कथा : महादेवको पोस्टर

~शार्दूल भट्टराई~shardul-bhattarai

यस्तो ठाउँमा त्यस्तो पोस्टर किन टाँसेको होला ? त्यो पोस्टर देखेदेखि नै मेरो दिमागले त्यसको कारण खोजिरहेको थियो । म त्यो पोस्टर टाँस्नुको कारणबारे जान्नका लागि उत्सुकतापूर्वक लागिरहेको थिएँ । अरूले भने मेरो उत्सुकतालाई बेकारको प्रयत्न ठानिरहेका थिए । अरू कसैले त्यो पोस्टरका बारेमा चासो राखेर सोधखोज गरेझैँ पनि मलाई लागेन ।

मलाई त्यो पोस्टरको कुरा सामान्य लागिरहेको थिएन । त्यस रातको मेरो निद्रालाई समेत बिथोल्यो, त्यो पोस्टरले । निदाउने प्रयत्न गर्दागर्दै पनि मेरो दिमागमा कुराहरू खेलिरहे । सोचिरहेँ, ‘त्यस्तो ठाउँमा त्यो पोस्टर टाँसिनुको अर्थ के होला ?’

राजविराज बजारको मध्यचोकको सुन्दर भवन , बजारभरिकै सबैभन्दा राम्रो भवन , २० वर्षपहिले एउटा नमुना मानिएको थियो, त्यो भवन – तर, अहिले धेरै कुरामा परिवर्तन भइसकेको छ ।

हामी त्यस भवनको मूल गेटबाट छिर्‍यौँ । छिर्नेबित्तिकै हामीलाई अनुभव भयो, बाहिरबाट देखिने भवनको सौन्दर्यलाई भित्री सरसफाइले थेग्न सकेको रहेनछ । सबैतिर फोहोर । ट्वाइलेटको गन्ध फैलिरहेकै थियो । भुइँतिर फोहोरका टाटाहरू थिए । मूल गेटबाट पस्नुअघि रमाएको हाम्रो मन गेटभित्र पसिसकेपछि खिन्न भयो ।

खिन्नतामै हामी भर्‍याङ उक्लिन थाल्यौँ । भर्‍याङका सिँढीहरूको एउटा शृंखला उक्लिनेबित्तिकै हाम्रा आँखा त्यहाँको भित्तामा तलदेखि माथिसम्म टाँसिएको ठूलो पोस्टरमा पर्‍यो । महादेवको पोस्टर π मैले प्रतिक्रिया व्यक्त गरिहालेँ, ‘भर्‍याङको घुम्तीमा रहेको असान्दर्भिक भित्तामा यो के
गरेको होला ?’

हामी भर्‍याङका सिँढीहरूको अर्को शृंखला चढेर दोस्रो तलामा पुग्यौँ । प्रबन्धकको कोठामा पुगेर सोफामा बस्यौँ । बस यात्राको थकाइमा अलिकति आराम पनि भयो र कामको कुरा पनि भयो । त्यस समयमा पनि भर्‍याङको भित्तामा टाँसिएको पोस्टरले मेरो मस्तिष्कलाई किचिरहेको थियो ।

हामी तेस्रो तलामा रहेको गेस्ट रूममा पुग्यौँ । गेस्ट रूमहरू पनि त्यत्तिकै सुन्दर । तर, सरसफाइ भने सबैतिर उस्तै । हामीलाई गेस्ट रूममा पुर्‍याउने कर्मचारी भन्दै थिए, ‘यस्तो गेस्ट रूम त यहाँ अन्त कतै छैन । यस गेस्ट रूममा भूतपूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र मनमोहन अधिकारीसमेत बस्नुभएको छ । मनमोहन त एक रात सुत्नुभएकै छ यहाँ ।’

सरकारी स्वामित्वमा रहेको वाणिज्य बैंकको २२ वर्षअघि बनेको यो भवन कुनै बेला त्यहाँका लागि चर्चाको विषय थियो । किनभने, त्यहाँ त्यस किसिमका घर अरू थिएनन् । अहिले त नयाँ खाले भवनहरू धेरै बनिसकेका छन् । तथापि, अवस्थिति र आकार–प्रकारका कारण त्यसले पाउनुपर्ने महत्त्व अहिलेसम्म पनि पाइरहेकै छ ।

भोलिपल्ट बिहानैदेखि हामी काममा लाग्यौँ । हामी चार जना थियौँ, अच्युत मल्ल, मधु ढकाल, पदम लोहनी र म । हामीलाई जतिसक्दो चाँडो काम सम्पन्न गर्नु थियो । सिराहा र जनकपुर पुगेर अरू थप कामसमेत भ्याउनुपर्ने थियो । चार दिनमै काम सम्पन्न गर्नका लागि हामीले बिहान उठेदेखि बेलुकासम्मै काम गर्नुपर्ने भयो । सोही अनुसार हामी काममा सक्रिय रह्यौँ । कामकै बेलामा पनि मेरो दिमागलाई भने भर्‍याङको त्यही पोस्टरले किच्ने गरेको थियो ।

किन टाँसियो, त्यो पोस्टर त्यहाँ ? मेरो दिमागमा यो प्रश्न बारम्बार उठिरह्यो । महादेवलाई भगवान् नै मान्ने हो भने त त्यो पोस्टर पूजा कोठा, बैठक कोठा वा अन्य त्यस्तै ठाउँमा टाँसिनुपर्ने । भर्‍याङको भित्तामा अर्थ न बर्थसँग त्यो किन टाँसिएको होला ?

म त्यस पोस्टरका बारेमा कसैसँग सोध्न चाहिरहेको थिएँ । हाम्रो काममा सहयोग पुर्‍याइरहेका थिए, सत्यनारायणले । एकाबिहानैदेखि पान चपाउन रमाउने रहेछन् सत्यनारायण । बिहान चिया खानुअघि एउटा पान खाइसकेका उनी चिया खाएपछि फेरि अर्को पान चपाउन थालेका थिए । छिनछिनमा उनी उठिरहन्थे, यताउता पिच्चपिच्च थुक्नका लागि । मैले सत्यनारायणसँग भर्‍याङमा टाँसिएको महादेवको पोस्टरका बारेमा सोधेँ । तर उनी रिसाए । उनले फनफनिँदै भने, ‘यो कुरा मलाई थाहा छैन । एकाउन्टेन्टलाई थाहा होला, उसैलाई सोध्नूस् ।’

उनको जवाफ सुनेर म डराएँ । सामान्य अवस्थाका सत्यनारायण मेरो प्रश्नबाट यति धेरै क्रोधित बने कि हाम्रो काममा सहयोग गर्नै छाडे, हामीसँग बोल्न पनि छाडे । उनी हामी काम गरिरहेको कोठाबाट हिँडे र पछि देखापर्नै आएनन् ।

पोस्टरका बारेमा सोध्दा त्यति धेरै रिसाउनु पर्नाको कारण के होला ? त्यसमा ठूलै रहस्य छ कि के हो ? मेरो कौतूहल झनै बढेर गयो ।

सत्यनारायण असहयोगी बनेपछि हाम्रो सहयोगका लागि मृगेन्द्रप्रसाद खटाइए । उनी हँसिला, रसिला र काममा जाँगरिला पनि रहेछन् । तर, जहाँ पायो त्यहीँ पिच्चपिच्च थुक्ने उनको बानी हामीलाई पटक्कै मन परेन । अफिसका कागजपत्र र लेजरहरूमा समेत उनको थुकका छिटा परेको देखिन्थ्यो । तैपनि, हामीले उनलाई केही भनेनौँ । हाम्रो काममा उनले राम्रो सहयोग पुर्‍याइरहेकाले पनि उनलाई केही भन्न सकिरहेका थिएनौँ । एकपटक उनले झ्यालबाट थुकेको थुकको छिटा हाम्रो मुखमा समेत पर्‍यो । हामीले आपत्ति जनायौँ । त्यसरी जहाँ पायो, त्यहीँ नथुक्न अनुरोध पनि गर्‍यौँ । तर, उनी कसैलाई टेर्ने खालका मान्छे रहेनछन् । हाम्रो अनुरोधलाई पनि उनले टेरेनन् । उनले पिच्चपिच्च थुकिरहे । हामीले सहिरह्यौँ ।

मान्छे जे–जस्तो भए पनि भर्‍याङको पोस्टरका बारेमा मृगेन्द्रप्रसादलाई नै सोध्नुपर्‍यो भन्ने लाग्यो । प्रसंगवश मैले सोधेँ, “तलको भर्‍याङमा महादेवको पोस्टर किन टाँसेको मृगेन्द्रजी ?”
मेरो प्रश्नले मृगेन्द्रप्रसादलाई पनि नकारात्मक बनायो । उनी पनि सत्यनारायण जसरी नै रिसाए । उनले भने, “यो कुरा मलाई होइन, तल्लो कोठामा बस्ने एकाउन्टेन्ट छ नि † हो, त्यसैलाई सोध्नूस् ।”
पोस्टरको कुरा निकै नै विवादास्पद लाग्यो मलाई । मेरो कौतूहल झनै बढ्यो । म एकाउन्टेन्टको कार्यकक्षतिर लागेँ ।

एकाउन्टेन्ट रहेछन् नेत्रविनोद । मैले उनैसँग पोस्टरका बारेमा जान्ने कोसिस गरेँ । उनको कार्यकक्षमा दुई जना सेवाग्राही पनि थिए । अरूका अगाडि पोस्टरको कुरा झिक्न मन लागेन । त्यसैले चुपचाप बसिरहेँ । सेवाग्राही दुवै गए । तैपनि, मलाई पोस्टरको कुरा निकालिहाल्न अलि डर लाग्यो । सत्यनारायण र मृगेन्द्रप्रसादजस्तै यी एकाउन्टेन्ट पनि रिसाउने हुन् कि भन्ने त्रासका कारण म पोस्टरको कुरा उठाउन सकिरहेको थिइनँ ।

अन्य कुराको सिलसिलामा पोस्टरको कुरा निकाल्न एकाउन्टेन्टले नै सजिलो बनाइदिए । उनी आफैँले बैंक भवन र यसको सरसफाइको कुरा निकाले । त्यही प्रसंगमा मैले भनेँ, “त्यो भर्‍याङको भित्तामा महादेवको त्यति ठूलो पोस्टर टाँस्नुको कारणचाहिँ के होला ?”

रिसाउलान् भन्ठानिएका एकाउन्टेन्ट मेरो प्रश्नले निकै खुसी पो भए । उनले प्रसन्नतासहित भने, “राम्रो कुरा ख्याल गर्नु भएछ । मलाई खुसी लाग्यो ।” उनले निकै लामो भूमिकासहित पोस्टरका बारेमा बताए ।

एकाउन्टेन्ट नेत्रविनोद अन्यत्रबाट सरुवा भएर एक वर्षअघि यस कार्यालयमा आएका रहेछन् । उनी उत्साहका साथ यहाँ आएका रहेछन् तर उनको त्यो उत्साह बैंकको मूल गेटबाट प्रवेश गर्दागर्दै निरुत्साहित बन्न पुगेछ । गेटबाट छिर्नेबित्तिकै उनले देखेछन्, जताततै धूलो, फोहर र घीनलाग्दा टाटाहरू । कुनै वस्तुको सौन्दर्यलाई कुरूपताले गिज्याइरहेजस्तो ।

भुइँतलाको हविगत देखिसकेपछि उनी अर्को तलामा उक्लिन थालेछन् । भर्‍याङ उक्लँदाउक्लँदै उनलाई दुर्गन्धले डसेछ । दुर्गन्धको कारण पत्ता लगाउन उनलाई धेरै बेर लागेन । उनका आँखा भर्‍याङको घुम्तीसँगैको भित्तामा अडिए । उनले देखे, पान र सुर्तीका छोक्राहरू थपिँदै थपिँदै गएर गारो नै पुरिइसकेछ । पान र सुर्तीका छोक्राले गारोलाई नै एक–डेढ इन्च बढाइसकेछ । फोहरले मेटाउँदै गएको भवनको सुन्दरतालाई देखेर नेत्रविनोद दु:खी बनेछन् ।

उनले भोलिपल्टै बैंक भवन सफा गर्न लगाए । भर्‍याङको दुर्गन्धित फोहर पनि सफा भयो । तर, त्यस कुराको प्रशंसा कसैले गरेनन् । उल्टो ‘यो मान्छे बैंकको एकाउन्टेन्ट हो कि सफाइ मजदुर’ भनेर उनको आलोचना सुरु भयो । यतिसम्म कि बैंकले तलब खुवाएर सफाइका लागि व्यवस्था गरेका स्विपरसमेत उनलाई व्यंग्य गरेर उडाउनमा तल्लीन रहे ।

कार्यालय सफा गरेको दिन एकाउन्टेन्ट निकै खुसी भए । अब बैंक भवन सधैँ सफा रहने विश्वास उनमा पलायो । तर, उनको विश्वासले टिक्नै मौकै पाएन । भोलिपल्टदेखि फेरि उस्तै । बैंकका सेवाग्राही मात्र होइन, पान, सुपारी र सुर्तीको लत लागेका कर्मचारीसमेत ‘थुक्नकै लागि ठाउँ सफा गरिएको’ भन्दै फेरि त्यहीँ थुक्न थाले । दुई सातापछि फेरि सफा गरेर ‘यस ठाउँमा थुक्न मनाही छ’ भनेर सूचना टाँसियो । तर, उनीहरू त्यही सूचनामाथि नै थुक्न थाले । त्यसपछि फेरि सफा गरेर ‘यस ठाउँमा थुक्ने कुत्ता हो’ भनेर अर्को सूचना टाँसियो । तर पनि थुक्ने कुरा रोकिएन । थुक्न बानी परेकाहरू ‘यस ठाउँमा थुक्ने कुत्ता हो’ भनेर लेखिएका अक्षरहरूमाथि नै थुक्न थाले ।

पान खाएर थुक्ने कुरामा कर्मचारीबीचमा पहिलेदेखि नै झगडा पर्ने गरेको रहेछ । कर्मचारी र सेवाग्राहीका बीचमा पनि त्यस्तै । पछिल्लो घटनामा एकाउन्टेन्ट नेत्रविनोद र कर्मचारीबीचमै पनि खटपट सुरु भएछ । पान–सुर्ती खाएर थुक्न पल्केकासँग उनको झगडै परेछ । ती कर्मचारी उनीसँग बोल्नै छाडेछन् । पान–सुर्ती खाएर जथाभावी थुक्न पाइन्न र थुक्न पाउनुपर्छ भन्ने कर्मचारीबीचको झगडा सेवाग्राहीसम्म पुगेछ । केही सेवाग्राहीसमेत ‘पहिलेदेखि थुकिआएको ठाउँमा अब पनि थुक्न पाउनुपर्ने’ माग गर्न थालेछन् ।

यस विवादबाट एकाउन्टेन्ट निकै नै चिन्तित बन्न पुगेछन् । उनलाई कति रात त निद्रै परेनछ । हरेक रात उनी भर्‍याङमा थुक्ने कुरालाई कसरी रोक्ने होला भन्ने चिन्तामा बिताउन थालेछन् । त्यही चिन्ताका बीच एक रात उनले झल्याँस्स सम्झेछन्, ‘भगवान्को फोटो π’ उनलाई लागेछ, ‘हामी धर्मभीरूहरू फोहरदेखि नडराए पनि भगवान्को फोटोदेखि त डराइहाल्छौँ नि π’

उनी बिहानै बजार गए । कुनै भगवान्को सबैभन्दा ठूलो फोटो खोजे । त्यहाँ उनले महादेवको ठूलै पोस्टर भेटे । भर्‍याङको भित्तो फेरि सफा गरेर पोस्टर टाँस्न लगाए । पोस्टर टाँसी सकेपछि पनि उनको मन चिन्तामुक्त हुन भने सकेन । उनी फेरि सोच्न थाले, ‘महादेवको पोस्टरमै थुक्न थाले भनेचाहिँ के गर्ने होला ?’

तर, त्यसपछि उनले अरू कुनै उपायबारे सोच्नु परेन । फोहरबाट हुने रोगव्याधदेखि नडराउने हामी नेपाली पोस्टरका भगवान्देखि नडराउने कुरै थिएन । पोस्टर टाँसेको थाहा नपाउनेहरू फेरि पनि त्यहाँ थुक्न भनेर त पुगे तर महादेवको बडेमानको पोस्टर देखेपछि आफैँ डराएर भागे । ‘भगवान्’को कस्तो भय ?

नेत्रविनोदले भने, “जबसम्म त्यो पोस्टर त्यहाँ रहला, त्यस बेलासम्म त त्यो ठाउँ सफा नै रहला । अब म त्यसको चिन्ता गर्दिनँ । मुख्य चिन्ता त विवेकपूर्ण चेतनाको विकासमा हामी अझै कहाँ छौँ भन्ने कुराको हो नि, होइन र ?”
मैले टाउको हल्लाएँ ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक कार्तिक २८, २०७३)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.