~आषिश श्रेष्ठ~
निन्द्रा नपुग्दै जोडीएका परेलीहरु
विस्तारै उघारेर झ्यालबाट हेरे
पसलका सटरहरु बन्द
बाटोमा गाडी बन्द
एक छिन हेरीरहेँ
यस्तै रमिताहरु
सायद मेरा आँखा बन्द नभएर होला ।।
धेरै बेर सोचेर बसेँ
किन बन्द गरिन्छ ?
पसल र सडकहरु मात्र
कार्यालय र होटेलहरु मात्र
अनि
किन बालिन्छन टायरहरु
किन लगाइन्छ जिन्दावाद र मुर्दावादका नाराहरु
मानसपटलमा धेरै प्रश्नहरु एकाएक उव्जिए
सायद मेरो मन पनि त वन्द थिएन आज ।।
फेरी आजै खाने चामल सकिएछ
तेल र नून पनि त सकिएछ
दुइ चार पैसा बोकेर हिडेँ परसम्म
बन्द भएका पसलका पिडीँ पिडीँ चाहार्दै
एक मुठी चामल पाउने आशामा
धेरै बेर हिडेँ
किनकी मेरा खुट्टा वन्द थिएन आज
तर
कतै पाइएन एक मुठी चामल
एक ढिको नून समेत
सुनेँ धेरै
जिन्दावाद र मुर्दावादका नाराहरु
झण्डा हल्लाएर एक जमात हिडिरहेको थियो
धेरै पछि आज सुनेँ चर्को आवाजका सुसेलीहरु
सायद मेरा कान बन्द नभएर होला
मुसा दौडीरहेका थिए
आज मुसाका लागि खुल्ला भएछ पेट
नजिक भए सुनिन्थ्यो होला
मुसाको लडाइँ
अनि मेरा पेटको व्यथा
किनकी मेरो पेट पनि बन्द थिएन आज
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)