~डेभिड ढकाल “भुइँमान्छे”~
शनिबारको दिन, केही काम नभएपछि घर नजिकैको चिया पसल पुगे ! बुढापाकाका कुरा सुन्न अति नै मन लाग्छ , कहिले समसामयिक, कहिले राजनैतिक कुराहरु वृद्ध ब्यक्तिबाट सुन्नु अलि फरक नै हुन्छ । साथि सर्कलमा गरिएको कुराहरु भन्दा अलि भिन्न अनुभव हुने गर्छ वृद्ध हरुको कुरा ।
उमेरले नेटो काटिसकेकाहरु, डाँडा माथिको जुन भनेर आफुलाई भनिरहने हजुरबुबाहरुको कुरामा थोरै अनुभव, थोरै भोगाइ , थोरै सोचाइको समिश्रण पाइने हुनाले नै मलाई हजुरबुबाहरुका कुरा सुन्न चाह बढ्दछ । शनिबार फुर्सदको समय आफुलाई डाँडामाथि का घाम भन्नेहरुको भेला छ माथि चिया पसलमा , हासो, ठट्टामा ती हजुरबुबाहरु आफ्नो उमेर भुलिरहेछन् , समय कटाइरहेछन,हासो गुन्जिरहेछ, अाफुलाई पनि त्यहि हासोमा समाहित गर्न पुगे म चिया पसल ।
पसल अरु दिन भन्दा अलि भिन्न थियो ,धेरै अघि गाउँ छाडेका हर्के दाइ आएका रहेछन । जेठा बा ले भने ” हर्के हामीले गल्ती गरेउ , हामीलाई माफ गरिदे है ।” हर्के दाइ प्रफुल्ल भएर भन्नू भयो “होइन म जस्तो दलित सँग के को माफि र हजुर, म त हजुरको पाउको धुलो हू हजुरहरुको मन दुखाए भने पाप लाग्छ , मलाई पापको भारि नबोकाउनु , मेरा बाजेहरु बाहरु हजुरहरुको सेवक थिए म पनि त हजुरहरुको सेवक नै त हु ।” अलि पर सरेर आफू अलग्गै बस्न खोजे , जेठा बा ” हर्के यतै बस न किन पर भाग्छ” हर्के दाइ बोले “होइन हजुर म अछुत तपाईंहरु सँग बस्न सुहाउँदैन यहि बस्छु ।” माइला बा बोले “अहिलेको जमानामा पनि के छुत अछुत, तँलाई काटे रगत रातै हो, हाम्रो नि रगत रातै हो , कसरी छुत अछुत भइन्छ ?”
अरु दिन भन्दा अलि भिन्न लाग्यो, समाज परिवर्तित भए झै लाग्यो करिब ३,४ बर्षको अन्तराल पछि देखिएका हर्के दाइ अलि मोटाएका रहेछन् , सुटबुटमा कुनै ब्राह्मण पौढ झै देखिएका थिए, तर उनी ब्राह्मण थिएनन् । ४ बर्ष अगाडि माथिल्लो घरका साँइला हजुरबाका श्रीमतीले पानी थाप्दै गर्दा हर्के दाइका श्रीमतीले छोइदिएको निहुँमा सबै ब्राह्मण मिलि लखेटेका थिए । बिचरा, हर्के दाइ आफ्ना लालाबाला सहित भासिएका थिए काठमाडौं तिर । अहिले आँखामा ती दिन झलझलि आइरहेछन् , सम्झिरहेछु बिना गल्ती आफ्नो ठाउँ छोड्दा हर्के दाइका परिवार भक्कानिएका । ती ढुङ्गाका मन भएका ब्राह्मणहरुको मन पग्लिने छाँट थिएन, त्यसैले रुदै रुदै भासिएका थिए हर्के दाइ ।
अचम्म लाग्यो, हिजो कामीको छोरा भनेर छि छि र दुर दुर गर्नेहरु, गाउँ छाड्न बाध्य पारेकाहरु, छोएको खानै हुदैन भनेर भन्नेहरू आज एउटै टेबलमा बसेर चिया पिइरहेछन, समाज बदलियो, कि हर्के दाइ बदलिए ?
गाउँघरमा गाँइगुइ चलेकै हो, हर्के दाइले काठमाडौंमा घर किने भन्ने, यताको बाकी रहेको जायजेथा बेच्न आएका रहेछन् । भन्थे गाउँ रुढीबादीले ग्रस्त हुन्छ , युवाहरुले स्विकारे पनि ती वृद्ध हजुरबुबाहरुले जातभात छाड्छन भन्ने , मेरो गाउँ परिवर्तित भएछ । गाउँलेहरु सचेत भइसकेका रहेछन ।आज हर्के दाइ सँगै हजुरबा हरुले चियाका चुस्कि लिए, लाग्यो जातीय विभेद अन्त्य भयो । मन प्रफुल्ल बनाएर घर फर्किए ।
भोलिपल्ट बिहान सुने जेठि बज्यै धारामा पानी लिन जादा “जुठे” दमाई कि छोरीले गाग्री छोएको निउँमा जुठे दाइको छोरिलाई मरणासन्न हुने गरि पिटेछन् । र बाध्य बनाइदै छ आज फेरि जुठे दाइको परिवारलाई जबर्जस्ती गाउँ छाड्न ।
(स्रोत : एभरेष्ट दैनिक डट कम)