~अजित क्षेत्री~
यी पत्थरका ईश्वर
अनि कर्कट जस्तै मान्छे
डडेलोले छोपेको आकाश
र
रुमानी सपनाहरुको कारखाना
ओ प्रिय
मसँग प्रेमका कुरा नगर
त बहुलाएको छु
जुनदिन म काठमाडौँ हिँडेको थें
रातो टिका र फुल दिएर
बैनीले भनेकी थिइन्-
दाई ठुलो मान्छे बनेस् है
काठमाडौँको भुगोलमा मैले
जीवनका गोरेटा खन्नु थियो
बैनीले भनेजस्तै ठूलो
र बाबाले भनेजस्तै
असल मान्छे बन्नु थियो
अनि जितेर ल्याउनु थियो
आमाका सपनाहरु ।
सुनेको थें काठमाडौँमा
सपनाको किनबेच हुन्छ
एकमुठी सास र
एक मुस्कान हाँसोमा
मान्छेले काठमाडौँमा
जिन्दगी उधारोमा दिन्छन्
बेतोडले बत्तिएको माइक्रोमा
हुईंकिदै गर्दा देखें
राजमार्ग छेवैमा मकै पोल्ने आमाहरु
देखें
त्रिशुलीको बालुवामा जीवन जीउनेहरु
अनि देखें
चार कप चिया बेच्न
सारा रात आफ्नो निद बेच्ने दिदीहरु
च्यातिएको गुन्द्रीमा
मैलो जमेको तन्ना ओछ्याएर
एक जिन्दगी जिएको,
मलाई मेरै जीवन
गर्भपतन गरी फालेको
भ्रुण जस्तै लाग्यो
काठमाडौँमा भगवान छन् भन्थे
ठुला मान्छे बस्छन् भन्थे
खै मान्छे बस्छन् कि केही अरु
ढोका ढोकामा लेखेको देख्छु
कुकुर देखी साबधान्
सोंच्छु
मान्छेदेखी साबधान किन नलेखेको होला ?
अहो त्यो रत्नपार्क !
मुतको पहाड माथी
थेगीनसक्नु बेरोजगारहरुको भिड
भिडमै कसैले बेच्दैछ
बदाम, भट्टमास, कण्डम र शिलाजित
सोंच्छु
अपरिभाषित समयका
नामर्द मानिसहरु
कतिचाँडै स्खलित हुन्छन् हँ ?
जब काठमाडौँलाई बुझ्दै गएँ
काठमाडौँ काठमाडौँ जस्तै लागेन
नेपाल नेपाल जस्तै लागेन
यहाँका मान्छे मान्छे जस्तै लागेनन्
बिस्तारामा उत्तानो परेर सुतेकी
बेश्या जस्तै
काठमाडौँ निर्वस्त्र छ
निर्लज्ज छ
जो आएर भोगे नि हुने
जो आएर ढोगे नि हुने
देख्छु
पानीको प्यासले मुर्छित
टुकुचा खोला दुर्गन्धले
भित्रभित्रै मरिरहेकी छ,
आफैलाई हेर्न लाज लाग्छ
आफ्नै अनुहार
र बेचिदिन्छु ऐना कवाडीलाई
मलाई आफ्नै अनुहार पनि
टुकुचाको किनार झैं लाग्छ
यो भिड यो कोलाहल
र यो दुर्गन्ध
प्रिय टुकुचा मलाई माफ गर
क्याबिन रेष्टुराँबाट मातेर
फर्कँदै गर्दा
थुप्रै पटक मैले मुतेको छु
तिम्रो बक्षमा
ओ टुकुचा
मलाई माफ गर बहुलाएको छु
काठमाडौँ देखेर म अघाएको छु ।
स्याङ्जा
हाल-आबुधावी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )