~लक्ष्मण नेवटिया~
छोरा उफ्रिदै खुसियाली मनाउँदै आयो,
सयपत्रीका दुई माला किनेर ल्यायो,
एउटा आफूलाई, अर्को मलाई लगायो,
घरपरिवार सबैका गालामा
रातो अबीर लगाउन भ्यायो।
बुबा अब हामी पनि महलवासी भयौं,
सुन्नुस एउटा खुसीको ताजा समाचार,
सबै गाउँले ले तपाईंको इमान्दारी,
सामाजिक जिम्मेवारी,राष्ट्रप्रतिको वफादारीको
गरेर ठूलो मूल्याँकन ,
गरेका छन् एउटा नौलो पहल
र घोषित गरिदिएकाछन्
हाम्रो महान ऐतिहासिक झुप्रोको नाम
” स्वर्णमहल”
मैंले भने जे भयो राम्रै भयो
म पनि तिमीहरु जस्तै यो निर्णय सुनेर
भएको छु भाव विव्हल, आसु अविरल,
मेरो पनि बधाई छ
तिमीहरुलाई खुसीयाली साटासाट गर्न
भ्याइ नभ्याइ छ।
हो अबीर जति दलनुछ गालाभरी दल,
तर झुप्रो सम्म पुग्ने न बाटो, न ढल
न पानीखाने कल,
न भित्र न बाहिर कुनै चहलपहल,
नत्र झुप्रोको काँचुली नै फेर्ने कुरामा
कतै छ कुनै हलचल,
तब भन्न के घोषित हुँदैमा झुप्रो बन्छ
“स्वर्णमहल”
छोराले भन्यो बुबा
ज्ञानगुणका कुराका पछि नलाग्नुस,
बढी नकराउनुस, मेरो सुझाव मान्नुस,
गाउँकी केही अधबैंसे आइमाइहरुलाई पनि
तरुणी घोषित गर्ने अझै चल्दैछ
गाउँलेहरु बीच छलफल।
अरु कुरा छाडनुस् यही काममा लाग्नुस,
मौका राम्रो छ- चौका लगाउनुस्
आमालाई पनि सोर्स लगाएर
तरुणी घोषित गराउनुस्।
-लक्ष्मण नेवटिया, बिराटनगर-१२
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)