~दीपक घिमिरे~
भर्खरै खाएको जाँडको झोल र किमा जस्तै मसिनो बनेका गाजरका पहेंला टुक्रा ह्वालह्वाल्ती आगनमै वाकेपछि रामु रिसले जुर्मुरायो । दुःखीरामका नाकका प्वालबाट समेत गाजरका टुक्रा निस्किए । दुःखीरामकी श्रीमती मनकलीले एक अम्खोरा पानी रामुलाई दिदै भनिन् ‘जा तेरो बाउको मुख धोइदे ।’
उसै त रिसले चुर परेको रामुलाई जड्याहा बाउको काममा लगाएसी आमासँग पनि रिसायो, ‘तिम्रो पोइको मुख तिमी आफै धोइदेऊ, गन्नाउँच मलाई ।’ उसले दुई औंलाले नाक बेस्सरी च्याप्यो ।
मनकली पनि आज निक्कै रिसाई, एक अम्खोरा पानी दुःखीरामको टाउकोमा खन्याउँदै भनि ‘कुकुरको मुत कति खाको ?’
दुःखीराम खोक्दै फेरि वाक्यो, अहिले चै वाकमा सुकुटी, साग र सोयाविनका टुक्रा देखिए । आगन नै गन्हाउने गरी दुर्गन्ध फैलिँदै थियो अनि दुःखीराम झनै अचेत हुँदै थियो । रामु साथीसँग बजार लागिगो, दुःखीरामको स्याहार–सुसारमा मनकली एक्लै परी । भैंसीलाई खुवाउन ड्रममा भरेर राखेको पानी दुःखीरामको टाउकोमा खन्याउँदै भनी ‘घरमा खाने अन्न छैन, यिन्लाई रक्सी र मासु घिच्ने पैसा प्रशस्त छ । यस्ता पापी पोइ, घरको चिन्ता भए पो हुन्च !’
मनकली फतपताउँदै भान्सातिर छिरी, यता दुःखीराम त्यही वाकमा घुलमिल हुँदै मस्तले निदायो ।
गाउँघरमा रक्सी खाने ठुलै ग्याङ छ । जसको क्रियाशील सदस्य दुःखीराम पनि हो । केही वर्ष अगाडिसम्म दुःखीरामले रक्सी खाने त परैको कुरा, खाने मान्छेसम्म देखि सहँदैनथ्यो । गाउँलाई मदिरा मुक्त गाउँ बनाउनु पर्छ भनेर मरिहत्ते गर्ने एक सदस्य थियो, दुःखीराम । कतिका घरबाट जर्किनका जर्किन लोकल रक्सी निकालेर फ्याक्ने अभियानको मुख्य नाइके नै दुःखीराम थियो, तर समय यस्तो आइदियो कि दुःखीराम नै गाउँको सबैभन्दा ठूलो जड्या बन्दियो ।
आजभोलि गाउँमा दुःखीरामलाई सबैले जड्याकै रुपमा लिन्छन्, बुढापाकाहरु भन्छन ‘त्यसलाई न लाज छ न घिन, एक गेडो लसुनसँग एक गिलास तान्न पाए पुग्छ ।’
अरुले भने जस्तै दिनभर आँगनमा बेहोस भएर पल्टिएको दुःखीराम साँझ चार बजेतिर उठ्यो, टाउको समातेर एक छिन त्यहीं बस्यो । कपडैभरि वाक लागेको र पाइन्टमा मुतेकाले होला निक्कै गनाएको थियो, दुःखीराम । माखा नाक–नाकसम्म भन्किरहेका थिए, गालामा सानो घाउ थियो । बजारबाट फर्किदै गरेको रामुलाई दुःखीरामले भन्यो ‘एक अम्खोरा पानी ल्या त ।’
रामु दुःखीरामको काम गर्नेवाला थिएन, जवाफ फर्कायो ‘ल्यान्न, आफै ल्याउने ।’
दुःखीरामले रक्सी खानथालेदेखि उसकै सन्तानलेसम्म टेर्दैनथे । सारा गाउँ टोलले मान्ने मान्छे दुःखीराम आजभोलि घरकै सन्तानले नटेर्ने भएको छ ।
दुःखीराम दुःखी हुँदै मनकलीलाई भन्यो ‘मनु एक अम्खोरा पानी ल्याउ त ।’
मनकली भान्साबाटै चिच्याउँदै भनी ‘आफै आएर लग । कोही कमैया बस्या छैन तिम्रो स्याहार गर्ने ।’
मनकलीले पनि ठाडो जवाफ फर्काएपछि दुःखीराम आफै उठ्ने कोशिस ग¥यो, पहिलो पटक सकेन, एकैछिन रोकिएर फेरि उठ्ने कोशिस ग¥यो । यो पटक जुरुक्क उठ्यो । रक्सीले निक्कै कमजोर बनाएको दुःखीरामलाई रिङटा छुट्यो, फेरि थुचुक्क बस्यो । कमिजमा लागेका टाटालाई हातले झार्दै मनकलीलाई भन्यो ‘उठाउन त आइज न मनु । निक्कै कमजोर भएको छु ।’
मनकली हातमा तरकारी चलाउँदै गरेको डाडु बोकेरै आई । रिसले चुर परेकी मनकलीले दुःखीरामको कमिज पकड्दै उचाली, गाली गर्दै भनी ‘कुकुरको मुत खाँदा त तगडै छु भन्ने सम्झिन्छौ, भित्र भित्र कलेजो ड्यामेज भएको पत्तो छैन ।’
दुःखीराम मनकलीको सहारामा जुरुक्क उठेर मनकलीकै सहारामा घरभित्र गयो, टिभी कोठाको ढोकैबाट दुःखीरामलाई भित्र पठाएर मनकली फेरि भान्सा छिरी ।
दुःखीराम कोठाभित्र भएको टेबुलमा थ्याच्च बस्यो, मुखमा अड्किएका मासु र गाँजरका टुक्रा औलाको सहाराले निकाल्यो अनि झ्यालबाट बाहिर थुक्यो । टेबुलमा धेरै बस्न सकेन, रक्सीको ह्याङले भनभनी घुमाइरहेको अनुभूति दुःखीरामलाई भयो । अनि गयो विस्तरामा पल्टिन ।
दुःखीराम निक्कै कमजोर भएको थियो, उसले आफ्नो विगत सम्झिँदै बस्यो । आखिर किन सिक्यो रक्सी पिउन ? यो प्रश्न मनमा खेलाउदै दुःखीराम विस्तरामा पल्टिरह्यो । ऊ अतीत सम्झिन चाहँदैनथ्यो, किन रक्सी पिउँछु भनेर कसैलाई कारण बताउन चाहँदैनथ्यो । तर केही न केही पीडा त उसको मनमा अवश्य थियो, जसले गर्दा ऊ विहान–बेलुका जतिबेला पाउँछ त्यति बेला पिउँछ ।
दुःखीरामले रक्सी पिउन थालेपछि मनकली कहिले मीठो स्वरले बोलिन, सधै रिसाउँथी चाहे त्यो पिएको बेला होस्, चाहे नपिएको बेला । सानोमा खुबै माया गरेर हुर्काएको रामुले पनि बाउलाई बाउको दर्जा दिँदैनथ्यो । बाउको इज्जतै नगर्ने रामुले साथीभाइसँग भन्थ्यो ‘बाउ होइन, जड्या हो जड्या । आधा इज्जत त त्यसैले लग्देको छ मेरो ।’
नाम, थर बाउबाटै लिए पनि दुःखीरामलाई बाउ भन्न लजाउँथ्यो रामु । जवानीमा लाहुरमा दुःख गरेर बनाको बैकले घरमै तीन जना बस्दथे, तर दुःखीरामले गरेको दुःखको कुनै महत्व थिएन, त्यो घरमा । यिनै कुराले पनि दुःखीराम अझ दुःखी बन्थ्यो अनि आँखाको चेपमा निस्केका आँसु लुकाउन खोज्दा–खोज्दै पनि बाहिरिन्थे ।
दुःखीरामलाई भात खान आउ भन्ने कोही भएनन्, पीडाको कल्पना गर्दागर्दै विहान भयो, तर न छोरो रामुले पानी सोध्यो न त मनकलीले खाना खान आउ बुढा भनी ।
गोजामा दस रुप्पे गुटुमुटु परेर बसेको रहेछ, विहान पख दुःखीरामले चाल पायो । भोक र ह्याङले लखतरान परेको शरीरलाई उठाएर दुःखीराम चौतारोमा झ¥यो । भुजेल्नी सोल्टिना होटलमा छिरेर दश रुप्पेको एक अद्दी रक्सी चढायो । अनि एक गेडो लसुन टोक्दै चौपारोमा टुसुक्क बस्यो ।
सबै खुशी थिए, कोही चिया–चुरोट पिउँदै गफमा मस्त थिए त कोही राजनैतिक गफमा मस्त । दुःखीराम आफ्नै कल्पनामा मस्त थियो । पिपल बुटामा बसेका एक जोडी परेवालाई हेरेर टोलाइरहेको दुःखीरामलाई झस्किने गरी कसैले काँधमा हात राख्दै भन्यो ‘के छ दुःखीराम कमरेड !’
पछाडि फर्कियो, हे¥यो ! मथिल्लो बजारका नेवार साउ । दुःखीराम खिस्स हाँस्यो, नेवार साउले दरिलो हात मिलाए । आफू बसे ठाउँबाट अलिकती उता सर्दै दुःखीरामले भन्यो ‘बस्नुस् ।’
नेवार साउ छेवैमा बसे अनि नाक मुन्तिर हातले हम्किँदै भने ‘छि ! ब्यानै लगायौ ?’
दुःखीराम फेरि हाँस्यो, पहेंला दातबाट नराम्रो गन्ध आउँदै थियो । ‘के गरुम त कमरेड ! तपा
जस्ता शोषक सामन्तीहरु हाम्रो गौरवसाली पार्टीको नेता बन्नु भो । ऊ बेला पार्टीका लागि त्यत्रो योगदान गरेको हामी, फुर्सदमा जाँड खान सिक्यौं अनि जड्या भयौ ।’ दुःखीराम फेरि हाँस्यो ।
नेवार साउले नाक्चो बटारे, गोजाबाट मोबाइल निकाले । कसैलाइ केही एसएमएस गरे ।
पार्टीको निर्देशन अनुसार तपाईको होटलबाट जफत गरेको रक्सी लुकाएर राख्या भए त आज काम लाग्ने रहेछ है कमरेड । जिस्काउँदै दुःखीरामले नेवार साउलाई सुनाए । पुरानो रिस भय तापनि नेवार साउ मुसुक्क मुस्कुराए ।
आज दुःखीरामले किन रक्सी खान्छ भन्ने बारेमा सजिलै थाहा पाइयो । ऊ बारम्बार नेवार साउलाई जिस्काइरह्यो, नेवार साउ सहेर बसे ।
दुःखीराम दिल खोलेर हाँस्दै भन्यो ‘हिंजो झोला बोकेर मर्ने या मार्ने भन्दै जनयुद्ध लडेका हामीहरु बेकामका भएर यी जड्याको नामले गाउँ–गाउँ, चोक–चोकमा लद्धिदै छौं । तिमिहरु जो हिजो हाम्रा लागि सामन्ती थियौ । अहिले हाम्रै नेता भयौ । अब जड्या नबनेर तिमीहरुको के गुलाम बनु त ? दुःखीराम दाइ फेरि गललल… हाँसे ।
(स्रोत : रातोपाटी डट कम)