~एम. वि. बुढा~
आँगनीमा नखोज्नु आमा
मेरो अर्कै संसार छ
आफ्नै छेउ नडाक्नु आमा
लडाइँको संघार छ ।
बाटो छेक्ने हैन आमा
पुगिसके मेरा मित्र
छैन मुक्ति यहाँ आमा
पुरानो उही जन्जिरभित्र
नझार्नु आँसु आमा
खाना पस्की थाल रानी
आर्शिवाद दिनु आमा
लडाइँमा जित्नु भनी
हाम्रो प्यारो मातृभूमि
छिन्नभिन्न पर्न लाग्दा
सुत्नु हुन्न चीर निन्द्रा
जाग्नुपर्छ सबै हामी
सम्पदाले पूर्ण देश छ
गिद्देनजर पर्छ आमा
नजागेमा देश जोगाउन
पराइले हर्छ आमा
यात्रा कठिन हुन्छ आमा
नयाँ संसार खोज्नलाई
बरु आउनु आमा पनि
उज्यालो दिन रोज्नलाई
– काठमाडौं
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक १८ – March 20, 2013 – २०६९ चैत्र ७ गते, बुधबार)