कविता : दोधार

~सिर्जन अविरल~

कमरेड !
आज तपाईँकै चुनाव चिह्न बोकेर
अपरिचित झैँ उभिएको छु, आफ्नै द्वारमा

खालि गोडा डुलिरहेको छु गाउँगाउँ
बाँडिरहेछु तपाईँकै सपना
र,
लेखिरहेको छु तपाईंको नारा
बोल्दै हिँडेको छु, तपाईंको भाषा
तपाईंको गाडीले उडाउँदै आएको धूलोले
छोपिएको छ दलनबाट मुक्ति लेखिएको नारा
र पुरिएको छु आफैं उभिएकै ठाउँमा

तपाईँले नै थमाएको रातो पुस्तक छ मसँग
तपाईँले पढाएको सिद्धान्त र देखाएको बाटो
हिंड्दै आएको हुँ आजसम्म
पालना गर्दै गर्दै हरेक नियमलाई
चुपचाप उभिएको हुँ आदर्शको डिलमा

छेपारो जस्तै रङ बदल्ने सुकिला मान्छेहरु
किन जयजयकार गरिरहेछन तपाईंको
बार बार हेरिरहेछु आफ्नै अनुहार
र सोधिरहेछु आफैसँग
यो असङगत बाटो किन हिंडिरहेको हुँ म
तपाईँले नै सुनाएको हो युद्धमा जानु अगिल्लो रात
साङनिङपाथका गुरिल्लाहरूको कथा
गोन्जालोको सहास र स्पार्टाकसको आत्मविश्वास
रोमका दास मालिकहरूको इतिहास

कमरेड !
मैले कसलाई भोट हाल्ने हो
मलाई कत्ति विश्वास छैन आफैँमा

म उभिरहेको जमिन र घोकिरहेको सिद्धान्तले
किन मलाई थिचिरहेछ
किन रिघाइरहेछ मेरो टाउको
किन चढ्न मन लागेको हो तपाईँलाई नयाँ गाडी
किन किन्न मन लागेको हो सुपरमार्केटमा सामान
गाउँको अनुहार छोपिने गरी
किन बनाउन मन लागेको हो यति ठूलो हवेली

कमरेड !
किन रोकिएको हो शेयर बजारमा तपाईंको गाडी
साँझ नपर्दै रक्सी दोकानमा पसेर
तपाईँले किन गर्नुभएको हो
सुकुम्बासीहरूलाई यति धेरै गाली

तपाईंको गाडीमा हल्लिरहेको झण्डाबाट
किन उड्दै गएको छ रातो रङ
अर्कै भएको छ तपाईंको अनुहार
फेरिएको छ तपाईंको स्वर र लवज
बदलिएको छ तपाईंको सङ्गत

कमरेड ! मैले कसलाई भोट हाल्ने हो
यतिका वर्षपछि
मलाई कत्ति विश्वास छैन आफैँमा

भर्खरै कुवेतको तेलखानीबाट बन्द बाकसमा
आइपुगेको छ लास मेरो गाउँमा
अर्को एउटा लस्कर हात हल्लाइरहेछ उतै जान
मलाई तपाईंको झण्डा होइन मुक्ति चाहिएको छ
दलनबाट छुटकारा चाहिएको छ

कमरेड ! मैले कसलाई भोट हाल्ने हो
यतिका वर्षपछि
मलाई कत्ति विश्वास छैन आफैँमा।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.