~आर. आर. चौलागाईं~
केशव श्रेष्ठ ‘ज्योति’ (हालः केशव श्रेष्ठ) मेरा अभिन्न मित्र हुन् । कुनै बेला हेटौँडामा हाम्रो साहित्यिक जोडी एउटा उदाहरणीय जोडी थियो । जहाँ ‘ज्योति’, त्यहाँ आर। आर। । अनि जहाँ आर। आर। त्यहाँ ‘ज्योति’ । हामी दुवै साहित्य सङ्गम मकवानपुरका संस्थापक पनि हौँ । अधिकांश साहित्यिक प्रतियोगितामा म प्रथम भए उनी व्दितीय अथवा तृतीय हुन्थे अनि उनी प्रथम भए म व्दितीय अथवा तृतीय हुन्थेँ । गजबको थियो हाम्रो जोडी र हाम्रो मित्रता । समयक्रममा आ-आफ्ना कामले गर्दा उनी र म भौतिक रूपमा टाढा भए पनि मिलेसम्म र भ्याएसम्म हाम्रो भेट हुन्थ्यो । अहिले पनि कहिलेकाहीँ भेट हुन्छ । नत्र फोन, मोबाइल र नेटमा कुरा भइरहन्छ ।
यिनी कविता साह्रै मिठा लेख्छन् । मनै छुने । र वाचन पनि त्यत्तिकै राम्रोसँग गर्छन् । कथा पनि त्यस्तै मिठा लेख्छन् । निबन्ध पनि त्यस्तै सुन्दर र कलात्मक कोर्छन् । उपन्यास लेखेर पनि यिनले नाम कमाए । यिनले दुःखले पढे, उच्च शिक्षा हासिल गरे र आफ्नो व्यक्तित्वलाई माथि उठाए । यिनले गरेको मेहनत र जाँगरको अगाडि म जहिले पनि नतमस्तक हुन्थेँ र अहिले पनि हुने गरेको छु । उनको यही मेहनत, जाँगर र इमान्दारीको कारणले गर्दा हाल यिनी सेभ द चिल्ड्रेन नेपालजस्तो बहुचर्चित र गरीमामय संस्थाको वरिष्ठ निर्देशक पदमा कार्यरत छन् । यिनी त्यो ठाउँमा हात पसारेर र कसैको खुट्टा मोलेर होइन-आफ्नो लगन एवम् खुबीले पुगेका हुन् । यिनी मकवानपुरे माटोका उपज हुन् । यो हामी सबैको लागि गर्वको कुरा हो ।
यिनै लेखक एवम् साहित्यकार केशव श्रेष्ठले हालसालै सार्वजनिक भएको यिनको नयाँ कृति ‘बिसे नगर्चीको खोजी’ निकै सम्झेर, साह्रै जतनले, साह्रै सम्मानकासाथ मलाई पठाएका थिए । यो उनको आफ्नो अनुभवहरूको सङ्ग्रह (कृतिमा विधा उल्लख गरिएको छैन) हो भन्ने लाग्छ मलाई । यो पुस्तकको गतः माघ २३ गते एउटा भव्य समारोहबिच काठमाडौँमा विमोचन भएको थियो । दुःखको कुरो म त्यो कार्यक्रममा उपस्थित हुन सकिनँ । अहिले यो कृति मेरो हातमा छ । मैले पढिसकेको छु र यसको बारेमा केही लेख्नको निम्ति मैले अलिकति दुस्साहस गरेको छु ।
कृति हातमा पर्नासाथ एक छिन त म खङ्ग्रङ्ग भएँ । नमिठो लाग्यो मलाई । यिनले आफ्नो नाम केशव श्रेष्ठ ‘ज्योति’बाट केशव श्रेष्ठ बनाएछन् । हुन त यसको बारेमा मैले अलिकति अगाडि नै थाहा पाइसकेको थिएँ । तर पनि किताब पाएपछि बढी झसङ्ग भएँ । आफ्नो नाम के राख्ने र कस्तो लेख्ने भन्ने बारेमा स्वयम् त्यही व्यक्तिलाई पुरापुर अधिकार हुन्छ । यस मामिलामा अरू कसैलाई बोल्ने अधिकार हुँदैन । यसमा ऊ शत प्रतिशत स्वतन्त्र हुन्छ । यो अधिकार र स्वतन्त्रता यिनलाई पनि पुरै छ । तर यिनलाई सबैले केशव श्रेष्ठ ‘ज्योति’ भनेर चिन्थे । यही नामबाट साहित्यिक वृत्तमा यिनी स्थापित थिए । यिनले नाम किन फेरे रु यो खुलदुली मलाई मात्र हैन अरूलाई पनि छ । यसको जबाफ लेखकबाट पछि आउला भन्ने मैले विश्वास गरेको छु । रह्यो अब पुस्तकको नामको कुरा । पुस्तकभित्र लेखकले लेखेका आफ्ना अनुभव, चिन्तन-मनन, सन्देश र उद्देश्य अनुसार नाम सुहाएको छ । तर नामका बारेमा अलि बढी अभ्यास गरेको भए अझै राम्रो नाम फेला पर्थ्यो कि ! नाम सकेसम्म अरूसँग जुधे-जुधेजस्तो नभएको भए अझै सुनमा सुगन्ध थपिन्थ्यो कि ! यसमा लेखक थोरै भए पनि चुकेका छन् ।
लेखकले लेख्ने क्रममा सानो उमेरमा गोठालो गएको, घाँस-दाउरा गरेको, भकारो सोरेको, समिलमा काठ बोकेको, खेतबारीमा काम गरेको, पानी बोकेको यावत् आफूले गरेका कामहरूका बारेमा नढाँटीकन बडो इमान्दारितापूर्वक भनेका छन् । यी सबै कुरा लेखेर यिनी सानो हैन ठुला भएका छन् । हामीलाई थाहा छ कतिपय मान्छेहरू आफूले विगतमा पाएका दुःखको बारेमा सकेसम्म भन्दैनन् । त्यत्तिकै माथि पुगेको हुँ भनेर धाक लाउँछन् । तर यिनले त्यस्ता बनावटी कुरा गरेका छैनन् । जे हो खुलस्त भनेका छन् । र त पुस्तकलाई पढ्न थालेपछि छोड्न मन नलाग्ने बनाएका छन् । मैले पनि यो पुस्तक एकै बसाइमा लगातार पढेको हुँ ।
लेखक सानैदेखि केही न केही गर्नु पर्छ भन्ने खालका थिए । यस्ता कुराहरू यिनले किताबमा थुप्रै ठाउँमा लेखेका छन् । आफ्नो घर परिवार गरिब भएरै होला l सानै उमेरमा यिनले आमालाई “आमा, हामी कहिले धनी हुने हो? ” भनेर सोधेका छन् । यिनी बालक अवस्थादेखि नै कुखुरा पालेर धनी भइन्छ कि, फलफूल खेती गरेर धनी भइन्छ कि, जागिर खाएर धनी भइन्छ कि, व्यापार गरेर अथवा अरू कुनै उद्यम गरेर धनी भइन्छ कि भनेर मनमा कुरा खेलाइरहन्थे । एस.एल.सी.पास हुने बित्तिकै यिनले हेटौँडास्थित टिम्बर कर्पोरेसनमा जागिर खाए । यो जागिर पाउनको निम्ति लेखक कुखुराको जखमले भाले सहित आमाको पछिपछि लागेर हाकिमको क्वाटरमा पुगेको प्रसङ्गले जो कोहीको आँखा पनि रसाउन पुग्छ । हृदयलाई द्रवित बनाउँछ । लेखकले किताबमा आफ्नी आमाको मुखबाट भनेका पनि छन् l वास्तवमा त्यो जागिर साहेबको निगाहले हैन, हाम्रो जखमले भालेको बलिदानले पाइएको रहेछ । लेखकले गाउँमा आँपमा कलमी गरेर विरूवा पनि रोपे । यिनले के गरेनन् ? भनेर साध्य छैन ।
लेखक केशव श्रेष्ठ – नसुतिकनै सपना देख्ने अजिब प्राणी हुन् । यिनले आफ्ना स्वर्गीय बाको सञ्चय निकालेर आफ्नै लगानीमा मिल्ने साथी खीलप्रसादसँग मिलेर उन कोर्ने र कात्ने उद्योग खोले । खीलेले नाङ्गै बनाएर डुबायो यिनलाई । यिनी टाट पल्टे । पछि यिनी लोकसेवा पास गरेर मुखिया भए । त्यसपछि लोकसेवाबाटै सह-लेखापाल भए । रकम मिलाएर खान मनले नमानेपछि त्यो पनि छोडे । त्यसपछि हेटौँडा कपडा उद्योगमा आन्तरिक लेखा परीक्षक भए । सँगसँगै डेरासँगै कखुरापालन पनि गरे । त्यहाँ पनि नराम्रोसँग ठगिए । भारतबाट टेलिभिजन ल्याएर व्यापार गरे । घडेरी बेचेर राफसाफ हुनु पर्यो । त्यहाँ पनि चुर्लुम्म भए । कार्पेट उद्योग खोले । त्यहाँ पनि फँसे । आजित भएर हेटौँडा सिमेन्ट उद्योगमा नाम निकाले । छिटो र छरितो काम गर्दा हप्काइ खाए । राजिनामा दिए । सि.ए.पढ्न दिल्ली गए र अधुरै छोडेर फर्के । क्यालेण्डरको उद्यम गरे । बोर्डिङ्गमा कम्प्युटर पढाए । प्लान अफिसमा अधिकृत भए । नेपाल सरकारको सहसचिवमा एक नम्बरमा नाम निकाले । पच्चीस लाख घूस ख्वाउन नतम्सिँदा फेल भएर बाहिरिए । पैसाले पैसा कमाउने व्यापारतिर लागे । त्यहाँ पनि उत्तानो परे । प्रपोजल लेखिदिने काम गरे । त्यहाँ पनि विश्वास गरेकाहरूले चुसे । नेटवर्कको व्यवसाय गरे । त्यहाँ पनि सर्टकर्ट र छिर्के हान्नेहरूबाट घेरिए । शेयर बजारतिर होमिए । असफल भए । अनि दिमागमा ल्याए-‘बिसे नगर्ची कम्पनी’ खोल्ने सोच । यिनी अहिले बिसे नगर्चीहरूको खोजीमा छन् । यसमा लेखकले ठुल्ठुला रकमको कुरा गरेका छैनन् । धेरै जनाहरूबाट थोरैथोरै रकम जम्मा गरेपछि ठुलो रकम जम्मा हुन्छ र ठुलो काम गर्न सकिन्छ । यसमा धेरै जनाको लगानी हुन्छ, सबैको दायित्व हुन्छ र सफलता पनि हात लाग्छ । यो पुस्तकको मूल स्वर यही हो ।
लेखकले पुस्तकमा थुप्रै उखान टुक्काहरूको प्रयोग गरेका छन् । तर ती उखान टुक्काहरू आख्यानसँग मेल खाने गरेर घुसाएका छन् । ‘कुकुरलाई घिउ नपचेको’, ‘काग बाठो भयो भने गुहु खान्छ’, ‘के जातिले खायो रायोको साग, कसरी त भन्दा कोर्याक् कोर्याक्’, ‘आफैँ त महादेव उत्तानो टाङ’, ‘खाई न पाई, छालाको टोपी लाई’, ‘रिस रह्यो आफ्नो साथ, भाउजू रहिन् दाइको साथ’, ‘मामाको घोडी, मेरो ही ही’, ‘आम्दानी चवन्नी, खर्च रूपैयाँ’, ‘दुई आनाको मुर्गी, चार आनाको मसला’ जस्ता उखान टुक्काहरूले गर्दा किताब पढ्दै गर्दा मज्जाले हाँस्न मन लाग्छ ।
लेखकले सानो किताबबाट ठुलो कुरा दिएका छन् । यिनका सपनाहरू धेरै छन् । यिनी अहिलेको देशको हालबाट साह्रै चिन्तित छन् । देशका अगुवाहरूले राजनीतिलाई पेसा बनाएर देशलाई खोक्रो पारेकोमा यिनी उधुमसँग छटपछाएका छन् । धेरैभन्दा धेरै बिसे नगर्चीहरूको भेला गरेर यिनले एउटा पार्टी खोल्न चाहेका छन् । र यिनले अब खोल्ने नयाँ पार्टीको नाम राख्ने भएका छन् l ‘नेपाल जनउन्नति पार्टी’ । यिनको सपनालाई म साधुवाद दिन चाहन्छु ।
अहिलेको किताब बजारमा यो ‘बिसे नगर्चीको खोजी’ त्यति टड्कारोसँग नदेखिएला । अनि अहिलेको विज्ञापनको जमानामा केही न केहीका फाल्तु किताब लेखेर वाहवाही कमाइरहेकाहरूको अगाडि केशव श्रेष्ठको उचाइ नपुग्ला तर म किटान गरेर भन्छु- कुनै त्यस्तो समय आउँछ अवश्य पनि एक दिन यो किताब धेरैले खोजेर पढ्ने छन् । म यसमा आशावादी छु । अझ केही लेखेर, अझ केही थपेर र अझ केही पर्खेर यो किताबलाई बाहिर ल्याएको भए अझै राम्रो हुने थियो । यही एउटा कुरा मलाई अलिकति खट्किएको छ । जे होस् पुस्तक पढ्न लायकको छ । केही सिक्ने खालको छ । पढ्न पटक्कै पट्यार लाग्दैन । यो नै यो किताबको सबल पक्ष हो भन्ने लाग्छ । यसमा लेखक सफल छन् ।
कतिपय मान्छेहरू लेख्छन् एउटा र हुन्छन् अर्कै । तर यो पुस्तक र यसका लेखक मलाई उस्तैउस्तै लागे । मलाई राम्रोसँग थाहा छ l यिनी अत्यन्त मेहनत गर्ने मान्छे हुन् । यिनले जति जोडे l आफ्नै पसिनाले जोडे । जति व्यक्तित्व उठाए आफ्नै इमान र जमानले उठाए । कसैलाई औँलो उठाउने मौका दिएनन् यिनले । यिनलाई समयले हेटौँडाबाट नेपालगन्ज पुर्यायो । तर पनि यिनी थाकेनन् । त्यसपछि काठमाडौँ पुगे । तर पनि सुस्ताएनन् । यिनीभित्र एउटा हुटहुटी छ । एउटा आगो दन्केको छ । जबसम्म आफूले देखेको सपनामा आशाका किरणहरू देखिँदैनन्त l बसम्म थकाइ नमार्ने प्रण गरेका छन् यिनले ।
अन्तमा यस्तो सार्थक र सुन्दर पुस्तक लेख्नु भएकोमा म मेरा अनन्य मित्र केशव श्रेष्ठ ‘ज्योति’जीलाई हार्दिक बधाई एवम् शुभकामना दिन चाहन्छु । किताब धेरैले पढुन्, किताब चारैतिर छरियोस् र किताबको सबैतिर चर्चा होस्! मैले अन्तर हृदयदेखि नै यही चाहेको छु ।