~लक्ष्मण नेवटिया~
मौसम फेरिनेवाला छ।
अब चाहनाका गाग्राहरु छचल्किने गरी भरिने छन्
खुट्टामा काँडा घोचिंदा नआत्तिनुस्
तुरुन्त सय जोडी हात तपाईंतिरै दौडिने छन्
गल्ली गल्लीमा चापाकल
बिजुलीका पोलहरु गाडिनेछन् ,
नअघाएसम्म भोजन ज्युनार गराइनेछ
थाहै नदिइ बन्द कोठामा
कुनै न कुनै फण्डाको भागबण्डामा
तपाईंलाई पुर्याइनेछ।
दुई दिनलाई नै भए पनि घर आंगणमा
चिताएको जे थोक पाइने
साक्षात कल्पवृक्ष उभ्याइने छ
राष्ट्रप्रेमीहरुको हुलमा मिसिएर
केही छद्मभेषि शिकारीहरु
चरा फसाउन चारो हाल्दैछन्
त्यस्तै केही माझीहरु पनि
जाल लुकाएर यतै आउँदैछन्,
अब जदौ गर्दै पुग्नेछन् माथिबाट
झरेका अनुहारहरु तपाईंको प्रांगणमा
अब का केहीदिन ढुक्क हुनुस्
प्रत्येक प्रश्नको ” हुन्छ जनताज्यु हुन्छ”
सकारात्मक उत्तर पाउनु हुनेछ
अन्तिम एक मौका दिनुस् हजुर! गीत गाउनु हुनेछ।
जनताले प्रश्न गर्दा किन बनेन
गाउँ पुग्न खोलामा पूल?
– जवाफ त्यही यसपाली पक्की पूल पक्कै
केटाकेटीका लागि कहाँ छ प्राथमिक स्कुल-
– जवाफ त्यही यसपाली पक्की स्कूल पक्कै
बुद्धि यति नै पुर्याउनुस ,
बुद्धु बनाउन खोजनेलाई
उनकै पुराना आश्वासनको पोथी पढेर सुनाउनुस्
पहिले बांकी बक्यौता काम सिध्याउनुस
यसपाली भोट तपाईँलाई नै पक्कै भनी पठाउनुस्।
सावधान- मौसम फेरिनेवाला छ,
विवेकको छाता संभालेर राख्नुस्।
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)