~दीपक घिमिरे~
उसलाई देख्दा ती पुराना दिनहरुको याद आउँछ, जुन दिनहरुमा उसको घर नै स्वर्ग थियो । उसका बाआमाको मुखमा देखिएको मुस्कानले हाम्रो टोल छिमेक नै हर्षित थियो । उसका बाआमाले आफुसँगको खुशी सारा गाउँलेलाई बाँड्ने कोशिस गर्दथे । आफ्नो औकातले भ्याएसम्मको खुशीयाली गाउँ समाजमा बाँडेकै हुन् उसका बाआमाले ।
उ अर्थात् ठूले ! नाम दीपक भए पनि हामी गाउँघरमा उसलाई ठूले भनेर बोलाउँथिम् । उ जन्मेकै दिनदेखि उसको घरमा खुशीका बत्तीहरु बल्न थालेका थिए । पहिलो सन्तान छोरी पाएर गदगद भएका ठूलेका बाआमाको सबैभन्दा ठूलो खुशी नै दोस्रो सन्तानको रुपमा ठूलेले जन्म लिनुमा भयो । त्यही खुशीको दिनलाई सम्झिन्छु, जुन दिन ठूलेका बाआमाको खुशीका आँसु झरेका थिए ।
औकात अनुसारको रमाइलो गर्दै ठूलेको छैंटी मनाइदिए उसका बाले । उसको छैटीमा सारा गाउँलेलाई निम्तो थियो । सबै नाचेका थिए पालैपालो ! ठूलेका बाआमा झन अबिरै अबिर भएर नाचेका थिए । त्यो दिनको याद गर्दा ठूलेका बाआमाको नाचो भुल्न सक्दिनँ । बूढाबूढी नै कम्मर मर्काउँदै नाच्दा निम्तालुहरु सबै नाच्न थालेका थिए । आफु नसुतेर भए पनि छोरालाई सुताउन खोज्ने ठूलेकी आमा अनि आफु रोएर भए पनि छोरा र बूढीलाई हँसाउन खोज्ने ठूलेका बाको परिवार त्यो बेला हाम्रो टोल छिमेककै सबैभन्दा खुशी अनि सुखी परिवारमा गनियो ।
दिनहरु बित्दै गए । छैटी पछाडि ठूलेको धुमधामसँग न्वारान गर्दिए उसका बाआमाले । गाउँकै नामी पुरेत बालाई बोलाएर उसको नाम राखियो, ‘दीपक ।’ दिन, महिना गर्दै दीपक ठूलो हुँदै गयो । सबैले माया गरेर उसलाई ठूले भनेर नै बोलाउन थाले ।
रात दिन जति दुःख गरे पनि हँसिलो मुहार लिएर ठूलेका बा घर आउँदा हसिलै मुहारले ठूलेकी आमाले बूढालाई स्वागत गर्दथिन् । हामी छिमेकीहरुलाई यस्तो लाग्दथ्यो कि त्यो परिवारको खुशी नै त्यही ठूलेले लिएर आएको रहेछ ।
यी यादगार दिनहरु त ठूलेका बाल्यावस्थामा हामी छिमेकीले देखेका अनि भोगेका भए । समय बित्दै जाँदा रुखो सुखो घरमा खाएर भए पनि ठूलेका बाले आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन धेरै नै कोशिस गरे । फलस्वरुप दश कक्षासम्म सबैले राम्रो पढे । सबैको पढाइ राम्रो हुँदाहुँदै पनि ठूलेबाट उसका बाआमाले धेरै आशा गरेका थिए पढाइमा । गाउँघरमा पढेर इज्जत राख्देला अनि बूढेसकालको बलियो अनि दरिलो सहारा होला भन्ने धेरै आशा बाआमाले ठूलेबाट नै गरेका थिए ।
आशाअनुरुप ठूलेले पढाइमा फड्को मार्न सकेन । तर पनि उसको बालाई सकेसम्म पढाउने नै इच्छा थियो । धेरै कोशिस गर्दा पनि ठूले पढाइमा भन्दा पैसा कमाएर बाआमालाई सुखी अनि खुशी बनाउने सपनातिर दौडियो । सायद घरको हैसियतलाई सानैदेखि बुझेको अनि बाआमाको दुःखलाई महसुस गरेको हुनाले होला ठूलेले अब कमाएर बाआमालाई सुख दिन चाहन्थ्यो ।
हिजो बाआमाले उसलाई दिएको मायाको बदलामा अहिले ठूलेले बाआमालाई माया दिदै थियो । छोराको माया पाएर ठूलेका बाआमा मख्ख थिए । गाउँघरमा पनि छोरा होस त ठूलेजस्तो भन्नेहरुको कमी थिएन ।
हाम्रै आँखाअगाडि जन्मिएको अनि हुर्किदै ठूलो भएको ठूले जवान भयो । उसका बाआमाले बुहारीको सपना देख्न थाले । उसले पनि बाआमाको इज्जत रहने घरबाटै बिहे गर्ने अठोट लिएको थियो, त्यो पूरा गरिदियो । घरमा बुहारी भित्र्याएको दिन ठूलेका बाआमा यति धेरै खुशी थिए कि त्यति खुशी ठूले जन्मिदा पनि भएका थियनन् सायद । ठूले पनि आमाका सुखका दिन आए भन्ने कल्पिदै खुशी नै देखिन्थ्यो । उसलाई जीवनसाथी पाएको भन्दा पनि बाआमाको खुशी पूरा गर्देकोमा गर्व थियो । इष्टमित्र अनि छिमेकीहरुलाई बोलाएर घरमै गरिएको भोजभतेरले पनि गाउँ नै खुशी भएको देखाउँथ्यो ।
दिन बित्न के समय लाग्दछ र ? हिजो हाम्रै आँखाअगाडि जन्मिएको ठूले आज आफ्नै सन्तानको बाउ बन्ने अवस्थाको भइसकेको छ । हिजो ठूलेको जन्ममा रमाउने उसका बाआमाहरु आज आफ्नो खुशी अरु कसैले लुटेर लगेको गुनासो गाउँघरमा पोख्दै हिडेका छन् । बिहेभन्दा अगाडिको छोरो र बिहेपछिको छोरोमा धेरै भिन्नता छ रे । ठूलेका बाआमा यस्तै गुनासो गर्छन् । तर म सम्झिन्छु– ठूलेका बाआमाले ठूलेलाई कहिले पनि मायामा तल माथि पारेनन् । आफुले एक छाक खाएर भए पनि ठूलेलाई पेटभर खुवाए । आफु रोएर भए पनि ठूलेका लागि खुशी किन्दिए ।
बुहारी भित्रेको केही महिनामै बाआमाले किन यसरी दुःख पाउँछन् त भन्ने कुरा मनमा खेल्न थाले । गलत ठूलेका बाआमा हुन् कि भन्ने सोचम् भने त्यो पाप नै हो । किनभने मेरो सोचाइमा देवता भनेकै बाआमा हुन् । अझ ठूलेका २५ औं बसन्तहरुमा सँगै हाँस्ने र सँगै रुने उसका बाआमा नै बने । तर हिजो घरमा आएकी बुहारीको कारणले यति निरास हुनुमा छोराको मायामा कमी हुनु निश्चित नै मानें । नत्र त अर्काकी छोरीले हेंला गर्दैमा बाआमालाई यति धेरै पीडा नहुनुपर्ने होइन र ?
(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)