कथा : म्याकलेको भूत

~लक्ष्मण श्रेष्ठ~Laxman Shrestha

“अब यो विश्वविद्यालय पनि चिहान हुन्छ। अनि गिद्ध रिंग्छन्। सब खत्तम पार्ने भए सालाहरू !” आक्रोश पोख्यो सुदिपले।

“भए पो रिंग्छन् गिद्ध” जोनले जोक्स हान्यो। हाँसे सबै।

“कुराको मर्म बुझ्न मुला” सुदिप झोक्कियो। “साँच्चैको गिद्ध रिंगे त ठिक्कै हुन्थ्यो नि। मान्छेरुपी गिद्धको कुरा गर्दैछु।” स्पष्टीकरण दियो उसले।

“अनि के अहिले गाई हिंडेछन् भन्ने सोंचेछस् तैले? गिद्धहरूको हातमा परेर त यस्तो भ’को।” जोन बोल्यो। आवाजसँगै उसको गिलास पनि रित्तियो।

“हो त, हेर्दाहेर्दै यहाँसम्म पुग्यो विश्वविद्यालय।” सुबोध पनि थपियो। “गिद्धहरूले एक एक गरेर विश्वविद्यालय ध्वस्त पार्ने भए।” ऊ उफ्रियो।

“हैन के सारो राजनीति हो? भिसी नियुक्तिमा राजनीति। रेक्टर नियुक्तिमा पनि। रजिस्टारमा पनि राजनीति। नभएर त्यसका बाउको हेड अफ डिपार्टमेन्टमा पनि राजनीति?” प्रदिप पनि के कम? बम्कियो उसैगरी।

“राजनीति नभन न केटा हो।” कमलले कमेन्ट गर्दै थिएँ। जोन बोलिहाल्यो– “अनि के समाजसेवा भन्नु त?”

“होइन भागबण्डा हो। पद दलीय आधारमा बाँड्ने पनि कहीं राजनीति हुन्छ? भागबण्डा हुन्छ। अनि भागबण्डा भागबण्डा हो। राजनीति राजनीति।”

“ल डन।” ल्याप्चे ठोक्यो सुदिपले। तुरुन्त सोध्यो पनि– “तर बिगारेको त यहीं भागबण्डाले त हो नि।”

“कसले होइन भनेको छ? बिगारेको सब भागबण्डाले त हो नि। शैक्षिक थलो पनि त्यसको बाउको बिर्ताजस्तो भाग लगाएका छन् मनपरी। गिद्धका सन्तानहरू।” मनभरिको आक्रोश घाँटीबाट उकालो लाग्यो। मुखबाट फुस्कियो।

हामी त्रिभुवन विश्वविद्यालयको रसायन शास्त्र विभागको प्राङ्गणमा उफ्रिरहेथ्यौं। विभागीय प्र्रमुखमा दलीय दृष्टि परेपछि हाम्रो विभागमा ताला लगाउने क्रम सुरु भएको थियो। अनि हाम्रा कक्षाहरू प्रतिक्षालयमा फेरिएका थिए। आज त क्लास सुरु भन्यो। हुँदैन। विभागीय प्रमुख तोकिसक्यो नियुक्ति पाएको छैन भन्छन् मास्टरसा’ब। आफूलाई क्रान्तिकारी भन्नेहरूले ताल्चा ठोकिदिएका छन् विभागीय प्रमुखको कार्यकक्षमा।

विभागीय प्रमुख तोक्यो माथिल्लो निकायले। तर डिनलाई चित्त बुझेन। टेबलमा नियुक्ति पत्र राखेपछि डिनको अफिसबाट फोन गयो म्याद मरेको स्ववियु सचिवको मोबाइल सेटमा। अनि नियुक्तिपत्रभन्दा पहिला ताल्चा आइपुग्यो। विश्वविद्यालयका सुलसुलेहरू यसै भन्छन्। कुरा कत्तिको साँचो हो जान्नेले जानून्। आफू त परियो सोझो विद्यार्थी। गाउँबाट पढ्न भनी आएको। सहरको ताल यस्तो छ।

दिनदिनै क्लास लिन आयो। हुँदैन। विभागको भवन हेर्‍यो। रिस पोख्यो। उफ्रियो। झोंक पोख्यो। हैन आमाले पनि कुन साइतमा जन्माएकी रैछिन्? रिस पोख्दा पोख्दै जुनी जाने भो।

“अब यसरी भएन केटा हो। कति दिन हेरेर बस्ने यसरी? के हामी नामर्दका सन्तान हौं र?” फेरी झोंक पोख्यो कमलले।

“अनि के गर्छस् त? नारा लगाउँछस्? टायर बाल्छस्? के गर्छस् भन्? के गर्छस्?” तातो प्रश्न गर्‍यो दीपकले।

“के गर्ने नि? ताल्चा साल्चा फोड्दिने। अनि घेक्रो समाएर त्यो प्रोफेसरलाई क्लासमा हुलेर पढाउन लगाउने।” कमलको रिस कहाँ मर्थ्यो र? खुट्टा बजार्‍यो।

“नरिसा यार। तेरो मेरो रिसले के हुन्छ र यहाँ? देखेछैनस् आफूलाई ठूला ठूला भन्ने सङ्गठनहरू मुख सिएर बसेका छन्। के हुन्छ तँ, म रिसाएर?” बुझकारी बन्यो जोन।

“नरिसाएर के गर्नु त? वहाँ छोरोले पढ्ला भनेर बाउले पठाइदिएको पैसा सकिसक्यो हल्लिंदा हल्लिदै। क्लास भएको भए पनि खुरुखुरु पढिन्थ्यो। नभएपछि न पढ्न सकिन्छ , न रुममा बस्न सकिन्छ।” यसपालि मलिनो भयो कमलको अनुहार। अरु पनि झोंक्राए। पीडा त सबैको उहीं हो आखिर। रसायन शास्त्र विभागको मूलढोकामा एकाएक छायो सन्नाटा। केवल हाँसिरह्यो स्ववियु जितेको विद्यार्थी सङ्गठनको विज्ञप्ति हामीलाई खिसी गर्दै। सायद भनिरहेथ्यो– ‘खाइस् लोप्पा, खुब पढ्छु भनेको थिइस्।’

“हाम्रा बाआमाले उस जुनीमा काठमाडौंको रिन खाएका रै’छन् यार। अहिले तिरिरहेछन्।” एकाएक मुख फोर्‍यो जोनले। सबै हाँसे। तर मलिन मुखले। अमिलो अनुहारमा हाँसो कस्तो नसुहाएको छि !
विश्वविद्यालयको ठूलो प्राङ्गण। विभिन्न भवनहरू। हामीजस्तै भविष्यको सुन्दर सपना देखेर आएका केटाकेटीको हूल। अनि गिद्ध रिंगिरहेको आकास।
हामी चिया खान हिंड्यौं।

केटाहरू चुरोट सल्काउन थाले।

“तिमीहरू यो चुरोट छोड त केटा हो।” असहमति जाहेर गरें मैले।

“पीर नगर। तँ र म सँगै मरिन्छ। चुरोट नखाँदैमा धेरै बाँच्छु भनेको छस् क्या हो?” जोनले कमेन्ट गर्‍यो।

“हेल्थको नो टेन्सन यार। इन्भारमेन्ट पोलुटेड भयो भन्नेमात्र हो। यु नो? यो कीर्तिपुरको आकासमा कम्तीमा पनि एक पर्सेन्ट त तिमीहरूले खाएको चुरोटको धुँवा होला” म पनि के कम?

“हाम्लेभन्दा धेरै पोलुसन यो युनिभर्सिटीका हाकिमहरूले गरेका छन्। तँलाई त्यसको चिन्ता लागेन फेरि?” दार्शनिक बन्यो दीपक।

“चिन्ता नलागेको भए रिस उठ्थ्यो?” ओंठे जवाफ मेरो पनि।

“साँच्ची यो सेमेष्टरको कुरा के भयो? आन्दोलन कहाँ पुग्यो? ” सुदिपले तेर्स्यायो जिज्ञासा।

“के हुनु नि? नेविसङ्घ, अनेरास्ववियु र प्रचण्डवाला अखिल क्रान्तिकारीले छोडिहाले क्यारे। अरु बाह्र विद्यार्थी सङ्गठनले विरोध गरिरहेछन्। अहिले त प्राध्यापकहरू पनि आन्दोलनमा छन्। देखेछैनस् भिसी कार्यालयको मूलगेटमा?”

“साला भाटहरू। आफूलाई ठूला भन्छन्। आन्दोलन गर्ने बेलामा भुस्याहा कुकुरजस्तो पुच्छर लुकाएर दुलो पस्छन्।” कमलको झोंक न हो पोखिइहाल्यो।

“जब पैसामा इमान बिक्छ नि। त्यसपछि यस्तै हुन्छ। पैसामा बिकेका छन् नि सब”। जोनले प्रश्न गर्‍यो, “देखेछैनस् कसरी गाडी चढेर आउँछन्। अनि तिनको शान हेर्न? दुनियाँका छोराहरूलाई मोटा चामलको भात खान धौ धौ छ। सालाहरूलाई दिनदिनैको पार्टी। ”

“मैले त सुनेको भाटहरूले वर्ल्ड बैङ्कको पैसा खाएका छन् रे।” प्रदिपले थप्यो। “इन्टरमिडियेट पनि त पैसै खाएर फेज आउट गरे। कत्रो आन्दोलन भाथ्यो? यिनै तीनवटा फटाहा विद्यार्थी सङ्गठनले धोका दिएका होइनन्? बिर्सिइस्?”

“कहाँ बिर्सनु?” दिपक थपियो, “शुल्क पनि त बढाए। अनि यी नै तीनवटै पहिल्यै मिलेर बढाएका होइनन्? सालेहरूलाई त झुण्ड्याएर गोली ठोक्नुपर्ने हो। भन्नेबेलामा विद्यार्थी नेता रे। गर्नेबेलामा विश्व बैङ्कको दलाली?” कमल फेरि उफ्रियो।

“अलि सुस्त बोल गोफ्ले। अहिले सुने भने ढाड भाँच्देलान्। तिनका सुलसुले त जता पनि हुन्छन्।” दीपकले थाम्यो।

“सुने सुन्छन्। तिनका बाउका पैसा खाएको छैन। सत्य कुरो भन्न केको डर। फेस टु फेस भन्दिन्छु।” कमलको मर्करीले लिमिट लाइन छोडिसकेको थियो। जोनले मुख छोप्दियो।

“तँ अलि लाइनमा बस्ने गर यार। त्यसै झोंक्किन्छस्। जुग जमाना ठस्क छैन। देखेछैनस् विश्वविद्यालयभरी पुलिसका गाडी? त्यसै आएका हुन्? गोली ठोक्न आएका हुन् नि? लोकतन्त्र भनेछस् तैंले? तिनीलाई असर नपर्दासम्म त हो बोल्न पाउने। तिनका स्वार्थमा धक्का पुग्यो भने जे पनि गर्छन्। तेरो मेरो निम्ति बोल्दिने यो सहरमा को छ र हाम्रो?” अलिबेरपछि दीपकले सम्झायो। कुन्नि के सोचँ केटाहरूले? टाउको हल्लाए सबैले।

“रुक केटा हो। ऊ ती नेता आउँदैछन् तीसँग बात मार्न।” नीलो ज्याकेट लगाएर आउँदै गरेका करिब २८/३० वर्षे युवालाई देखाउँदै भन्यो सुदिपले।

“यो मान्छे चाहिं मलाई मनपर्छ। असल छ। अडिग छ। कहिल्यै दुईथरी कुरा गरेको सुनिएको छैन। क्या स्पष्ट बोल्छन्। सबै यस्तै भए त हुन्थ्यो।” दीपकले कमेन्ट गरिहाल्यो।

“हाम्लाई नि मनपर्ने भएर त हो? बात मारम भनेको। सेमेष्टरविरोधी आन्दोलन यिनैले त हाँकेका छन्।” सुदिपले सबैको तर्फबाट स्पट पार्‍यो।
चिया पसलको छेवैको बाटो भएर जान लागेका नेतालाई नमस्कार ठोक्यौं हामीले। उनी मुस्काए मुसुक्क।

“हैन हो दाइ। अबेर भ’को छैन भने यसो भाइहरूसँग चिया खाँदा नि हुन्थ्यो क्यारे?” प्रस्ताव गर्‍यो सुदिपले नै।

“किन नहुनु नि भाइ हो। भइहाल्छ।” अलि तालु खुइलिएका र अलि घाँटी बसेजस्तो आवाज भएका मध्यम कदका नेता दाइले हात मिलाउँदै भने। ओंठमा हाँसो छर्दै परिचय पनि गरिहाले। हामीले नाम बतायौं। घरको ठेगाना बतायौं।

“अनि दाइ सेमेष्टर प्रणालीविरोधी आन्दोलन के हुँदैछ त?” जोनले कुरा कोट्यायो भर्खर आइपुगेको चियाको गिलास उठाउँदै।

“आन्दोलन गरिरहेछौं भाइ। थाहै छ होला। आफूलाई ठूला भन्ने विद्यार्थी सङ्गठनले आन्दोलन छोडिसकेका छन्। हामीले विरोध जनाइरहेछौं। निकास ननिस्कि भर्ना नखोल भनेर हामीले ताला लगाइदिएका थियौं। त्यो पनि वरिपरि प्रहरी प्रशासन राखेर भर्ना फर्म बाँडिरहेको तपाईंहरूलाई थाहै होला।”

“छ दाइ छ।” हामीले एकमुखले बतायौं।

“खासमा यो आन्दोलन किन गरिएको हो। यसो स्पष्ट पार्नुस् न दाइ। सेमेष्टर प्रणाली ठिक्कै हो भन्छन् सबैले।” दिपकले कुरा कोट्यायो।

“हेर भाइ सेमेष्टर प्रणाली भनेको पढाउने एउटा पद्धतिमात्रै हो। यो आफैमा ठीक र बेठीक हुँदैन। के पढाइन्छ। कसरी पढाइन्छ। किन पढाइन्छ। यस्तै विषयहरूले शिक्षाको औचित्य छुट्टाउने हुन्। हो, ६/६ महिनामा परीक्षा हुने। त्यसको लागि नियमित पढाई हुने। शिक्षक र विद्यार्थी दुवैले मेहनत गर्ने भएकाले सेमेष्टर प्रणालीलाई राम्रो भनिएको हो। हामी पनि यसका निरपेक्षविरोधी होइनौं। तर यसो सोचौं त अहिले भइरहेको वार्षिक परीक्षा प्रणाली किन कमजोर भएको हो? के त्यो प्रणालीको दोष हो?”

“त्यो त होइन है दाइ कमलले सही थाप्दै भन्यो, “अहिलेका दक्ष भनिएका व्यक्तिहरू त्यहीं प्रणालीका उत्पादन त हुन्। हामी पनि यहाँसम्म त्यहीं प्रणाली पढेर आयौं। बिगारेको त सब यो दलीय भागबण्डा र सिस्टम चलाउने मान्छेहरूले त हो।”

“एकदम ठीक। यो वार्षिक परीक्षा प्रणाली बिगार्ने सब अहिले यो विश्वविद्यालय चलाइरहेका मान्छेहरूले त हो। दलीय आधारमा महत्त्वपूर्ण भागवण्डा गरेर। दक्ष व्यक्तिलाई काम गर्न नदिएर। दलको स्व्ाार्थमा विश्वविद्यालय चलाएर भाँडेका होइनन्?” नेता दाइले गरे सटिक प्र्रश्न।

“एकदमै हो दाइ। यहाँ त पार्टीको कार्यक्रम भाँडिन्छ भनेर चल्दाचल्दैको परीक्षा पनि स्थगित गरिएको छ।” दीपकले पनि सही थाप्यो।

“अनि के सेमेष्टर प्रणाली लागू गर्ने बित्तिकै यी मान्छेहरू गएर देवदूतहरू आउँछन् त?”

“कहाँ आउनु? नहटाउने हो भने यी गिद्धहरूले मर्नेबेलासम्म पनि छोड्नेवाला छैनन्।”

“अनि? कसरी सुधि्रन्छ विश्वविद्यालय? फेरि तुरुन्त सेमेष्टर प्रणाली लागू गर्न आवश्यक भौतिक र प्राज्ञिक संरचना पनि त छैन। अनि फेरि त्यही तहको पढाइ केन्द्रीय क्याम्पसमा एउटा प्रणालीले पढाइ हुने अरुमा भिन्नै तरिकाले हुँदा शिक्षामा पनि विभेद हुँदैन? त्यसैले हामीले यो प्रणाली एकाएक लागू गर्ने विश्वविद्यालयका पदाधिकारीहरूको कार्यशैलीको विरोध गरेका हौं। तर साथीहरू आन्दोलन अगाडि बढाउनुको मूल कारण अझ अर्को छ।”

“के दाइ?” नेता दाइ भन्दै थिए। बीचैमा प्वाक्क बोलिहाल्यो सुदिप।

“नियत”।

सबै मौन।

“हो नियत ” दोहोर्‍याउँदै भने नेता दाइले, “सेमेष्टर प्रणाली जबरजस्त लागू गर्नु पछाडिको नियतको विरोध गरेका हौं हामीले। अहिले किन लागू गर्न जोड दिइरहेछ विश्वविद्यालय? किनभने विश्वविद्यालय चलाउछौं भनेर नदिएको ठेक्का लिएकाहरूले विश्वविद्यालयको रकम खाएका छन्। तिनीहरू आफ्नो बुद्धिले होइन विश्व बैङ्कको बुद्धिले चलिरहेछन्। विश्व बैङ्कले दुईचार दाना फालिदिन्छ अनि आफू अनुकूलको शिक्षा नीति लागू गराउँछ। सरकारी विद्यालयहरू सामुदायीकरण गरायो। प्रवीणता प्रमाणपत्र तह खारेज गरायो। अहिले सेमेष्टर र स्वायत्तताको नाम दिएर विश्वविद्यालय ध्वस्त पार्न खोजिरहेछ।”

“आखिर किन विश्व बैङ्क त्यसो गरिरहेछ हँ दाइ?” मनको खुल्दुली सोधिहालें मैले।”

“भाइहरूले लर्ड म्याकलेको नाम सुन्नुभएको छ?” एकाएक फरक प्रसङ्गको प्रश्न सोधे नेता दाईले।
हामीले थाहा नभएको सूचना दियौं मुण्टो हल्लाएर।

“लर्ड म्याकले उपनिवेशकालीन बेलायती साम्राज्यका इतिहासकार र प्रशासक हुन्। उनले भारतमा पनि बेलायती शासन धानेका थिए। खासमा उनी बेलायती साम्राज्यका थिंक ट्याङ्क हुन्। उनले नै बेलायती शासनलाई टिकाइराख्ने गरी शिक्षा नीति तयार पारेका थिए। सन् १८३३ मा उनले ‘माइन्युट अन इण्डियन एजुकेसन’ नाम दिएर साम्राज्यवादी शिक्षा नीति तयार पारेका थिए। म्याकलेले कुनै पनि देशलाई शासन गर्न त्यस देशको संस्कृति नष्ट गरेर आफ्नो भाषा, संस्कृतिले जित्नुपर्ने बताए। अनि त्यसो गर्न शिक्षा नै एक सशक्त माध्यम भएको बताए। समाजलाई बर्बर र सभ्य दुई भागमा बाँडेर उनले अङ्ग्रेजी बोल्ने जति सभ्य नबोल्ने जति असभ्य भन्ने मान्यता स्थापित गरे। बेलायती साम्राज्य टिकाइराख्ने र अझ फैलाउने तरिका थियो त्यो। लर्ड म्याकलेले शिक्षालाई त्यसरी उपयोग गरे। धेरै वर्षसम्म लर्ड म्याकलेको शिक्षा नीति चलिरह्यो। अङ्ग्रेजी बोल्न, लेख्न जान्ने सभ्य अरु असभ्य भन्ने मान्यता अझै पनि तेस्रो विश्वका गरिब देशबाट हट्न सकिरहेको छैन।” नेता दाइले स्पष्ट पार्दै थिए कमलले सोधिहाल्यो– “अनि दाइ विश्व बैङ्क?”

“विश्व बैङ्क के हो?” आफ्नो प्रश्नको जवाफ आफैले दिंदै नेता दाइले भने, “अरु केही होइन। विश्व बैङ्क साम्राज्यवादी देशहरूकै हतियार हो। उसले सहयोग गरेजस्तो गर्छ। तर आफ्नो नीति लागू गर्छ। अहिले शिक्षामा सहयोग गरेर उसले लर्ड म्याकलेकै नीति लागू गरिरहेछ। आफू अनुकूलको जनशक्ति र आफ्नो साम्राज्यको विरोध नगर्ने नयाँ पुस्ता तयार गर्न विश्व बैङ्कले एक हातले सहयोगको रकम र अर्को हातले लर्ड म्याकलेको शिक्षा नीति दिइरहेछ। अनि विश्व बैङ्कको पैसाले घरको तला थप्ने र स्वास्नीको निम्ति गहना किन्ने रहर बोकेका हाम्रा पदाधिकारीहरू देशको भविष्यको ख्याल नगरी उसले जे भन्छ त्यसैमा सही धस्काइरहेछन्।” नेता दाइले स्पष्ट पारे।

“अर्थात् लर्ड म्याकले मरे पनि उसको भूत हाम्रो विश्वविद्यालय छिरेको छ होइन दाइ?” कमलले टिप्पणी गर्‍यो।

“हो भाइ, हामी त्यसको विरुद्ध लड्नु छ। लर्ड म्याकलेको भूतविरुद्ध” नेता दाइले समर्थन जनाए।

त्यति नै बेला। अगाडि–पछाडि प्रहरीको ताँती लगाएर हिंड्यो विश्वविद्यालयको पदाधिकारीको आधुनिक कार। हेर्दै भन्यौं हामीले, “गिद्धहरू।”

नयाँ बानेश्वर
२०७० फागुन १७
बेलुका ५ः३०

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.