~लक्ष्मण नेवटिया~
चुनावी नतिजाको धुवाँधार वर्षामा,
कोहि डुबिरहेका छन्,
कोही पौडीरहेका छन्
हिजोसम्म आश थियो धेरैनै,
यस्तो के भयो खास रातभरीमै,
चुनावी बुद्धिचाल खेलेर ,
जसले भरेको थियो भोटको डोको,
भयो धोखा पूरा भएन मनको धोको,
हिजो सम्म जो संगै थियो रेला- जस्तै मेला,
घरदैलो गर्दा उठेका थिए पाइंताला भरी ठेला,
अब हार्ने कुबेला- कहाँ जित्नु ?-
सबैतिरबाट हेला।
समयको चक्र यस्तो चलेको छ कि
कतै ताली माथि ताली छ
त कतै गाली मात्र गाली छ,
कतै छ सुस्केरा, त कतै सुसेलीको झ्याली छ,
कोही हर्षले नाचिरहेका छन् ,
उफ्रिरहेका छन् ,अबिर दलिरहेकाछन्
खुसियाली रोपिरहेका छन्।
अजम्बरी बुटी हुन्छ जीतको खुसी
प्रफुल्लित भै फुरुंगिएका छन् ।
जुन नेतालाई जनताले नै “छानेको”,
अब ढुक्क छन् उनी , उनलाई ” छुने को”??
तर प्रतिस्पर्धामा पछि धकेलिएकाहरुको
सपनाको गाउँमा डढेलो लागेको छ,
चाहना हुरीले उडाएको छ।
उनीहरू घात प्रतिघातको अनुसन्धानमा तल्लीन छन्
जोड घटाउ को कक्षा लगाइएको छ!
हार्नेहरुको भावना कसले बुझने,
गुलाफ स्वयं काँडा बनेको छ,वैमनस्य गाढा बनेको छ,
कतै विलास त कतै त्रास छ
कतै मधुमास त कतै उठिबास छ,
कठपुतली नचाउनेहरु यसपाली स्वयं
कठपुतली बनेको पीडाबोधमा छन्।
अल्झाइ मा बल्झेकाछन् ।
विश्वासघात भएर टम्म- नसोचेको भै गयो अचम्म ,
जति लागे पनि झर्को, हुने जे थियो भै गयो
कराए जति पनि चर्को।
हजुरको गल्ला भासिएको छ ।
बिर्सेर यी तीतामीठा कुरा, जाउँ घर जाउँ
भाउजूको हातको, कागतीको चिया खाउँ ।।
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)