~कृष्णशरण उपाध्याय~
छन्द : भुजङ्गप्रयात
चहारेर डाला मुना फूल पात !
म लेख्दै छु संसार का व्यर्थ बात !!
कुरा सत्य देख्थें म द्रष्टा भएमा !
महाकाव्य लेख्थें म स्रष्टा भएमा !!
महाकाव्य लेखूँ त लेखूँ म यस्तो !
कि होस् व्यास वाल्मीकि को काव्य जस्तो !!
पुरानो नहोस् गेय उस्तै बनोस् त्यो !
समाधिस्थ को ध्येय जस्तै बनोस् त्यो !!
बनून् उक्ति मेरा मुटु स्पर्श गर्ने !
महान् सूक्ति झैँ ज्ञान-पीयूष भर्ने !!
चरी ले पिए झैँ कुनै डूँड-पानी !
पिऊन् वा लिऊन् व्यक्ति ले तत्त्व छानी !!
त्यहाँ मन्त्र झैँ ज्ञान का वाक्य होऊन् !
कि वा यन्त्र विज्ञान का वाक्य होऊन् !!
कला को कुरा होस् गला को कुरा होस् !
सुखी जिन्दगी को पला को कुरा होस् !!
जुनै पद्य ले सुप्त ऊर्जा जगाऊन् !
उपेक्षा निराशा हताशा भगाऊन् !!
टिपूँ प्रेम का फूल माला बनाऊँ !
घना रात मा दीप-पाला सजाऊँ !
बन्दीपुर, तनहु
