर्थमा जीवन खेर फाल्नु परेको छ । आखिर यस्तो कहिलेसम्म सानिका बाबा ? यो सबै रोकिन्छ कि रोकिन्न सानिका बाबा ? के हामी अरूकै लागि मात्र जन्मिएको हो ? हामीले हाम्रै देशमा पौरख गर्ने अवसर कहिले पाउने ? म त रनभुल्लमा परेकी छु सानिका बाबा । म यसै यसै विरक्तिएकी छु । यी सब कुराले मन व्यथित भएको छ । हो सानिका बाबा, यो मन नदुखोस् पनि कसरी ?

अँस्ति भर्खरको कुरा हो । हाम्रो गाउँकै गुमाने लाहुरे दाइको एक्लो छोरो भिमे असोजमा वर्कर भिसामा कतार गएको थियो । खाई–लाई नेपाली बाइस हजार पाउँथ्यो रे ! बिदेश जाँदा लागेको ऋण पनि दश÷ग्यार महिनामा निखनेर घरमा थप पैसा पठाइदिएको थियो । कतारमा उसको जिउ निकै सप्रिएको थियो । उसले आफ्नो फेसबुकबाट पठाइदिएको फुल साइजको फोटो क्या मज्जाको थियो । गुमाने दाइ–भाउजू निकै हर्षित थिए । गुमाने दाइ–भाउजू भिमेको बखान गरेर कहिल्यै थाक्दैनथे । गाउँलेले भन्दथे– गुमानेको परिवारका दुःखका दिन गए । अब त सुखै सुख छ । गुमानेको परिवारलाई पनि लागेको थियो– उनीहरूका कष्टपूर्ण दिन बिते ।

तर अफसोच ! दुःखको पहिरो त आउनै बाँकी थियो, गुमाने दाइको परिवारमा । एक दिन बेलुकीपख गुमाने दाइको मोबाइलमा कतारबाट फोन आयो । कतारबाट छोराको फोन आयो भन्दै खुशीले गद्गद् हँुदै मोबाइल फोन कानमा राखेर हलो गर्दै भने– “को हो ? भिमे बोलेको ?”

उताबाट जबाफ आयो– “होइन हजुर, म कतार एकता समाजको अध्यक्ष बोलेको । हजुर भिमबहादुरको बुबा हुनु हुन्छ ?”

उनी अल्लमल्ल पर्दै भने– “अँ हजुर म भिमेको बुबा नै हो ।”

उनले कुराको गाँठो फुकाउदै भने– “हैन, हजुर भिमेसित फोनमा कुरा गराइदिनुस् न । असाध्यै कुरा गर्ने मन छ ।”

उताबाट अध्यक्षको पीडामिश्रित तर गम्भीर भावमा भिमेको दुर्घटनामा मृत्यु भएको खबर सुनेपछि उनी भक्कानिँदै एकोहोरिएर क्षणभर मोबाइल फोनतर्फ हेरिरहे । अचानक आँखाबाट बलिन्द्र धारा आँसु झार्दै आफ्नो जहानलाई भन्छन्– “ए भिमेकी आमा, हाम्रो छोरा त दुर्घटनामा पर्‍यो रे !” उनी घोप्टो परेर भावविह्वल बनेर रून थाल्छन् । गुमाने भाउजू पनि रून थाल्छिन् ।

नभन्दै भोलिपल्ट काठको बाकसमा बेरिएर भिमेको लाश गाउँमा आइपुग्यो । परदेशबाट देशभित्र आउने दैनिक छ जनाको लासमध्ये एउटा आज भिमेको थियो । गुमाने दाइ–भाउजूले साँचेर राखेका सपना पलभरमै खरानी भयो । गुमाने दाइ लासमाथि घोप्टो पर्दै रूदै थिए । भाउजू पनि छाती पिटी पिटी रूँदै थिइन् । भाउजूलाई सम्हाल्दा सम्हाल्दै मैले पनि मन थाम्न सकिनँ । थामियोस् पनि कसरी ? बाकसमा राखेको लास हेर्दा गोरो शरीर, उज्यालो अनुहार भर्खरै बोल्ला जस्तो । मेरो पनि आँखा अनायासै रसायो । गुमाने दाइ–भाउजूको परिवार मात्र हैन, सारा गाउँ शोकमा डुब्यो । सारा गाउँ रूवाएरै गयो भिमेले ।

हेर्नुस् सानिका बाबा, हजुरले काम गर्दा जिउको ख्याल राख्नु होला । यदि हजुरलाई तल–माथि पर्‍यो भने म एक्ली कसरी बाँचुला खै ? म पनि कस्तो लेख्दा लेख्दै बिनासित्ती नानाथरि कुरा सोच्न थाल्छु ।

हेर्नुस् त सानिका बाबा, प्रत्येक दिन देशमा अकारण छ वटा परिवारसँग गाँसिएको गाउँ र घर शोकमा डुब्छ । छ जनाको सिउँदो पुछिन्छ । छ वटा परिवारका बच्चाहरू टुहुरा बन्छन् । कस्तो नियती छ हामी नेपालीहरूको सानिका बाबा ? मलाई बताउनुस् त, हाम्रो जीवन किन यस्तो छ ? यो कुरा सोचेर मात्र ल्याउँदा मात्र मन आकुल व्याकुल हुन्छ । म घण्टौँसम्म एकोहोरिएर तड्पिरहन्छु सानिका बाबा । मलाई मात्र किन यस्तो हुन्छ ? चिठीको जबाफमा बुझाएरै लेख्नु होला ।

अँ, एउटा खबर लेख्न त म्यात्तै बिर्सिएकी । हाम्रो गाउँका मनबहादुर राना मगर र धनिसंह क्षेत्री बिदेशबाट फर्किएपछि एउटाले बङ्गुर पालन र अर्काले गाईपालन गरेर मनग्ये मुनाफा गरेका छन् । हजुर चाँडै फर्किएपछि देशभित्रै केही गर्ने सोचेर आउनु होला । यो कुरालाई अन्यथा नठान्नु होला हजुरले । गत महिना हजुरले पठाएको पैसाले बजारको छेउतिर एउटा घडेरी किनेर छाडेकी छु । दैनिक खर्च हाते सापटी ऋण लिएर चलाएकी छु । अझै त साहुहरूले पताएकै छन् । हजुर चाँडै फर्कने चाँजोपाँजो मिलाउँदै गर्नु होला । एक्लै तड्पिँदै रित्तो मन लिएर म कति बसौँ ?

हुन त महिलाहरू एक रथका दुई पाङ्ग्रा भने पनि, सँगै जिउने सँगै मर्ने बाँचा गरे पनि, हामी नेपाली महिलाहरूले आफ्नो जीवनका महत्वपूर्ण समय र यौवनास्वथाका दिनहरू एक्लै बस्दै आएका छौँ । यो त हाम्रो नियम जस्तै भएको छ । यस्तो दुःखदायी चलन कहिलेसम्म चल्ने हो ? यो हाम्रो नियती नै बनेको छ । हामी नेपालीले यो परम्परा तोड्न सक्छौँ कि सक्दैनौँ ? यसको जबाफ मसँग छैन । सानिका बाबा कि हामी सधै सधै दमित, उत्पीडित बनेर अरूको दासत्वमा जीवन बिताइ रहनु पर्ने भो ? आश्चर्य र दुःख लाग्छ ।

अँ, सानिका बाबा, काम गर्दा आफ्नो असाध्यै ख्याल राख्नु होला है ! काम गर्दा जिउको माया मारेर पैसाको मात्र ध्याउन्न नगर्नु होला है ?

हवस त, कति गन्थन लेख्नु ? बाँकी भेटमा सविस्तार ।

हजुरको अर्धाङ्गिनी
दिलकुमारी

(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३३ – July 22, 2015 – २०७२ श्रावण ६ गते, बुधबार)

This entry was posted in नेपाली कथा, पत्र साहित्य and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.