~विश्वराज अधिकारी~
बाबुले छोरातिर हेर्दै भने– “हेर, तैंले बीएसम्म पनि पास गर्न सकिनस् । कलेजहरू च्याउझैं जताततै उम्रेको यो समयमा पनि उच्च शिक्षा हासिल गर्न सकिनस् । तर हाम्रो समयमा जब हामी कलेजका विद्यार्थी थियौं, ठूला–ठूला शहरहरूमा मात्र कलेजहरू हुन्थे । हाईस्कूल पनि ज्यादै कम हुन्थे, गाउँहरूमा । हाइस्कूल पुग्न गाउँबाट दुई घण्टा हिंड्नुपथ्र्यो मैले । कलेज पढ्न वीरगंज आउनुपरेको थियो । एक दिन घर पुग्न सकिनँ, यसो कलेज छुट्टी भएर त्यता जान खोज्दा । घर जान पनि पहिले वीरगंजबाट रक्सौल जानुपथ्र्यो । पैसा नभएकोले हिंडेर नै पुग्थें, रक्सौलसम्म । रक्सौलमा रेल चढेर त्यसपछि बैरगनिया जानुपथ्र्यो । बैरगनियाबाट गौर जानुपथ्र्यो, फेरि पनि हिंडेर नै । अनि अन्तमा गौरबाट हिंडेको तीन घण्टापछि बल्ल घर पुगिन्थ्यो । त्यस्तो कठिन जीवन थियो हाम्रो । विद्यार्थी जीवन पनि कम दु:खदायी थिएन । आईएस्सी पढ्न सार्है गार्हो हुने भएकोले केवल पढ्नुबाहेक केही गर्न पाइँदैन्थ्यो ।”
बाबुले भन्ने क्रम जारी नै राखे– “अति दु:ख गरेर पढें । कम उमेरमैं इन्जिनियर भएँ । काठमाडौंमा घर पनि बनाएँ । कर्मचारीहरूको सबैभन्दा माथिल्लो दर्जा हासिल गरें । सचिव पनि भएँ । काठमाडौं त के देशविदेशका मान्छेहरूले मलाई चिन्छन् । मैले लेखेका पुस्तकहरू नेपाल मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत बिक्री हुन्छन् । नेपालका सीमित बुद्धिजीवीहरूमा मेरो पनि गणना हुन्छ । तर तैँले त केही पनि गर्न सकिनस् । पटक्कै माथि उठ्न सकिनस् ।”
अघिदेखि एकाग्र भएर बाबुको कुरा सुनिरहेको छोराले भन्यो– “मलाई यस्तो पार्नुमा तपाईंको ठूलो हात छ, मेरो होइन । तपाईंले गर्दा नै म यस्तो हुन पुगेको हुँ, प्रस्ट गरी भन्ने हो भने ।”
छोराको कुरा सुनेर आश्चर्यचकित हुँदै बाबुले प्रश्न गरे– “कसरी ?”
छोराले जवाफ दियो– “बुबा, तपाईंले मलाई माया गर्नुभएन । तपाईंले आफूलाई, आफ्नो अहम्लाई बढी माया गर्नुभयो । आफ्ना सफलताहरूसँग अधिक प्रेम गर्नुभयो, मसँग होइन ।
केवल आफ्नो घमण्डलाई उच्च प्राथमिकतामा राख्नुभयो, मेरो भविष्यलाई होइन ।”
छोराले दिएको उत्तर सुनेर बाबु निकैबेर घोरिए ।
–श्रीपुर, वीरगंज–१४
(स्रोत : प्रतीक दैनिक पत्रिका)