~हरिहर तिमिल्सिना~
रेशम कीराजस्तै भयो जिन्दगीको चाल
जाल बुन्छु भन्नु मात्रै बुन्नु रै’ छ काल ।
मेरा लागि बराबरी दिनरातहरू
बाटेको छु धागोहरू खाँदै घातहरू
आफूलाई आफूले नै जेली बाँच्नुपर्ने
खोलाभित्र थुनिएर खेली बाँच्नुपर्ने ।
लुगा बन्न रेशमको हुँ म सृष्टिकर्ता
बचाएझैँ गर्नेहरू मेरो प्राणहर्ता
तातोपानी तताएर डुबाएर मार्छन्
खोजी खोजी दर्दमाथि दर्द मात्रै पार्छन् ।
-सुडाल-९, भक्तपुर
(स्रोत : मधुपर्क २०६६ असोज)