लघुकथा : परिवर्तित ती नामहरू

~आचार्य प्रभा~acharya Prabha

‘यार ! ज्यादा आदर्शवादी नबन् न । मौका भन्ने कुरा सधैं आउँदैन । आज बल्ल जवानीको यो पलमा आएर जिनालाई भेट्ने मौका पाउँदैछस् के लाछी भएर डराउँछस् नि ?’ यसरी वैभवलाई उक्सायो उत्तमले ।

त्यसैमा थप्यो उदेशले । ‘नाम मात्र यसको त वैभव रैछ । हिम्मत त रत्तिभर छैन । मलाई त्यसरी समय दिएर आउने गर्लफ्रेण्ड भए त…, म त….’ भन्दै थुक घुटुक्क निल्यो । बिराजले सही थाप्यो । ‘हो यार आफूले त एकैपल्टमा ३–३ जना गर्लफ्रेन्ड बनाइयो र मस्ती गरियो । मर्दको छोरो हुँ म ।’

उदेशले बिराजलाई जिस्किँदै प्रश्न गर्यो– ‘ती ३–३ जनाका नामचाहिं के परेछ त ? हामीले पनि कतै …।’

‘नाम त बोलाउने बेग्लै छन् सबैका तर ‘निक’ नाम राखिदिएको छु मैले तिनीहरुलाई । एउटीको आफ्नो नाम उर्वशी हो उसलाई ‘उरु’ भन्छु । अर्कीको अप्सरा रे ‘अप्पु’ भन्छु । अर्कीको निकिता रे ‘निकु’ भन्छु’ –बिराजले जवाफ दियो उदेशलाई ।

ती नामहरु सुन्नासाथ उदेश झस्कियो र सम्झन थाल्यो । आफ्नी बहिनी निकिताले पनि फेसबुकमा ‘निकु’ नाम राखेको । एकैछिन उदेश मौन बनेर सोंच्न थाल्यो बहिनीको विगत ३–४ महिनादेखिको परिवर्तित आचरण । खाना नखाने । बिरामी छु भनेर सुतिरहने । बेलाबेलामा आफैं डाक्टरकोमा जाने । प्रायः फोनमा निन्याउरो बनेर कुरा गरिरहने ।

उत्तम पनी के सोंच्न थाल्यो कुन्नी ? घोरिन थाल्यो ।

आफैंलाई उक्साउने साथीहरु त्यसरी घोइरिन थालेको देखेर । वैभव उच्छृङ्खल बन्दै कराउन थाल्यो– ‘ल ! किन सबै नुन खाएको कुखुराजस्तो भाको ? अघिसम्म मलाई पाठ सिकाउने तिमीहरु एैले के भो ? ऊ मेरी प्रियसी आउँदैछिन् । तिमीहरुले नै मलाई मर्दको पाठ सिकायौ । अब म पनि मर्द बनेर तिमीहरुलाई देखाउँछु ।’

त्यो आइरहेकी युवतीलाई देखेर बिराज पनि अवाक् बन्यो र सोंच्न थाल्यो– ‘यसले पनि नाम फेरिछ ?’ अनि त्यही युवतीतिर आफ्नो तेर्सिएको दृष्टि फ्याँक्न थाल्यो । युवती पनि बिराजलाई देखेर किंकर्तव्यविमुढ बनेर आत्तिएझैं गर्न थाली । वैभव भने ती साथीहरुलाई झक्झकाउँदै । ‘ल ! साथी हो बाईबाई सी यु ल्याटर’ अब म गर्लफ्रेन्डसँग इश्क लडाउन गएँ भनेर बिदा हुँदैथियो, तिनै साथीहरुले वैभवलाई रोक्ने प्रयास गरिरहेका थिए ।

अमेरिका

(स्रोत : विश्वन्युज डट कम )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.