~हरि अधिकारी~
आफ्नो कुलनाम अथवा थर कहिल्यै नलेख्ने नगेन्द्र शर्मा हालसालै अनुस्मरण शीर्षक राखिएको संस्मरणात्मक निबन्धहरूको संग्रह लिएर पाठकसँग साक्षात्कार गर्न आइपुगेका छन् । एउटा गहु्रँगो संस्कृत शब्दबाट नामकरण गरिएको यस कृतिको सर्जकको नाम दिने बेलामा अन्तिम नामका रूपमा लेख्दै आएको ‘शर्मा’ पनि झिकिदिएर यी वरिष्ठ लेखक अब प्रख्यात हिन्दी समालोचक डाक्टर नगेन्द्रका शैलीमा ‘नगेन्द्र’ मात्र भनिन चाहन्छन् भन्ने जनाउ दिएका छन् । एउटा लेखकले आफ्ना रचनाका लेखकका रूपमा आफ्नो नाम कति लम्ब्याएर वा छोट्याएर लेख्ने भन्ने विषय नितान्त रूपमा उसको मर्जीमा भरपर्ने कुरो भएकाले अनुस्मरणका लेखकले पनि आफ्नो नाम छोट्याउँदै लगेकामा कसैले केही भनिहाल्नुपर्नेचाहिँ देखिँदैन । तर, लामो समयसम्म सार्वजनिक सेवाका क्षेत्रमा काम गरेका र त्यत्तिकै सक्रिय लेखक नगेन्द्रले आफ्नो अस्तित्वको मूल जरोका रूपमा रहेको कुलनाम र वंशवृक्षको नाम कहिल्यै पनि किन उच्चारण नगरेका होलान् भन्ने कुराको खस्खस् भने उनका पाठकलाई लाग्न सक्छ । बहुसंख्यक नेपाली आफ्नो थरलाई बढी गर्व र प्रेमले लिने संस्कारमा बाँधिएका जो छन् !
लेखकको जीवनी भन्न मिल्ने अनुस्मरणमा २१ थान संस्मरणात्मक निबन्ध र तीन थान परििशष्ट संकलित छन् । निबन्धहरूको विषयवस्तुले अहिले ८० वर्षमा हिँडिरहेका शर्माको खरसाङ, दार्जीलिङ जिल्ला, भारतमा बितेको बाल्यकालदेखि करबि दुई वर्षअघि काठमाडौँमा श्रीमती सोफी शर्मा ‘काकु’को निधन भएसम्मका घटनामा आधारित अनुभव र अनुभूतिलाई छोएका, समेटेका छन् । ‘सकिएन…’ नाम दिइएको आमुखमा लेखेका यी शब्द ‘एउटा सानो खरसाङे खहरेको भुल्को बग्दैबग्दै बंगोपसागर छोएर फेरि बाफ र बादलका रूपमा उड्दै वाग्मती किनाराको भुइँकुहिरो बन्न आइपुगेको कथा हो यो’का माध्यमबाट लेखक नगेन्द्रले आफ्नो जीवन-यात्राको मूल गोरेटोको रेखांकन गरेका छन्, बडो कलात्मक पारामा ।
अनुस्मरणले नगेन्द्र शर्माको असामान्य प्राज्ञिक, व्यावसायिक र पारविारकि सफलताको कथा सुनाउँछ पाठकलाई । तर, शर्माको सफलताको कथा बहुसंख्यक सामान्यजनका लागि प्रेरणा दिनसक्ने खालको भने छैन । नेपालको तेह्रथुमको एउटा विकट गाउँबाट चरम अभाव र गरिबीको जिन्दगीलाई बदल्ने आकांक्षाले वशीभूत लालाबालासहित पूर्वतिर हान्निएका र खरसाङमा पुगेर झोला बिसाएका नैष्ठिक ब्राह्मण चक्रपाणिका नाति नगेन्द्र शर्माको तन्नम् झोपडीदेखि वैभवपूर्ण महलसम्मको यात्रामा कुनै रोमाञ्चक तत्त्व भने छैन । पाइला-पाइलामा यिनलाई मद्दत गर्नेहरू उभिएका भेटिन्छन्, यी संस्मरणका पानाहरूमा । यिनको कुशाग्र मेधा र अंग्रेजी भाषामाथिको अधिकारले केही हदसम्म यिनलाई व्यावसायिक क्षेत्रमा सफलता दिलाउन सहयोग गरेकामा विवाद नहोला । तर, यिनले जुन क्षेत्रमा हात हाले पनि पाएको सफलताका पछाडि भने केही सतहमा देखा नपर्ने तत्त्व, पञ्चायती प्रशासनमा दबदबा भएको यिनको नातासम्बन्ध, राजनीतिक रुझान र केही हदसम्म भाग्य रहेको हुनुपर्छ ।
भारतीय नेपालीको समुदायबाट पितृभूमिमा आएर टिक्न र जम्न खोज्नेहरूले अपनाउने सबै खाले उचित/अनुचित उपकरण अनुस्मरणका लेखकले पनि अपनाए नै होलान्, सुरुसुरुमा । राजा महेन्द्रले गराएको २०१७ सालको बदनाम काण्डपछि प्रजातन्त्र पक्षधर पढे/लेखेका युवाहरू शासन-प्रशासनमा अछूतझैँ मानिएको त्यसबेलामा आफ्नो वृत्ति-विकासबाहेक अन्य कुनै कुरामा पनि रुचि नभएका मेचीपारबिाट आएका जागरुक युवाहरूको उन्नति/प्रगति त हुने नै भयो । आत्मकथा लेखनसँग जोडिएर आउने जोखिमहरू, बेलाबेलामा जिभ्रो चपाउनुपर्ने, आफ्ना ‘विषय’हरूको अवगुण देखाउन नसकिने र सम्पूर्ण लेखन महत्त्वहीन ढंगले ‘व्यक्तिगत’ हुन पुग्ने आदिले अनुस्मरणका लेखकलाई पनि लगातार लखेटेको बुझिन्छ, पुस्तकका पानाहरू पल्टाउँदा । लेखकले आफूले राजनीतिक नियुक्ति लिएर पूर्ण सरकारी विभाग सूचनाको निर्देशक भएर काम गर्दाका बखत अत्यन्त चर्चित र विवादास्पद बन्न पुगेको कलकत्तामा गरिएको प्रचार सामग्रीको छपाइकाण्डका बारेमा पटक्कै बोलेका छैनन्, न त विसं ०४० मा डाक्टर प्रकाशचन्द्र लोहनी सञ्चारमन्त्री भएका बेलामा यिनी, पीडी प्रधान र लक्ष्मण लोहनीसमेत भएको गैरवैधानिक सञ्चार कार्यदल गठन गरी मन्त्रालयको समानान्तर प्रशासन चलाउन खोजेर भाँडभैलो मच्चाएको र केही दिनमै सो कार्यदल निष्त्रिmय भएको कुरा नै कतै उल्लेख गरेका छन् । मसक्क आँटेर आत्मकथा लेख्न बस्ने हो भने अर्धसत्य र खण्डित सत्यको पुलिन्दा खोलेर पुग्दैन, पूर्ण सत्यको उत्खनन गर्ने साहस गर्न सक्नुपर्छ ।
विसं ००७ को प्रथम जनक्रान्तिका प्रसंगमा लेखक नगेन्द्रको तथ्यबोध गलत सूचनामा आधारित रहेको पाइन्छ । पुस्तकको ‘कलकत्ते कथा’ शीर्षक एउटा निबन्धको एक ठाउँमा उनी लेख्छन्, ‘नेपालमा ००७ सालको राणाविरोधी आन्दोलनमा कलकत्ताले महत्त्वपूर्ण भूमिका खेलेको थियो भन्ने कुरा एक तथ्य नै हो र कलकत्ताबासी नेपालीभाषी जति त्यस आन्दोलनमा होमिएका थिए, तिनको नेतृत्व पंक्तिमा डीएन प्रधान अग्रणी हुनुहुन्थ्यो भन्ने पनि सत्य हो । त्यो बेग्लै कुरा हो कि पछि गएर बीपी कोइराला गुटले यस आन्दोलनलाई नै हाइज्याक गरेर बनारस लगेछन् औ आफैँ त्यसका हर्ताकर्ता बन्न पुगेछन् । यो एक ठूलो राजनीतिक धोखाधडी थियो, जसको वास्तविक इतिहास आजसम्म ओझेलमै रहेको छ । ‘००७ साले क्रान्तिको बीजारोपण हिन्दुस्तानका सन्दर्भमा बनारसमा भएको, बीपी कोइरालाले पटनाबाट एक वक्तव्य निकालेर राणाविरोधी क्रान्ति सम्पन्न गर्न हिन्दुस्तान र देशभित्र पनि भएका क्रान्तिकारी नेपालीलाई एकजुट भएर एउटा राजनीतिक संगठन बनाउन आह्वान गर्नुभएको र त्यसैका आधारमा बनारसको राष्ट्रिय कांग्रेस र कलकत्ताको प्रजातन्त्र कांग्रेस एकअर्कामा विलय भएको र एउटा नयाँ पार्टी नेपाली कांग्रेस अस्तित्वमा आएर त्यसैको नेतृत्वमा क्रान्ति सम्पन्न भएको ऐतिहासिक तथ्यविपरीत नगेन्द्र शर्माको बयान कसरी लिपिबद्ध भएको हो, थाहा पाउन सकिँदैन ।
नगेन्द्रको अनुस्मरणको सबैभन्दा ठूलो कमजोरी नै, यसले बृहत्तर सामाजिक सरोकारका सूक्ष्म पक्षहरूलाई छुँदै नछोएर नगेन्द्र शर्माको वृत्ति-विकासको तालिकालाई मात्र महत्त्व दिनु हो । लेखकको कलम आफ्नै वरपिरि, आफ्ना साथीसंगाती, प्रेमिका, हाकिम, मन्त्री, पत्नी, शुभचिन्तक र कहीँकहीँ ईर्ष्यालु दुस्मनका बीचमा मात्रै घुमिरहन्छ । यीबाहेक पनि लेखकसँगसँगै एउटा पूरा युग हिँडिरहेको थियो । पञ्चायती तानाशाहीले आफ्नो पञ्जा फैलाइरहेको थियो, जनताका स्वतन्त्र हुने चाहनाको दमित नै सही आवाज पनि कतैकतै सुनिँदै थियो । विसं ०४६ र ०६२/६३ मा मुलुकमा क्रान्ति नै भयो । तर, लेखकको कलमले भने स्वयं सर्जकबाहेक कतै हेर्ने, बुझ्ने कष्ट गरेको छैन । एउटा जागरुक दृष्टिसम्पन्न वरिष्ठ नागरकि र लेखक राष्ट्रको दशा र दिशाप्रित यसरी निरपेक्ष रहन सक्नु भनेको पीडाप्रद आश्चर्य नै हो ।
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४५७)