पुस्तक समीक्षा : कविताकृति ‘लुङमारी मिथक’: एक घोत्ल्याइँ

~अमर नेम्बाङ लिम्बू~

कविताको प्रसङ्ग चल्दा फेरि सधैं एउटा प्रश्न तेर्सिन्छ हाम्रो समक्षमा —आखिर कविता के हो ? यस सम्बन्धमा थुप्रै कविहरूले थुप्रै विचारहरू व्यक्त गरेका छन् –कतिले कविता भनेको जीवन र जगतको आलोचना भनेका छन् भने कतिले सौँदर्य, दर्शन वा भावावेगपूर्ण सत्य । कतिले कविता भनेको भावावेश वा संस्मृति भनेका छन् तर टी. एस. इलियटले भावावेश वा संस्मृति पनि कविता होइन भनेका छन्। त्यसो भए कविता भनेको के हो त ? सायद कविता भनेको मरियान्ने मूरले भने झैँ ‘जीउँदा भ्यागुताहरू भएका काल्पनिक बघैँचाहरू’ हुन् कि ? तर जसले जे भने पनि कविता भनेको अनुभूति चाहिँ पक्कै हो। आखिर मरियान्ने मूरका उफ्रिहिंड्ने जीउँदा भ्यागुताहरू पनि त यही अनुभूतिहरू हुन् अथवा उल्लिखित विभिन्न कविहरूले भनेका जीवन र जगतको आलोचना ,दर्शन,सत्य , आदि जे भने पनि त अनुभूतिहरू नै हुन् । त्यस्तै यही अनुभूतिको आधारमा नै नेपाली साहित्यको आधुनिक कविता फाँटमा एउटा सशक्त नारी स्रष्टाकोरुपमा भर्खरै उदाउनुभएको कवि मनु लोहोरुङज्यूले सिर्जना गर्नुभएको छ ‘लुङ्मारी मिथक’ जसलाई मूलत स्थानीयता र शैलीगत विविधता भएका शक्तिशाली कविताहरूको एउटा अमूल्य दस्तावेज हो भन्दा अत्युक्ति नहोला।

स्थानीय साहित्यको विलक्षण सौँदर्यानुभूति भएको कविको उक्त ‘लुङ्मारी मिथक’ले हामीलाई फ्ल्यासब्याक शैलीमा एकैचोटि आफ्नै थाँतथलोमा लगेर आफ्नै गाउँघरका सिधासाधा मानिसहरू लुङ्गा ,जन्तरेसँग जम्काभेट गराउँदै आफ्नो माटो र जीवनको तात्विक अस्तित्व खोज्न हामी सबैलाई सङ्घर्षरत हुन आव्हान गर्दछ । यतिमात्र होइन कविले आफ्नो शिर्ष कविता ‘लुङमारी मिथक’मा उल्लिखित थाँतथलो भूमध्य सागरको पूर्वतर्फ रहेको देखाउँदै उनका सबै कविताहरूमा उल्लेख भएका अन्य थाँतथलाहरूमा पनि विचरण गराउनुहुन्छ हामीलाई । अन्य थाँतथलाहरू भन्नाले त्यही भूमिलाई कविले अन्य कविताहरूमा पनि सपना भूमि , वर्णविभेदित साम्राज्य ,भूगोल खण्डित गाउँ ,हिरण्य भूमि ,सामरिक मरुथल ,मलामी राज्य ,छद्मभेषी बस्ती ,उध्रिएको धर्ती ,पवित्र भूमि ,जिउँदा लाशहरूका बस्ती ,अवनीतल ,बन्द संसार ,प्याङ्खर भूमि , आन्द्राभुँडी झिकिएका बस्तीहरू , रुखो पाखो, धरती ,माटो ,आमाको वक्षस्थल , युग , क्याक्टसको संसार , ,रुढिवादी लोक ,मरुभूमी ,गोल भूगोल, थाँतथलो ,पाँगो माटो आदि नामले सम्बोधन गरेको देखिन्छ। यसबाट के प्रष्ट हुन्छ भने कविका विभिन्न शिर्षकका कविताहरू भए पनि तिनीहरूको एउटै साझा मक्सद शोषण र भ्रष्टाचारको निर्मूल गरी आफ्ना माटो र जीवनको अस्तित्व खोज्नु रहेकोले विविधतामा एकता भने झैँ ती कविताहरू र शिर्ष कविता अन्योन्याश्रितरुपले एकताको कडीमा जोडिएका पाउँछौँ हामी। उक्त जमीन र जीवनको अस्तित्वको खोजका कविताहरूसँगसँगै कविले प्रेम, व्यंग, नारी स्वतन्त्रता, नोस्टाल्जिया र डायस्पोराको कविता पनि मिसाउनुभएको छ जुन कविताहरूले पनि प्रत्यक्ष र अप्रत्यक्षरुपमा जीवन ,धरती र नयाँ आशाको संकेत दिन्छन् हामीलाई । यसरी माटैमा जरा गाडिएको र मानव जीवनलाई सर्वोपरी प्राथमिकता दिइएको जीवनवादी कविताकृति विरलै पाइन्छ नेपाली साहित्यमा । निश्चय नै हामी पनि यो भूमिको एउटा अभिन्न अङ्ग हौँ । अझ जोसेफ क्याम्पबेलले त “हामी नै भूमि हौँ र हामी नै भूमिको चेतना पनि हौँ” भन्नुभएको छ। ।

देशको असहज परिस्थितिलाई हेरेर केवल असन्तोष, उदासीनता र घाइते संवेदनशीलता मात्र व्यक्त गरेर बस्नुभन्दा कविले सतत संघर्षद्वारा देशमा शान्ति र स्वतन्त्रता पुनर्स्थापना गरी जीवनलाई नयाँ आकार दिनेकुरामा विशेष जोड दिनुभएको छ। तर कविले भन्नुभएको संघर्ष चाहिँ सशस्त्र संघर्ष नभएर केवल वैचारिक क्रान्ति मात्र हो जुन वैचारिक क्रान्तिलाई आजको आधुनिक युगमा एउटा शक्तिशाली हतियारकोरुपमा मानेका छन् सबैले । उदाहरणस्वरुप कवि भन्नुहुन्छ:- द्वन्दले संसार जलाउँछ/ मानव मन र जीवनको/ हत्यारा हुनुमा म गर्व गर्दिन…. हुन पनि मावोवादी द्वन्दकालमा १० वर्षमा १५ हजारभन्दा बढी मानिसहरूको ज्यान जाँदा पनि ढल्न नसकेको निरंकुश राजतन्त्र केवल १९ दिनको निश्शस्त्र आन्दोलनले धाराशाही बनाएको कुरा हामी सबैलाई ज्ञातै छ ।

अर्को कुरा यदि हामीले कविका उक्त कविताहरू सांगोपांगो पढ्यौँ भने के प्रष्ट हुन्छ भने कविले केवल अरुण तथा कोशी नदीको उपल्लो क्षेत्रमा रहेको प्राचीन लोहोरुङ जातिको मुख्य थाँतथलोलाई मात्र नजनाएर सम्पूर्ण नेपाललाई नै आफ्नो कविताको एउटा जिउँदोजाग्दो भावभूमिकोरुपमा प्रस्तुत गरेको देखिन्छ। यतिमात्र होइन कविले आफ्नो नयाँ कवितामासमेत ‘ मेरो देश कहिले हुस्सुबाट मुक्त हुन्छ/ मेरा नेपालीहरू कहिले मुक्त हुन्छन्’ भनी हरहमेसा राष्ट्रवादी चिन्तन गर्नुको साथै ‘फुल्मायाको यादमा’ भन्ने कवितामा ‘यो धरती लुटिएको छ । तिमीले यो सिङ्गो धरतीलाई जित्नैपर्छ ‘भनी आव्हानसमेत गर्नुभएको छ।

यसरी समग्रमा हेर्दा प्रस्तुत आलेखको अनुच्छेद १मा उल्लेख भएको स्थानीयता भनेको आफ्नो धरती र जीवनको अस्तित्वको तीव्र खोज हो भन्ने प्रष्ट हुन्छ।यसबाहेक शक्तिशाली कविताहरू भन्नाले त्यही स्थानीयता र शैलीगत विविधताको विशिष्ट संगम हो अर्थात जब हामी कविका कविताहरू पढ्नथाल्छौँ, हाम्रो अन्तरकुन्तरमा केही कुराले हामीलाई चिमोट्नथाल्छ। कविले अरुणको एक अंश खोज्दै बरुणको पाखैपाखा हाम्फालेको सजीव द्द्रिश्य हाम्रै अगाडि नाच्नथाल्छ। त्यस्तै बोधीव्रिक्षको बोटनेर जन्तरेसँग जम्काभेट भएर आदिम शासकलाई हटाउने सल्लाह गरी साझे मनको एक चिण्डो जाँड छानेको आवाज सुन्नथाल्छौँ हामी। र संघर्षको निम्ति निर्जीव वस्तुहरू सजीव भएर उभिन्नआउँछन् हाम्रै समक्षमा । वाल्ट ह्विट्म्यानका कविताहरूले शुरुमै हामीलाई जुरुक्कजुरुक्क्ति उचाल्छन् भने मनुका कविताहरूले यसरी नउचाले पनि हामीलाई बारबार झक्झकाइरहन्छन् ।यसबाहेक शैलीगत विविधता भन्नाले प्रस्तुत कृतिमा रूपक(Metaphor) वा अलंकारको प्रयोग नभएको कुनै पनि कविता पाउँदैनौ हामी । एकातिर कविले क्लासिक ग्रीक ,संस्क्रित र मूलुकका प्राचीन जातिहरूका मिथकहरू फाटफुटरुपमा प्रयोग गर्नुभएको छ भने अर्कोतिर, ,विम्बहरू, प्रतीकहरू , मानवीकरण र रूपकहरू चाहिँ घनीभूतरुपमा प्रयोग गर्नुभएको छ ‘लुङ्मारी मिथक’मा ।अरुभन्दा पनि रूपकहरूको चाहिँ यति घनिभूतरुपले प्रयोग गर्नुभएको छ कि कविले मानुँ रुपकहरूको पल्टन्वाजी नै प्रदर्शन गरेको जस्तो लाग्छ हामीलाई । अझ कविले मिथकहरूलाई पनि फुटनोटमा अर्थ्याइदिनुभएको भए कविताको मर्म बुझ्न धेरै सजिलो हुन्थ्यो । यसबाहेक साधारण गाउँजे शब्दहरू र क्लिष्ट शब्दहरूको हातेमालो गराई कवितालाई अझ शसक्तता प्रदान गर्ने कविको साहित्यिक शिल्पकारीताको पनि सराहना गर्नैपर्छ हामीले ।

अर्को कुरा कविका कविताहरू केही क्लिष्ट छन् भन्ने गुनासाहरू पनि आइरहेको सुनिन्छ । यस सन्दर्भमा भन्नुपर्दा कविताको मुल्याङ्कन प्रकृयामा एउटा मापदण्ड के निर्धारित गरिएको छ भने कविताको अन्तर्वस्तु ,भाषा र लमाइ जति चुनौतीपूर्ण हुन्छ उति कवितालाई स्तरीय मान्ने प्रचलन छ। त्यस्तै कवि मनु लोहोरुङ्का कवितामा पनि खँदिलो गहकिलो अन्तर्वस्तु र भाषाको दुर्बोधता भए तापनि कविताहरू चाहिँ कम लमाइका देखिन्छन् । तर एड्गर एलेन पोका पालादेखि नै लामा कविताको विरुद्धमा कतिपय सर्जकहरूले लेख्दै आए तापनि संसारमा अझै पनि कसैले सरल र छोटा कविता मनपराउँछन् भने कसैले क्लिष्ट र लामा । एकजना क्लिष्ट कविताप्रेमी महोदयले आफ्नो भनाइ यसरी व्यक्त गर्नुहुन्छ , “प्रत्येकचोटि जब म टी. एस. इलियटको कविता The Waste Land पद्छु यसमा म केही नयाँ कुरा पाउँछु ।सायद यसलाई मैले पूरा नबुझे पनि जिन्दगीभर पढ्नेछु”। साँच्चिनै अचम्भको हुन्छ मान्छेको क्लिष्टताप्रतिको आकर्षण । त्यसैले उक्त मूल्याङ्कन प्रकृयामा जेसुकै लेखिए तापनि लामा र क्लिष्ट भाषामा मात्र नभएर कम लमाइका र सरल भाषामा पनि विश्वविख्यात र कालजयी कविताहरू लेखिएका देख्छौँ हामी । फरक यति हो कि ती कविताहरूमा गहन अन्तर्वस्तु हुनुको साथै भावनाको अत्यन्त गहिराइपन र् विलक्षण सिर्जनात्मक प्रतिभा चाहिँ प्रतिविम्बित भएको देख्छौँ हामी । आशा छ कविज्यूले पनि यही कुराहरूलाई मध्य नजर राखेर अझ उत्कृष्ट कविताकृति सिर्जना गर्नुहुने नै छ भविष्यमा ।

हाल: न्यूयोर्क

This entry was posted in पुस्तक समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.