~कुमार अम्बुज~
अनु : प्रमोद धिताल/सङ्गीत श्रोता
तपाईं कुर्चीलाई कुर्चीकै रूपमा
र घाँसलाई घाँसकै रूपमा हेर्नुहुन्छ
यो दुनियाबाट फुत्केर जान चाहनुहुन्छ
चमचमाउँदो तीरजसरी
त दुःख त्यहीँनेर सुरु हुन्छ–
किनभने तपाईँ हुन चाहनुहुन्छ कवि !
कोही–कोही प्रहरी निरीक्षक भएरै
कोही–कोही किराना व्यापार संघको अध्यक्ष भएरै
र कोही–कोही मन्त्री–मुख्यमन्त्री भएरै
कोही–कोही घरगृहस्थी ठिकठाक सम्हालेरै
छोरछोरीको बिहे–बर्तन सबै अम्काएरै
अनि हुन चाहन्छन् कवि
जिन्दगीमा कवि नहुने बाटो रोजेरै पनि
उनीहरू हुन चाहन्छन् कवि !
कवि हुनु या त्यस्तो रहर पाल्नु
कुनै खराब कुरा होइन
तर त्यसको सम्भावना के हुन्छ भने
उसलाई राजस्व विभागको हाकिम
वा खाद्य अधिकृत हुने अवसर नमिल्न सक्छ
जसरी थुप्रै कविहरू थुप्रै योग्यताहरू हुँदाहुँदै पनि
सरकारी कार्यालयको लेखा प्रमुख भएनन्
जो हुनपुगे तिनले नोकरीबाट जिन्दगी चलाउन सकेनन्
अनि, कुनै पनि कविले आफू सिडिओ भइन भनेर
न कहिल्यै इच्छा गर्यो, न दुःख व्यक्त गर्यो
बरू केही कविहरूले लात्ताले यति जोडले हाने
कुर्सीहरू त कोसौं टाढा पुगेर ढले !
यो सबै पढे–लेखेर पनि, कुरो बुझेर पनि,
हिन्दीमा एमए गरेर विभागीय प्रमुख भएपछि
वा पत्रकार हुँदै सम्पादक बनेपछि
केही मान्छे निधो गर्छन्–
‘ल ठीक छ, अब चाहिँ कवि बन्नुपर्यो !’
अनि चाँडै नै फैलिन थाल्छ उनीहरूको ख्याति
कवितासँगै छापिन थाल्छन् फोटाहरू !
तैपनि आफ्नो एकान्तमा
उनीहरू थाहा पाउँछन् र बाँकी सबैले त बुझिहाल्छन् नै
जसलाई हुनुछ कवि, चित्रकार, सितारवादक वा कलाकार
उनीहरूले झुक्किएर पनि सोचेका हुन्नन्–
कि उनी सांसद् बनून या उच्चपदस्थ कर्मचारी
उनीहरूले सोचेका हुन्नन्–
उनीहरूको पनि होस् एउटा पसल बागबजार–नयाँबजार कतै !
तैपनि रहर गर्नु कुनै खराब कुरा होइन
बरू यो नबुझ्नु ठूलो दुःख हो–
जुन बाटोमा तपाईं हिंड्नु नै भएन
त्यही बाटोको गन्तव्यसम्म कसरी पुग्न सक्नुहुन्छ ?
(कुमार अम्बुज पुँजीवादी समाजका समस्या कवितामा जनशैलीमा मसिनो गरी पर्गेल्ने भारतीय हिन्दी कवि हुन् । उनका ‘किवाड’ (१९९२), ‘क्रुरता’ (१९९६), ‘अनतिंम’ (१९९८) लगायत पाँच कविता संग्रह प्रकाशित छन् ।)
(स्रोत : इ-मुल्यङ्कन डट कम)