समीक्षा : विजय मल्लका कविताका संरचक तत्त्व र प्राविधिक कौशल

~डा. माधवप्रसाद पोखरेल~

विजय मल्लका कविता सङ्ग्रह (२०२८) मा बटुलिएका ६१ ओटा कवितालाई केलाउँदा उनको कविता लेख्‍ने छुट्टै प्रविधिको परिचय पाइन्छ । उनका कवितामा ‘अमूर्त कला’ मा जस्तो चित्रकारिता पाइन्छ । भन्नु पर्ने कुरालाई घुमाउरो पाराले ‘प्रतीक’ हरू प्रयोग गरेर भनिएको पाइन्छ । कविको भणितव्य चाहिँ ‘कारण र परिणामको सम्बन्ध’ बाट प्रकट हुन्छ । म पात्र अनुसन्धाता जस्तो भएर प्रस्तुत हुन्छ । बुझी बुझी पनि नबुझे जस्तो ‘नाटकीय व्याज’ यहाँका ‘आलङ्कारिक प्रश्न’ हरूमा देखिन्छ । यो प्रविधि मूलत: उनका नाटकमा प्रयोग हुने प्रविधि हो । नाटककार सम र नाटककार रिमाल पनि आफ्ना कविताहरूमा कुन सीमा सम्म नाटककार देखिन्छन् भन्ने कुरो पनि तुलनात्मक अनुसन्धानको विषय बन्न सक्छ ।

  • किन आकाशका ताराहरू हेर्दैनन् अहिले, अनुहार आफ्नो यस धरतीको पानीमा ? किन नारसिस हुँदैन मोहित आफ्नो छायाँको सौन्दर्यमा ? (यस धरतीको पानीमा)
  • गुलाफको फूलमा अहिले, किन बारूदको गन्ध आउँछ ? (यस धरतीको पानीमा)
  • सुनसानमा-, मानो करुण चीत्कार सुने झैँ, रातको गाढ अन्धकारमा, छटपटाएर ब्युँझन्छु-, आफै आत्तिएर, तर्सिएर ! जून छितरिएको छ चारैतिर, व्यापक छ मौन, विषादयुक्त, कतै छाया सम्मन् चलमलाउँदैन- …मृत्यु-समेत मौन छ, मानो त्यसको जीवनी सुके झैँ । (सुनसानमा)
  • ए पुरोहित !, पत्यार पर्ने गरी, सत्य वचनले तिमी मलाई भन-, म फेरि यस लोकमा जन्मन्छु ?’ (म फेरि यहाँ नै जन्मन्छु ?’)
  • बीचैमा झनझनाएर, समाजबाट अलग्ग, एउटा मानिस चिच्याउँछ-, “स्वर बेसुरा, गीत अनौठो !” (टुटेको वीणा- तार झैँ)

समसामयिक यथार्थलाई व्यङ्ग्य गर्न कवि विजय मल्ल पहिले प्रतीकात्मक रूपले रङ्गमञ्‍चीय साजसज्जा तयार गर्छन् । प्रतीकात्मक रूपमै त्यहाँ घटना र पात्रहरू प्रस्तुत हुन्छन् । व्यङ्ग्यका लागि मानवीय पात्र मानवेतर पनि हुन सक्छ र मानवेतर पात्रको मानवीकरण पनि हुन सक्छ । म पात्र चाहिँ दर्शक, अनुसन्धाता र अनुभवकर्ताका रूपमा प्रस्तुत हुन्छ । मृत्युको पनि जीवनी सुके जस्तो वर्णनले अतिशयोक्ति अलङ्कार बन्छ ।

  • म कहाँ छु ? बेहोश थिएँ निन्द्रामा, एक रातमा । एउटा लामो निस्वासले बिउँझायो मलाई, एउटा रुञ्‍चे आवाजले चिथर्‍यो मलाई, अनि चाल पाएँ, बाँचेको छु झैँ लाग्यो आफूलाई, (एक रातमा)
  • उफ ! मै भित्र एउटा मानिस, रुन्छ कहालिएर, कल्पेर- (एक रातमा)
  • रातो रगतले कोरिएको साँध छ । खेतमा डील लाए झैँ, हेर, हरेक राष्ट्रका फाँटमा ! यो हो भारत, यो हो पाकिस्तान, हिन्दू मुसलमानको रगतले मुछिएको यही हो रेखा महान (छोरीलाई मानचित्र पढाउँदा)
  • यही हो अमेरिका, डालरको देश-, ‘अणु बम’ को निर्माता, शान्तिको सन्देश । (छोरीलाई मानचित्र पढाउँदा)
  • त्यो पर माथि आकाशमा, दिउँसै देन रोएको, छटपटाएको, आँसु झारेको, तिमीले देख्यौ ? (संझना)

विजय मल्ल प्रगतिशील मार्क्सवादी र विद्रोही कवि देखिन्छन् । सामन्तवाद, साम्राज्यवाद र पुँजीवादको विरोध, विश्व बन्धुत्व, सर्वहाराहरूको उन्नति, मानवतावाद मार्क्सवादीहरूका चाहना हुन् ।

  • कुनै दिन यस्तो आउला, त्यो रातो रेखा खोजे पनि तिमी पाउने छैनौ त्यहाँ । (छोरीलाई मानचित्र पढाउँदा)
  • युगको भावना मार्न चाहने, ए हत्यारा !, तिमी मलाई भन्छौ ‘कलम रोक !’ (कलम रोक !)
  • यदि कोही भोको भोकले चिच्याउँछ भने, त्यसको पेटमा विषको छुरी किन रोप्तैनौ ?…तर तिमी मलाई भन्छौ- ‘कलम रोक !’ (कलम रोक !)
  • तर, ए आत्मा किन्ने मानिस ! मेरो पछाडि, तिम्रो सेवामा लाख नरनारी छन्, लाख भोका, पेटका बांगाटिंगा रोगी छन्, लाज जोगाउन नसकेर नांगै तिम्रा सम्मुख छन्, तिम्रो दयाको गुणगानले मन्त्रमुग्ध भएर, खिचिँदै, तानिंदै, तर्सिँदै, पेसिंदै आउँदैछन्-, उर्लेको भेल झैँ नग्न मानिसका जुलूस । निन्दा जोसुकै गरोस् तिम्रो, राष्ट्रिय कानूनले हाम्रो जिभ्रो सभ्य बनेको छ । (ए आत्मा किन्ने मानिस)
  • तिमीलाई तिम्रो स्वार्थरक्षाको खातिर, तिम्रो सिंहासन, महलको बचावटको खातिर, शक्तिशाली सत्त चाहिएको छ, तर्साउने भीषण दानवहृ चाहिएको छ, ठूलो राज्य चाहिएको छ, तिम्रो शक्तिको सामुन्ने झुक्ने, दासहरूको भीड चाहिएको छ, कहिलेकाहीं स्वतन्त्रताको सिद्धान्त, परजातन्त्रको पवित्र वृत्तान्त, शान्तिको बुलन्द नारा-, कहिलेकाहीं युद्ध पनि चाहिएको छ । रोटीको खातिर मर्ने वीरहरू-, देशभक्त पनि चाहिएको छ (बाक्लो कोट)

कवि विजय अमेरिकाली साम्राज्यवादको पनि विरोध गर्छन् । मूर्ति चोरीको विरोध पनि उनको राष्ट्रवादको एउटा अंश हो ।

  • ठूला नगरका ठूला मानिस, ठूला महलका ठूला मानिस, सात समुद्रका शिरपेचधारी, अरे हजार राज्यका राजपति, अरे पूँजीपति, कलपति, न्यायपति, ठूलो चाहना पूर्ति गर्न, मदिरा पिई मदोन्मत्त बन्न, यो शिशुको रगत-, प्रेमले पग्लने प्रेमी-प्रेमिकाको सुन्दर जगत, यो नर्कटे मानवको लघु घृणित ढाँचा, फोड फोड, फाल फाल !, बम खसाल ! ए बम खसाल ! (बम खसाल ! ए बम खसाल !)
  • समयको शिलाबाट उप्केर कता कता !, जुनेली रातमा मूर्तिहरू धमिलिएर बिलाए झैँ, (सनातनमा)

विजय मल्लका कवितामा कहिले काहिँ अङ्ग (Metonym) ले अङ्गी बुझाउँछ । यहाँ ‘रातो रेखा’ ले युद्ध जनाएको छ ।

कविले भन्नु पर्ने कुरो लुकाएर लुकाइएको बिम्ब (उपमेय) सँग तुलना गरिएको वस्तु (अर्थात् उपमान) मात्र कवितामा सजाउँने प्रविधिलाई संस्कृत समालोचनामा अतिशयोक्ति अलङ्कार भन्दछन् । उपमेय लुकाउने प्रविधिको प्रयोग विजय मल्लले पनि आफ्ना कवितामा गरेको पाइन्छ । तलको उद्धरणमा उपमानलाई उपमेय र उपमेयलाई उपमान बनाइएको छ ।

  • मलाई त्यस बखत हाँसो उठ्छ-, जब बाँदरले मनुष्यको मकुण्डो लाएर, मानिसको नक्कल गर्दछ, स्वाङ भर्दछ ! र तालतालमा सबै मानिस भनाउँदा पनि, बाँदरलाई नचिन्हेर, मानिस झैँ ठानेर, शिर हल्लाउँछन्, प्रशंसामा स्तुति गाउँछन् । (मलाई त्यस बखत हाँसो उठ्छ !)
  • मान्छेले आफ्नै छायाँमाथि छुरी रोप्तछ, मानिसले आफ्नै सत्तामाथि त्यहीँ परहार गर्दछ, (म फेरि यहाँ नै जन्मन्छु ?)

जुनसुकै कविले सामान्यलाई असामान्य बनाउँछ र असामान्यलाई सामान्य बनाउँछ । विजय मल्ल पनि विशेष प्रयोजनका लागि त्यो प्रविधिको प्रयोग गर्दछन् । मान्छे भिडमा भन्दा एक्लै हुँदा र दिउँसो भन्दा अँध्यारामा सद्दे हुन्छ भन्ने कुरो कविले तलका हरफहरूमा व्यक्त गरेका छन् ।

  • म बाटो बिराउँछु उज्यालोमा, म कसैलाई घृणा गर्दिन, तर म यहाँ घोरिइरहेछु-, कालो पर्दा तानेर ! (कालो पर्दा तानेर)

उपन्यासकार र नाटककारका रूपमा विजय मल्लको प्यारो विषय मनोविश्लेषण हो । उनको त्यो व्यक्तित्व उनका कवितामा पनि पाइन्छ । उनलाई अचेतन र इद जस्ता कुराहरू बढ्ता मन पर्छन् ।

  • कामेच्छा की अभिव्यक्ति ‘उर्वशी’, चिर यौवना, बसेकी छ एक शिलामा-, क्रोधातुर, आहत-, अर्जुनको वचन-वाणले ।…घृणित मानिसको रूप लिई, हिँडिरहेको अर्जुन, सदाचारको बोझले लादिएको अर्जुन !, कामेच्छा तडफडाउन थाल्दछ-…। जीवनीको क्रमलाई, मृत्यु आएर लुछ्‍तछ । उर्वशी, घृणोत मानिसको उच्च आदर्शले, पिटिएकी लखेटिएकी…। आज मानिसको ठेटनो बच्चोले, जीवनीको मुहान थुन्न कोशिश गर्दछ, जडताको दु:साहसमा ! मृत्यु…उर्वशीलाई गिज्याइरहन्छ !…तब पृथ्वीमा पानी बर्संदैन, यौवन फुट्तैन…। (उर्वशी)

उपमा अलङ्कार प्रयोग गर्दा विजय मल्ल उपमानको आविष्कार गर्छन् । आविष्कार पनि कवित्वको एउटा कसी हो ।

  • हरियो पहाडको मधुर वसन्त जस्तो,…सपना ओसारी हिँड्ने जून जस्तो, तिमीलाई संझेथेँ ।…तिमी को ?, हुरी झैँ हुर्रिएर, हिमालको चुलीबाट चिसिएर, सुस्करा झैँ बग्दछ्यौ । …कहिले मायालु सौन्दर्यको ज्योत्स्ना झैँ, जीवनको पटमा पोखिन्छ्यौ, …(भन तिमी को ?)
  • चन्द्रमा एक धर्का चाँदी जस्तो (सनातनमा)
  • तिमीलाई देख्ता सपनाको साँध मेटिए जस्तै लाग्छ । (सङ्लो पानी पिए जस्तो लाग्छ)
  • मुर्दा गीतको लाश…गाड्न कहाँ जान लागिरहेछौ (मलाई नसोध !)

व्यङ्ग्य विजय मल्लका कविताको एउटा अपरिहार्य विशेषता हो ।

  • यन्त्र-मानव, पाकेटमा हात हालेर बिस्तारै हिँड्छ, हाँसेर हिँड्छ । मानो यस दुनियाँमा केही भएको छैन (यान्त्रिकता)
  • ए आत्मा किन्ने मानिस हो ! सुन, म पनि आत्मा बेच्छु ।…तिम्रै महानताको गानले, ती कंगाल, मानिस भनिन योग्य भए । (ए आत्मा किन्ने मानिस)
  • ती अपराधी हुन्, जो तिम्रो परिश्रमको महलमा, इज्जतको एक फूल चढाउँदैनन् । ती विद्रोही हुन्, जो तिम्रो मानिस सधाउने बुद्धिको, महिमा गाउँदैनन् । ती कृतघ्न हुन्, जो तिम्रो कृपाको अभिनन्दनमा, एक गीत पनि रच्दैनन् । —जोसुकै तिम्रो छानो उघार्न प्रहार गरोस्, खुँडा, बञ्चरो गोलो र गोलाले । तर हामी अहिंसाका उपासनाले, दन्त उखडिएका सर्प झैँ, तिम्रो सम्मुख नाच्तछौँ, रूप भर्दछौँ, कला परदर्शन गर्दछौँ-, सहस्र युगको संगालिएको संपत्तिको एक त्यान्द्रोले ! तिमी विजय गर, खुलेआम दासयुगलाई फेरि उदय गर । (ए आत्मा किन्ने मानिस)

व्यङ्ग्यमा दोहोरो अर्थ पनि लाग्छ :

  • किन, म आत्मा बेच्छु । ए आत्मा किन्नि मानिस,- सुन, म आत्मा बेच्छु । (ए आत्मा किन्ने मानिस)

हरेक क्रान्तिकारीलाई सुरुमा बौलाहा ठानिन्छ भन्ने कुरो राख्तै कवि आफूले पनि बौलाहाले जस्ती परम्पराको विपरीत गीत गाइरहेको कुरो अघि सार्दै आफ्नो क्रान्तिकारिताको वकालत गरेका छन् :

  • सब थिए पागल, प्रारम्भमा । कालान्तरमा, हर्को वीणाको तार टुट्छ ! अर्को बेसुरा गीतको आलाप, अर्को सौर्य जगत्‍लाई आमन्त्रण, अर्को पागलको कल्पना ! ए सनातनका पूजारी, तिम्रो गीतको विपरीत, आज म पनि गाइरहेछु ! गाइरहेछु । (टुटेको वीणा- तार झैँ)

अनेक विपरीत सामाजिक परिस्थितिमा जन्मेको मान्छेले कमाएको सम्पत्तिमा सीमित ज्ञान बाहेक खालि हार मात्र कमाउन सजिलै सक्छ, त्यसैले चेस्टा बाहेक मान्छेको कुनै वैभव हुँदैन भन्ने कुरो कविले स्वीकार गरेको पाइन्छ :

  • मसंग कुनै वैभव छैन । मेरो अनवरत चेष्टाको कहानीबाहेक (मसंग कुनै वैभव छैन)

बोलचालमा जुन जुन शब्दहरू नजिकै आउँछन्, विजय मल्लका कवितामा अरू नै शब्दहरू नजिक आउँछन्। वास्तवमा कविहरूले नै बोलचालको शब्द साहचर्य खज्मज्याउँछन् र भाषालाई सौन्दर्य दिन्छन् :

  • मृत्यु सोझै हाम्फाल्न सक्तैन, झुक्किन्छ (उराठलाग्दो दिनमा)

विजय मल्ल भौतिकवादी छन्, त्यसैले उनी परम्परावादीलाई छेड पनि हान्छन् । उनी राष्ट्रवादी छन् । उनी स्वार्थ र अन्धविश्वासको विरोध गर्छन् । उनी देशको गतिहीनतामा व्यङ्ग्य गर्छन् । उनी नारीवादी छन् र ‘नारी नङ्ग्याउने’ परम्परा मन पराउँदैनन् ।

  • जीर्ण विदीर्ण, प्राचीनतम भित्तामा, झुण्डएको तर्लंग एउटा, युवतीको नग्न ‘तस्वीर’, — समाजका आदर्श पुरूषहरू, रातमा बत्ती बालेर, मिहिन कालीगडीले, छोप्न कोशिश गर्दछन्‍, त्यो तर्साउने नग्न आकारलाई । भोलिपल्ट हुन्छ बिहान-, त्यो तस्वीर जस्ताको तस्तै हाँसिरहन्छ । —म भने त्यसमा केही देख्तिनँ–, खालि एउटा तस्वीर, बाँचेकाहरूका बच्चाको-, हुन सक्ने सच्चा आमा, मामुली, यौवन-सम्पन्न तस्वीर ।

यसरी विजय मल्लका कविताका पाठकहरूले उनका कविताका उल्लेख गरिएका संरचक तत्त्व र प्रविधिहरूसँग परिचित हुनु पर्छ । नेपाली कविता साहित्यमा उल्लिखित केही लक्षण त अरू कुनै कविका कवितामा पनि पाइँदैनन् ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.