कथा : विवाह वस्तु होइन

~विश्वराज अधिकारी~

मैले प्रस्टगरी भनेको थिएँ, पहिलो भेटमा नै, कुनै कुरा लुकाएको थिइनँ । खुलस्त पारेको थिएँ– शर्मिला, म एक विवाहित पुरुष हुँ । मेरा सन्तानहरू पनि छन्, तर तिनीहरू मसँग बस्दैनन्, हामी एउटै शहरमा बसे तापनि । मैलै उनीहरूलाई आफूसँग बस्न दबाब पनि दिन्नँ । छोराछोरी छुट्टाछुट्टै अपार्टमेन्टमा बस्छन्, अनि म छुट्टै अर्को अपार्टमेन्टमा । मेरो र पत्नी कल्पनाबीच असमझदारीले गर्दा हामी डिभोर्स गर्ने निर्णयमा पुग्यौ र डिभोर्स भयो पनि । हामी सबै विदेशमा नै बस्छौं, मेरी पूर्वपत्नी पनि । बीस वर्ष जति भयो विदेश बसेको ।

मैले यो पनि भनेको थिएँ– शर्मिला, तपाईं मभन्दा बीस वर्ष कान्छी हुनुहुन्छ । म पचास वर्षको भएँ, मैले आफ्नै उमेरको हाराहारीको महिला खोजेको थिएँ, तर के गर्ने, सारा काठमाडौ खोज्दा पनि पाउन सकिनँ । मसँग बिहे गर्ने प्रस्ताव मेरी दिदीमार्फत् तपाईबाट नै आएको हो, यसमा मेरो कुनै प्रत्यक्ष वा अप्रत्यक्ष दबाब छैन ।

मेरो कुरा सुनेर शर्मिलाले भनेकी थिइन्–मलाई तपाईंको विगतदेखि कुनै गुनासो छैन, भविष्यमा त्यसबारे मैले कुनै कुरा पनि उठाउने छैन । म विवाहलाई एउटा पवित्र सामाजिक र अझै बढी धार्मिक कारणबाट भएको एकीकरण मान्दछु । भन्छन्– को कसको पति र को कसकी पत्नी हुने कुरा माथि, भगवान्ले नै निश्चय गरिदिएका हुन्छन् । हामी आआफ्नो भाग्यले गर्दा पतिपत्नीको रूपमा बाँधिएका हुन्छौं । कसैको भनाइमा त इमानदार पतिपत्नीको सम्बन्ध सात जन्मसम्म हुन्छ । तपाईंकी पूर्वपत्नी जस्तो म हुन्न । मेरा व्यवहारले तपाईंलाई कुनै गुनासो गर्ने मौका दिने छैन । विवाह एउटा आत्मीय सम्बन्ध हो र हुनु पनि पर्छ, जुन मेरो पनि मान्यता हो । धर्म र समाजलाई साक्षी राखेर, एक अर्काको भावनाको कदर गर्दै, सँगै जीवन बिताउने छौ भनी गरिएको एक मजबुत दुई पक्षीय सम्झौता पनि हो, यो ।

उमेरको पहाड भरखरै चढ्दै गरेको भए तापनि शर्मिलाले सँगालेको त्यस्तो बौद्धिकतापूर्ण ज्ञानले निकै प्रभावित पारेको थियो मलाई । तर पनि मैले भनेको थिएँ– हेर्नुस् शर्मिला, म विवाहलाई सँगै बस्न गरिएको एक सहमतिभन्दा बढी केही पनि मान्दिनँ । विवाह बन्धनमा बाँधिएका दुई पक्षबीच राम्रो समझदारी कायम हुन सक्यो, एकले अर्काको भावनाको कदर गर्‍यो, दु:ख दिने र ठग्ने, ढाँट्ने काम कुनै पक्षबाट भएन भने त्यो विवाहले दीर्घ जीवन पाउँछ, तर त्यस्तो हुन सकेन र दुई पक्ष छुट्टिए भने त्यसमा अचम्म मान्नुपर्दैन । कुनै एक पक्ष अर्को पक्षसँग शोषित र पीडित भएर बस्नुहुँदैन, यो मेरो मान्यता हो । जसरी मैले खरिद गरेको घरले मलाई सुविधा र सुरक्षा दिनुको साटो असुविधा र असुरक्षा दिन्छ भने मैले त्यो घर फेर्नुपर्छ, त्यसैगरी विवाह बन्धनमा बाँधिएकाहरूले पनि एकले अर्कोलाई छाड्न पाउनुपर्दछ, एक अर्कोबाट असुरक्षित र अपहेलित भएको अनुभूति भयो भने । त्यस कारण विवाहलाई म एक वस्तुभन्दा बढी केही पनि मान्दिनँ । विवाहप्रति मेरो पूर्ण वस्तुवादी दृष्टिकोण छ । जीवनका विभिन्न आवश्यकता पूरा गरिदिने अनेक वस्तुहरूझै विवाह पनि एक वस्तु हो । र यो वस्तुले आफूलाई सुख र सन्तुष्िि दिनुको साटो दु:ख दिन थाल्यो भने या त यो वस्तु साट्नुपर्छ वा त्यस वस्तुको उपयोग बन्द गर्नुपर्छ । विवाहलाई जुनसुकै अवस्थामा पनि कायम राख्नुपर्छ भन्ने मान्यता पूर्णतया पुरातन हो, रूढिवादी हो । यी कुराहरू शर्मिलालाई सुनाउँदा मलाई अलिकति असजिलो महसूस भने भएको थियो । मलाई अहिले पनि राम्ररी याद छ, त्यो समय । तर पनि मैले प्रस्ट गरी भनेको थिएँ । मेरो इमानदार स्वभावले त्यस्तो कुरा भन्न प्रेरित गरेको थियो, मेरो अन्तर्आत्मालाई ।

विवाहप्रति त्यस्तो दृष्टिकोण राख्ने शर्मिलाले मलाई डिभोर्स पेपरमा साइन गर्न आग्रह गरेकी छन् आज, यो समय बिन्दुमा । त्यो पनि विवाह भएको एक वर्ष पनि नबित्दै । सम्बन्ध विच्छेदको कारणमा उनले लेखेकी छन्– तपार्इंसँगको बसाइँमा मैले आफूलाई सुखी रहेको पाउन सकिनँ । उनको यो कदमले मलाई दु:ख भने पटक्कै लागेको छैन । मेरा लागि त्यो अनपेक्षित थिएन पनि । बरु म अति अचम्ममा भने अवश्य परेको छु ।

समाप्त

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.