~नन्दलाल आचार्य~
१. अधोगतिको मूल जरो : दासत्व मनोवृत्ति
मित्र अग्नि !
आज म तँलाई मेरो सेरोफेरो घुमाउँदै छु । मलाई शब्दमा उत्रेको पाएपछि तेरो मन पनि शान्त होला भन्ठान्दै छु । तेरा मनमा उठेका हरेक प्रश्नहरूले जवाफ भेटे भने तँ पनि प्रश्नविहीन होलास् भन्ठान्छु । हेर् ! तँ मलाई अहिले केवल एक विद्रोहीका रूपमा मात्र चिन्छस् । म एक समयमा ‘राजदेव’ नामधारी अबुझ ठिटो पनि थिएँ भन्ने कुरामा तँ विल्कुलै अनविज्ञ छस् । आजको घडीसम्म आइपुग्न मैले दर्जनौं पटक मृत्युसँग साक्षात्कार गरेको छु । अबुझ राजदेवदेखि एक विद्रोहीसम्मको यात्रामा जीवनलाई कति वर्ष कसरी मथ्ने काम गरेँ भन्ने वृतान्त नसुनाई हुन्न । त्यसपछि मात्र तैंले आफ्नो मनलाई प्रश्न सोध्ने हो । अनि उब्जेका प्रश्नहरू मेरासामु राख्ने हो । जीवनलाई सतहीमा बुझ्न खोज्दा नै सङ्कटको घडी आउने हो । मित्र ! कुरा सुन्दै जा, मनमा पनि गुन्दै जा ! कुनै न कुनै घडीमा ‘म अहिले कहाँ छु’ भन्ने कुरा जरुर थाहा पाउने छस् ।
आखिरमा संसारमा सबै एकै प्रकारले आउँछन् । र, एकै प्रकारले जान्छन् । रहर हुन्छ धनी बन्ने तर गरिब बन्ने हुँदैन । कसैको मनोकाङ्क्षा होला, उच्च कुलमा जन्मने तर कथित निच कुलको हुने रहर कसैको हुन्न । अब भने दिनानुदिन परिभाषाहरू बदलिँदा छन् । एक आशलाग्दो सूर्योदय भइरहेको प्रतीत हुन्छ । तर, अझै पनि परिवर्तनको किरण महलसम्म नपुगेको आभाष भइरहेछ । अझै पनि समानताको शङ्खघोष नभइरहेको भान भइरहेछ । अझै पनि समाज एकाध शताब्दीसम्म पुरातन संस्कारकै वरपर घुमिहिँड्ने निश्चित भइरहेछ । समय भने परिवर्तनको दिशातर्फ मोडिइरहेछ । हामी भने मन पुरातनतिर र मुख आधुनिकतातिर पारिरहेछौँ । थरिथरिका जिब्राहरू हामीसँगै छन् । कुन जिब्राको प्रयोग कतिखेर गर्ने भन्ने कुराको जानिफकार हामी नै छौँ । हाम्रो मन जे भए पनि आफूलाई बचाउने रणनीति अपनाउन जान्दछौँ । यथास्थिति नै हाम्रो जप, तप र गन्तव्य हुन्छ । अनि, रूपान्तरण कहाँ पाइन्छ ? त्यसैले त मित्र मलाई आफ्ना कुराहरू गर्न गाह्रो परेको छ । मन ओछ्याउन असजिलो महसुस भएको छ ।
मित्र अग्नि ! मेरा यी शब्दहरूको भुक्तभोगी म स्वयम् हँु । भावनाको लेप लगाउनु आवश्यक ठान्दिनँ । तीतो जीवनलाई समेट्ने शब्द भेट्दिनँ । मान्छेले समयको पाठ पढ्न सिक्नुपर्ने रहेछ । आफू समाजमा समायोजित हुने हैन, समाजलाई आफू अनुकूल बनाउने हो भने हिम्मत जुटाउनु पर्ने रहेछ । हो, संसारलाई अग्रदिशामा लम्काउन आफैँले कहर काट्न पनि रहर गर्नुपर्ने रहेछ । समयले गरेको सङ्केतलाई मैले गुरुअस्त्र मानेँ । विचारले मथेको अनुभवलाई व्यवहारमा उतारेँ । मधेसको माटोले पिलाएको अमृतका बलले पहाडलाई जोड्न सकेँ । धेरैले हारेका युद्धहरू म एक्लैले धेरै पटक जितेँ । सामान्य भएर पनि पटक–पटक असामान्य जीवन विताएँ । साँच्चै भनूँ मित्र ! म धेरै पटक मान्छे नभई बाँचेँ । धेरै पटक पत्थरको जीवन धारण गरेँ । मायालाई मैले पिएको थिएँ, पचाएको थिएँ । कर्तव्यलाई मैले मूलमन्त्र ठानेको थिएँ । ‘मुक्ति वा मृत्यु’ मध्ये एकलाई छान्न म महायुद्धमा सरिक थिएँ ।
तँ सोच्दो होस्, बलान नदी किनाराको बालुवामा जन्मे हुर्केको, चुरे पहाडबाट बग्दै आएको पानीको भेलले चलखेल गर्ने खुरचुहिया, गरुराहा गाउँको झाँडी–झोक्रीमा लुकामारी खेल्दै बढेको यस केटोले कत्रो नै मन बनाउन सकेको होला र ! समयले यसलाई घाउ दियो । त्यसैमा मलहम पट्टी बाँध्न यसले गरुराहा गाउँलाई नै भुलिदियो । खुरचुहिया चौकको धुलौटे बाटो नै हिँड्न बिर्सिदियो । जन्मले दबेको थियो, कर्मले उक्सने रहरले आफ्नो नामलाई नै त्यागिदियो । सानो सकसले ठूलो फल प्राप्तिको सपना सजाइरह्यो । फलस्वरूप बुबाआमा, दाजुदिदीलाई उठिबास दिलायो । आफ्ना स्वजातिय भाइबन्धुको अमनचयनमा प्रश्न चिन्ह लगाइदियो । यो केटो यस्तो केटो हो जसले स्वजातिलाई धेरै दिन वृक्षमुनि सुतायो, कठोर कठगरामा उभ्याएर स्पष्टीकरणको लामो वयान दिन लगायो । आफूले त कहिल्यै सन्तोष भेटेन तर अरूलाई धरधरी रुने बनायो । र, पनि अझै न गाँसको ठेगान छ, न बासको व्यवस्था छ । सफल हुन नसक्नेले सफलताको सूत्र सिकाउँदै हिँड्नु किमार्थ उचित होइन । भएको यस्तै छ । चिप्ला कुराले मन त भरिएला तर पेट भरिन्न । क्षणिक प्रिय बन्ला तर कालान्तरसम्मको छाप्रो बन्दैन । सत्यलाई बङ्ग्याएर मान्छेलाई भुल्याउन मिल्दैन ।
हो, मित्र ! तेरा मनमा यस्ता अनगिन्ती कुराहरू खेलिरहेका होलान् । तेरो दिमाखमा मलाई अशुद्ध देख्ने धेरै प्रमाणहरू विद्यमान होलान् । मेरो मन र मस्तिष्क पढ्न चाहेर पनि पढ्न नसकेका धेरै अवस्थाहरू होलान् । आलोचनात्मक आँखाले हेर्दा दुनियाँ चित्रविचित्रको छ । हो, तेरा लागि म थरिथरिको हुँला । हो, तेरा आँखामा म अलिक अफ्ठ्यारो मान्छे गनिउँला । धन्दा नमान, यस पटक म स्वयम्लाई शब्दमा रूपान्तरण गर्दै छु । तँ चाहेको बेला पढ्न सक्छस् । बेफुर्सदीको बेला थन्क्याउन सक्छस् । थोरै भए पनि गुण देखिस् भने आफ्नै सम्झेर ग्रहण गर्न सक्छस् । अवगुण फेला परेछ भने पाठ पढेर आफू सप्रिन सक्छस् । नत्र, मलाई सक्दो धिकार्न सक्छस् । तेरो अधिकार तँसँग नै सुरक्षित छ । त्यसको सम्मान गर्ने एउटा मन मसँग पनि छ । मन नै नभएको विद्रोही भन्न पर्दैन । पत्थर मन बनाएर काम गरेको भए पनि मान्छे मन मसँग पर्याप्त छ । भ्रममा नपर् । तँ मबाट परपर नसर् । नजिक हुन सकिस् भने मलाई पढ्न सक्छस् । टाढिँदै जाँदा मलाई सम्झन सक्दैनस् । मेरो बोक्रे अध्ययनले तँलाई फुटेको कौडी मिल्ने वाला छैन । मभित्र डुबेर मलाई हेरिस् भने तँ मलाई छ्याङ्ग देख्ने छस् । धरोधर्म भन्छु– तँ आफ्नो सोचमा अझ गम्भीर बन्ने छस् । मलाई हेर्ने तेरा नकार आँखाहरू धमिला हुने छन् । सकार आँखाहरू खुल्ने छन् ।
ल त, कुरोको चुरोमा प्रवेश गर्दै छु । मेरा पितापुर्खाको स्मरण बेगर मेरो विद्रोहको विन्दु बुझ्न सकिन्न । म ‘राजदेव’ भएर रहन नसक्नुका कारक तत्वहरू फेला पार्न सकिन्न । म हिँडेको बाटो रहरको नभई बाध्यता र आवश्यकताको थियो भन्ने पुष्टि हुन्न । मलाई एकफेरा त्यस युगमा प्रवेश गर्न दे, जुन युगमा सैनी मोचीका हजुरबुबासँग दर्जन जति घोडा थिए, अन्य पाल्तु पशुको गणना गनिसाध्य थिएन । अचल सम्पत्तिको बखानमा घण्टा वितेको पत्तो पाइन्नथ्यो । हेर्, मित्र ! तँलाई म सुटुक्क त्यतैतिर लान्छु । अघाउँजी चिसो जल पियाउँछु । र, पुनः यही धरातलमा फर्काउँछु । किनभने, जीवनलाई गन्तव्यसम्म यही विन्दु भएर पु¥याउनुछ । सोझो राजमार्ग रोज्दारोज्दै नपुगे अवश्य बाङ्गोटिङ्गो राजमार्ग समाउनुछ । हो, मैले फर्केर यतै आउँनुछ । र, साथमा तँलाई पनि ल्याउनुछ । अतीत केवल भ्रम हो त्यसका लागि जसले अतीतको पूजाआजामा समय सिद्धयाउँछ । अतीत त सत्य हो त्यसका लागि जसले त्यसबाट मनग्यै पाठ पढेको हुन्छ । अतीतबाट वर्तमान चियाउने र भविष्य सजाउनेले नै राज गर्न सक्छ । सुखी अतीत पढ्दै दुःखी वर्तमानमा आत्तिनेहरू धेरै हराएका छन् । दुःखी अतीत घोक्दै सुखी वर्तमान पकडमा लिन नसक्नेहरू बौलाएर गएका छन् । अतीतको हविगतलाई निचोरेर सुकिलो पाटोले वर्तमान सेक्नेहरू अहिले ठूलो छाती पारेर गर्व गर्न सक्छन् । हो, म पनि त्यही हुँ, वर्तमान सेक्न तम्तयार सिपाही हुँ । धेरै पल्ट मृत्युुशास्त्र पढेर शास्त्रार्थ गरेको व्यक्ति हुँ । धोकाको खोल कुल्चेको मान्छे हुँ । विश्वासको गम्छा ओडेको मान्छे हुँ । खोला–नदीनाला, खोँच, गुफा, उकाली–ओराली जताततै जसरी हुन्छ, त्यसरी पुगेर कर्तव्य निर्वाह गरेको विश्वविद्यालयको असल शिष्य हुँ । म धेरै ठाउँमा उत्तीर्ण तर महत्वपूर्ण स्थानमा अझै असफल शिष्य हुँ । अझै विश्वविद्यालयको अध्ययनमा जुटिरहेको छु । अझै आफ्नो छातीभित्र जवरजस्त दबाइएका ज्वाराभाटाहरूलाई विष्फोट गर्न कम्मर कसेको लाल सिपाही हुँ ।
घना जङ्गलको छेउमै एउटा सानो गाउँ । गाउँसँगै जोडिएका फराकिला खेतका फाँटहरू । गाईवस्तु चरिचराउका लागि पर्याप्त फराकिलो हरियो चौरी । खान लगाउनका लागि कसैको मुख कसैले ताक्नु नपर्ने अवस्था । पुर्खौली पेशा रहरका लागि मात्र । आफ्नै खेतबारी समाल्दा समाल्दै र पाल्तु पशुको हेरचाह गर्दा गर्दै कसैले सास फेर्न नपाउने अवस्था । चौधरी, यादव वस्तीहरूमा मरेका गाईवस्तुको सिनो फाल्न बोलाउने गरेका तर पारिश्रमिकको व्यवस्था नभएको अवस्था । वर्षेनी चाडपर्व वा त्यस्तै माङ्गलिक कार्यहरूमा निम्तोबमोजिम पुग्ने र दिएको दक्षिणा स्विकारेर उनीहरूलाई पुण्य कमाइदिनुपर्ने अवस्था । जसका घरमा छोराहरूको ताँती, त्यसैका घरमा हात्तीघोडा रहन सक्ने हैसियत हुने सामाजिक मनोविज्ञानको समय । छोरा जन्माउने होडबाजी । दाइजो लेनदेनको समय विल्कुलै नआएको अवस्था । भनूँ न दाइजो दिने र लिने प्रथाको श्रीगणेश नै नभएको पवित्र समय । सन्तानका लागि भाकल र पूजापाठ अनि भोजभत्तेरमा पुर्खाको हड्डी बिक्री भएको पत्तो नपाउने अवस्था । भूतप्रेत, बोक्सीबाट त्रस्त हुने मानसिकता । धामी–झाँक्रीप्रति अकाट्य आस्था र विश्बास गर्ने चलन । अघि बढेकाहरूलाई खुट्टा तान्ने, पछि परेकाहरूलाई उठ्नै नदिने प्रवृत्तिले जरा गाडी नसकेको मनोविज्ञान । धन नहुनेहरूले मालिकहरूलाई नै प्रशन्न तुल्याएर जीवन धान्नुपर्छ, मालिकहरूको जस्तोसुकै अत्याचारलाई पनि पुरस्कार सम्झनुपर्छ भन्ने दासमनोवृत्तिले राम्ररी साम्राज्य कायम गरेको समय । त्यसबेला गरुराहा गाउँको चमार वस्ती यस्तै थियो । आफूलाई चिन्न नसक्ने तर अरूलाई चिन्न खोज्ने प्रवृत्ति हाबी थियो ।
त्यसै गाउँका सैनी मोची गाउँकै धनाढ्य कहलाउँथे । सौखका लागि घोडा राखेका थिए । बाहिरफेरोको कामकाज नोकर तथा ज्यालादारहरूबाट गराउँथे । आफ्ना परिवारका कुनै सदस्यलाई घर बाहिरको काममा खटाउँदैनथे । प्रत्येक दिन आधा दर्जन जति नोकर तथा ज्यालादारहरू उनीकहाँ काम गर्थे । वस्तीका मुद्दाफैसलामा उनैलाई मुखिया बनाइन्थ्यो । उनकै दलान न्यायालयझैं प्रतीत हुन्थ्यो । त्यस गाउँका मान्छेले आयआर्जनका लागि भारत भासिनु पर्ने अवस्था विल्कुलै थिएन । अझ, अरू वस्ती चहार्नु पर्ने अवस्था समेत आएको थिएन । कसैले अन्यायमा पर्नु परेको थिएन । कोही अन्याय गर्दागर्दै पानी माथिको ओभानो भई धेरै दिन टिक्न सक्दैनथ्यो । भनौं न राज्यको उपस्थितिको नाममा मालपोत उठाउन ठेकेदारहरू वर्षेनी आउँथे । त्यस पछि काम तमाम गरेर वर्ष दिनका लागि विदा हुन्थे । मालपोत तिर्न सक्नेको जग्गा जोगिन्थ्यो । नसक्नेहरूको जग्गा कामतवालाहरूको अधीनमा जान्थ्यो । कामत पनि तिनै मालपोते ठेकेदारहरूको हुन्थ्यो । विन्दु यादवहरू, कामदेव चौधरीहरू नै कामत मालिक हुन्थे । मालपोतका ठेकेदार हुन्थे । सरकारी प्रतिनिधि कहलिन्थे । त्यो क्षेत्र उनीहरूकै प्रत्यक्ष–परोक्ष नियन्त्रणमा रहेको थियो ।
सैनीको समयावधिभर त्यस्तो अप्रिय केही देखिएन । उनको अवसानसँगै हाम्रो परिवारको अमनचयन अपहरणमा पर्दै आयो । उनका छोराहरू असर्फी र अगमलालको समयमा नै हाम्रो सिरिखुरी उड्दै गयो । परिवारमा एकपछि अर्को गर्दै सङ्कटहरू आउँदै गए । तिनीहरूको छेकबार गर्ने बुद्धि असर्फी र अगमलालमा नभएको तथ्य प्रष्ट देखिन्छ । गुहालीभरिका गाईभैंसी, बाख्रापाठा कसरी हराउँदै र नासिँदै गए भन्ने कहिरन रहस्यको गर्भमा नै छ । ती दुबै हजुरबुबा बयस्क हुँदा नहुँदै परिवारले खेप्नु परेका दुःखका कहिरन कहालीलाग्दा नै छन् । सोच्नै नसकिने घडीहरू आए । आयस्था र सुविस्थाका सबै पलहरू बिलाउँदै गए । जेनतेन वंश जोगियो । त्यसैले त आज तेरा अगाडि उभिएर भलाकुसारी गर्न पाइयो । चरण चरणमा हण्डर र ठक्कर भेटियो ।
मित्र अग्नि ! कुरो नै गहिरो छ । भन्नेहरू त भन्थे– सैनीले सह नै लिएर गयो । असर्फी र अगमलाललाई दुःख मात्र पिलाउने काम ग¥यो । उसले दुःख पनि ग¥यो । सुख पनि पायो । दुःख फ्याक्यो । सुख साथमा लिएर गयो । उपकारी थियो । नोकरचाकरलाई छोराछोरी सम्झन्थ्यो । तिनै धनी भए । काम गर्नेको शरीरमा पसिना आउनुपर्छ तर आँखामा आँसु आउनुहुन्न भन्ने सिद्धान्त उसकै हो । परिवारका सदस्य बरू टाढा थिए । काम गर्नेहरू नजिक थिए । श्रमिकले सन्तोष पाएमा मालिकको विजयका दिन सुरु हुन्छन् भन्ने मत उसकै थियो । सबैबाट चमार गाउँकै राजा हो भन्ने सम्मान पाएको थियो । उसले बिगार केही गरेको छैन । सन्तानलाई सुखमा राख्नु नै उसको अपराध ठहरिएको हो । सकस जति आफ्नो थाप्लोमा लिने र सुख जति परिवारका पाउमा राखिदिने त्यसको उपकारी व्यवहार नै कालान्तरमा पुर्खौली साख बन्यो । अरूले पनि त्यसैलाई पछ्याइरहे । त्यसकै कारणले सुखको सूर्य डुब्यो । बदलामा दुःखको चन्द्रग्रहण देखाप¥यो । अलिक त दलित वर्गमा सुझबुझको कमी रहेकाले पनि हातमा आएको फल चिन्न सकेन । ठूलो मन बनाएर सङ्कटसँग पौंठेजोरी खेल्न सकेन । वनका बाघसँग कुस्ती खेल्नु परे पनि बरू आँट थियो । तर, गाउँका लुच्चासित जुध्ने सहास गरेन । उनीहरूको खटनपटनमा बस्नु नै पर्छ भन्ने मानसिकता नै घातक थियो । यो कुरो त बल्ल बुझिँदैछ । आफ्नै समझलाई फराकिलो पार्न सकेको भए सैनीले चमार जातिप्रतिको हेय दृष्टिकोणलाई नै उल्टाउने थियो । ऊ कहिल्यै कसैको दैलोमा उभिएन । बरू उसकै दैलामा थुप्रै मान्छे उभिए । प्रायः स्वजाति उभिए । अन्य जाति समेत नउभिएका होइनन् । तर, ती सबै महाजनहरूका पैतालाले कुच्याइएकाहरू मात्र थिए । जन्मले छुत थिए तर व्यवहारले हामीझंै अछुत थिए । हाम्रो पीडा एकातिर थियो । उनीहरूको पीडा भने अर्कैतिर थियो । जे होस्, त्यस समयमा मान्छे नबुझेर बाँचिरहेका थिए । अहिले मान्छे बुझेर पनि बुझ पचाउँदै बाँचिरहेको छ ।
हेर् साथी ! म त समाजको सदस्य नै होइन । हुँ नै भने पनि शिर उठाउन नपाउने, एका विहानै मुख देखाउन नमिल्ने वर्ग हुँ । मान्छेजस्तो भएर पनि जन्मले नै मान्छे हुनबाट ठगिएको प्राकृतिक अभागी हुँ । आफ्नो खुसीलाई दबाएर अरूको खुशीका लागि कम्मर कसेर लाग्ने वर्ग हुँ । मैले हक खोज्नुहुन्न । मुखौले कानुनको जालमा बेरिनुपर्छ । समाजको ठाडो आदेशलाई ईश्वरीय महावाणी सम्झनुपर्छ । गाउँको दुर्गन्ध फ्याक्नुपर्छ । गाउँका टाठाबाठाको सुखलाई गन्तव्य मान्नुपर्छ । चाडबाड आएको उद्घोष ढोलक बजाएर गर्नुपर्छ । समाजलाई चनाखो पार्नमा भूमिका खेल्नुपर्छ । पुर्खाैली पेशालाई गर्वको आधार बनाउनुपर्छ । यस्तै मानसिकतामा त हाम्रो समुदाय सुतेको थियो । नयाँ धार र दृष्टिकोणबाट आफूलाई निरीक्षण गर्न उसले कहिल्यै सोचेन । अरूकै सुख र खुशीमा आफ्नो सर्वस्व लुकेको महसुस गर्दौ भयो । जसले जति हेपे पनि, चेपे पनि त्यसलाई सामान्य ठान्दो भयो । दुःख पर्दा कर्मको फल भन्दो भयो ।
समय एक नासको किन रहन्थ्यो । २००२÷३ सालमा रौदी भयो । २००७ सालमा हैजा फैलियो । यी दुबै प्रकोपले गरुराहाको चमार वस्तीको सिरिखुरी उड्यो । अब ती दिन कहिल्यै आउँदैनन् । त्यो सुख–शान्ति र वैभव फर्कला भन्ने सपनामा पनि कल्पना गर्न सकिन्न । परिस्थितिलाई काबुमा ल्याउने हिम्मत कसैको थिएन । एकातिर ज्ञान पनि थिएन । अर्कातिर आँट पनि थिएन । मात्र भित्रभित्रै पाक्नु अनि थाक्नुमै ती वर्षहरू विते । घर चलाउने मुलीहरू नै परमधाम हुनु भनेपछि कत्रो विपत्ति हो, त्यो आफैंले बुझ्दा हुन्छ । मित्र अग्नि ! भोग्नेलाई नै सम्पूर्ण कुराको ज्ञात हुन्छ । नमरी स्वर्ग देखिन्न भनेझैं हामी सुन्नेलाई सानो लाग्ला तर मेरी बचेकी एक मात्र हजुरआमा खटरीको मनमा महाभारत अडिएको थियो । ती महाभारतका श्रृङ्खलाहरू मैले सुनेको छु । ती दृश्यहरूलाई मनमस्तिष्कमा खिचेर राखेको छु । त्यो भयावह दृष्यको चर्चा कताबाट सुरु गरूँ ! म शब्द खोज्दै छु । जस्तो थियो त्यस्तै खिच्न सक्ने शब्द पारखी हुन सकिएन । अतः मेरो प्रयास मात्र हो । बुझ्ने तिमीहरू आफैंले हो ।
असर्फी र अगमलाल पुर्खौली धन स्याहारेर बसेका थिए । दुःख आएर दैलोबाट चियाउन खोज्थ्यो । उनीहरूले भित्र पस्न दिएका थिएनन् । पहिलो वर्षको रौदीलाई जेनतेन पचाए । बिमारसिमार भैपरीलाई जसोतसो टारे । भन्नै पर्ने अनिष्ट भित्रिएन । बुझाउनुपर्ने मालपोत बुझाए । कामतवालाको मुखमा बुझो लगाए । अर्को वर्ष समेत पानीको थोपो खसेन । अनिकालले यत्ति सतायो कि तीन छाकमा एक छाक पनि खान पाइएन । अर्काको घरमा काम गर्न जान पनि नसक्ने, अरू सदस्यलाई जान पनि नदिने ! असर्फी र अगमलाललाई परिवार धान्न चर्को प¥यो । हुँदाहुँदै मालपोत तिर्न सकेनन् । दुःख लुकाउँदैमा लुक्न सकेन । पैंचो अन्न खोज्न थाले । घरभरि बालबच्चा थपिँदा थिए । आम्दानी बन्दै थिएन । पाल्तु पशुहरू पनि मासिँदै गए । कुनै मरेर गए, कुनै खर्च धान्न बेचिए । खेतबारीमा दुबो बाहेक अर्थोक उम्रन सकेन । त्यही दुबो टिपेर उसिनेर खान थालियो । वयस्कहरूका लागि त जेनतेन पेटमा चारो पथ्र्यो । बच्चाहरूका लागि भने दुबोको रसले काम गर्दैनथ्यो । भोकभोकै मर्न दिन मिल्दैनथ्यो । वनजङ्गलका गिठ्ठा–भ्याकुरहरू सकिँदै गए । अँगेनाको पाकेको माटो, नदी–खोला र खेतको चिम्ट्याइलो माटो, सुकेको माटाका पाप्राहरू खाएर भए पनि जेनतेन प्राण बचाएका थिए । बच्चाहरूलाई भने मडुवा (कोदो) को पिठाको खोले खुवाएर भए पनि ज्यान बचाउनु आवश्यक थियो । त्यो पनि जुटाउनु चानचुने कुरा थिएन । स्वजातिमा ऐंचोपैंचो गर्न सकिने अवस्था विल्कुलै थिएन । सबै घरका मुलीहरू तनावमा थिए । एक मन अन्न पैंचो ल्याइयो भने अर्को साल डेढ मन अन्न तिर्नु पथ्र्यो । अर्को साल पनि तिर्न नसकेमा त्यो डेढ मनमा एक मन सावा थपेर तिर्नु पथ्र्यो । प्रत्येक वर्ष डेढा ब्याज थपिँदै जाँदा सिरुसुरी जान धेरै समय पर्खनु पर्दैनथ्यो । सरकारको उपस्थिति हुने कुरै थिएन । गाउँकै साना सरकारहरूको हैकमअनुसार चल्नुपथ्र्यो । अर्को वर्ष त अन्न फल्ला भनेर पैंचो लिएको अन्न लगातार तीन वर्षको खडेरीले तिर्न सकिँदै सकिएन । अझ दिन प्रतिदिन थपिँदै गयो । मालपोत समेत तिर्न नसकेका कारण जग्गाजमिन स्थानीय कामतवालाको हुँदै गयो । ऋणबाट पार तर्ने उपाय छँदै थिएन । ऋण नतिरुँजेल मालिकको घरमै निःशुल्क काम गर्नुपर्ने अवस्था आयो । असर्फी र अगमलालले समेत मुटुमाथि ढुङ्गा राखेर हलीको काम गर्न थाले । दिनभर मालिकको सेवा गर्थे । साँझमा जुठोपुरो खाएर घर फर्कन्थे । कुनै–कुनै दिन कोदाको पिठो, कनिकाको पोको लिएर आउँथे । त्यही खाना हुन्थ्यो घरका सदस्यहरूको । यस्तै दिनचर्या थियो त्यस बेलाको ।
त्यस अवस्थामा पनि हजुरआमाहरूलाई कसैको घरमा काम गर्न जान मनाही गरिएको थियो । हजुरबुबा असर्फी र अगमलालको आँखा छलेर हजुरआमाहरू मालिक्नीहरूको सेवामा जुट्थे । जुठा भाँडा माझ्ने, खुट्टामा चिल्लो घस्ने, चामल केलाउने, करेसाबारी गोडमेल गरिदिने जस्ता कामहरू गर्थे । बदलामा मालिक्नीहरूबाट पुराना कपडा, कनिका, पिठो पाउँथे । लालाबालालाई त्यसकै खोले पकाएर खुवाउँथे । चारैतिर धूलो बाहेक अर्थोक उड्दैनथ्यो । मालिकहरूलाई समेत अन्न नफलेर केही धौधौ परेको हुनुपर्छ । तर, उनीहरूको पर्याप्त जग्गाजमिन भएको र सामान्य पानी परेको बेलामा पनि सिंचाइ गर्न सकिने असल जग्गा भएकोले केही अन्न अवस्य फल्थ्यो । धान–गहुँ राम्ररी नफले पनि कोदो त अवस्य फल्थ्यो । पाल्तु पशु प्रशस्त थिए । तिनै बेचेर र भारतबाट अन्न किनेर पनि गुजारा चलेकै थियो । पैंचो लगेर तिर्न नसकेका वर्गहरू निःशुल्क नोकर भइदिएकै थिए । ती दलित वस्तीमा राम्रा अनुहारका छोरीबुहारी हुनुहुन्नथ्यो । हुर्कनासाथ मालिकका सेवामा पेस हुनुपथ्र्यो । सेवामा जान नमान्नेहरू कसरी मृत्युको मुखमा पुग्थे, त्यो कसैलाई थाहा हुन्नथ्यो । बाबुविना नै पेट बोक्न पुगे भने त्यसको तुरुन्तै विवाह गरिदिनु पथ्र्यो । बुहारीखाललाई त जे गर्दा पनि भइहाल्थ्यो । त्यसमा इज्जत जाने कुरै आउन्नथ्यो । भोकै मर्नुभन्दा मालिकहरूलाई रिझाएर नै प्राण धान्नु ठीक छ भन्ने मनोवृत्तिले जरो गाडेको थियो ।
२. अत्याचारका विविध रूपहरू
मित्र अग्नि ! अब तँलाई म त्यतै लग्दै छु जहाँ कल्वा मोची मालिककहाँ काम गरिरहेको छ । ऊ अहिले मेरो छिमेकी हो । एक समयमा ऊ पिताजीको संरक्षक थियो । ऊ सोझो छ तर अबुझ छैन । अबुझ बन्न विवश छ । मालिकको मन खुशी भए, आफू र आफ्नो परिवारको जिउने आधार जुट्छ भन्ने मानसिकता बनाउन वाध्य छ । चुपचाप अह्राएको काम खुरुखुरु गरेमा मात्र आफ्नो जय छ, छक्कापञ्जा ग¥यो कि शरीरभरि निलडाम लिएर लखेटिन वाध्य हुनुपर्छ । उसको बुझाइ त्यत्ति नै छ ।
आलिशान घर छ । चारैतिर सुवासिला फूलहरू फुलिरहेका छन् । कल्वा इनारबाट पानी झिकेर सिंचाइ गरिरहेको छ । इनार पनि गहिरो छ । पानी निकाल्न मुस्किल पर्छ । मध्यान्नको बाह्र बजेभन्दा उकालो लागेको समय हुनुपर्छ । उसका पेटमा मुसा दगुरिरहेका छन् । कतिखेर काम सकिन्छ र मालिकले खाना खान छुट्टी दिन्छन् भनेर ऊ मालिक कज्याउने ध्याउन्नमा छ । मालिक वीरु टुलुटुलु यताउतीको दृष्य हेरिरहेको छ । घरिघरी त्यस बोटमा अरू पानी हाल भनिरहेको छ । घरी उस बोटलाई डोरीले बाँधी दे भनिरहेछ । जति पानी हाले पनि अब भयो भनेर भन्दैन । शरीर पसिनाले निथु्रक्कै भए पछि भने कल्वा खुई–खुई गर्दै शीतलमा बस्छ । उसलाई मालिकहरू दयालु भएकोले धन–वैभवले ऐश्वर्यशाली हुन सकेको आभाष भइरहन्छ ।
मालिकको मुखबाट दयामायाका शब्द निस्कलान् कि भन्ने आशले ऊ वीरुतिर फर्कन्छ । कल्वाकी छोरी लुसी पनि आँगनको छेउछाउका घाँसपात उखलिरहेकी हुन्छे । आफ्नै धुनमा काममा व्यस्त हुन्छे । भए जति सबै काम गरी सकिने हो भने मालिकहरू के काम लगाउँदा हुन् भनेर ऊ आफैंलाई प्रश्न गर्छे । बाबुको बोलीको प्रतीक्षामा रहेर काम गरिरहेकी हुन्छे । आँखा कामतिर एकोहो¥याए पनि कान भने चनाखा पारेर राख्छे । ‘बेटी खाइल चल’ (छोरी ! खान हिँड् ।) त्यत्तिखेर उसले सुन्न चाहेको कुरो नै त्यही हो । ऊ हलक्क बढेकी हुन्छे । यौवनका प्रारम्भिक रूपरेखा उसका शरीरमा प्रवेश गरिरहेको आभाष हुन्छ । कसैप्रति आकर्षण पनि छैन, विकर्षण पनि छैन । ऊ पनि धेरै कुरा बुझ्दिनँ तर महत्वपूर्ण कुरा भने बुझ्दछे । इज्जतका सवालमा चनाखो छे । साना हुन् या ठूला हुन् वा धनी हुन् या गरिब हुन्, इज्जत सबैको बराबर छ भन्ठान्ने उसको नीति छ । ऊ श्याम वर्णकी भए पनि सुन्दरी छे । जवानीमा स्याल पनि घोर्ले भनेझैं लुसीमा समेत त्यो नियम लागू नहुने कुरा आउँदैनथ्यो । उसलाई देखेर वीरु ¥याल काढ्छ । लुसी त्यस कुरामा बेखबर हुन्छे । छोरीतिर हेरिरहेको मालिकलाई देखेर कल्वा भने छक्क पर्छ ।
‘हे रै कल्वा ! तोहोर बेटी लुसीके साँझमे कामत भेज । भोरे सबेरे पठादेबोे ।’ (ए कल्वा ! तेरी छोरी लुसीलाई साँझमा कामत पठाइ दे । भोलि सबेरै फर्काइदिन्छु ।)
मालिकका कुराले ऊ अझ छक्क पर्छ । बोली फुट्दैन । भित्रभित्रै आगो दन्किन्छ । चिट्चिट् पसिना आउँछ । कसो गरौं, गरौं हुन्छ । विरुद्धमा बोलूँ भन्ने लाग्छ । तर, परिवारको विचल्नी हुने भयले क्रोध भित्रभित्रै दवाउँछ । र, मालिकतिर फर्केर फिस्स हाँस्छ ।
‘बात बुझली कल्वा !’ (कुरा बुझिस्, कल्वा !)
बुझेको कुरा सङ्केतबाट जनाउ दिँदै ऊ काम गर्न उठ्न खोज्छ । त्यत्तिकैमा वीरुको सङ्केत पाएर फेरि थचक्क बस्छ ।
‘कहाँ कुछो कहै छी !’ (खै, केही भन्दैनस् त !) वीरु अडान नछोड्ने आशय व्यक्त गर्छ । कल्वा मरेतुल्य हुन्छ । नबोली धर पाउँदैन ।
‘हमर बात नही मानलके त मालिक ! कि करबै !’ (मेरो कुरा मानिन भने मालिक के गर्नु !) ऊ विवशता पोख्छ ।
‘मिलाजुलाक कही न रे । भरपेट खाइला पाबतै । कपडों देबै । चाउरो द्याके पठादेबै । आब कि चाही ?’ (मिलाएर भन् न ! भरपेट खान पाउँछे । कपडाहरू पनि दिऊँला । चामल पनि दिएर पठाऊँला । अब अरू के चाहियो ?) धनको तुजुक देखाएर भए पनि आफ्नो मनोकाङ्क्षा पूर्ण गर्ने मनसायमा छ । ऊ आफ्नो जिद्दी छोड्दैन । कल्वा धर्मसङ्कटमा पर्छ ।
‘होयत मालिक ! जरुर भेजवै ।’ (हुन्छ मालिक ! अवश्य पठाउँछु ।) ऊ स्वीकारोक्ति जनाउन विवस हुन्छ । केही गुमाएरै भए पनि केही पाउँदा ऊ चित्त बुझाउन खोज्छ । मनले नमानेको कुरो मुखले भन्दिन्छ ।
वीरुबाट खाना खान जा भन्ने सङ्केत मिल्छ । त्यस सङ्केतलाई कल्वा भगवान्को आशीर्वाद सम्झन्छ । र, छोरीलाई समेत डाकेर भान्सा घरतर्फ मोडिन्छ ।
त्यसबेला मालिक र नोकर बीच यस्तै कुरा हुन्थे । मालिकका कुरामा समयअनुसार केही दया लुकेको पाइन्थ्यो । नोकरका कुरामा भने विवसता गुम्सेको भेटिन्थ्यो । एकले अर्काको पीरमार्का सम्बोधन गर्नुपर्छ भन्ने जरुरी छँदै थिएन । परिस्थितिको दास हुन बुधना मञ्जुर थियो ।
त्यही गुमराहा गाउँको हरिया मोची बिलट महाजनकहाँ जनमा काम गथ्र्यो । विहान झिसमिसेमा घर छाड्थ्यो । राती अबेर रात काट्न घर फर्कन्थ्यो । छोरीहरूको बिहे गरिसकेको थियो । छोरो बढ्दै थियो । छिमेकीहरू बिहे गर्दे भन्दै थिए । ऊ भने खर्चबर्चको जोहो गर्न नसक्नाले चुपचाप थियो । सुने पनि नसुनेझैं गर्न विवश थियो । बुझे पनि अबुझ बन्न प्रयासरत् थियो । मालिकको खेतमा साँझसम्म काम गरी एक भारी घाँस बोकेर फर्केको हरियालाई भारी विसाउन नपाउँदै मालिकको छोरो श्रीरामले सहानुभूतिको बोली निकाल्यो– हरिया ! बहुत काज केली । तुँ निक जन छी । (हरिया ! तैंले धेरै काम गरिस् । तँ असल मजदुर होस् ।)
श्रीराम हराम हो, साह्रै दुष्ट छ भन्ने कुराको प्रत्यक्षदर्शी ऊ स्वयम् हो । आज किन यस्ता सहानुभूतिका कुराहरू भनिँदै छ । खुशी हुनुको सट्टामा ऊ केही भयभीत बन्यो । कुनै नराम्रो काम गराउनुछ भने ऊ मीठा–मीठा कुरा गथ्र्यो । आज कुन प्रलय आउने प¥यो ! सम्भावित खतरा महसुस ग¥यो तर केही बोल्न सकेन । बोल्ने छुट कसैलाई हुन्नथ्यो । बोल्यो कि सकियो । जसले विरोध गर्छ, त्यसले कतै काम पाउन्नथ्यो । भोकभोकै मर्न विवश हुनुपथ्र्यो । मनका कुरा ओठमा ल्यायो कि बेस्कन पोल्यो । भोकभोकै मर्न विवश हुनुपथ्र्यो । अन्यत्र बोल्दै हिँड्यो भने अकालमा नै जीवनलीला समाप्त हुन्थ्यो । त्यसको भेउ कसैलाई पनि हुन्नथ्यो । भए पनि खोल्ने हिम्मत कसैको हुन्नथ्यो । कसैले खोली हाल्यो भने पत्याइदिने काम कसैबाट हुन्नथ्यो । पत्याइहाले पनि त्यसबाट मालिकहरूलाई कुनै लछारपाटोले छुँदैनथ्यो । बरू विपक्षीको सर्वस्व सिद्धिन्थ्यो । भयले कोही केही गर्न सक्दैनथेँ । गर्नैपर्ने आवश्यकता पनि कतिपयले देख्दैनथे ।
‘हे रौ हरिया ! सुनैछी तुँ बेटाके वियाहा करैला चाहै छी ।’ (ए हरिया ! सुन्छु तँ छोराको बिहे गर्न चाहन्छस् रे !)
कुरा सुनेर उसको मन प्रसन्न भयो । त्यो आनन्द उसको ओठमा पढ्न पाइन्थ्यो । के भनूँ–भनूँ भयो । मन खोल्ने मौका पनि यही हो भन्ने लाग्यो । त्यो घडी निकै बेर रहेन । बोल्ने शब्द पनि ऊसँग थिएनन् । किनभने दुष्ट मान्छेका मनमा दुष्ट कुरा नै खेलिरहेका हुन्छन् भन्ने उसलाई राम्रो हेक्का थियो । दया देखाउनुको अर्थ ठूलो स्वार्थ पूर्ति गर्नु हो भन्ने बुझ्दा बुझ्दै उसले मुख खोल्यो ।
‘हाँ मालिक ! खर्चाबर्चा कुछ नही छै । मालिकके कृपा हेतै त, जरुर करबाक मोन छै ।’ (हो मालिक ! खर्चाबर्चा केही छैन । मालिकको कृपा भएमा, जरुर गरिदिने मन छ ।)
मौकामा चौका हान्न सिपालु श्रीराम किन पछि पथ्र्यो र ! गरिवीको फाइदा लुट्न पल्केको ऊ मुख मिठ्याउँदै बोल्यो ।
‘जे खर्चा लगते हम देबै । कुछ दिनके खातिर दुलहीके कामतमे रहैला दे । तोरो कुछ लाभ हेतो ।’ (जे खर्च लाग्छ म दिन्छु । केही दिनको लागि दुलहीलाई कामतमा रहन दे । तँलाई पनि केही लाभ हुन्छ ।)
भनोस् पनि के भनोस् । विरोध गर्ने कुरा पनि आएन । नगरोस् पनि कसरी नगरोस् । ऊ बिलखबन्दमा प¥यो । ऊ त्यसै टोलाइरह्यो । आफूले त इज्जत लिलाममा चढाएर तिनै सन्तानको सुख र प्रतिष्ठाको लागि काम गरिरहेको छु । तिनै सन्तानले पनि इज्जत गुमाएर रहनु प¥यो भने मरेकै दिन हुने भयो । हुन्न भनेर ठाड्ठाडै भनूँ भने पनि भोलिदेखि यहाँको दैलो नटेक् भनिहाल्छ । हुन्छभन्दा इज्जत मात्र लिलाम हुन्न । छोराबुहारीको मनोकाङ्क्षामा कुठाराघात देखापर्छ । यही सोचेर आखिरमा उसले नबोल्ने प्रण ग¥यो । श्रीरामले जति बोलाए पनि ऊ होसविनाको मान्छेजस्तो सुनी मात्र रह्यो । एक प्रकारले नबोलीकन उसले खेल जित्यो । तर, छोराको बिहेका लागि आउने सहयोगबाट ऊ बञ्चित रह्यो । बरू उसलाई छोरो त्यत्तिकै बसेकोमा खुशी लाग्यो । दुलहीलाई मालिककहाँ हवाला गरिदिनु अन्याय सम्झिरह्यो । आखिरमा दलित बस्तीमा चेतना नभएको हैन । त्यस चेतनालाई बाहिर ल्याउने अवस्था मात्र नपाएको हो । विद्रोही भावना नभएको होइन, त्यसले मलजल नपाएको मात्र हो । श्रीरामले यही बुझेको हुनुपर्छ । त्यस दिनदेखि उसले त्यस्ता कुरा हरिया नजिक दोहो¥याएन ।
मित्र अग्नि ! कुरा अघि–अघि बढ्दै छ । सानातिना श्रृङ्खलाहरू आउँदै छन् । गहिरा गल्छेडाहरू हिँड्न बाँकी नै छन् । परिस्थितिका दासहरूको जीवनचर्या छर्लङ्ग हुँदै–हुँदै जाँदै छ । म एकाध घटनाका इतिवृत्ति प्रस्तुत गर्ने ध्याउन्नमा छु । तैँले झर्कोफर्को गर्ने कुरा आउन्न । तँलाई ठूल्ठूला पहाड चढाउनुछ । उखालीमा ठेल्नुछ । ओरालीमा समाउनुछ । समग्रमा भन्नुपर्दा तँलाई सेरोफेरो घुमाउनुछ ।
दशैंतिहार भर्खरै विदा भएको समय छ । मालपोत तिर्ने समय आएको छ । गोडाइत (मालपोत ठेकेदारको सहयोगी) चारैतिर झ्याली पिट्दै हिँड्दै छ–
‘सुनु ! सुनु ! सुनु ! गामसमाज ! बात सुनु ! कामतमे जाकर मालपोत तिरु । सिर्फ १५ दिनको भितरमे मालपोत तिरिक ढुक्क बनुँ । समयमे सरकारी काज करु ।’ (सुन ! सुन ! सुुन ! गाउँसमाज ! कुरा सुन ! कामतमा गएर मालपोत तिर । सिर्फ १५ दिनभित्रमा मालपोत तिरेर ढुक्क बन । समयमा सरकारी काम गर ।
गोडाइतका कुराले गाउँमा एक प्रकारको आतङ्क फैलन्छ । तिर्न सक्नेहरू गएर तिर्छन् । नसक्नेहरू चारैतिर गएर विलौना गर्छन् । ऋणपान दिन पत्याउने कमै हुन्छन् । पत्याउनेले पनि जग्गामै गिद्धेदृष्टि फ्याक्छ । पैसो महंगो हुन्छ । बरू अन्न पाइएला तर पैसो पाइने कुरै आउँदैन । सबैसँग सबै किसिमको होसियारी रहने कुरा पनि आएन । तेह्र दिन वितिसकेपछि गोडाइत पुनः आउँछ र नतिर्नेलाई २ दिनभित्र तिर्न स्मरण गराउँछ । पैसाको जोहोमा जाँदा–जाँदै कतैबाट पाउन नसकेपछि ऊ निराश बन्छ । १५ दिन वितिसकेपछि पाइने सजायले त्रस्त बन्छ ।
‘गोडाइत साहब ! हम जल्दी फरसेबै । पैसाके व्यवस्था कर रहल छी । हम कामैत जेबै ।’ (गोडाइत साहब ! म छिट्टै चुक्ता गर्छु । पैसाके व्यवस्था गरिरहेको छु । म कामत जान्छु ।) हरियाले गोडाइतलाई आश्वस्त तुल्याएको हुन्छ ।
‘हम कुछो नही बुझै छी । दो दिनके भितरमे जे करैल छो कर । नही त तीन खुटिया सजाय भेट्वी ।’ (म केही बुझ्दिनँ । दुई दिनभित्रमा जे गर्छ गर । नभए त तीन खुटिया सजाय भेट्छस् ।)
गोडाइतको धमासले गरुराहा नै त्रासमय नभएको होइन । लक्ष्मी, किसन, भोजाइ, विषण, बचाइ मोचीहरू तेह्रौं दिनमा कामत पुग्छन् । तन काटेर ल्याएको धन बुझाउँछन् । फर्कंदा आफ्नो खेत घुम्दै टोलाउँछन् । खेतको धान ओइल्याएको पाउँछन् । आकाशतिर नियाल्छन् । पानी पर्ने छाँटकाँट छैन । अन्न फले पनि, नफले पनि तिरो चाहिँ तिर्नैपर्ने ! भित्रभित्रै मुर्मुरिँन्छन् । वर्ष दिन कसरी काट्ने ! चिन्ता थुपरिन्छ । पन्छाउने उपाय एउटै छ । त्यो हो– मालिककहाँ गएर पसिना बेच्नु । खुन सुकाउनु । नानाभाँतीका अत्याचारलाई पचाउनु र बदलामा जिउँदो रहनू । सबै चुपचाप घरतिर फर्किन्छन् ।
उता हरियालाई भनेजस्तो किन हुन्थ्यो ! बरू जे पर्ला, इज्जत त लिलाम गर्दिनँ, गर्दिनँ । जे सजाय भोग्नुपर्छ भोग्छु । परिवारले त भोग्नु पर्दैन । यस्तै, यस्तै सोचेर ऊ निदाउने चेष्टा गर्छ । एकएक प्रलयका सम्भावित क्षणहरू उसका आँखा वरपर नाच्न थाल्छन् । बरू एक पटक प्रयास गर्छु । पन्ध्रौं दिनमा पनि जोहो गर्न सकेँ भने सजायबाट बच्छु । फेरि सजाय भेटेर पनि समय मात्र पाउने हो । तिरो त नबुझाइकन हुन्न । सोच्दासोच्दै उसका आँखा कतिखेर लागे, पत्तो भएन । कुखुराको आवाजले ऊ बिउँझियो । गाईगोठमा पुग्यो । धुवाँ लगायो । गोबर सोहो¥यो । गाईलाई पराल हालिदियो । त्यसको शरीर सुम्सुम्यायो । धन माथिको राती गेडीको रूपमा त्यही ब्याउन ठिक्क परेको गाई छ । त्यसलाई मास्ने मन छैन । त्यो पनि ससुरालीले दिएको धन । त्यो ब्याउला । दूधभात खान पाइएला । त्यसले अर्को बाच्छी जन्माउला । त्यो पनि एक दिन कोरली बन्ला । गाईको रूपमा आउला । एउटा गाईको ठाउँमा दुई वटा गाई होलान् । हुँदाहुँदै गोठभरि गाई होलान् । तिनै गाईबाट भैंसी जोडिएला । गोठमा आफ्नै हल गोरु होलान् । जनमा आफ्नै गोरु लिएर जान पाइएला । तीन सेर अन्नको सट्टामा पाँच सेर पारिश्रमिक भेटिएला । घरका सदस्य पनि खुशी होलान् । चाँडै धनी बनिएला । झुपडीले पनि मुहार फेर्ला । छोराले पनि सजिलै बुहारी भित्र्याउला । घरमा नाति–नातिना नाच्लान् । बुहारी पनि घुम्टो ओडेर हुक्का ल्याएर मेरो छेउमा राख्ली । म पनि सुस्ताउँदै हुक्का तानेर नाति–नातिनासँग खेलेर बसूँला । छोराले धन कमाएर ल्याउला । गाईभैंसीबाट म पनि मनग्यै धन आर्जन गर्न सकूँला । सोच्दा–सोच्दै हरिया त उध्न पो थालेछ । पल्टन लाग्दा पो त्रङ्ग हुन्छ । अर्धचेतन अवस्थाबाट चेतनमा आउँदा उही थलो एउटै गाई भेट्छ । त्यसलाई पनि मासेर भए पनि मालपोत नतिरी नभएको पाउँछ । खै, छोरो एक्लो छ । न बुहारी छे, न नाति–नातिना छन् । ऊ सुनसान विहानीमा एक्लै छ । फगत् एक्लो ।
हरिया पैसाको जोहोमा गाउँभरि घुम्छ । पत्याउनेहरूसँग पैसै हुन्न । नपत्याउनेहरूसँग भएको पैसाले उसको काम चल्दैन । त्यही खेत जोगाउन पैसा खोज्न हिँडेको मान्छे, त्यही जग्गा हडप्न खोज्नेहरू धेरै निस्किए । मध्यान्हसम्ममा केही बन्दोबस्त हुन सक्दैन । र, ऊ घरतिरै फर्किन्छ । खुइयय् गर्दै दलानमा बस्छ । नानाभाँतीका आशङ्काहरू मनमा आउँछन् । कसैलाई वताउनु जरुरी ठान्दैन ।
आखिर पन्धौं दिन पनि त्यत्तिकै गयो । सोह्रौं दिनका दिन दुई जना लठैत साथमा लिएर गोडाइतको प्रवेश हुन्छ । कठालोमा समाएर हरियालाई लछार्दै, पछार्दै कामतमा विराजमान मालपोते ठेकेदारकहाँ पेस गरिन्छ । त्यहाँ उसले गरेको अनुनय–विनय जङ्गलको रुवाइमा परिणत हुन्छ । अन्त्यमा ठेकेदारको इसारामा उसलाई तीनखुटिया सजाय दिने निर्णय हुन्छ ।
चार वटा इँटा ल्याइन्छ । पूर्वतिर दुई वटा केही फराकिलो गरी राखिन्छ । पश्चिमतिर नजिक–नजिक टँसाएर दुई वटा राखिन्छ । त्यसमा पशुजस्तो भई हातगोडा टेक्नुपर्छ र सूर्यका किरणलाई हेरिरहनुपर्छ । इँटाबाट बाहिर हातपाउ गए, सूर्यलाई हेर्नबाट आँखा विचलित भए शरीरमा कोर्रा बर्सिनेछ । रुन–चिच्याउन मनाही छ । मुखबाट जति शब्द बाहिरिने छन्, त्यत्तिकै मात्रामा चुटाइ भेटिने छ ।
यस किसिमको उर्दी जारी गरी हरियालाई तीन खुटियामा राखिन्छ । ऊ सूर्यका किरण हेर्न थाल्छ । आँखाबाट आँसु बग्न थाल्छ । शरीरबाट पसिना बग्न शुरु हुन्छ । एक घण्टा वित्छ । सजाय सकियो भनिँदैन । बरू सूर्य हेर्नबाट आँखा किन बाहिर लगेको भनेर बेलाबेलामा कोर्रा बर्साइन्छ । त्यसरी सजाय पाउनेहरूमा करिया, पुस्तना, शनिया, सोमना, मंगला पनि हुन्छन् । गोडाइत कोर्रा बर्साउँदै, गाली गर्दै एकनासले पिट्दो हुन्छ । परपरबाट मानिसहरू हेर्दा छन् । कोही ठगहरूलाई ठीक भयो भन्दा छन् । कोही भने सहानुभूति राख्दा छन् । सहानुभूति राख्नेहरूको मुखबाट आवाज निस्किन सकिरहेको छैन । कारण तिनीहरूले कामतका सेवकका रूपमा त्यहाँ रहँन पाएका छन् ।
दुई घण्टाको तीनखुटिया सजाय सकिना साथ छ जनालाई एक अर्काको जननेन्द्रिय तानातान गर्न लगाइन्छ । नतान्नेलाई हातमै भाटो बर्साइन्छ । हरिया, करिया, पुस्तना, शनिया, सोमना र मंगला गरी छ जना नै विवस हुन्छन् । भनेजस्तो गर्छन् । त्यसपछि बाल्टीमा गोवर–माटो–पानी घोल्न लगाइन्छ । र, एकले अर्काको शरीरमा टाउकादेखि खन्याउन लगाइन्छ । उनीहरू विरूप हुन्छन् । मरेतुल्य हुन्छन् । त्यसपछि पनि मुक्ति मिल्दैन । त्यस्तै रूपमा दौडदै गाउँ परिक्रमा गर्न लगाइन्छ । यत्ति गरिसकेपछि उनीहरू कामतवाला मालपोतेकहाँ हाजिर गराइन्छन् ।
‘तुँसभ बात नही बुझै छी । आब पाँच दिनभितरमे मालपोत बुझा । नही त अर सजाय भेट्वी आ जग्गा तोहर नामके ओइलानी जग्गामे परिणत हेते । सरकारके नाममे जेते । बात बुझली ?’ (तिमीहरू कुरो बुझ्दैनौ । अब पाँच दिनभित्रमा मालपोत बुझाओ । नत्र त अरू सजाय भेट्छौ र जग्गा पनि तिमीहरूको नामबाट ओइलानी जग्गामा परिणत हुनेछ । सरकारको नाममा जाने छ । कुरा बुझ्यौ ?)
कामतवाला ठेकेदार गर्जिरहन्छ । उनीहरू हात जोडेर उभिरहन्छन् । ऊ फेरि कुरा बुझेको हो भन्ने आशय व्यक्त गर्दछ । स्विकारोक्तिमा सबै जना मुण्टो हल्लाउँछन् । र, पाँच दिनको समयसीमा बारे सोच्दै घर फर्कन्छन् ।
३. भूतप्रेत लीला
मित्र अग्नि !
तँलाई म गरुराहाको भूतप्रेतको संसारमा विचरण गराउँदै छु । त्यहाँ भएका अविश्वासलाई उदाङ्गो पार्दै छु । मृत्युको अगाडि मायामोह पराजित भएको इतिवृत्ति सुनाउँदै छु । मेरा अभिभावकहरूको सोच र समझलाई तँकहाँ पठाउँदै छु । तँ के–कति मात्रामा जतन गरेर राख्छस् र के भन्न रुचाउँछ ! त्यो तेरो क्षेत्राधीकारको कुरा भयो । म भने अहिले त्यतैतिर लागेँ, है त !
लगातारको खडेरीले आँखामा आँसु त आएको थियो तर रुवावासी भने भएको थिएन । २००७ सालको क्रान्तिसँगै गरुराहाको प्रकृतिले अर्को क्रान्ति ग¥यो । खडेरी हटेर गयो । हैजा फैलेर आयो । ओखतीमुलोको व्यवस्था छँदै थिएन । धन भएकाहरू देशविदेश पुगेर उपचार गर्थे । रोगले छुँदै नछोओस् भन्ने कुरामा होसियार हुन्थे । धन नभएकाहरू कुरा पनि बुझ्दैनथे । आफ्नो सुरक्षा कसरी गर्ने भन्ने कुरामा अनविज्ञ थिए । अझ भ्रम व्याप्त थियो । भूतप्रेत लागेर हैजा फैलिएको भनाइ व्याप्त थियो । रोगले छोएका मान्छेलाई पानी पिउन दिनुहुन्न भन्थे । भूतप्रेतले छुन्छ र रोग सर्छ भनेर उसको वरपर जाँदैनथे । बिरामीले पानी खाला, अन्त कतै हिँड्ला र रोग फैलिएला भनेर होसियारी अपनाउँथे । बिरामीलाई घरमै थुनेर राख्थे । जहाँ बिरामी थुनिन्थ्यो, त्यहाँ कोही जाँदैनथे । विरामीले बोलेको कुरा पनि भूतले बोलेको ठान्थे । एउटै किसिमको रोदन सर्वत्र गुञ्जिरहन्थ्यो–
‘पानि ! पानि ! हमरा पानि दे । प्याससे जान रहल छै । पानि पियैला दे । भगवानके नाममे हमरा पानि दे । मरैयै परैते त भरिपेट पानि पिक मरवै । पानिविना हम बाजैला नही सकैछी ।’ (पानी ! पानी ! मलाई पानी देओ । प्यासले गर्दा ज्यान जान लागेको छ । पानी पिउन देऊ । भगवान्को नाममा मलाई पानी देऊ । मर्नु पर्छ भने भरपेट पानी पिएर मर्छु । पानिविना म बोल्न सक्दिनँ ।)
हैजासँग प्रतिरोध गर्ने तागत बिरामीमा भए पनि भोक र तिर्खाले त्यो क्षमता समेत अपहरणमा परेको थियो । गरुराहा गाउँ नै पानीका लागि चिच्याइरहेको सुनिन्थ्यो । सद्दे मानिसहरूका लागि त्यो क्रन्दन सामान्य भएको थियो । बिरामीलाई बाँच्न सकोस् भनी थोरै खाना दिइन्थ्यो । खाए नखाएको हेरचाह गर्ने कोही हुन्नथ्यो । किनभने रोग सर्ने डरले उसको नजिक कोही पर्न चाहँदैनथ्यो । बिडम्बना नै भन्नुपर्छ । सुरुसुरुमा मर्नेहरूलाई जलाइयो । दिनानुदिन सङ्ख्या बढ्दै गए पछि खाल्डो खनेर गाड्न थालियो । अझ गाउँ नै रित्तिने गरी दिनहुँ मर्नेको सङ्ख्या बढ्दै जाँदा र रोग सर्ने त्रास फैलँदै जाँदा लास घिसार्दै बयलगाडीमा हालेर नजिककैको विशाल पोखरीमा फाल्न थालियो । कुकुर–बिराला मरून् कि मान्छे स्वर्गे होऊन् एकै प्रकारले र एकै हिसावले पोखरीमा फ्याक्न थालियो । फ्याल्नु विवसता थियो । घाटमा दाहसंस्कार गर्ने मान्छेहरू नै थलिएका थिए । छुतहरूले छुने कुरै आउँदैनथ्यो । काजक्रियाका लागि खर्च जुटाउँदा समेत ऋणमा जाकिन्थे । दिनानुदिन गरुराहा गाउँ नै सिकिस्त भयो । गरिवी नराम्ररी झाँगियो ।
गाउँको पूर्वी भागमा एउटा फाँट । छेउछाउमा झोक्राझोक्री । दिउँसै स्याल कराउने सुनसान स्थल । गाउँमा मरेका खसी, बोका, गाई–बाख्रा जे जति छन् तिनीहरूलाई फ्याल्ने ठाउँ त्यही विशाल भूभाग ओगटेको पोखरी थियो । पोखरी निक्कै गहिरो थियो । पानीको अभावले सुख्खा थियो । गहिरो भागमा केही पानी हुँदो हो । त्यही पोखरीको किनार भएर आवतजावत गरिन्थ्यो । खरचुहियाचोक जाने त्यही मूलबाटो थियो । छुतहरूको वस्ती भने केही टाढा थियो । सबैभन्दा नजिक भनेको त्यही चमारवस्ती मात्र थियो । त्यस पोखरीमा काग, कुकुर, गिद्धहरूको रजाइँ थियो । उनीहरूका लागि दशैं नै आएको थियो । मान्छेको वस्तीमा भने आँसु रित्तिएको अवस्था थियो । मान्छेको मासु नखुवाईकन गिद्धहरूका बच्चाहरू उड्दैनन् अरे । गिद्धलाई पनि मान्छेको मासु सजिलै प्राप्त थियो । मांसाहारी जनावरहरूमा आनन्दको वर्षा भइरहेको थियो भने मानव समुदायमा शोकको बाढी उर्लिरहेको थियो । हो, त्यसै पोखरीमा मेरै परिवारका, एकै आँगनका नौ जना हजुरबुबा, हजुरआमाहरू फ्याकिए । सास छउँजेल ‘पानि ! पानि दे । हमरा पानि दे’ (पानी ! पानी देऊ । मलाई पानी देऊ ।) भनिरहे । पानी दिनु भनेको विष पियाउनु हो भन्ने कुरूप मानसिकता नभएको भए गाउँ नै सखाप हुन्नथ्यो होला । भोकप्यास मेट्न पाएका भए, गाउँघरकै जडिबुटी नै भए पनि खान पाएका भए प्राण गुमाउनु पर्दैनथ्यो होला । ‘हेरेर मर्नुभन्दा छेरेर मर्नु जाति’ भनेझैं जे भए पनि खान दिएको भए अहिले गुनासो गर्ने कुरो रहन्नथ्यो होला । सुन्ने र बुझ्नेको मन समेत कुडिन्नथ्यो होला ।
विशाल पोखरी लासले भरिँदै गइरहेको थियो । गाउँ छाडेर भाग्ने पुरुषपात्रहरूको सङ्ख्या दिनानुदिन बढ्दो थियो । दिनमा पचासै जना मरे पनि कठैबरा भन्ने मन कसैको हुनन्थ्यो । बरू त्यसले दुःखको मुण्टै लुकायो भन्ने गर्थे । काजक्रियामा बसेका मान्छे पनि ढल्थे । क्रिया गर्ने मान्छे नै नरहीकन पनि परिवारै सखाप भए । मेरै परिवारमा पनि बुबा सानै थिए । अरू काकाहरू कोही टुकुटुकु हिँड्थे । कोही कोक्रामै च्याँच्याँ र म्याम्या गर्थे । धन्न ती लाहानवाली खटरी दादी (हजुरआमा) चाहिँ बाँचिछिन् र भकाभक मरेका ती आफन्तको लासलाई विर्सजन गरिछिन् । खटरीले चार छोराहरूलाई हुर्काइछिन् । नत्र कल्पना गर्न सकिन्छ– भर्खर संसारको सुवास लिइरहेका चेतनाशून्य ती टुहुरा बच्चाहरू भोकतीर्खाले प्याक्प्याक्ती मुख बाउँदै मर्थे होलान् । किनकि त्यस गाउँमा आफन्तहरू पनि प्रवेश गर्दैनथे । रोग सर्ने र भूत लाग्ने डर एकै साथ थियो । जानी जानी मृत्यु डाक्न को जाने र ! मलाई त मर्न मन छैन भन्ने जस्ता कुरा गर्थे । मान्छेमा हुने संवेदना त्यस भयावह स्थितिमा हराइसकेको थियो । उसो त बाहिरी गाउँका केही आफन्तहरू आएर परपर उभिएर हेरविचार नपु¥याएका होइनन् । जसले जे गरे पनि हुने कुरा भइरहेकै थियो । बिमारले छोएका सबै जना विते भन्ने पनि छैन । केहीले अभैm पनि संसार हेरिहेकै छन् । मेरी ती खटरी दादीले मेरा बुबा र काकाहरूलाई खुट्टा मात्र टेकाइनन्, संसारसँग सङ्घर्ष गर्ने तालिम पनि दिलाइन् । उनले दिएको तालिमकै कमाइले मेरा बुबाले दुनियाँका लागि धन बटुलिदिए । आफ्ना लागि केवल रोगी शरीर मात्र साँचेर राखे । मेरो जेठो काका किसनले मालिकहरूको सेवामा भोकै र तीर्खै खटेर प्राण नै अर्पण गरे । कामतमै काम गर्दागर्दै उनको जीवनलीला समाप्त भयो । तैपनि उनले लिएको अन्नको दाम चुक्ता भएन । उनी ऋणमै जन्मे, ऋणमै हुर्के र ऋणमै विलाए । कामतवालाले एक पैसो क्षतिपूर्ति दिएन । ऋण चुक्ता भयो भनेर शान्तवना समेत दिएन । बरू उनले दिएको उत्सर्गले अरूहरूलाई भने केही राहत भयो । उनीझैं बधुवा नोकरहरू बूढो भएमा वा रोगी देखिएमा घरमा बस्न पाए । कामतमा खट्नुपर्ने अत्याचारबाट मुक्त भए । यो कामतवालाहरूको दयालु भावना हैन । यो त तिनीहरूको वाध्यता हो । लोकलाजबाट बच्ने एउटा गुरुयोजना हो ।
हरिया मोचीको जेठो छोरो बिहे नभई वित्यो । भूतले मा¥यो भनियो । हरियाको घरमा भूत पसेको ठानियो । उसले सपरिवार घर त्यागिदियो । वृक्षलाई घर सम्झी बस्न थाल्यो । शोकमा डुबेकै बखत अर्को विपत्ति थपियो । कान्छो छोरो रतुवा समेत थलियो । भूतले पक्रियो भन्ने हल्ला चलाइयो । रतुवालाई घरमा ल्याएर थुनियो । उसलाई पखलाले सताएको थियो । बेलाबेलामा ज्वरो पनि आउने गथ्र्यो । ऊ कोठाभित्र निस्लोट भएर सुत्यो । भोक–तीर्खा सबै पचायो । आमाबुवा अर्कै घरमा सुते । भूतले छाडेछ भने छोरो भनौंला, नत्र यसलाई पनि गुमाउनु पर्ने भयो भन्ने सोचेर रोइ रहँदा भए । जेठो वितेको तेह्र दिन वितेको थिएन । बाँकी रहेको एक मात्र सन्तान पनि मृत्युको मुखतिर गइरहेकोमा उनीहरू बडो विषाद्मा परे । भगवान्लाई पुकार्दा भए । दुःखीका थाप्लामाथि भगवान्ले अझ दुःख थपे उनीविरुद्ध नै खनिने आशय व्यक्त गरे । करुणाका पुञ्जले दुःखीको दुःख हरण गर्नसक्नुपर्ने विचार एकअर्कामा बाँडचुँड गर्दा भए । रुँदारुँदा कतिखेर निद्रादेवीका शरणमा पुगे, उनीहरूलाई पत्तो नै भएन ।
उता राती २ बजे रतुवालाई ज्वरोले छाड्यो । उठेर ढोका खोल्न खोज्यो । बाहिरबाट साङ्लो मात्र लगाइएको थिएन, भोटेताल्चा समेत झुण्ड्याइएको थियो । टाटी भत्काएर बाहिर निस्कने बल थिएन । कट्टुमै दिशा गरेको थियो । कोठा गन्हाएर बसी नसक्नुभएको थियो । तीर्खाले घाँटी प्याक्प्याक्ती भएको थियो । घर बाहिर कसैको चालचुल थिएन । तापनि ऊ जोड–जोडले करायो । बालपन देखाउँदै आमालाई पुकार्दो भयो–
‘माई ! पानि ! पानि देही न ! प्यास लागले । पानि पिबै ।’ (आमा ! पानी ! पानी दिनुस् न ! प्यास लागेको छ । पानी पिउँछु ।)
क्रन्दन बढ्दै जाँदा निकैबेरपछि हरिया दम्पती ब्युँझिए । छोराप्रति दयाभाव देखाउनुको सट्टा अझ भयभीत भए । ‘बेटाके बोली जँका बनाके भूत बाजिरहल छै । पक्कै भूतने रतुवाके खेने हेते ।’ (छोराको बोलीमा भूत बोल्दै छ । पक्कै भूतले रतुवालाई खाइसकेछ ।) आँखाभरि आँसु बनाएर हरियासँग टाँसिँदै श्रीमती बोली ।
‘आब हमरासभक खाइला बजारहल छै ।’ (अब हामीलाई खान बोलाउँदै छ ।) हरियाले पनि आँसु पुछ्दै आशङ्का जाहेर ग¥यो ।
दुबैले एकअर्काको बाहुपास नछाड्ने निर्णय गरे । भूत आएर खाएमा पनि दुबैलाई एक साथ खाओस् । दुबै छोराहरूलाई खाइसकेपछि हामीले मात्र भूतबाट जोगिएर हिँडेर के फाइदा ! दुईमध्ये एकलाई छाडेमा बाँच्न गाह्रो हुने निष्कर्ष निकाले । उनीहरू खुसखुस कानेखुशी मात्र गर्थे । एक शब्द पनि बाहिर निकाल्दैनथे । आँगनमा भूत उभिएको छ र उनीहरूलाई छोराको स्वरमा डाकिरहेको छ, त्यता जानासाथ त्यसले एकै गाँस पार्छ भन्ने सोच्न थाले । उता रतुवा भने पानीका लागि पुकारा गरिरहेको थियो । कोही नआए पछि रुवाइको आवाज मन्दमन्द पारिरहेको थियो । मधुर स्वरमा रुँदारुँदै त्यत्तिकै निदायो ।
विहानी पख बिउँझियो । दिउँसो आमाले बाहिरफेरो जान नहुने, पानी खान नहुने, नत्र भूतले अरू सताउने र चाँडै मर्नुपर्ने कुरा गरेको सम्झियो । जे भए पनि पानी त पिउँछु, पिउँछु । जसो गरे पनि पिउँछु, पिउँछु भन्ने अठोट उसको मनमा आयो । बाँसको ढोकाको प्वालबाट घरभित्र चोर कुकुर छिर्ने गरेको उसले थाहा पायो । र, जसोतसो घस्रिँदै ऊ बाहिरियो । गाग्रो रित्तिउँञ्जेल पानी पियो । नजिकैको पोखरीमा गएर मज्जाले नुहायो । कट्टु परिवर्तन ग¥यो । र, जस्ताको त्यस्तै भई चोर बाटो भएर कोठामा छि¥यो । अब भने ऊ ढुक्क भयो । कोठाको एक कुनामा बोरा ओछ्यायो । त्यही पल्टियो । अर्को बोरा ओड्यो । र, मज्जाले निदायो । एकाविहानै उठ्यो । आमालाई बोलायो । हरियादम्पती डरले छेउमै परेनन् । निक्कै बेर आमालाई बोलाएर ढोका खोल्न लगाए पनि कोही नआएकोले ऊ त्यही चोर बाटो भएर बाहिरियो । आँगनमा उभियो । चारैतिर सुनसान थियो । मान्छेको चालचुल कतै थिएन । उज्यालो हुनै लागेको थियो । कि गाउँका सबै मान्छे मरे ! मेरा बुबाआमा पनि विते कि ! नानाभाँतीका आशङ्काहरू उसको मनमा आए । तापनि झिनो आश लिएर आमालाई बोलाउन थाल्यो ।
‘माई ! हम बाँचल छी, माई । आब हमरा जर सेहो नही लागल छै । पखला सेहो नही लागल छै । अखेन हमरा भुख लागल छै । माई ! खाइल देही न माई ! तुँ कत गेली, माई !’
(आमा ! म बाँचेँ, आमा । अब मलाई ज्वरो पनि आउँदैन । पखला पनि लाग्दैन । अहिले मलाई भोक लागेको छ । आमा ! खान दिनुस् न आमा ! तपाईं कहाँ जानुभो आमा !)
रतुवा रुँदै आमालाई बोलाउँदो भयो । उता हरिया दम्पती चाहिँ घरभित्रै लुकेर बस्दा भए । बाहिर निस्के भूतले पक्रने भयले झन् हलचल नगरी लुक्दा भए । रतुवाको रोदन नमिठो तवरले फैलियो । टाढा–टाढासम्म पुग्यो । त्यसलाई हेर्न कोही पनि आएनन् । ऊजस्तो सिकिस्त भएको मान्छे कोही बाँचेकै थिएन । ऊ मरिसक्यो भन्ने सबैले ठानेँ । र, दिउँसै भूतले तर्साइरहेको महसुस गरे । घाम निक्कै माथि पुगेपछि मात्र सबै गाउँलेहरू उठ्थे । एकाविहानै उठेर उताउती गर्ने हिम्मत कसैको थिएन । रुवाइलाई पचाउन नसकेर आमा चाहिँ उठेर यसो प्वालबाट चियाइन् । रतुवा पो बीच आँगनमा बसेर रोइरहेको देखियो । हत्त न पत्त हरियालाई कोट्याइन् । दुबै उठे र आँगनतिर लम्के । रतुवालाई उठाएर काखमा लिए । सुम्सुम्याए । खानेकुरा खुवाए । पछि विस्तारै रतुवा तन्दुरस्त हुँदै गयो ।
त्यस दिनदेखि हरियालाई भूतप्रेत केही होइन भन्ने लाग्यो । हो नै भने पनि आफ्नो छोरालाई प्राणदान दिने भूतप्रेत शत्रु नभएर मित्र भएको कुरा गर्दो भयो । कतिपय गाउँलेहरू जेठो छोराको शोकले हरियाको दिमाखको नटबल्टु ढिला (खुकुलो) भएको जिकिर गर्दा भए । ऊ जतिबेला पनि बाहिरफेरो घुमफिर गर्दो भयो । हैजाले थलिएका परिवारकहाँ गई काम गर्दिंदो भयो । मरेका मान्छेहरू सबै जसोलाई पोखरीमा फालेर आउने काममा ऊ नै अघि हुन्थ्यो । ऊ एकै पटकमा कम्तिमा दुई वटासम्म लास बोक्थ्यो । ऊ त्यसरी जुट्न थाले पछि चमार बस्ती मानिसहरूको लास दुर्गन्धबाट बचेको थियो । नत्र भने मरेको दुई, तीन दिनमा मात्र लास फ्याल्ने काम गरिन्थ्यो । मान्छे नभएर त्यस्तो अवस्था आएको थियो ।
मित्र अग्नि ! मेरा पिता लक्ष्मी उमेरले काँचा भए पनि हरियाका दौंतरी भएका थिए । उसलाई हरतरहले सहयोग पु¥याउँथे । घरमा बस्न अङ्कुस लगाउने सदस्यहरू नभए पछि गाउँभरि चहारेर हिँड्थे । बिमारले थलिएका परिवारकहाँ पुगी गाईभैंसी–बाख्रापाठा भोकाएको र रोगाएकोमा फिक्री गर्थे । बारीमा लगेर बाँधिदिने, घाँस–पराल हालिदिने, पानी–खोले खुवाउनेजस्ता काम गरेर उनी दिन विताउँथे । उनलाई आफ्नो चिन्ता थिएन । खालि अरूको चिन्ता मात्र गर्थे । खटरी दादी झर्कोफर्को गर्थिन् । भाइहरू समालेर घरमै बस् भन्थिन् । दादीको क्रोध उनलाई स्वभाविक लाग्थ्यो । कहिलेकाँही उनी हात उज्याउँथिन्, त्यसलाई उनी आशीर्वाद ठान्थे । आमा भने पनि, बाबु भने पनि उनी मात्र थिइन् । त्यसैले पनि उनी नतमस्तक थिए । भूतप्रेत के हो र हैजा केको नाम हो, त्यस बारे उनलाई केही थाहा थिएन । एकातिर कलिलो उमेर अर्कातिर सुझ न बुझका लाटा नै थिए ।
(श्रीमान् सम्पादकज्यू ! सप्तरी जिल्लाको पश्चिमी सीमाना बलान नदी किनाराको वरपर लोकराजमार्गसँगै टाँसिएका प्रमाणपुर, मलनियाँ, पन्सेरा अनि बनरझुलाजस्ता गाविस छन् । भौगोलिकरूपमा नटाँसिएको तर कागजीरूपमा पन्सेरा गाविसमा पर्ने दुई वटा वडा गरुराहा गाउँमा छन् । त्यसै गाउँमा सानो क्षेत्रफलमा फैलिएको विशाल दलित बस्ती छ । त्यसै बस्तीको एक ठिटोको जीवनलीला, सामाजिक मनोविज्ञान र सङ्घर्षमय जीवनदर्शन समेटेर ‘कहाँ छस् !’ नामक उपन्यास तयार पारिएको हो । यसमा त्यस अबुझ दलित ठिटोको मनमा आएको सामाजिक विद्रोहको भावना, जनयुद्धमा होमिनु पर्नाका कारक तत्वहरू, जनयुद्धको विशाल विश्वविद्यालयमा अध्ययन गर्दाका गर्विला सफलताहरू, दुर्भाग्यपूर्ण असफलताहरू, मधेसको ठिटोलाई पहाडी कुनाकन्दरामा गर्नुपरेका सङ्घर्षमय क्षणहरू, मधेसमा सांस्कृतिक रूपान्तरणका सवालहरू साथै नेपाली माटोमा हुनुपर्ने र गरिनुपर्ने राजनीतिको मोडल जस्ता थुप्रै विषयवस्तुमा विषद् चर्चा गरिएको छ ।
‘कहाँ छस् !’ उपन्यासको यस पहिलो खण्डमा भने मान्छे जन्मले दलित नभएको, दासमनोवृत्ति र सामन्तमनोवृत्ति बीचको द्वन्द्वमा सामन्तमनोवृत्ति विजय भएको कारण मान्छेलाई दलित बनाइएको कुराको झलक दिइएको छ । मूलतः दलित ठिटोको पुखौली पृष्ठभूमि केलाइएको छ । मधेसमा दलित तथा निर्धनहरूले भोग्नु परेका विविधखाले पीडाका कहिरनहरूलाई शब्दमा उतार्ने जमर्को गरिएको छ ।
प्रस्तुत ‘कहाँ छस् !’ उपन्यासमा एक प्रकारको जीवनवादी दृष्टिकोण पक्रँदै र सामाजिक यथार्थवादलाई प्रश्रय दिँदै अघि बढ्ने जमर्को गरिएको छ । अस्तित्वको खोजीमा निकै समय व्यतित गर्दै मधेसी समाजको जड समस्याको चिरफार गरी युगसापेक्ष अग्रगामी समाजको ठोस आधारमा पुगी उपन्यासको गति रोकिने छ ।
उपन्यासको यस दोस्रो खण्डमा भने सामन्तहरूले निर्धन दलितहरूमाथि थोपरेको अत्याचारको झलक छ । मालिकहरू ईश्वरबाट खटाइएका मान्छेजस्तो शक्तिशाली वर्ग भएको बुझाई गरुराहाका चमारहरूको छ भने आफूहरूले तिनीहरूकै सेवक बन्न जन्म लिएको भान उनीहरूलाई भएको छ ।
प्रस्तुत ‘कहाँ छस् !’ उपन्यासको यस तेस्रो खण्डमा वर्णित विविध प्रसङ्गमा गरुराहा गाउँमा जे जस्ता अनिष्ट काम भए पनि भूतप्रेतको काम हो भन्ने भ्रमको उल्लेख छ । मृत्यको भय र भूतप्रेतको त्रासले मान्छेको मनबाट माया–ममता मरेर गएको वर्णन छ । प्रसङ्गहरू पढ्दै जाँदा चौतर्फी असफलताबाट मात्रै मान्छे विद्रोही हुनसक्ने अवस्था महसुस हुन जान्छ ।–नलाआ)
–तपेश्वरी–१, गल्फडिया, उदयपुर
मो. नं. ९८४२८२९२०६ वा ९८१७७२९५६५ nandalalacharya@gmail.com