कथा : अभिनय

~सुषमा मानन्धर~Shushma Manandhar

“एक्सक्युज मी, के म यहाँ बस्न सक्छु ?” एउटी अपरिचित युवतीले उसले खाँदै गरेको टेबुल छेऊ आएर सोधेकी थिई।

“हुन्छ बस्नुस् न।” उसले दोहोर्‍याएर हेर्‍यो। कुनै पनि कुनाबाट उसलाई त्यो युवती परिचित लागेन।

“तपाईलाई यहाँ सँधै यति बेला खाजा खान आएको देख्छु। तपाईलाई देखेर अनायासै एउटा अनुरोध गर्न मन लाग्यो। चिन्नु न जान्नु घचेटी मागी भन्ने नसोच्नु होला है ?” युवतीले उसँग अनुरोध गरी।

उसले मोमो खाँदै, युवतीलाई पनि केही अर्डर गर्ने हो कि भनी सोध्यो। युवतीले बेरालाई एउटा चिया ल्याउन अर्डर गरी अनि उसको अनुहारमा आशलाग्दो पाराले हेर्न थाली। उसले खाजा सकायो। “माफ गर्नुस्, के म एउटा चुरोट …?” उसले शिष्टतावश युवतीसँग चुरोट पिउने अनुमति चाह्यो। “प्लिज, एकैछिन धैर्य गर्नुस् न। म चुरोटको गन्धै सहन सक्दिन।” “ओहो, सरी।” उसले मुखमा च्यापिसकेको चुरोट पनि निकालेर फेरि बट्टैमा राख्यो।

“ल भन्नुस, कुरो के हो ?” उसले युवतीतिर कुर्सी अलि नजिक्यायो। युवतीले एकपल्ट चारैतिर हेरी। हुनसक्छ उसलाई कुनै आशंका थियो कसैले सुन्लान् भन्ने। आफ्नो कुरा राखिहाल्ने आँट नआएकोले उसलाई, भनुँ कि नभनुँ दोमन भयो। ऊ अलि जिल्ल परेकी जस्ती पनि देखिई। “हेर्नुस्, आजसम्म कसैले यस्तो कुरा गरेनन् होला तपाईसँग। सितिमिति कसैले गर्दैनन् पनि। तपाई मेरो लागि सर्वथा अपरिचित हुनुहुन्छ,त्यसैले पनि मैले यो कुरा भन्ने दुस्साहस गरिरहेकी छु। मैले तपाईसँग भन्ने कुरा तपाईँलाई कदाचित मन्जुर नभए पनि त्यो कुरा,तपाईँ र म बीच मात्र सीमित रहनुपर्छ।” युवती एकछिन अडी र ऊबाट कुनै प्रतिक्रिया आउला कि भनी उसको अनुहारमा हेरी। उसले केही नबोलेपछि युवतीले साउतीको स्वरमा ऊतिर झुक्दै भनी”तपाईले मसँग एउटा नाटक गर्नु पर्‍यो।”

“माफ गर्नुस्,तपाईँले मलाई नौटंकीमा काम गर्ने जस्तो देख्नु भयो कि कसो ? हेर्नुस्,मलाई नाटकतिर काम गर्ने कुनै शोख छैन।” उसले हाँस्दै युवतीतिर अलि व्यंग्य गर्दै भन्यो।

“त्यही भएर त भन्दैछु। नाटकतिर काम गर्नेहरुमा बढी नाटकियता हुन्छ। मलाई त सहज स्वभाविक व्यवहार चाहिएको हो। उसमाथि तपाईँको चम्किलो व्यक्तित्व.. तपाई निकै ह्यान्डसम हुनुहुन्छ।” आफ्नो प्रशंसामा ऊ केही नरम भयो। उसलाई थाहा थियो, ऊ फिल्मका हिरो भन्दा कुनै कम्ती देखिंदैन। “तपाईको यो व्यक्तित्व देखेर नै म तपाईकहाँ यो प्रस्ताव लिएर आएकी हुँ। हैन भने मान्छे त अरु पनि हुन सक्छन्। मेरो कुरा सुन्न तपाईसँग केही मिनेट त छन् हैन ?” कपको चिया सकिसकेको हुनाले युवतीले उसँग प्रश्न गरी।

उसले घडी हेर्‍यो। “मसँग बढीभन्दा बढी पन्ध्र मिनेट छ। अबको आधा घण्टासम्ममा मैले अफिस फर्किसक्नु पर्छ। यसो गरौं, यसै बीच अर्को चिया थपौं।” उसले अर्को दुई कप चिया मगायो। “मेरो नाम रीमा हो, म विवाहिता छु। मेरो एउटा सानो छोरा पनि छ।” चियाको एक घुट्को लिँदै युवतीले कुरा शुरु गरी। ऊ अभिरुचिपूर्वक सुनिरहेको थियो। उपन्यासको पहिलो पृष्ठमा जस्तो घटित घटनाले उसमा कौतुहलता पनि बढाएको थियो।

युवतीले फेरि भन्न थाली, “बिहे भएको दश वर्षसम्म मेरो घरपरिवार सुखी थियो, रमाइलो।” उसले एउटा लामो सास फेरी। “अहिले मेरो श्रीमान धेरै बदलिएका छन्। आफ्नो व्यस्ततम संसारभन्दा बाहिर आफ्नी श्रीमती र छोरा पनि घरमा उनको बाटो कुर्दै होलान् भन्ने कुरा उनले बिर्सिसकेका छन्।” ऊ अलिकति आवेशमा आई। “उनको लागि मेरो कुनै मूल्य नै छैन। मलाई लाग्छ,अचेल उनी मलाई माया नै गर्दैनन्। त्यही भएर तपाईले केही समयको लागि मेरो मिल्ने साथीको भूमिका निभाउनु पर्‍यो।” आफ्नो कुरा टुँग्याएर युवती चूप लागी। ऊ पनि चूप थियो। ऊ पूर्ववत् मौन बसेको देखेर युवती अलि निराश देखिई। “हुन त म तपाईकी कुनै परिचिता हैन। न त तपाईसँग कुनै खाले सम्बन्ध नै छ। त्यसैले मेरो यो फाल्तु जोक जस्तो काम, गर्नै पर्छ भनी तपाईलाई बाध्य पार्न पनि सक्दिन। तपाईबाट मैले सानै सहयोग पाए पनि मेरो लागि ठूलो हुन्छ। म कुनै धनाढ्य महिला होइन तर मैले आफू सक्दो पारिश्रमिक तपाईलाई दिनेछु।” उसले आफ्नो पर्स खोली। त्यहाँ नोटका केही बिटाहरु थिए। रेष्टुराँमा प्रायजसो ग्राहकहरु खाजा आएर हिंडिसकेकाले अब केही होलो थियो।

उसलाई पैसाको कुनै लोभ थिएन। आफू पनि उच्चमध्यम वर्गीय परिवारभित्र पर्ने हुँदा पैसा कै लागि आफ्नो स्वाभिमान बेच्ने खालको मान्छे थिएन ऊ। आकर्षक तलब आउने एउटा राम्रो पोष्टमा काम पनि गर्दै थियो। त्यसैले युवतीले अफर गरेकी पारिश्रमिकमा उसको लागि कुनै आकर्षण थिएन। ऊ त यो सोचेर तीन छक्क परिरहेको थियो कि रेष्टुराँमा अरु धेरै मान्छेहरु हुँदाहुँदै पनि यी राम्री युवतीले कथित नाटकको लागि उसैलाई किन रोजी। उसले युवतीलाई सोध्यो पनि। शायद त्यस प्रश्नको तत्काल जवाफ नभएर युवतीले उसका कैला आँखाहरुमा एकछिनसम्म आँखा गडाएर हेरी अनि सुस्तरी भनी, “खै त्यो त मलाई थाहा छैन तर तपाईँलाई देख्ने बित्तिकै मभित्र तपाईँ जस्तो साथी भए हुँदो हो भन्ने चाहना उब्जेको थियो।”

“एक छिन है?” उसले खल्तीबाट मोबाइल निकाल्यो र शायद आफ्नो अफिसमा फोन गरेर आफू एक छिन ढिलो हुन सक्ने बतायो। उसले फोन गरुञ्जेल युवती चिउँडोमा हात लाएर केही सोच्दै थिई। “ल भन्नुस्, मैले के गर्नु पर्‍यो।”उसको भनाइले युवतीको तन्द्रा भंग भयो। आफ्नो कुरा यति सजिलै स्वीकारिएला भनेर सायद युवतीले सोचेकी थिइन। “ओके, आजदेखि हाम्रो योजना लागू भयो जस अनुसार हामी बेस्ट फ्रेन्ड भयौं। हामी दुई एक अर्कालाई “तिमी ” सम्बोधन गर्नेछौँ। यो कार्ड राख्नुस् यसमा मेरो अफिस, मोबाइल र घरको टेलिफोन नम्बर छन्। तपाईले मलाई बेलाबेलामा कल र मिसकलहरु गर्नु पर्नेछ। कुनै कुनै बेला त मध्यराति पनि। श्रीमान् भएको मौका छोपी कहिलेकाहीँ घरमा चिया पनि खान आउनु पर्छ। जे होस्, हामी दुई घनिष्ठ साथी हौं भन्ने कुरा मेरो श्रीमानको दिमागमा बस्नुपर्छ। मैले आफ्नो नाम बताएँ,तपाईँको… आई मिन तिम्रो नाम चैं के हो ?” “राज” उसले संक्षिप्त उत्तर दियो। “राज, आजदेखि तिम्रो महत्वपूर्ण भूमिका शुरु भएको छ। मलाई सहयोग गर्छौ हैन ?” उसले पहिलो चोटी गहिरिएर हेर्‍यो युवतीलाई। ऊ छरितो जिउकी आकर्षक महिला थिई। उसका भरिला ओठ र ठूला आँखाहरुमा मीठो आकर्षण थियो तर त्यसरी याचना गरिरहँदा ऊ साँच्चिकै बिचरी देखिन्थी।

राजमा अनौठा प्रतिक्रियाहरु भैरहेका थिए। उसले कसैको जिन्दगीमा दखल दिनुपर्नेछ । यसलाई प्रत्यक्षतः दखल भन्न नमिल्ला। रीमाले नै निम्त्याउँदै थिई उसलाई यो कामको लागि। जिन्दगीमा एउटा नौलो एक्सपेरियन्स नै हुनेछ। हरेक हप्ता फ्रीमा रिचार्ज कार्ड र कफि कुकिज। प्रस्ताव आफैमा त्यति नराम्रो पनि हैन। यदि उसको सानो प्रयासले कसैको घर टुक्रिनबाट जोगिन्छ भने त्यो मामलामा हात हाल्नुमा कुनै खराबी देखेन उसले। “ठीकै छ, म तयार छु। अब हिंड्छु पनि। यो मेरो नम्बर राख।” आफ्नो पनि कार्ड दिंदै राज उठ्यो। शायद उसलाई अफिस पुग्न ढिला भैसकेको थियो। उसले काउन्टरमा पैसा तिर्‍यो र दुबै छुट्टिए।

रीमाले हेरिरही ऊ गएतिर। मोड छिचोल्नु अघि उसले फर्केर हेरेको थियो। देखिन छाडेपछि उसले राजले दिएको मोबाइल नम्बरमा डायल गरी। “किन के भो फेरि ?” राजले सोध्दै थियो, “हैन त्यत्तिकै।” उसले लाइन काटी।

साँझ ऊ घर पुग्दा उसका श्रीमान फर्किसकेका थिएनन्। घरमा काम गर्ने केटी र छोरो मात्र थिए। आफ्नो लागि एक कप चिया बनाउन लगाएर उसले राजलाई मोबाइल गरी। “भन” राजको स्वर सुनियो। “हेर न राज, उनी अझै फर्केका छैनन्। अफिस त सबैले गर्छन्,यिनैले मात्र सिधै घर आउन किन नजानेका होलान्। आफूलाई कस्तो बोर लागिरहन्छ।” उसको स्वरमा पीडा पोखियो। राजले पनि त्यो कुरालाई महशुस गर्‍यो। प्रत्यक्षमा त्यस बारेमा कुनै टिप्पणी गरेन। “चिया पियौ त ? कति बेला खाना पकाउँदैछौ ? अनि डिनरमा स्पेशल चैं के छ?” उसले विषयलाई अन्तैतिर मोड्न चाह्यो। “अब एकै छिनमा …।” भन्दाभन्दै लाइन काटियो। आफै कटेको हो वा अर्कोतिरबाट काटिएको उसले ठम्याउन सकेन।

रीमाले आज ठूलो आड पाएको महशुश गर्दै थिई। ऊ घरि घरि मोबाइल हेर्थी, कतै राजले मेसेज वा मिसकल पो गरेको छ कि भनी। रित्तो मोबाइलको स्क्रीन देखेपछि राजले कुरालाई गम्भीरतापूर्वक नलिएको हो कि भन्ने पनि सोची। खाना पाकेपछि सबै बैठक कोठामा टि.भी हेर्दै थिए। रीमाको मोबाइलमा मिसकल आयो। नम्बर राजको थियो। उसले कर्के आँखाले श्रीमानलाई हेरी। तिनी पूर्ववत् पत्रिकामा आँखा लाउँदै टि.भी मा समाचार सुन्दै थिए। उसले कलब्याक गरी राजलाई। “आए त तिम्रा पतिदेव ? सब ठीक छ हैन?” राज उसलाई प्रश्न गर्दै थियो। उसले अँ, हो भन्दै सही मात्र थापिरही।

त्यो दिनदेखि कुरा गर्ने एउटा साथी भेट्टाइ उसले। ऊ सानो भन्दा सानो कुरा पनि राजलाई फोनमा बताइरहन्थी। कुनै दिन जब उसका श्रीमान कुनै पार्टीबाट अबेलासम्म पनि आइपुगेका हुँदैनन्, ऊ गुनासो गर्दै दुःख पोख्थी राजलाई। “तिम्रो श्रीमान यदि आफ्नो स्वतन्त्रता खोज्छन् भने तिमीले पनि आफ्नो स्वतन्त्रता रोजे भै हाल्यो नि, फेरि के को गुनासो?” “राज म अरु जस्ती हैन। मलाई मेरा श्रीमान भए पुग्छ।” राजले कहिलेकाहीँ फरक सुझाव दिंदा पनि ऊ रिसाउँथी।

उसको श्रीमानप्रतिको माया र आकर्षण देख्दा राज पनि गजब पर्थ्यो। संसारमा माया गरिन सक्ने विषय र व्यक्ति अरु पनि हुन सक्छन्,यो उसले धेरै चोटी बताउने प्रयास गर्‍यो तर बुझाउन सकेन।

चियाको लागि आउँछु भन्दै धेरै चोटी टारेको राजले बिहानै रीमाको घर गएर सरप्राइज दियो उसलाई। ऊ छोरालाई स्कूल पठाउन तयार गर्दै थिई। बैठक कोठामा बस्दै गरेको राजसँग उसले श्रीमानको परिचय गराई। अभिवादनपछि राजले रीमालाई खाना खाइसकेको हो कि हैन भनी सोध्यो। उसले नकारात्मक मुन्टो हल्लाई। “आज मेरो बर्थ डे हो, आज मेरो तर्फबाट ट्रिट तपाईहरु दुबैलाई।” राजको व्यक्तित्व, पहिरन र रीमासँगको घनिष्ठ कुराकानीमा उसका श्रीमान चकित देखिन्थे। पुरुषोचित अहममा केही चोट लागेको जस्तो देखिन्थ्यो। उनी राजसँग त्यति कुरा गरिरहेका थिएनन्। राज पनि उनीसँग भन्दा रीमासँग नै कुरा गरिरहेको थियो। ” आज त म पनि एक दम बिजी छु राज, सरी ! तिम्रो बर्थडे ट्रिट, फेरि कुनै दिन।” उसले पनि यो प्रस्तावलाई हल्कासँग लिई। चिया पिएर राज निस्कियो।

दिउँसो उसले राजलाई फोन गरी र जमेको नाटक गरेकोमा बधाई दिई। “कुन नाटक ? आज साँच्चिकै मेरो बर्थ डे हो।” राजले त्यसो भन्दा ऊ छक्क परेकी थिई। उसले त नाटक गरेको होला भन्ठानेर हल्कासँग लिएकी थिई। त्यसैले उसले माफी माग्दै राजलाई जन्मदिनको बधाई दिई। त्यो दिन पहिलो पल्ट उसले श्रीमानमा राजप्रति इर्ष्या पलाएको देखी। खै त्यही भएर हो कि, उनी राजलाई कसरी चिनेको कहाँ भेटेको भन्दै सबै नालीबेली खोतलेर सोध्दैथिए। “साथी हो धेरै पुरानो, खुब केयर गर्छ।”ऊ भने कसरी हुन्छ श्रीमानलाई अझ बढी इर्ष्यालु बनाउन खोज्दै थिई।

त्यो दिन उसका श्रीमान चाँडै घर आइपुगे। रीमाले फोन गरेर राजलाई यो कुरा पनि बताई। “ल बधाई छ।”राजको स्वरमा एउटा खाली औपचारिकता थियो।

उसले राजलाई भेटेकी झण्डै वर्षदिन हुन लाग्यो। त्यो बीचमा राज र रीमा धेरै निकट भैसकेका थिए। जति बेला मन लाग्यो कल र मिसकल गर्नु अनि बेला बेलामा रीमाको श्रीमान भएको मौकामा घरमा जानु, राजलाई शुरु शुरुमा त निकै अप्ठ्यारो लागेको थियो। समय बित्दै गए अनुसार उसले रीमालाई नजिकबाट चिन्दै गयो र अभिनयबाट ओर्लिएर कतिबेला उसका क्रियाकलापहरु वास्तविक हुँदै गए उसलाई पत्तै भएन।

आज उसलाई रीमाले बोलाएकी छ। त्यही रेष्टुँरामा जहाँ उनीहरुको पहिलो चोटी कुराकानी भएको थियो।”निकै दिनहरु बितायौं हामीले नाटक गरी गरी” रीमाले आउने वित्तिकै भनी। “तिमी त कहिलेकाहीं यस्तो सिरियस नाटक गर्थ्यौ, म आफै पनि छक्क पर्थेँ। जे होस, एउटा साँचो शुभचिन्तक साथीको भूमिका तिमीले गजबले निभायौ। फिल्ममा खेलेका भए पुरस्कार पाउन बेर थिएन।” रीमाले आफूलाई खुशी देखाउँदै भनी तर ती खुशीहरु खोक्रा थिए। राजले चाल पाइहाल्यो।

“ए हो र ? साँच्चै भनेकी ?” राजले रीमाको आँखामा हेर्दै भन्यो। “हो राज। आज उनी समयमै घर आउँछन् र मलाई कुनै अभाव हुन दिएका छैनन्।” आफ्नो लागि कुनै भावको अपेक्षा गर्दै राजले अझ पनि नियालिरह्यो रीमाको आँखामा। बोलिरहनु पर्ने रीमा शान्त थिई। कम्पित ओठहरु बीच बोल्नको लागि शब्दहरु खोज्न रीमालाई गाह्रो परिरहेथ्यो “जान मन नभए पनि केही दिनमा परिवारसँग म पनि अमेरिका जाँदैछु राज। तिमीसँग पछि फेरि भेट हुन्छ हुँदैन, जान्दिन। तिम्रो सहयोगको लागि पैसा दिनु बेमानी टहर्छ तर कबोल अनुसारको……।” रीमाले वाक्य पूरा गर्न सकिन। उसले आफ्नो हातको नोटका बिटाहरु राजको मुठ्ठीमा राखिदिई। राजले पैसा सहितको उसको मुठ्ठी एकछिनसम्म आफ्नो हत्केलामा बाँधिरह्यो। दुबैले एक अर्कालाई हेरे आँखाका नानीमा। त्यहाँ एक अर्काको प्रतिविम्ब थियो। राजले पैसा रीमाकै मुठ्ठीमा बन्द गरिदियो। रीमाले कातर दृष्टिले ऊतिर हेरी। ऊ आफ्ना कैला आँखाभरी याचनासहित रीमालाई हेरिरहेको थियो।

October 25th, 2008
mdhsusma@yahoo.com

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.