कथा : अब कहिले शहर जान्नँ

~विश्वराज अधिकारी~

“अँ हँ, म त कहिले अब शहरतिर जान्नँ, बरु यै गाउँमा जीवन बिताउँछु। यै चिया पसलमा, यसरी नै चिया बेचेर । कति आनन्द आउँछ यो बाटो हिंडेर शहर पस्नेहरू र शहरबाट गाउँ झर्नेहरूको कुरा सुन्न, यो चिया पसलमा बसेर उनीहरूले चिया खाँदै गफ गर्दा। यहाँ कति रमाइलो छ कति। बिनासित्ति मुग्लिन झरेर दु:खमा मात्र पाएँ। मलाई त अब शहरको मान्छे देख्यो कि डर लाग्छ। तिनीहरूले ठग्लान् कि भनी म त पिरोलिन थाल्छु, शहरका मान्छेहरू मेरो अगाडि पर्‍यो कि। अँ हँ, म त एक दुई तीन, अब कहिले शहर झर्दिनँ” म सुन्तलीको कुरा कतै न अलमलिएर सुन्दै थिएँ। सुन्तलीको कुरा सुन्दा मेरो चिया सेलाएको पत्तै पाइनँ।

शहरको मान्छे देख्यो कि डर लाग्छ, अब म शहर कहिले पस्दिनँ भन्ने सुन्तलीको भनाइले, उनको त्यो भनाइमा गहिरो अर्थ रहेको सङकेत गर्‍यो। र त्यसैले पनि अझै प्रस्टसँग बुझ्न मन लाग्यो, त्यसको अर्थ वा भनौं उनको शहरप्रतिको त्यस्तो अनुभूति। एक किसिमले भन्ने हो भने म व्यग्र नै भएँ, सुन्तलीको वर्तमान र विगत दुवै थाहा पाउन। मेरो मुखबाट निस्क्यो– के गरे नि, त्यस्तो शहरका मान्छेहरूले, हँ सुन्तली ? सबैले उनलाई सुन्तली भनेको हुनाले मैले पनि सुन्तली भनें। उनको वास्तविक नाम के थियो मैले थाहा पाउने प्रयास नै गरिनँ।

सुन्तलीले उम्लिंदै गरेको दूध पानीमा चियापत्ती हालिन्। छेउका ग्राहकहरूलाई भनिन् पनि “एकै छिन है दाइहरू, चिया पाक्नै थाल्यो, धेरै बेर लाग्दैन। एकै छिन उम्ल्योस्, है यो चिया।”

सुन्तलीको चियाझैं मेरो मनमा पनि धेरै प्रश्नहरू उम्लिरहेका थिए। र ती प्रश्नहरू पोखिन खोज्दै थिए, सुन्तलीमाथि । मैले फेरि प्रश्न गरें– के गरे त्यस्तो शहरका मान्छेले हँ सुन्तली, हामीले पनि सुन्न पाए हुन्थ्यो।

सुन्तली एकै छिन घोरिइन्। उम्लिंदै गरेको चिया चलाउँदै भनिन्– “के कुरा गर्नु त्यस्तो, त्यहाँको ? छि: घिनलाग्दो कुरा। त्यस्तो पनि मान्छे हुन्छ कहींकतै मुलुक संसारमा, भन्नुस् त, सर ?” हाम्रो पूर्व कुराकानीको क्रममा म कुनै अफिसको कर्मचारी हुँ र पहाडको कुनै गाउँमा रहेको कुनै अफिसको निरीक्षण गर्न त्यतातिर लागेको भन्ने कुरा सुन्तलीलाई थाहा भइसकेको थियो । त्यसै कारण उनले मलाई सर भनेको हुनुपर्छ ।

सुन्तलीको कुरा सुनेपछि मैले हाँस्दै भनें–हेर, बैनी, मलाई दाइ भने हुन्छ। सर भन्नुपर्दैन। अँ बरु तिम्रो त्यो कुरा सुनाउन।

मेरो कुरा सुनेपछि सुन्तलीले मेरो मुहारतिर अप्रत्यासित किसिमले हेरिन्। तर निमेषभरमैं भन्न आरम्भ गरिन् “त्यस्तो पनि मान्छे हुन्छ दाइ ?” यो एउटा वाक्य बोलेपछि चुप लागिन्। एकै छिनको मौनतापछि फेरि भनिन्– “म मुग्लिनको एउटा होटलमा काम गर्थें । ऊ, त्यो होटलमा महिनामा दसौं–पन्ध्रौ चोटी आउँथ्यो। त्यही खाना खान्थ्यो र कहिले ट्रकमा तर धेरैजसो होटलमा नै सुत्थ्यो। ट्रक चलाउँथ्यो। कहिले वीरगंज त कहिले विराटनगरबाट, कहिले भने भैरहवाबाट पनि सामान ल्याउँथ्यो काठमाडौं पुर्‍याउनका लागि। जहिले पनि सोधे भने भन्थ्यो– सामान मात्रै साउको हो, ट्रक त मेरो नै हो। तर मैले उसको ट्रक देखेर, धनी होला भनेर उसको पछि लागेको भने थिनँ, है । मलाई त उसको मीठो कुराले पो रक्सीले झै लठ्याएको थियो। रक्सीको नशामा रहेको मान्छेले जता पनि आनन्द नै आनन्द देखेझैं म पनि उसको कुरा सुनेर हराउँथे कल्पनाको संसारमा । पुग्थें कता–कता। जता पनि उसको माया पोखिएको देख्थें। मनभरि आनन्द नै आनन्द हुन्थ्यो।

ग्राहकहरू सबै हिंडिसकेका थिए। हामी दुई मात्र भएको स्थितिले सुन्तलीलाई खुलेर कुरा गर्न झनै सजिलो पारेको थियो। सुन्तलीले फेरि भनिन्– “ऊ सुतेको कोठामा गएर म राति निकै बेरसम्म कुरा गर्थें। कहिलेकाहीं त रातभरि नै पनि। तर त्यस्तो अरू कुनै मान्छेसँग कहिले पनि गरिनँ। ऊसँग मात्र त्यस्तो भएको थियो। कुरा गर्दा जहिले पनि उसले भन्थ्यो– हेर सुन्तली यो त्रिशूली नदी जहिलेसम्म रहन्छ यो लोकमा, हाम्रो माया पनि त्यसरी नै रहिरहने छ, यो दुनियाँमा। हाम्रो माया यो त्रिशूली नदीको पानीजस्तै सङ्लो र पवित्र छ। मेरो माया यो त्रिशूली नदीको दुई किनार हो अनि त्रिशूली नदीको पानी चाहिं तिम्रो माया। जसरी नदीका दुई किनारहरू र पानी जहिले पनि साथै हिंडछन् त्यसरी नै हामी हिंड्ने छौ। यो जुनीमा मात्र होइन, अर्को जुनीमा, अर्को जुनी त के सात जुनीसम्म। हामी साथ रहने छौं। हाम्रो साथ जून र आकाशजस्तो हुनेछ। जहिले पनि मिलेर बस्ने। कसैले छुटाउन सक्नेछैन हामीलाई। बुझ्यौ सुन्तली।”

यति भनेर सुन्तली एकछिन चुप लागिन्। सफा गरेका गिलासहरूलाई मिलाइर राखिन् पनि। तर उनको मौनता भने निकै बेर कायम रह्यो। मनको मौनतालाई तोड्दै मैले प्रश्न गरें– अनि त्यसपछि के भयो त सुन्तली ?

मतिर हेरेर भन्नुको साटो उनले चुल्होतिर हेरेर भनिन्– “म दङग परेकी थिएँ। होटलको साउको कचकच सुन्दासुन्दा दिक्क लागेको थियो, त्यसबाट छुटकारा पाइने भयो, मनमा त्यस्तो पनि लागेको थियो। त्यति मात्र हो, अब घरजम गरेर नै बस्न पाइयो। एउटा भरपर्दो मान्छे भेटियो जीवन बिताउनका लागि। असल साथी पाइयो दु:खसुख साट्ने भन्ने टुङगोमा पुगेकी थिएँ म।”

यति भनेर सुन्तली केही क्षण चुप लागिन्। म भने उनको विगत जान्न व्यग्र थिएँ। मेरो मुहारको व्यग्रता बुझ्दै उनले भनिन्–“मलाई अति नै माया गथ्र्यो, उसले। जहिले पनि काठमाडौंबाट फर्कंदा केही न केही ल्याउँथ्यो, मेरो लागि। साडी, जुत्ता त कति दियो कति, उसले । त्यति मात्र हो एक जोडी टप पनि दिएको थियो कानमा लाउने। अनि टप दिंदा हाँस्दै भनेको थियो – सुन्तली, तिलहरी र पोते चाहिं अहिले होइन त्यै बेलामा दिन्छु, जुन बेलामा केटाहरूले दिने गर्छन्, केटीलाई। त्यै बेलामा, बाजा बजाउने बेलामा, दिउँला है। उसको त्यो कुरा सुनेर म आकाशमाथि पुगेकी थिएँ, मन भित्रको खुसी पखेटा बनेर, पुर्‍यायो त्यसले मलाई आकाशमाथि।

सुन्तलीको पछिल्लो कुरा सुनेर म अलि थप आश्चर्यमा परें। मेरो थप आश्चर्य थियो सुन्तलीका साहित्यिक कुरा । सुन्तलीका साहित्यिक कुरा सुनेर म दङग परेको थिएँ। उनको त्यो पछिल्लो भनाइलाई बीचमैं रोक्दै मैले प्रश्न गरें– पढेलेखेको जस्तो लाग्छेउ नि तिमी त, कुरा गराइले, हँ सुन्तली।

सुन्तलीले तत्काल जवाफ दिइन्– “यसयलसी पास गरेकी छु नि, गाउँकै स्कुलबाट।”

मैले तत्काल नै प्रसङग परिवर्तन गर्ने उद्देश्यले भने– “अँ त्यसपछि के भयो त, हँ, सुन्तली ? सुन्तलीले भनिन्– “ऊ, मैले काम गर्ने होटलमा आउने र राति त्यहाँ बस्ने क्रम लामो समयसम्म चलिरह्यो। एक वर्षभन्दा पनि बढीसम्म । अनि हाम्रो भेटघाट र कुराकानीको क्रम पनि त्यसरी नै बाक्लो हुँदै गयो। पछि त कस्तो पनि हुन थाल्यो भने ऊ होटलमा बास बस्न न आएको दिन, उसलाई नभेटेको दिन, मैले केही ज्यादै नै बहुमूल्य कुरा हराएर खोज्नुपर्ने जस्तो। त्यति मात्र हो, ऊ नभएमा म त बाँच्न नै नसक्ने स्थितिमा पुगें। त्यस्तोसम्म स्थितिमा पुर्‍यायो उसको त्यो पापी मायाले मलाई।”

सुन्तलीले आँखाको आँसु पुछ्दै फेरि भनिन्– “एकचोटी ऊ काठमाडौं गएको एक महिनाभन्दा बढी हुँदा पनि फर्केन। म यता पानीबिनाको माछा हुन थालें। आफूलाई रोक्नै गार्‍हो भयो, मलाई। पुगें उसलाई खोज्न, वीरगंज नै। उसले आफ्नो, घर कुन शहरमा हो त्यो चाहिं भनेको थिएन, तर बसाइ भने वीरगंजको बसपार्कको छेउछाउमा छ भनेको थियो । वीरगंजको बसपार्कको छेउछाउका घरहरूमा खोजें, सोधें, एक हप्ता नै लगाएर। तर, कतै न ऊ, न ऊ बसेको घर भेटियो। मुगलिङबाट एउटा भाइ पर्नेलाई साथमा लिएर गएकी थिएँ, त्यो भाइ नभइदिएको भए म त एक्लै झनै कति भौतारिन्थें होला त्यति ठूलो शहरमा । निराश भएर वीरगंजबाट फर्कने निधो गरें। मुग्लिन पनि होइन आफ्नै घरतिर जाने टुङगोमा पुगे। एक हप्ताको बसाइ सक्याएर, बसपार्कमा पुगेर भौतारिंदै थिएँ, वीरगंजबाट हिंड्न, आफ्नो घरतिर लाग्न। कस्तो अचम्म १ उसलाई बसपार्कको छेउमा, उसले चलाउने गरेको ट्रक बनाउँदै गरेको देखें । उसलाई देखेपछि मेरो मनभित्र रहेको खुसी बाढीझैं उर्लियो, अनि फैलियो मेरो आँखाभरि । अति खुसीले गर्दा आँखाबाट झरेको आँसु पुछ्दै भन्ेर– “केही समय वीरगंजतिर नै रोकिन्छु, उता आउन पाउँदिनँ भनेर भन्नुपर्थेन। कम छटपटिएँ म, के भयो किन यता नआएको भनेर ? मेरो कुरा सुनेपछि उसले हाँस्दै भन्यो– लौ, किन छटपटिएको त्यसरी। मैले भनें– “बिना कुनै खबर यता यत्रो दिन बस्दा हामीलाई चिन्ता हुँदैंन र।” उसले भन्यो– “किन चिन्ता लिनुपर्‍यो तिमीले मेरो बारेमा ? म को हुँ र तिम्रो ?” मैले आश्चर्य मान्दै उसलाई प्रश्न गरें– “म को हुँ तिम्रो भन्ने कुरा, मसँग होइन, आफूले आफैसँग नै सोध न।” उसले फेरि भन्यो– “म कोही पनि होइन तिम्रो । बढी लामो कुरा न गर। जाऊ यहाँबाट, काम गर्न देऊ मलाई।” उसको त्यस्तो कुरा सुनेर म आकाशबाट झरेझैं भएँ। मुटुमा शूल नै रोपियो मेरो। भक्कानिएर रुन मन लाग्यो मलाई। तर पनि आफूलाई रोक्दै भनें–“अनि, तिमीले गरेका ती मीठा–मीठा कुराहरू, पोते, तिलहरी, अनि सिन्दूरका कुराहरू के थिए ? सबै झूटा ? अर्थ न बर्थका ?”

यति भनेर सुन्तली चुप लागिन् अनि रुन पनि थालिन्। म पनि मौन बसें। अनि त्यस पछि के भयो हँ सुन्तली, भनी सोध्न मन लागेन मलाई। एकै छिन रोएपछि आँसु पुछ्दै सुन्तलीले फेरि भनिन्– “त्यति मात्र भनेको भए त मेरो यो मुटु टुक्रा–टुक्रा हुने थिएन। उसको त्यो अर्को कुराले पो मेरो मुटु छिया–छिया पार्‍यो ।” उसले मलाई के भन्यो– “दाइ, थाहा छ ?” उसले मलाई भन्यो– “तिम्रो फाल्तु कुरा सुन्ने फुर्सत छैन, मसँग । ‘म मात्र होइन त्यो होटलमा तिमीसँग सुत्न आउने सबैले भनेका होलान् तिमीलाई, मैले भने जस्तो। म पहिलो मान्छे होइन।’ यति भनेर ऊ हाँस्यो गललल। छेउमा रहेका उसका साथीहरू पनि हाँसे, गललल ।”

सुन्तली रोइ नै रहेकी थिइन्। म उनको छेउमा मौन थिएँ। सुन्तलीको मुखबाट कुनै शब्द निस्किन सकिरहेको थिएन, न त मेरो मुखबाट नै।

समाप्त

br2063_adhikari@yahoo.com

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.