भनिन्छ अनुभव मान्छेको सबैभन्दा ठुलो हतियार हो तर कहिले काहिँ आफ्नो हतियारले आँफैलाई क्षति पुर्याउँछ ।कहिले काहिँ मान्छेले म यो विषयमा अनुभव हिन भएको भए कति रमाइलो हुन्थ्यो होला भनेर सोच्दछ । उसलाई यसबेला त्यस्तै लागिरहेको थियो ।पण्डितले उच्चारण गरेका प्रत्येक मन्त्रहरु उसका लागि दोहोरिएका मन्त्र थिए । त्यो हवनको तापपनि पहिले को जस्तो रापिलो थिएन ,त्यो आगो दाउरा नभएर खरानीनै जलिरहेछ जस्तो लागेको थियो उसलाई , अनि रहरले भरिनुपर्ने मनमा एउटा अनौठो चिन्ता थियो ।
दोस्रो विवाहको लागि उ पहिले राजी थिएन ।सात वर्ष बसेकी उसकी संगिनि भनाउँदी त अचानक एउटा रात उसको कोठाबाट हराई एउटा चिठ्ठि छोडेर भएभरका गालीहरु गरेर, उसको पुरुषत्वको अपमान गरेर ,नयाँ अनुहारमा उ विश्वास गरोस् पनि कसरि ?दुनियाँ स्वार्थी छ !!!!!!!तर उसको राजीखुशिको धेरै मोल हुन छाडेको थियो उसको परिवारमा !
बजारमा उसकी पहिलेकी स्रिमतिले छोडेको हल्ला फैलिन धेर बेर पनि लागेन जहिले जहिले उ बजार बाट गुज्रियो उ सबैकोलागि चहकिलो विषय बन्यो मसला भएको ,, बेरोजगारहरुको चियाको गफ बन्यो त्यो टोलको उ हट केक बन्यो ।दुइ चार दिन बाहिर घुमेर आयो ,सोच्यो टोल बदलिदिन्छु , घर बेच्न चाह्यो ।पुर्ख्यौलि घर बेच्नुभन्दा दोस्रो विवाह नै एउटा उत्तम उपाय निक्लियो ।आमा ले निकालेको ,खोजि शुरु भयो पहिला कलिला विधुवा छन् छैनन् त्यसबाट ,उसलाई अचानक आफु दोस्रो दर्जामा
झरेझैँ लाग्यो जब विवाहको लागि विधुवा जो उमेरमा उ भन्दा थोरै मात्र कम हुनेछन् त्यस्ता उसको लागि खोजि हुँदैछन् भन्ने सुनेर !!!!!!!!!!!!!!
उ घोत्लिरह्यो आफैँसँग सम्झौता गर्दै । उसको भाग्य बलियो निस्कियो । केटी कन्ने निस्किई ।उ भन्दा करिव पन्ध्र वर्ष कान्छि । उसलाई विश्वास लागेन ।
“आमा म गर्दिन यो केटी सँग त बिहे !”
त्यो दिन उसले बिस्तारै भनेको थियो ।शक्तिहिन उसले उपमा पाएको थियो त्यसैले होला उसका शब्द शब्द कमजोर थिए ,लुते र लड्न आँटेका वाक्यहरु बोल्द्थ्यो उ जसलाई अरुको मौनताले नै पनि परास्त गरिदिन्थ्यो ।
“किन?”
“धेरै नै कान्छि छे ,फेरि कलिला बिधुवी खोज्ने भनेको होईन ?”
“हरे शिव कन्ने केटीमा खोट लाउँछ ,धेरै नसोच ।“ उसकी आमा उ भन्दा ब्यवहारिक निक्लिईन ।कन्ने केटी पाउनु उसको भाग्य दह्रो भएको निर्क्यौल निकालेको थीयो उसको परिवारले !उसकी फुपुकि खोज थिइ माया ,धेरै सम्झाई बुझाई गरेर मात्र मायाको परिवार राजी भए भनेर पनि सुनाएकी थिइन् फुपुले जित पछि किल्लामा झण्डा गाढे जस्तो गरेर !
“तैपनि आमा मेरी छोरी भएकी भए त्यत्तिकै उमेर की हुन्थि !”
“छोरि भएको भए तैँले उ सँग बिहे गर्नै पर्दैनथियो !” आमा ले कुरा टुंग्याईदिईन् । उसलाई सम्झाएको वा उसको आपमान गरेको उसले बुझ्न सकेन ,उसले बुझ्न पनि चाहेन । उसले निश्चय गर्यो जीवनले उसलाई जता जता डोर्याउनेछ उ त्यतै त्यतै डोरिईनेछ ।
“ल अब उठ्नुहोस् ,अनि अघि अघी लाग्नुहोस् !” उ फेरि विवाहको मण्डपमा नै फर्कियो ।घुम्टो को बिचबाट उठ्दै गरेकी उसकी नयाँ अर्धांगिनिलाई नियाल्यो । अनुहार चन्द्रमा जस्तै थियो । उसले आजै बिहान दुइ चारवटा कोरिन लागेका रेखाहरुलाई फेसियल गरेर मेटाउन खोजेको थियो ,टोपिले छोप्न नसकेको तालुको भाग बिहान देखिनै उसको चिन्ताको विषय बनेको थियो । कसैले उसलाई सम्झाएको थियो ,”टाउको खुइलिनु बुद्दिमानीको निशानी हो नि भनेर !!!!”
बिहाको बेलाकी केटी खुलिहाल्छे नि चन्द्रमा जस्ती ,फोटोमा त त्यत्ति गोरी थिईन मन मनैँ सोच्यो । जे भए पनि आफ्नै हो आज देखि ,सुरुची भेट भइछे भने देखाउनेछु मैले दोस्रो बिहे गरेँ भनेर , म मा पनि हिम्मत छ , हेर मेरी चन्द्रमा मेरो समिपमा अझ फक्रिएकी छे भनेर मन मनैँ सोच्यो ।
“पुगिसक्यो त सात फन्को !’ पण्डितजिले उसलाई रोके । उसले सोच्यो उ रोकिए पनि त घुमिरहेको छ । हरेक मान्छे लामो यात्रा तय गरेँ भन्ने भ्रममा गोल गोल घुमिरहन्छ र तिँ यात्राको टुंगो लगाउँछ जहाँ बाट उसले शुरु गरेको हुन्छ ।
फुर्सद जुटाएर उसले वरपर हेर्न भ्यायो । केहि नाक खुम्चिएका अनुहार हरु देख्यो ।शायद कत्ति बुढो रहेछ बेहुलो त भन्दै थिए होलान् । गाउँका केहिलाई त यो उसको दोस्रो बिवाह भनेर पनि त थाहा भइसकेको होला । नभएपनि उमेरको फरकले धेरैले अड्कल काटे होला । उसको पहिलो विवाहको बारेमा के भयो भनेर पनि त कुरा भइराखेको होला ।
कसरि मानी उसकी बेहुलि मायाले उ सँग बिहाको लागि ?यो प्रश्नले उसलाइ नसताएको पनि होइन । त्यसपछि उसले आफुमा भएका गुणहरुको अनुसन्धान शुरु गरेको थियो । उसले त्यसपछि उसका धेरै गुणहरु पत्ता लगाएको थियो । उ परिवार को एक्लो छोरो थियो , कमाउथ्यो उ बिदुर थिएन ,उसका छोराछोरि हुन भ्याईसकेका थिएनन् । छोराछोरि नहुनुलाई उ आफ्नो ईच्छा अनुरुप कहिले आफ्नो गुणको रुपमा कहिले अवगुणको रुपमा प्रयोग गर्थ्यो ।
बिहा सिद्दियो एउटा ठूलो बोझ पन्छिए झैँ लाग्यो । मायाका परिवार का आँखामा आँशु थिए । मायाको आँखामा पनि आँशु थियो । परिवार छोड्दा यस्तै हुन्छ ।सुरुचीका आँखामा पनि त आँशु थिए उसले सम्झियो । तर माया त जोड जोड ले रोईरहेकी थिई फेरी । के मायाको ईच्छा बिपरित भएको थियो त बिहे ? उसले मायालाई फोनमा कुरा गर्दा सोधेको त थियो । उसले त्यतिखेर त होइन नै भनेकी थिई ,केटिहरुको के विश्वास र ! कहिले हो लाई पनि मस्किएर होइन भनिदिन्छन् ,कहिले होइनलाई पनि ठुस्किएर हो भनिदिन्छन् । उ फेरि आफ्ना गुणहरु जसले गर्दा मायाले उ सँग राजीखुशि बिहे गरेको हुनुपर्छ भन्ने उसको निर्क्योल थियो उ त्यहि केलाउन तल्लिन भयो ।
उ बिस्तारै कोठा भित्र छिर्यो ,कोठाको पहेँलो प्रकाशमा स्त्री आकृति देखियो ।त्यो सुरुचि जस्ति लाग्यो उसलाई फेरि झस्कियो होईन यो त माया पो हो त ! माया खाटको एक कुनामा खुम्चिएर बसेकी थिई माया मायालाग्दि भएकी थिई , सुरुची पनि त त्यसरि नै खुम्चिएकी थिई नी पछि सुरुचीको अहम ले सुरुचि जति जति फुक्दै गई आफ्नो ठाउँ खोसिएको पायो उसले , उ कतै कुनामा कोचिए जस्तो लाग्थ्यो कतै फोहोर फ्याल्ने कुनामा प्रत्येक रात पल पल उसलाई कहालिलाग्दो लाग्थ्यो जब जब सुरुचिले उसलाई सिंगो निलेको भान हुन्थ्यो !!!
उ अचानक झस्कियो , उ अहिले त वर्तमानमा छ नि ,छोडेको अध्यायको के कुरा?
उ नजिकै गयो पुरानो खाट फेरिएको रहेछ , नाँ खाट नयाँ शरिर जसमाथि बिराजमान थियो । पुरानो खाट त रित्तो हुँदा प्रत्येक दिन उसलाई जिस्क्याउन थालेको थियो तैँले केहि दिन सकिनस् र त सुरुचीले तँलाई छोडि भनेर !!!
सुरुचिले छोडेपछिका धेरै रातहरुमा उसले पुरानो खाट सँग झगडा गरेको थियो अनि जित्न नसकेर बाहिर टिभि रुम मा गएर सुतेको थियो । उसलाई सन्तुष्टि भयो थोरै अब उसले त्यो खाटमा सुतिरहेकी सुरुचिलाई देख्ने छैन ।उसलाई जिस्क्याउने खाट आज आँफै बिस्थापित भएको थियो । उसले एउटा युद्द जितेको थियो ।
उसलाई केहि सम्झना आए जस्तै भयो बाहिर निस्कियो सिँढि बाट तल झर्यो । सिँढिकै तल स्टोरको ढोका खोल्यो पुरानो थन्क्याएको खाटलाई हेर्यो ,युद्द हारेपछि आँखा जुधाउन नमाने जस्तो लाग्यो उसलाई । त्यो खाट अब महत्वहिन भएको छ ,थोरै दिनमा नै बिर्सिनेछन् सबैले त्यो खाटलाई ! उ अनायसै मुस्कायो अनि फेरि बाहिर निस्केर आफ्नो कोठाभित्र छिर्यो ।
माया ढोका तिरै अचम्म मानेर हेर्दै थिई ।
“थोरै काम सम्झेर गएको तल !” उसले आफुलाई साधारण देखाउने प्रयास गर्यो ।मायाले उत्तर फर्काइन ।
“तिमीलाई अचम्म लाग्दैन यो आधारातमा तिमीभन्दा महत्वपुर्ण के थियो भनेर ?” उसले मायालाई प्रश्न गर्यो ।
मायाले मात्र टाउको हल्लाई !
“थिई कोहि जो तिमी भन्दा पनि महत्वपुर्ण थिई ,त्यहि महत्वलाई घटाउन खोज्दैछु !”
“तँपाई मलाई यो किन भनिरहनु भएको छ?” मायाले उसलाई सोधि ।
“किनकी मलाइ बुझ्नु छ ,तिमीले मलाई किन रोज्यौ ,तिमी त मेरो लागि वाध्यता थियौ ,म तिम्रो लागि के थिएँ?”
“मलाई त्यस्तो छुट्याउन आउँदैन ,म त मात्र मेरो बुवाआमा ले मेरो लागि तँपाईलाई रोजिदिएको भनेर थाहा पाउँछु ,मैले तँपाई जति जीवन देखेकी छैन !” उ हाँस्यो
“तैपनि मैले पनि त बताउनु पर्छ धेरै कुरा तिमीलाई !”
मायाले पुलुक्क आफ्नो आँखा उठाई , उसलाई एक टक नियाली ,पहिलो रात पक्कै पनि सोचे जस्तो रात थिएन ,मधुर हुनुको साटो गम्भिर थियो । उसको पो यो दोस्रो चोटि हो त मेरो त यो पहिलो चोटि नै हो उसले मनमनै सोची ।
“सुरुचिले मलाइ बुझ्न सकिन !” उ एक्कासि भक्कानिए जस्तो भयो !
“ म तँपाईकी बर्तमान हुँ ! अतित कै उपज भए पनि ! ” माया एक्कासी आवेशमा आई ।
“मलाई थाहा छ !”
बत्ति झ्याप्प निभ्यो ,उसले बत्ति तिर हेर्यो फेरि बत्ति बल्यो ,कोहि बाहिरबाट उसलाई जिस्क्याउँदै थिए शायद !
उ बाहिर निस्कियो यताउता हेर्यो ! फेरि भित्र छिर्यो !
“माया तिमीलाई लाग्दैन जुन सम्झौता हामी दुवैले गरेका छौँ त्यो कटाउन समय लामो छ ?”
“भन्नाले ?”
“मलाई थाहा छ तिम्रो म सँग बिवाह गर्ने कम्तिमा रहर चाहिँ होईन !”
“किन ?”
“मैले तिम्रो मन पढेको छु !”
मायाले फेरि उसलाई नियाली । उसको अनुहार भरी स्त्री प्रति आवेग पोतिएको थियो । उसले माया गर्न जानेको छैन ।उसले निष्कर्ष निकाली ।
रात ढल्किन थालेको थियो निसासिँदै ,बेरोजगार भएर केहि चिहाउन प्रयत्नरत चन्द्रमाले अहिले सम्म केहि पनि त नियाल्न पाएको थिएन !
बत्ति फेरि निभ्यो !
“को हो त्यो बाहिर ,रात भरि काम नपाउने ?” उ झोक्कियो ,बत्ति बल्यो । उ बाहिर निस्कियो मेन स्विच निकालिदियो भित्र छिरेर मैन बत्ति बाल्यो ।
“म सम्बन्ध बनाउनु भन्दा पहिले तिमीलाई बुझ्न चाहन्छु ।“ उसले प्रस्ताव राख्यो । मायातिर हेर्न चाहेन त्यसपछि । उसले के को लागि समय मागेको थियो उसलाई स्वयं थाहा थिएन अनि खाट को एउटा कुनामा पल्टियो । माया बिस्तारै उठी उसले भख्खर नै जलाएको मैनबत्तिलाई सुस्केराले निभाई ।
उ कोल्टे फर्कियो माया बिस्तारै उसको छेवैमा लडेको उसले अनुभव गर्यो ।आखिर किन उ समानान्तर रुपमा मायासँग दुरि साट्दैछ । माया त उसको समिप आउन चाहन्थि त ! उसले सोच्यो । हैन नहतारिएकै ठिक छ , उ बिस्तारै बिस्तारै मात्र मायाको मनमा माया पलाएको हेर्न चाहन्छ । सुरुचीकोमा उ हतारिएर नै सुरुचीले उसको महत्व बुझ्न नसकेकी हो । माया जब उसको एक स्पर्शको लागि पनि ब्याकुल हुनेछे तब मात्र उसको आचित्य बुझ्नेछे र वास्तविक युद्ध उसले त्यतिबेला जित्नेछ ।त्यतिखेर उ बिजयोत्सव मनाउनेछ एक्लै पिएर उ मातेर स्टोरमा थन्क्याएको खाटमा गएर लड्नेछ । उ त्यहि लाशमाथि बिजयोत्सव मनाउनेछ ।
झिसमिसे उज्यालो उषाका किरणहरु नउदाए पनि आफ्नो साम्राज्य फैलाउन खोज्दै थियो उसले उठेर पल्टिरहेकी मायालाई नियाल्यो ।मायाको अनुहारको सन्तुष्टि उसको अनुसन्धानको बिषय बन्यो ! उसले त मायाको अनुहारमा आफ्नो लागि ब्यग्रता हेर्ने चाहेको थियो , उसको अनुहार मा उद्वेग हेर्न चाहेको थियो ।तर माया उसलाई सन्तुष्ट लागी , उ आफु असन्तुष्ठ भयो ,आखिर माया किन सन्तुष्ठ भई ?
हुनसक्छ उसको सामिप्यताले ,उसका बोलिले मायालाई बिना स्पर्श नै सन्तुष्ठि दिन्छ ,सुरुचीले सात वर्षमा उसलाई जति बुझिन मायाले क्षणमा नै पाना पाना पल्टाइदिई र त उ सन्तुष्ठ छे ,जुन कुरा सम्पुर्ण रुपमा आफ्नो हो भन्ने थाहा हुन्छ त्यो त आखिर ढिलो आओस् चाँडो आओस् नजिक अवश्य आउँछ ,त्यसमा ब्यग्रता किन ?त्यो त एउटा चिन्तन पछिको ग्यान जस्तो हो ,एउटा दत्तदित्त भएर गरेको समाधि हो जसमा माया लिन भएकी लागि !!!! माया उसलाई क्षणमा नै महान लागी ,सुरुचि साँच्चै केटाकेटी छे मायाको अघि , उ गजक्क पर्यो बाहिर झ्यालको पर्दा खोल्यो बिहान गुलाबि हुँदै थियो किरणहरु अवरोध चिर्न खोज्दै थिए यस्तो राम्रो मौसम उसले देखेको थिएन ।
“माया !!!!!!!!!!!”
उ बिस्तारै मायाको नजिक गएर बोल्न चाह्यो नजिकै गयो पनि तर शब्दहरु कता कता अड्के जस्तो उसले खुशि पचाउन नसके जस्तो लाग्यो , उ फेरि खाटमा गएर नजिकै बसी । माया उसलाई नजिकै देखेर झस्किई थोरै सकपकिई अनि फेरि एकटक हेरीरही !
“कति चाँडो उठेकी ?”
मायाको अचम्म यथावत रह्यो । उसले सोच्यो हिजो राति देखि भावना हरु मात्र उसलाई परिवर्तन गरिरहेका छन् , उ आफूलाई मात्र पेन्डुलमजस्तो घरि यता घरि उता घुमाइरहेछ जसले गर्दा उसका सम्पुर्ण ध्रुव घुमिरहेका छन् !!!!!
शाश्वत सत्य माया त यथावतै छे , उ किन यथावत छे ,जसरि मायाले उसको भावना मा छाप बनाउँदै छे त्यसरि नै उसले मायाको भावनामा छाप बनाउन नसकेको हुन सक्छ कि सक्दैन ? त्यसो भए उसले अघि बसेर त्यत्रो निर्क्यौल गरेर निकालेको निषकर्ष मायाले उसलाई धैर्यताका साथ पर्खिरहेकी छे भनेको के त ?
“आज आँखा चाँडै खुल्यो !” उसको उत्तर साधारण थियो , उसले म रात भरी सुत्न सकिन ,तिमीले मलाई झस्क्याईदियौ जस्ता शाब्दिक फुलबुट्टा भरिन !
उसले सोच्यो अघि म बेक्कारमै खुशि भएछु माया ब्याकुल छैन किनकि मायालाई हिजो रातदेखि नै उसको अपेक्षा छैन । उ मायाको लागि सुरुचिले हराइसकेको युद्द हो तर मायाको हार त फेरि उसैको हार भयो त्यसो भए त !!!!!!!!!!!!!
“ म बाहिर निस्किन्छु एकछिन घुम्न !” उसले माया लाई जानकारी दिएको वा अनुमति मागेको उसले आफैँ निर्क्योल गर्न सकेन !!!
“हामी मेरो घर कति खेर जाने ?” मायाले प्रश्न राखि । आज त साँचि दुल्हन फर्काउने दिन पो त ! कति खेर जाने आमाले तय गरिदिनुहोलानी उसले मनमनै सोच्यो ।
“त्यो तिम्रो घर हैन माइत हो ,अब त यहि हो तिम्रो घर , आमालाई सोध न कति खेर जाने , म एकछिन बाहिर घुमेर आउँछु अनि !”
उ बाहिर निस्कियो । बिहानै बादल धुम्म भएछ ,पानी पर्ला जस्तो लाग्यो फर्किएर छाता लिन जान चाह्यो । घरलाइ नियाल्यो फेरि सोच्यो आज हेरौँ न भिजेरै , म नभइसकेका सम्भावना लाई काखि किन च्यापौँ ? बरु भिजिदिन्छु !!!
आज टोल मौन थियो किनकि टोल पनि त हारेको थियो , आज उसले छाति फुकाएर हिँड्न पाएको थियो ।सोच्यो छाता नबोकेको ठिकै भएछ नत्र छाता भित्र को स्वाभिमानी हिँड्दैछ कस्लाई के थाहा संसारले उसको उठेको टाउको भन्दा माथिको छातामात्र त देख्दथ्यो ! पानी स्वाभिमानको लडाईँ पो रहेछ आफ्नो टाउको भन्दा माथि पनि केहि ओत राखेर बच्ने वा स्चाभिमान बन्दगि नराखिकनै भिज्ने भनेर !!!! उसलेनिर्णय गर्यो उ कहिल्यै छाता ओढ्नेछैन अब आजै आप्नो छातालाई पनि खाट थन्किएको स्टोरमा लगेर थन्क्याइदिनेछ ।
उ घुमेर आयो , धेरै पछि उसले टोल यसरिघुमेको थियो । उसलाई गल्लि गल्लि आफ्ना लागेका थिए ।भित्ताका पोष्टरहरु होर्डिंग बोर्डहरु केहि नयाँ थिए केहि पुरानै भए पनि उसलाई राम्रा लागेका थिए , उसले हरेक भित्ता नियालेको थियो ,किनकि त्यो बाटो गुज्रिदा धेरै दिन पछि उसले टाउको उठाएको थियो । पछिल्ला दिनमा उ हतारमा गुज्रिदाँ मासु पसलेको मासु काटेको ठ्याक ठ्याक आवाज बाहेक उसलाई केहि याद छैन , उ आफु परिवर्तन हुँदा पुरै टोल परिवर्तित थियो अब टोल नछोड्ने उसको निर्णय थियो !!!!
तिन दिन पछि,
उसले चुरोट सल्काउन खोज्यो ,उ आमा सँग लुकेर कहिलेकाहिँ चुरोट सल्काउँथ्यो ।उसलाई धुवाँ मन पर्थ्यो , खरानी को रंगमा उसले जीवन देख्थ्यो तर उ आमा सँग डराउँथ्यो। आमा सँग मात्र किन उ त सबैसँग डराउँथ्यो । कहिले काहिँ भेट हुने आफ्नै बौलाएको प्रतिविम्व सँगै डराइदिन्थ्यो ।नडराओस् पनि किन ? उसको बौलाएको प्रतिविम्व उ आफैलाई भयावह लाग्थ्यो । उ सामना गर्न सक्दैन थियो तर सामना गर्न नसक्दा पनि प्रतिविम्ब उसलाई काँतर भनेर जिस्क्याईदिन्थ्यो अनि उ आफ्नो घोक्रो फुटुन्जेल चिच्याउँथ्यो म काँतर होईन भनेर । आमा दगुर्दै उसको कोठामा आउनुहुन्थ्यो प्रतिविम्व लुक्द्थ्यो । प्रतिविम्व त डराउने उसकी आमा सँग उ किन नडराओस् उ सोच्दथ्यो । त्यसपछि उसलाई आमासँगको डर पनि आधिकारिक छ जस्तो लाग्दथ्यो ।
“तँपाई चुरोट पनि खानुहुन्छ ?” तरकारी काट्दै गरेकी मायालाई एकदिन नजिकै बाट नियाल्दै गर्दा मायाले पत्ता लगाई । मायालाई नजिकै बाट लुकी लुकी नियाल्नु उसको विवशता थियो तर त्यो दिन मायाले झट्ट उ पछाडी बाट उसले नियाल्दै गरेको पत्ता लगाइदिई । त्यसको लगत्तै प्रश्न पनि प्रहार गरी । अचानक गरिएका प्रहार हरु नै त हो घातक हुने !
“किन?”
जसरी उ मायालाई स्वतन्त्र छोड्दैछ मायाले पनि उसलाई छोडोस् न उ चाहन्थ्यो ।एउटा नयाँ सम्बन्ध को परिभाषा उ दिन चाहन्थ्यो तर अभिमानी समबन्ध उसले सोचे जस्तो बन्नै चाहिरहेको थिएन । तर केहि चासो नराख्ने मायाले उसको चुरोटमा चासो राखी !त्यसको खास कारण पनि त थियो ।
“त्यत्तिकै !”
मायाले कुरो टुंग्याईदिइ , उसको मौनताले युद्द जित्यो ।
माया तिन दिन बितुन्जेल सम्म पनि साधारण नै रहेको उसलाई चित्त बुझेन , घटनाक्रम लाई उसले असाधारण बनाउन खोज्यो तर उ साधारण नै रही रही ,प्रत्येक रात उ मायाले मलाई छून्छे की भनेर टाढा सुती टोपल्थ्यो , माया आएर घुप्लुक्क निदाईदिन्थी मानौँ उसलाई त्यो अघिका कुनै कार्यका बारेमा थाहा छैन , उ एक्लो जीवनै कटाउनलाई नै त्यो घरमा आएजस्तो ,छेउमा पल्टिरहेको उसको कुनै अस्तित्व छैन मात्र उसको लम्बाई र चौडाई ले मायाको खाटको खालि ठाउँलाई घटाइमात्र रहेछ ।बिहान उसको अनुहारमा केहि चिन्ताका रेखा हरु देखिन्छ कि भनेर नजिकै बाट नियाली टोपल्थ्यो ,खोई माया उसलाई समिप आएको सम्झिन्थि की उ मुस्कुराइदिन्थि , उ अपमानित भए जस्तो सम्झिन्थ्यो अनि चुपचाप किचन बाट फर्किन्थ्यो । उसले मायालाई यति कोण बाट नियाल्यो की उसले माया माथि शोधपत्र तयार पारिसक्थ्यो माया कुनै विषय भएकी भए! तर यी सबै रिसर्चको एउटै साधारण निष्कर्ष थियो आईमाई को जात बुझी नसक्नुको हुन्छ ।
पहिलो हारबाट उसले सिकेका पाठहरु उसले या त गलत सिकेको थियो या उ अर्को गल्ति को एकदम नजिकै थियो उसले सोच्यो । सुरुची भोगी थिई । उ प्रत्येक रात उसका अंग अंग लाई शिथिल बनाईदिन्थी ।तर अन्त्य मा उसलाई लागेको अन्त्य सुरुचीको शुरुवात पनि हुँदैनथ्यो अनि उ विवश हुन्थ्यो उसलाई ऐना हेर्न मन लाग्दैनथ्यो ।
माया बिलकुल अलग थिई उ उसलाई ब्याकुल बनाउन चाहन्थ्यो माया चाहनाको परिधि भन्दा पनि पर हुन्थि । उसको अनुहारमा सँधै तृप्तता हुन्थ्यो । उसको अनुहारमा सन्तुष्टि को उज्यालो किरण किरण चुहिन्थ्यो । उ छक्क परेर मायालाई नियाल्थ्यो आखिर उसले के नै गरेको छ जसले गर्दा माया यति साह्रो खुशि छे ? मायालाई जब जब उ नजिकै बाट नियाल्थ्यो माया अझ मुस्काईदिन्थि रहस्यमाथि अर्को रहस्य थप्दै अनि उ सोच्थ्यो के माया र सुरुची एकै वर्ग का प्राणी हुन ?स्त्रि को साधारण गुण को कुरा गर्ने हो भने दुई मध्ये एकलाई स्त्री वर्ग मा राख्नुहुन्न भन्ने उसको ठम्याई निक्लियो ।
उसको सल्केको ठुटो बिस्तारै बिस्तारै खरानी अवशेष छोड्दै जलेर सिद्दियो । उसले एकछिन सम्म खरानी नियाल्यो अनी सोच्यो यहि खरानी जोडेर एउटा अर्को चुरोट बनाउन पाए ! जीवन आखिर किन रिभर्सिबल छैन ?
“ माया को अतित र अहिले उसको मुस्कान ले केहि रहस्य लुकाएको छ । स्त्री बर्ग मा सुरुची नै पर्छे र माया पनि स्त्री नै हो यसको मतलव मायामा पनि सुरुचिकै जस्ता गुण छन् जसलाई उ लुकाइरहेकी छे तँ सँग !” अचानक भुईँको खरानी चिच्यायो ।
“तँलाई त्यो कुरा के थाहा र ?”
उसले भुईँमा घोप्टी घोप्टी प्रश्न तेर्स्याईदियो ।
“कहिले काहिँ अर्काको कोण बाट आफ्नो संसार हेर , पत्ता नलागेका कुरा हरु पनि पत्ता लाग्छन् ।“ खरानी आफ्नो कुरो टुंग्याएर चुप लाग्यो ।
अब फेरि फेरि खरानीले उसलाई सम्झाउने छैन । उसले आफ्नो धर्म त्यागेर बोलिसक्यो ।
बोल्नु उसको गुण हैन तर उसको दोधार खरानीले देख्न नसकेको मात्रै त हो उसले माया माथि निगरानी राख्नै पर्छ ।
“आज पनि तँपाईले चुरोट खानु भयो हैन !”
मायाले आज पनि पत्ता लाईदिई , माया आफ्ना शत्रुहरु चिन्छे जस्तो छ त्यसैले त उसले कुशलता पुर्वक कुराहरु लुकाईदिन्छे । खरानीले पोल लगाएको उसलाई थाहा भइसके जस्तो छ ।
“हैन “ उसले टाढैबाट जवाफ फर्कायो । उसलाई खरानीको अस्तित्व जोगाइदिनु पनि त थियो ।
करिब अरु तिन चार दिन त्यसै गरि बिते न मायामा केहि परिवर्तन आयो न उसमा केहि परिवर्तन आयो न दुईविचको सम्बन्धमा केहि परिवर्तन आयो न परिस्थिति मा केहि परिवर्तन आयो । संसार मा एउटा वाक्य मात्रै हो परिवर्तन नहुने संसारका हरेक कुरा हरु परिवर्तनशिल छन् भन्ने । उनीहरुविच बितेको त्यो तिन चार दिनमा भने मात्र त्यो वाक्यमा परिवर्तन आयो त्यो वाक्यले आँफैलाई दुई चार चोटि पढ्यो होला आखिर म किन लागु भइराखेको छैन माया र उ विचको सम्बन्धमा भनेर । त्यसपछि मात्र त्यो बिहान आयो ।
त्यो विहान उ चाँडै उठ्यो आज को बिहान फरक थियो उसले माया माथि चियो चर्चो गर्नु थियो ।माया विहान देखी के गर्छे उसले हिजो राती नै बसेर सबै कुराको टिपोट गरेको थियो । मायाको रहस्य पत्ता लगाउन माया र सुरुची विचका भिन्नता हरु जुन माया दैनिक जीवनमा देखाउने गर्छे त्यसलाई नियाल्नु पर्छ त्यसको गहिराहिमा जानुपर्छ भनेर खरानीले उसलाई सम्झाएकै थियो । उसले त्यो मात्र पालना गर्न चाहेको थियो ताकी पछि कसैलाई उसले जवाफ दिन सकोस् ।उसले चियो गर्नु पर्ने ठाउँहरु उसले हिजो रात तैयार गरेको कागजमा रातो कोरेर राखेको थियो राता दागहरु पन्ना भरी धेरै थिए ।उसले ति दागहरु गन्न भने भ्याएको थिएन । तर ति सबैलाई एक एक गर्दै पन्छाउँदै जानेछु भनेर निश्चय चाहिँ गरेको थियो । शुरुवात उसले किचनबाट गर्नु पर्ने थियो ।किचनमा रामे मायालाई सघाउँथ्यो । उसको घरको पुरानो नोकर ।सुरुचिलाई पनि उसैले सघाएको थियो ।सघाउँथ्यो किन भनौँ ? सुरुची त किचन नै छिर्दिनथी त्यति खेर रामे नै सबै काम गर्ने गर्थ्यो । सुरुचि मात्र रातमा फुल्ने बिशिष्ट फूल थिई जसलाई सुन्दरता देखाउनुपर्छ भन्ने ग्यान थियो । माया कलामा ब्यक्त गरिनुपर्छ भन्ने सोचाई थियो र समबन्धको क्यानभास छताछुल्ल हुने गरी कलाकारले रंग पोख्न नसकेले त्यो कलाकारले क्यान्भास अरु कसैलाई जिम्मा लगाउनुपर्छ भन्ने थाहा थियो ।
त्यसो भए माया किन किचनमा छिर्छे त यहि सोचेर उसले पहिलो रातो किचन मा लगायो जति खेर आमा पुजाकोठामा ,बुवा मर्निंग वाक मा र उ ओछ्यान मा निन्द्रामै हुन्छ त्यति खेर माया किचनमा छिर्छे । किचनमा छिर्नु त गृहिणीको अधिकार को कर्तँव्यको कुरा हो ,त्यसो भए सुरुची किन छिर्दिनथि । मान्छे ले कुनै काम नगर्नु पर्ने थाहा पायो भने पनि उसले किन गर्छ ? जति खेर उसमा रहर पलाउँछ ।किचनमा के छ त रहरलाग्दो उसले रामे बाहेक मायाको लागि अरु रहरलाग्दो बस्तु देखेन ।
सारा दोष रहरहरुकै त हुन आखिर उसले खुइय सुस्केरा काडेको थियो । कसैमा चाहिने भन्दा धेरै पुरागर्नु पर्ने भन्दा धेरै आकाश सानो लाग्ने रहरहरु हुन्छन् ,कोहि रहर नभएको भान पारिदिन्छन् । मोक्ष प्राप्त गरेजस्तो !
उसले किचनको ढोका बाट बिस्तारै चिहायो । माया चिया छान्दै थिई । चियाको रंग टाढाबाट धेरै थियो वा थोरै उसले नियाल्न सकेन तर चिया टाढाबाट उसलाई कालो लाग्यो । उ हरेक चिज आजकल कालो अध्यारो देख्न थालेको थियो । हरेक अध्याँरोले किरणहरु निल्न थाले जस्तो । जसरी एउटा किरणले अन्धकार दवाइदिन्छ त्यसरि नै एउटा अध्यारोको अंशले सुर्य निलिदिने भए । मान्छे किन कालो मन पराउँदैनन् ? उ झस्कियो । मायाले चिया छानीसकेकी थिई उ हतार हतार ओछ्यान मा गएर यथास्थिति मा बस्यो ।
“आज रामे थिएन ?” चिया लिँदै गर्दा उसले प्रश्न राख्यो ।
“बजार गएको छ तरकारी किन्न किन?”
माया मुस्काई । उ पराजित भयो । मायाले पक्कै हिजो राती नै उसको कागज देखी उसले सोच्यो । तर कसरी उसले त स्टोर रुम मा मैनबत्ति लिएर गएर धेरै गोप्यता का साथ कागज तैयार गरेको थियो त ! त्यसो भए उ भित्र अर्को कोहि छ मायाको जासुस् ! जुन प्रतिबिम्व सँग उ दिन रात झगडा गर्छ त्यहि पो हो कि उ सँग झगडा पनि परिरहन्छ त्यसैको बदला लिन चाहेको पो हो कि हैन त्यस्तो त हैन , त्यो प्रतिबिम्व त बौलाहा छ त्यसले भनेकै भए पनि मायाले किन बिश्वास गर्छे त ।उ ढुक्क भयो । यो पहिलो पटक उसको हातमा निराशा लागेको मात्रै हो उसले रहस्य पत्ता लगाएरै छोड्नेछ ।
“पत्रिका हेरुम कि भनेर !”
माया बाहिर निस्किई । उ ढुक्क भयो ।
उसले गोजिबाट बिस्तारै आफ्नो कागजको टुक्रा निकाल्यो यता उता हेर्यो आफ्नो गोजिमा राखेको रातो कलम निकाल्यो । उ आजकल आफ्नो गोजिमा कम्तिमा पनि दुई किसिमको कलम राख्दथ्यो । एउटा कालो किनकी कालो आजकल उसको मनपर्ने रंग बनेको थियो । प्रकाश निल्न सक्ने गहिराहि बोक्न सक्ने , धेरै लुकाउन सक्ने रहस्य बोकेर मुस्काउन सक्ने ।संक्षेपमा भन्ने हो भने मायाका गुणहरु उ कालो रंगमा देख्दथ्यो अर्को रातो जुन उ काला अक्षरहरुलाई गोलो लगाइदिन प्रयोग गरिरहेको थियो । उसले किचन मा कोरिएको गोलोलाई अझ गाढा बनायो । त्यो उसले अहिले सम्म अनुसन्धान नसिद्दिएको जानकारीको लागि बनाएको थियो ।
परबाट आएको आवाजले उ सन्तुलित भयो ।पदचाप तिर कान र आँखा फर्कायो । माया रहिछे । उसले मायाको बारेमा सोच्दा माया नै आई , शायद उसले सुरुचीको बारेमा सोचेको भए सुरुचिनै पो आउँथी कि ! उसलाई आफ्नो सोच प्रति हाँस उठ्यो । उ हाँस्यो मायाले पत्रिका उ तिर तेर्स्याई ।
“यो के हो ?” उसले टाउको उठाई
“पत्रिका खोज्नु भएको हैन ?” उसले आश्चर्यका साथ उसलाई नियाल्दै भनी ,
“हो हो ।“ उसले टाउको हल्लायो अनि पत्रिका लियो । केहि पढे जस्ति गरेपछि फेरि मायालाई नियाल्यो उसको आश्चर्य यथावत छ कि छैन
माया कुशल छे ,चतुर छे र घातक छे उसले हरहमेशा सोच्ने गरेको विषयबस्तु ।जे सुरुचीमा स्पष्ट देखिन्थ्यो त्यो मायामा छायाँ पर्छ ।उ ती सबैलाई लुकाएर पनि साधारण जीवन बाँचिदिन्छे । उ धेरै ठाउँ बांगिएकी एउटा सरल रेखा हो , जसमा प्रत्येक वक्रहरु त्यहि सरल रेखाले निलेको छ ।भिमकाय शरिर छ त्यो सरल रेखाको जसमा बांगिएका परिधिहरु झिना मसिना लाग्छन् । उसले धेरै बेर सोच्यो अब खोज के बाट ???
बाहिरको प्याट प्याट आवाजले उसको ध्यान भंग भयो आवाज बिस्तारै हरायो ।कोहि उसलाई पनि लुकेका नजरहरुले नियाल्दै छ ।प्याटप्याटे चप्पल कसले लाउँछ ? घर आलिशान ,लत्ता कपडा आलिशान प्याटप्याटे चप्पल लगाउने दरिद्री को निस्कियो ?
रामे !!!!! उसको दिमागमा अचानक बत्ति बल्यो। उसलाई धेरै प्रश्नहरुको उत्तर , धेरै समस्याहरुको समाधान एकैचोटि पाएछ जस्तो लाग्यो ।
हो रामे नै हो मलाई लुकीछिपी हेर्ने । उसलाई रामे माथि शंका छ छैन बुझ्न आएको । रामे को कुरा थाहा पाएपछि उसको साधारण प्रतिकृया के हुन्छ त ?उसले रामेलाई गाली गर्नुपर्ने हुन्छ।तर उ रामे लाई किन गाली गरोस् रामे त माध्यम हो जड त माया को रहस्य हो । उसले आज विहानको गल्ति पत्ता लगायो । माया रहस्यमयी छे , मायाको रहस्य उसको लक्ष हो । तर मायाको रहस्य सम्मको यात्रा तय गर्दा माया पर्खाल मात्र बन्न सक्छे बाटो होइन किनकी मायामा रोक्न सक्ने चातुर्यता छ लुक्न सक्ने गोप्यता छ र डुब्न सक्ने गहिराहि छ । बाटो त रामे हो मायाको रहस्य सम्म पुग्नलाई । आज बिहान देखि नै उसले रामेलाई पछ्याउनु पर्ने रहेछ उसको चियो गर्नु पर्ने रहेछ ।
उसले आफ्नो कागज निकाल्यो किचन शब्दमाथिको गोलो अझ गाढा बनायो । त्यसैको मुन्तिर रामे भनेर नाम कालो अक्षरले कोर्यो पन्नालाई जतनले पट्यायो अनि शर्टको गोजीमा राख्यो ।
************* ************* *************** **************
रामे करिव बाइस तेइस तिरको केटो ,जतिखेर सुरुची भित्रिएकी थिई उ शायद किशोर भनाउन लायक भख्खर भएको थियो ।सुरुचीको हेय दृष्टि पर्ने गरी । उ जस्तै रामे पनि सुरुची सँग डराउँथ्यो र सुरुचीलाई डराउने मान्छेहरु मन पर्दैनथे । उ ढल्कदो थियो रामे उक्लँदो ।
उसले रामेलाई खोज्यो । उ बँगैचामा पानी हाल्दै थियो । दुईचात वटा फूल उसले रोपेका पनि थिए त्यसमा दुई चारवटा मा मायाले गोडमेल गरेकी थिई हिजो भख्खर । हो हिजो भख्खर रामे मायाले गोडमेल गरेका फूलहरुको जतन गरीदिन चाहन्छ । उसले फूल लाई नियालेर हेर्यो दुइचारवटामा कोपिला लाग्दै थिए । मायाले गोडमेल गरेको रामेले पानी हालेको फूलमा कोपिला लाग्दैछन् उसलाई विरक्त लागेर आयो ।
“रामे पानी ले त !” उसले रामेको काममा वाधा पार्ने चाह्यो
“हुन्छ हजुर।“ रामेले उत्तर फर्कायो ।
रामेको काम रोकिएकोमा उ मनमनै खुशि भयो । गिलासको पानी उसले एकै घुट्को मा साफ पार्यो । रामेलाई नियालेर हेर्यो ।पहिलेको भन्दा निखार छ उसमा केहि अतुलनिय कुरा पाए जस्तो उज्यालो छ उसमा । उ मात्र किन अपुर्ण छ यति लामो समयसम्म सुरुची हरदिन उसलाई आफ्नो क्रोधले गिज्याउँथि मायाहरदिन उसलाई आफ्नो मुस्कान ले गिज्याइदिन्छे । के उ सबैको लागि हेयको पात्र बन्न संसारमा छ ?उ किन रामे हुन सकेन ?बरु उ नै पानी लगाइदिन्थ्यो बँगैचामा यदि माया नमुस्कुराउने वाचा गर्छे भने । मायाको मुस्कानले उसलाई पोल्छ ।
“गिलास मलाई दिनु भए हुन्छ हजुर !”
गिलास अझै उसैको हातमा रहेछ । रामेले माया उ सँग सापटी माँगे जस्तो लाग्यो ।
“हैन यो गिलास म नै राखिदिउँला !” उसले आनाकानी गर्यो ।
रामेले अचम्म मानेर हेर्यो । उसले गिलास अझ जोडले समात्यो ।
“म दिन्न तँलाई यसमा हक छ मेरो !” उ अचानक चिच्याउन चाह्यो फेरि सोच्यो यति भएपछि सबैलाई सबै कुरा पत्ता लाग्नेछ । मायालाई पनि , उसले आफ्ना शब्दहरु रोक्यो ।
“त्यसो भए म जाउँ त हजुर ?”
रामेको प्रश्नमा उसले टाउको मात्र हल्लायो ।
रामे माथि उ गर्जन गर्न चाहन्छ जसले रामेको अस्तित्व समाप्त गरिदेओस् । मानिसको नेचुरल ईन्स्टिंक्ट हो उ जहिल्यै आफ्नो बारेमा सोच्छ अथवा भनौँ प्राकृतिक रुपमा मान्छे मात्र आफ्नो बारेमा सोच्दछ ।उसका आफ्ना रहरहरु ,अरु संग पनि सम्बन्ध त आफ्नै रहन्छ नि ! जहाँ उसले अरुको बारेमा सोचीदिन्छ उ कृत्रिम हुँदैछ कहिले नैतिकता दवावमा कहिले आत्मियता को दवावमा । रामेलाई उसले के सम्म गरेन किशोर बाट परिपक्व बनाउन्जेल सम्म उसको कत्तिको योगदान छ । आज माया उसका रहरहरुलाई गोडमेल गरिदिँछे शायद ती कोपिला हरु जस्तै जुन उसले अघि भख्खर चुँडेको थियो । त्यहि भएर उसले अघिका कुराहरु बिर्सियो स्वार्थि बनेर । उसले पनि प्राकृतिक गुण देखायो कृत्रिमता रोजेन नैतिकता को दवावले उसको प्रकृति दवाउन भ्याएन । ठिकै छ ,,, तर उ गर्जन किन सकिरहेको छैन त रामेमाथी ।
मायाले थाहा पाउँछे उसको योजना भन्नु त एउटा बहाना मात्र हो । वास्तविकता अर्कै छ । बिस्तारै बिस्तारै रामेको छाती फूल्दै छ अभिमान अटसमटस भएर अटाउन नसक्ने गरी अनि रामे अजंगको हुँदै छ जसको परिपेक्षमा उ कमजोर देखीइरहेको छ । उसको छाति सुक्दै छ ,कुपोषण लागेको छ अभिमान को मामलामा उसलाई । कसले लग्यो त उसको स्वाभिमान । माया सारिरहेकी छेयता बाट स्वाभिमान झिक्यो उता भर्यो कति सजिलो !!!!!!!!!!!! माया स्लो पोइजन हो , उसलाई थाहा नभइकन उसका धेरै कुराहरुमा क्षति पुर्याइरहेकी छे उसैलाई ।
उसलाई चिटचिट पसिना आएजस्तो भयो । उसले पसिना हेर्यो ।पसिनाका थोपाहरु अस्वभाविक रुपमा ठुला लागे उसलाई ! भित्तामा टाँगिएको क्यालेण्डर हेर्यो । पौष मा पल्टिएको थियो । योबेमौसमी वर्षा किन गरिरहेको छ उसको शरिर ले ? माया उसको मन ,आत्मा शरिर सबैलाई एकैसाथ कमजोर बनाउँदै छे पल प्रति पल गलाउँदै छे । उ मायाको बारेमा पत्ता लगाउन चाहन्छ । माया भने उ भित्रै उसका शत्रु हरु जन्माउँदै छे । रक्तबिजहरु जसले उसलाइ दिन दुइगुना रात चारगुना खोक्र्याउँदै छन् ।
उसले अब एउटा यस्तो बाटो खोज्नुपर्छ जसले मायाले कमजोर र उसलाई शक्तिशाली एकैचोटि बनाओस् । सामुन्ने नपरि कसरि हुन सक्छ त यो ? जसरि उसको स्वाभिमान घुँडा टेक्दै छ त्यसरी नै मायाको पनि टेकाउन पाए ! को हुन सक्छ उसलाई गलाउन सक्ने ?सुरुची !!!!!!!!!!!!!!!!!!!!!!!
सुरुची नै हो मायाको मुस्कान सम्पुर्ण रुपमा गायब गरिदिन सक्ने । उसमा गजबको क्षमता छ यदि उ प्रकट भइदिन्छे भने ! कसरी ? सुरुचीलाई फेरि यो घरमा कसरी लिएर आउने ?कहाँ छे सुरुची ? अन्तिम पटक को चिठ्ठि र भएभरका गालीहरु पछि त सुरुची कतै हराएकी छे । कसरि खोजोस् उ सुरुची लाई ? फेरि यो त रुघाको समाधान गर्न ज्वरोलाई निम्त्याए जस्तो हुन्न र ! उ हाँस्यो सुरुचीकोसमाधानको लागि मायाको खोजी अब मायाको समाधानको लागि सुरुचीको खोजी !!!!!!! संसार परिवर्तन शिल छ !! उ फेरि हाँस्यो ।
“एक्लै हाँस्दै हुनुहुन्छ नी !”
माया यसरि नै अचानक कोठामा प्रकट भइरहन्छे ।उसको स्वभावै जासुसी छ आँखा जहिले पनि अरुले सोच्न नसक्ने ठाउँमा दौडाइरहेकी हुन्छे । त्यति मात्र नभई माया उसको हाँसो पनि दवाइदिन चाहन्छे । शायद अब यसपालिको प्रहार उसको हाँसो माथि हो !
“तिमी पनि त मुस्कुराईरहन्छौ सँधै बिनाकारण !!!” उसले हिम्मत जुटाएर प्रतिप्रश्न गर्यो ! हराएका हिम्मत हरु थोपा थोपा गरेर जम्मा गरेको थियो उसले !
“म कहिल्यै बिनाकारण मुस्काउँदिन !’ मायाले मुस्कुराउँदै नै जवाफ फर्काइ ।कीन मुस्कुराउदिन उ बिनाकारण सँधै नै मुस्कुराइरहेकी हुन्छे भने । सँधै ने उ सँग कारण भइरहन्छ त ?
“अहिले किन मुस्काएकी त !”
“तँपाई बिनाकारण हाँसेको देखेर !”
माया बाहिर निस्किई। उसलाई ब्याख्या गर्ने समय सम्म नदिई !!!!!!!! माया सँधै यस्तै गर्छे आफ्ना विचारहरु राख्छे उसका विचार सुन्दै सुन्दिन या बाहिर निस्किइदिन्छे या काममा ब्यस्त भइदिन्छे उसका कुराहरु घाँटीको कुनै खण्डमा अड्किरहन्छन् जसले उसको मुटु दुख्ने ब्यथा बल्झिएको छ । यो मायाको उसको शरिरमाथि प्रहार गर्ने अनौठो तरिका होला ।मायाका हरेक तरिका हरु अचम्मका हुन्छन् । सानै उमेरमा उसले शिकारमा पारंगतता हाँसिल गरेकी रहिछ ।
सुरुचीको उपाय उसले बिस्तारै त्याग्यो ।त्यो बाटो आकर्षक थियो तर त्यो बाटो गाह्रो पनि थियो । गलेको उसले सजिलो बाटो खोज्नुपर्छ । गाह्रो बाटोमा उसको यात्रा अपुर्ण हुने डर छ । हराएकी सुरुचीलाई कता खोजोस् उसले । फेरि भेट हुने बित्तिकै मायामा आक्रमण गर्नु अघि उसैमाथि आक्रमण गरी भने । के भर सुरुची को त स्वभाव नै त्यस्तै छ,धेरै प्रश्न होलान् उसको दोस्रो विवाहलाई लिएर सुरुचीको मनमाँ प्रत्येक प्रश्नहरुको उत्तर दिने त उसको सामर्थ्य नै छैन । फेरि घरमा पनि कुरा उठ्छ सुरुची किन आई भनेर ! समाजमा सुरुचीले केहि भनी भने उसको घर फेर्नुपर्ने कार्यक्रम जसलाई उसले हाललाई स्थगित गरेको थियो त्यसमा पुनर्विचार गर्नुपर्ने पनि हुन सक्छ ! यो त माया र उसको विचको कुरा हो । ओखति यस्तो हुनुपर्छ जसले मायालाई मात्र असर गरोस् । उसले पत्ता लगायो ओखति जुन उसको विचारमा अचुक थियो ।
मायाले उसलाई जे गरी उसले पनि त्यहि गर्यो भने । एक रात हराइदियो भने ?शहर मा रात बिताउने पर्याप्त ठाउँहरु छन् भट्टि पसल हरु छन् , जोवन बिक्रि हुने ठाउँहरु छन् जसमा उ आफूलाई प्रयोगशाला मा उभ्याउन पनि सक्छ र मायाको स्वाभिमान माथि प्रहार पनि गर्न सक्छ ।प्रयोगशाला मा यस मानेमा कि त्यहाँ पारखि हरु हुन्छन् जसले उसको गुण दोषहरुको बारेमा उसलाई जानकारी दिइदिन सक्छन् । मायाबाट उ टाढा जानाले मायालाई पनि त उसले चाहेको कुरा माया ले दिन नसकेको स्पष्ट हुन्छ नि त ! उसले निर्णय गर्यो । आजको रात उ पनि खुल्ला माया पनि खुल्ला जे पर्ला पर्ला । भोलि मायालाई उसको रोमान्चक यात्रा बढाई चढाई सुनाउने छ ! माया माथिको असर हेर्नेछ ।
तल आमा र मायाको हाँसोको आवाज सुनियो ।त्यो हाँसो आज रातसम्म मात्र रहने उपायको आविष्कार गरेको छ उसले उ ढुक्क भयो । रातमा धेरै काम गर्नुपर्ने छ उसले , अहिले उसले सुत्नुपर्छ एकछिन मन र शरिरलाई आराम दिनु पर्छ । उ ओछ्यान मा पल्टियो ,धेरै दिन पछि ओछ्यान मा अनौठो सन्तोष प्राप्त भए जस्तो लाग्यो उसलाई । उ निदायो सपना भरी उसले चुँडेका कोपिला हरु चौर भरि छरपष्ट थिए ,काँडा भने बोट मा एक्लै भएको बिजयोत्सव मनाउँदै थिए । चिया लिएर आउँदै गरेको रामेलाई सुरुची गाली गर्दै थिई । हाँस्दा हाँस्दा मायाको ओठ सुन्निएको थियो । माया धेर हाँसेर कुरुप भइछे !! तर अचम्म उसको आफ्नो सपनामा उ कहिँ थिएन । उ आफूलाई खोजिरह्यो सपनाभरि !!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!!
आखिर रात आइछाड्यो ,वास्तवमा मान्छे सपनाको ब्यापारी हो रातको पुजारी हो जब मान्छे गाँस बास र कपासको आधारभुतता बाट माथि उठ्छ उसले सब भन्दा पहिले सोच्छ रात कसरी काट्ने ? उसलाई थाहा थियो उसले आजको रात कसरी काट्नु पर्नेछ आफ्नो आत्मसम्मान को रात हो यो उसको दिर्घबिजयको कडि हो यो रात !यो रात उसले परिक्षा दिनु थियो यहि रात नतिजा निक्लिनु थियो त्यसैले यो रात कर्मको रात थियो फलको रात थियो । उ अन्तर्स्वप्नमा बाँच्दछ त्यसैले उसले उज्यालो मा पनि कहिले काहिँ सपना भने नदेखेको होइन तर उसले पर्खेको रात थियो आखिर रात आइछाड्यो ।
त्यसै त औँशि नजिँकिँदै थियो तिँ माथि उ छिरेको गल्लि अँध्यारो थियो ।उसलाई उ भित्रको उज्यालो ले त्यता डोर्याइरहे जस्तो लाग्थ्यो ।हुन त उ र झरेको पातमा खासै फरक भने थिएन जताको हावा चल्यो उतै बटारियो । घरि घरि उ मायालाई पनि सम्झिन्थ्यो आज त म घरमा छैन उ पक्कै पनि चिन्तित होली । उसको मुस्कान मैले भोलि देखि हेर्नु पर्दैन । उ वास्तवमा डराउँथ्यो आजकल मायाको मुस्कान देखी ! यो गल्लिमा उसलाई धेरै पहिले कसैले पसाएका थिए । उ रहर भए पनि डरले जान सकेन । आज उसको डर हराएको थियो । धेरै पछि पनि उसलाई गल्लि याद रहेछ । त्यसको मतलब उसले त्यो गल्लिको एड्रेस सम्हालेर राखेको रहेछ मनको कुनैँ कुनामा उसले डर ले पुरा गर्न नसकेको रहर कुनै दिन डर हराएपछि त्यो गल्ली छिरौँला भनेर पनि होला । आज उसको डर को सामू जलन छ जलन को अघि उसको डर गलेको छ । उ सँधै सोच्छ माया सँधै किनमुस्कुराइरहन्छे ????????????
“नयाँ मान्छे छिर्न पाइन्न !”
कतै कुनाबाट आवाज आयो ।
उ झस्कियो ,त्यसलाई कसरी थाहा भयो उ नयाँ हो भनेर ?
“म नयाँ होइन म पहिले पनि आएको थिएँ नभए मलाई यो गल्लीको एड्रेस कसरि थाहाहुन्छ?” उसले तर्क राख्यो अग्यात बोलि चुप भयो । उ ढुक्क भयो । उसले पहिलो युद्द जितेको थियो ।
भित्र रंग भरमग्दुर पोतेकी एउटा कला क्यान्भासमा लडिरहेकी थिइ । उसले नियाल्यो । उ क्यान्भास बाट जुरुक्क उठी । आफूलाई ऐनामा एकछिन नियाली शायद ऐनाले कलाको तारिफ गर्यो कला मुस्काई आफूमा अरु धेरै रंगहरु पोति । कला मादक देखीइ उ लठ्ठ भयो सोच्यो भोलि म यो कलाको भोगको बारेमा मायालाई सबिस्तार लाउनेछु । कहाँ मायाको लागी रामे जसले भख्खर भख्खर बामे सर्न सिक्दैछ ,कहाँ उसकी उसकी मात्र के सर्वलोक की दक्ष कला !
“के खोज्न आएको ?”
“म त आफैलाई खोज्दै आएको !” उसले सोझो भए जवाफ दियो । जागिर खानलाई आए जस्तै । काम्दै गरेका खुट्टालाई भित्ताको टेको लगाएर उभ्यायो । आकांक्षाहरु भने सपनाको आकाशमा प्याराशुटमा कतै उडिरहेका थिए ।
“तिमी गलत ठाउँमा आएछौ यो आफुलाई हराउने ठाउँ हो भेट्टाउने होइन !” कला फेरि ऐना तिर लागी ।ऐनाले उसलाई घरी घरी जवाफ दिइरहनु पर्ने रहेछ उ कत्ति की पुर्ण देखिइरहेकी छे भनेर !
“हराउँदै नहराइ मान्छे कता बाट भेट्टिनु !”
कला हाँसी बत्ति निभ्यो उ बिस्तारै हरायो !!!!!!!!!!!!!!!!!!!!
********* ************* ************ *************** **********
“यो माया को हो?”
कलाको आवाज सुनियो ! कलाले मायालाई कसरि चिनि त ?कतै माया कला भेषमा त आइन उसको पछि पछि?आइमाई चिन्न गाह्रो हुन्छ चाहे त्यो कला होस या माया उनिहरु आफ्नो पहिचान लुकाउँछन् यो स्त्री जातिको प्राकृतिक आधारभुत गुण हो
“तिमीलाई मायाको नाम कसरी थाहा भयो ?
“तिमी भख्खर बर्बराउँदै थियौ त , माया र हराएको मुस्कानको बारेमा !”
कलाले स्पष्टिकरण दिई ।
उ टक्क अडियो । निभेको बत्ति बल्यो ।उसलाई त्यो उज्यालो मन परेन , अँध्यारो बरु उसलाई आफ्नो आफन्त लागेको थियो । कलाले पखालिएका रंगहरुलाइ पहिलेको ठाउँमा ल्याई ।फेरि उ त्यहि क्यानभासकै भएकी थिई ।क्यानभास उसको कर्म थलो थियो ।त्यहिँ उ आफूलाई पोत्दथि आफूलाई मेट्दथी । आफुलाई चाहे जस्तो स्वरुप दिन सक्नु कलाको खुबि थियो ।कलाको यहि खुबिले त उसको क्यान्भासले बजार पाएको थियो ।
“तिमीले न मायालाई चिनेका रहेछौ न माया गरेका रहेछौ !”
“तिमी को हौ मेरो फैसला गर्ने ?”
“तिमी हराएको भनेको होइन मैले त तिमीलाई तिमी खोजिदिएकि मात्र हुँ !”
कला मुस्काई , उसको मुस्कान माया को जस्तै जस्तै थियो । बत्तिको प्रकाशमा उसले कलाको मुस्कान सँगै कलालाई नियाल्यो । मायाको अनुहार पो देखियो ,हो कलाको अनुहार परिवर्तन भएर मायाको बन्दै रहेछ । माया बहुरुपी हो । उ हरेक स्त्री भित्र छिर्न सक्छे । उसलाई पछ्याउँदै माया उ सँगै आएकी रहिछ ।यो पक्कै नै कलामा माया छिरेर कलालाई कुरुप बनाइराखेको हुनुपर्छ । अब के त ?
“तिमी यहाँ किन आएकी ?” उसले बल गरेर प्रश्न राख्यो ।
कला अट्टहास गरेर हाँसी ।ऐले सम्म सुनेको सबैभन्दा उच्च आवाजको हाँसो । उसको झन्कार प्रकट भयो ।
उ डरायो ।
“यो मान्छे मान्छे नै होइन ,यो नामर्द बौलाहा हो यस्ता मान्छे किन आउनु यी गल्लीहरुमा त्यसैले मैले भनेको यहाँ नयाँलाई आउन दिनु हुन्न पारखीहरु मात्र छिरुन भनेर । कसले छिरायो यसलाई ?”
उ लुसुक्क बाहिर निस्कियो ।रात भरी त घर जानु हुन्न । उ बाटोमा टहलिन थाल्यो ।गल्ली छोटो थियो ,बिस्तारै हिँडेर उसले तन्क्याउन खोज्यो । एकैछिन मा उ मुल सडक मा आइपुग्यो । मुल सडक मा बाटोलाई घुरेर हेर्दै गरेका ल्याम्प पोष्ट नियाल्यो प्रत्येक ल्याम्पोष्ट मा उसले दश मिनट बिताउन सक्यो र उ घर पुगुन्जेलसम्म बाटामा पचासवटा ल्याम्पपोष्ट भेट्टायो भने अ त्यो रात बाहिरै गुजार्न सक्नेछ भन्ने उसको ठम्याई थियो ।
रात अचानक लामो भएको थियो । रातको यो बिशेषता हो यसले अवस्था अनुसार आफ्नो लम्बाई बदलिन्छ । साथ पाउँदा कहिले काहिँ त्यहि रात निमेषमा बदलिन्छ । एक्लो रातका भने निमेष निमेष युग बनिदिन्छन् । उसले आकाशको पल्लो क्षितिज सम्म हेर्यो उज्यालोको कतै नामो निशान थिएन ।उसका रातहरु साधारणतय लामा नै हुने गर्दछन् । लामा ,निरस् चिसा !! भोलिको बिहान कहिले आउने हो उसले खुइय सुस्केरा काड्यो ।
अझ त्यसमाथि बिजुली चम्क्यो लाग्छ रात पनि उसको अनुहार हेर्न चाहन्छ ।उसको ग्लानि युक्त अनुहार उसले दुइ हातले आफ्नो अनुहार छोप्यो । आकाशले उसलाई नियाल्न भ्यायो भ्याएन थाहा पाएन । एक अर्थमा उ खुशि पनि भयो बिजुली चम्किएकोमा , उसलाई पानी परेको मन पनि पर्छ उ सोच्छ मनको ताप लाई थोरै भए पनि पानीले शितल पारिदिन्छ भिजेर उ भित्र नयाँ उ को आत्मा संचार हुन सक्छ । त्यो हुन त सम्भव छैन तर पनि उसले यो भ्रम पालेको थियो ।
उ घर आइपुग्यो । माया गेट मैँ थिई । पालेहरु ले छुट्टि लिए जस्तो गरेर । जे होस् उसको यो रातयात्राले मायालाई संघार सम्म त ल्याई पुर्याएछ । मै हुँ भन्नेलाई , मुस्कानको प्रहार गरेर कहिल्यै झुक्न नचाहनेलाई थोरै बिस्मित त तुल्याएछ उ कहाँ गयो भनेर । उसले यसलाई आफ्नो अर्धजित सम्झियो । अर्धजित यसमानेमा की गल्लिमा उ कला सँग त पराजित भएकै हो । त्यो उसले पनि स्विकारेको थियो । तर मायालाई जानकारी नहुन्जेल सम्म उ त्यसलाई पनि जीतकै खोलमा बेरेर लुकाईदिन सक्छ । कला आखिरमा माया रहिनछ नत्र यति चाँडो उ कसरी फर्किनु घर ?
“गेट मा किन ?” उसले आफ्नो खुशिलाई कन्फर्म गर्न सोध्यो ।
“पर्खेर बसेकी तँपाईलाइ !” उसको उत्तर यसपाला पनि साधारणै निस्कियो।
“जरुरी थियो र ?”
“मलाई लाग्यो !” माया मुस्काई ।
उसलाई अचानक चसक्क बिझ्यो । माया फेरि मुस्काई त । मायाको मुस्कानको धारले उसको अर्धजित बिस्तारै नांगिएर उसले लुकाइराखेको हार देखिन थालेको थियो ।
“तिमीलाई लागेका कुरा हरु सबै सत्य हुन्छन् ?”उसले तिक्तता प्रकट गर्यो ।
“थाहा छैन , म आफुलाई लागेका कुरा कमसेकम अरुका कोणहरुबाट हेर्ने प्रयास त गर्छु ,तँपाई मात्र आफूलाई हेर्नुहुन्छ ।“
उसले यो वाक्य पचाउन सकेन । घडि हेर्यो करिब तिन बजेको हुनुपर्छ ।घडि नबिग्रिएको भए । उसको घडि हो के भर बिग्रिएर तिनको चौतारिमा सुस्ताइरहेको पनि हुन सक्छ । उ जस्तै घडि ले पनि त थकान महसुस त गरिराखेकै होला !
“चौकिदार कता गयो ?”
“मैले छुट्टि दिएँ आजलाई ,लाग्यो तँपाई रात बाहिरै गुजार्नु हुन्छ तँपाईको स्वरुप बदलिएर आउँदा चिनेन भने !”
उसले आफुलाइ हेर्यो निर्क्योल गर्न के हिजो र आजमा उसको स्वरुप परिवर्तन भएको थियो ?चौकिदारले समेत चिन्न नसक्ने गरी ? मायालाई अघि नै थाहा भइसकेको रहेछ उसले बाहिर रात गुजार्ने कुरो । उ थोरै चिन्तित भयो ।
“अनि रामे नी ?”
“भित्रै होला सुतिरहेको होला !”
“तिमीलाई निन्द्रा लागेन ?”
“ सुतेकी थिएँ ,एलार्म लगाएर मलाई तँपाई आउने समयको पत्तो थियो !”
कसरी उ पराजित भएको पनि त उसलाई थाहै होला ।अब उ दम्भ किन गरोस् ? उसले यसपालि पनि हार्यो । उ किन तोड्न सक्दैन हारका सृंखलाहरु ?
माया बाट उसले एउटा हालत मा मात्रै मुक्ति पाउन सक्छ उसलाई घर बाहिर निक्लिन विवश तुल्यायो भने ! कसले निकाल्न सक्छ मायालाइ घरबाट ? उसले त पक्कै पनि सक्दैन । घरको महामहिम जसलाई देखेर उसको बहुलाएको प्रतिविम्व समेत लुक्ने गर्थ्यो हराउने गर्थ्यो । उसकी आमा ! उसले कसरी बिर्सिराखेको उसको पक्षकी सर्वशक्तिशाली योद्दा लाई जो अहिले पनि एरेना बाहिरै छिन् ?
“ठिकै छ तिमी जाउ मलाई आमा सँग थोरै काम छ !”
“यो हालतमा ! “ मायाले पत्यार गरिन वा उसले षड्यन्त्र देखिसकेको हुनुपर्छ ।
“किन के कमि छ मेरो यो हालतमा ?”
माया मात्र मुस्काई । माया सँधै यस्तै गर्छे । जब जब उ क्रोधले मायालाई दबाउन खोज्छ उ मुस्कानले उसको क्रोधलाई तुच्छ तुल्याइदिन्छे । उ छिनमैँ आफूसँग क्रोध रित्तिएको महसुस गर्छ । उ रिसाउन खोज्छ फेरि सक्दैन । अनुहार बिगार्न खोज्छ रातो बनाउन खोज्छ बिकृत अनुहारमा क्रोधको उत्पति गर्न खोज्छ उ गल्छ तर क्रोध प्रकट हुँदैन । अनि उ टाउको निहुर्याउँछ । मायाको मुस्कान को सामु घुँडा टेके जस्तो गरेर ।
माया कोठा भित्र छिरी । उसले आमाको ढोका ढक्ढक्यायो ।
ढोका आवाज बेगर खुल्यो ।
“आमा एउटा जरुरी कुरा छ !”
आमा ले आश्चर्य मिसिएको अनुहारले उसलाई हेरिन् अनि ढोका खोलिदिइन् । उ हतारमा भित्र छिर्यो ।
“आमा तँपाईलाई मायाको ब्यवहार अचम्म लाग्दो लाग्दैन ?”
“किन र ?”
“मलाई त उ बौलाएकी छे जस्तो लाग्छ !” उसलाई थाहा छ । उ बौलाहि होइन उ एउटा चलाख शिकारी हो । तर त्यो भन्दा उसले आफुलाई एउटा निमुखा शिकार बनाएको हुन्थ्यो । यो उसको स्वाभिमान जोगाउनलाई प्रयोग गरिएको वाक्य थियो ।
“कसरी ?”
“सबै भन्दा धेरै समय त उ मसँगै नै बिताउँछे नि ! मलाई नै त हो थाहा हुने !”
“तै पनि एकचोटी फेरि सोची हेर आरोप लगाउनु अघि , म सँग त माया साधारण ब्यवहार नै गर्छे !”
आमा ले हाई काड्दै फैसला सुनाइन् । उसका वाक्यांशहरुमा कुनै जाँगर , आश्चर्य ,आक्रोश प्रकट नगरिकन भावहिन रुपमा !
“हुन्छ म तँपाई सँग भोली कुरा गरुम्ला !”
उ बिस्तारै बाहिर निस्कियो । आमाले ढोका लगाइदिइन् । उसले अब अन्तिम युद्धको तयारी थालेको छ ।शायद माया अनभिग्य छे वा शायद अभ्यस्त छे हुन सक्छ उ तयार छे !!!
उ बिस्तारै आफ्नो कोठामा फर्कियो । यसपाली आमाले खासै मतलब देखाइनन् । यो भन्दा अघी प्रतिबिम्ब हटाउनमा भने आमाको ठूलो सहयोग पाएको थियो उसले ! उसले अलि कति जोड लगायो भने आमालाई उसले चाहे अनुसारले काम गरिदिने र मायालाई जतिखेर पनि हाँसिराख्ने ,परिस्थिति को ग्यान नभएकी यथामुस्कानवादी पागल उसले सावित गरिदिन सक्छ भन्ने उसको ठम्याई थियो । हुन त मायाले यसअघि नै धेरै चोटि उसको आत्मविश्वासले धुलो चाट्ने गरि उसलाई परास्त गरिसकेकी थिई । तर उ पनि त थाक्ने खालको योद्दा थिएन उसलाई अझै पनि कमिलाले धेरै चोटि गरेर पहाड चढेको यात्राको कथा मुखाग्र याद थियो । र यसपाली उ त्यो कथाको कमिला भएर पहाड जस्तै बढेमानकी मायाको मुस्कान को समस्यालाई पन्छाई छाड्ने उसको अठोट थियो ।
कोठा भित्र माया सुतिरहेकी थिई ।सुतेको भान पारेर उसलाइ चोरी चोरी नियाल्दै गरेकी पनि हुन सक्छ । मायाको सबै भन्दा ठूलो शक्ति उसको आँखा हो जति नशालु छ जति गहिराहि छ त्यति नदेखिने कुराहरु समेत नियाल्न सक्ने क्षमता भएको पनि छ । उसले सक्ने भए उ मायाको पहिले दुईवटै आँखा झिकिदिने थियो र आँखा बिहिन बिभत्स मायालाइ धित मरुन्जेल नियाल्ने थियो त्यसपछि पनि उ मुस्काई भने उ उसका ओठहरु लुछिदिने थियो ।
उ फेरि यथार्थमा फर्कियो जुन धरातल ले उसलाई कमजोर आँकेको छ । उसले उसकै शत्रुको बगलमा एउटै सिरक ओढेर लुसुक्क सुत्नु परेको छ ।उ त यहाँ खुम्चिएको छ ,पुरा खाट उसले मायालाई सुम्पिदिएको छ , उ प्रत्येक रात खाटको धारमा निदाउने गरेको छ , उसको ढाडमैँ खाटको दाग बस्ने गरी ! उसले कति दम्भका साथ स्टोरमा खाट फ्याकेको थियो नयाँ खाट ले त उ सँग कुरा नगर्लाकी भनी ,आजकल नयाँ खाट पनि मुख चलाउन जान्ने भइसकेको छ । माया नाम गरेकी अध्यायको समाप्ति लगत्तै उ यस खाटको बारेमा पनि सोच्ने छ ।
उ चाँडै निदायो पनि । सपना उसले सुरुचीलाइ फेरि देख्यो तर अचम्म सुरुची माया जस्तोमुस्कुराइरहेकी थिई । नारी हरुलाई यदि थाहा भयो पुरुषलाई के बाट पिडा हुन्छ भनेर उनीहरु सदैव त्यहि कर्म गरिरहन्छन् ।
माया एम्बुलेन्स भित्र थिई दुइजनाले मायालाई समातेका थिए । उसले सन्तोष गर्यो उसलाई आफ्नो निन्द्रा रसिलो र फलदायी भएजस्तै लाग्यो ।
प्यासेजमा हिँड्दै गर्दा उसले आमाको कोठामा सुन्यो शायद उसले सुन्न चाहेकै वाक्यहरु
“नगरौँ भन्दा पनि नहुने ,गरौँ भन्दा पनि नहुने । पागलपन त लगभग सिद्द जस्तै भइसक्यो । आजै मान्छे बोलाएर बुझाइदिनुपर्छ ।“
उ ढुक्क भयो । उसले सुन्न चाहेका वाक्यहरु घटित भए । तर आमा को सँग सल्लाह लिँदै हुनुहुन्थ्यो ? घरमा आमा भन्दा पनि शक्तिशाली को निस्कियो ?सल्लाह लिन खोजेको मानीसले हैन माया त ठिकै छे दुई चार दिन हेरौँ भन्यो भने ? उ थोरै तनावमा आयो । फेरि सोच्यो धेरै चोटी हारेका ले उसले झस्कन जानेको छ । हार प्रति सतर्क हुन जानेको छ । यो उसको सतर्कता को अंश मात्र हो । यसपाली माया पराजित हुँदै छे यो एउटा शाश्वत सत्य हो । मायालाई ग्यान सम्म छैन यो मायाको विचारको दरिद्रता हो । उ क्षणमै गरिव भएकी छ । उसको मुस्कान अब बिक्नलाई गाह्रो भएको छ । उ ठूलो अट्टहाँसका साथ हाँस्यो ।
उ बाहिर निस्कियो । रामे खुम्चिएर केहि बोकेर आमाको कोठामा जाँदै थियो । उसतिर चोरी नजरले हेरिरहेको थियो । उसको स्वाभिमान अझ फूल्यो । रामे पनि पहिलेकै अवस्थामा आइसकेछ । यसपालीको उसको तिरको निशाना अचुक रहेछ ।उसलाई आफ्नो बिजयोत्सव मनाउन मन लाग्यो । आफ्नो गोजि छाम्यो दुईवटा चुरोट उसका चोर गोजिमा फेला परे । उ स्टोर रुम तिर गयो । त्यहि खाट मा गएर पसारिएर चुरोट सल्कायो । एकछिन धुवाँ सँग खेल्यो । अनि साधारण बनेर बाहिर निस्कियो ।
मायालाई उसले देखेको थिएन आज । कतै भाग्न त भागिन उ ? भागे पनि तात्विक अन्तर के र ?मायालाई घरबाट धपाउन आखिरमा उ सक्षम भयो । उ फेरि गजक्क पर्यो । धेरै दिन पछि उसले आफ्नो पोजिटिभ एटिच्युड भेट्टाएको थियो ।
बाहिर गाडिको आवाज सुन्यो उसले । बरण्डाबाट गाडि नियाल्यो । त्यो अस्पतालकै गाडि थियो । मायालाइ उसले देखिरहेको थिएन । अब के गर्ने होला? भागि भनेर भनीदिनुपर्ला उसले जवाफको तयारी गर्यो ।
अचम्म माया गाडिबाटै पो बाहिर निस्किई ।
कतै भेटे जस्तो छ गाडि वाला हरुले ।
मायाले उ तिर आफ्नो औँला देखाई । यो के भइराखेको छ ? उ तिर माया किन औँला देखाउँदै छे । माया पागल होइन उसको षड्यन्त्र हो भनेर शायद सावित गर्न चाहन्छे । उसले नदेखे जस्तो गरेर उसको मुन्टो बटार्यो । ति मान्छेहरु भित्र छिरे माया उसको पछि पछि लागी । शायद उसलाई केहि सोध्न चाहन्छन् । उ पनि तल झर्यो । तल उसले आमालाई पनि देख्यो थोरै मुस्काउन खोज्यो आमाले उसमा ध्यान दिन चाहिनन् । शायद आमा र उ बिचको कुरा ति मान्छेलाई जानकारी दिन चाहन्नन् ।
माया बिस्तारै कोठा भित्र छिरि ,अचानक उसलाई तिनै मान्छेले पक्डे!
“मलाई किन ?” उ चिच्यायो ।
माया उसको सामु मात्र मुस्कुराईरही । उसले सुरुचीलाई सम्झ्यो ,मायालाई हेर्यो ,आँखा झुकाईरहेकी आमालाई हेर्यो अनी ग्रहण राखेको आफू लाई नियाल्यो । उसको सक्कली शत्रु पत्ता लगाउने क्रम जारी थियो !!!!!!!!!!!!!!!!!!!!!
समाप्त!!!!
03-25-09 11:18 AM
(स्रोत : साझा डट कम)