~छविलाल कोपिला~
सुन कसैको कल्पनामा फल्दैन,
कसैको सपनामा पनि फल्दैन,
न त फल्छ, कसैको भावनामा
ऊ त फल्छ,
पसिनाको उर्लिदो भेलको मझ्धारमा ।
+ + + +
भोको पेट पसिना चुहाएर
जमीन उर्वर बन्न सक्छ,
समथर हुन सक्छ,
र, फराकिलो पनि हुन सक्छ
तर, यो धर्तीमा
आँकुरा निस्केर हरियाली बन्न सक्दैन ।
आँकुरा त पुष्ट दानामा निस्कन्छ
तर, उही दशा भोगिरहेछ
मेरो माटो
र, निरीह जिन्दगी बाँचिरहेछ पसिना ।
+ + + +
टुप्पा निमोटेर
हरियाली बसाल्न सकिदैन
न त सकिन्छ,
जिन्दगीको साँस फेर्न
जिन्दगी उज्ज्वल पार्न त
पसिनाले पखालिएका
हरेक आँखामा घाम झल्किनु पर्छ ।
+ + + +
पसिना लुट्न
यहाँ एक हूल भ्रमहरु
रंगी–चंगी बैलुन उडाउँछन् हावामा
आफ्नै बस्मा राखी राख्न
अर्को हूल झूठहरु
मनभरि आश्वासनका भुवा उडाउँछन्
तर, पसिना आफ्नै विवेकमा
नदी बनेर निरन्तर बगिरहन्छ
यता, भ्रम र झूठहरु
दुई किनारा भएर हेरिरहन्छन् पसिनालाई ।
+ + + +
अनि,
सप्तरंगी इन्द्रेणी माथि चढेर
जब, पसिना धर्तीमा पोखिन्छ
प्यासले छट्पटी रहेको
मेरो माटो हाँस्छ
र, सुन्दर सिर्जना गर्छ,
यता, मध्यरातमा मनको पोखरीभरि
कमल फुल्न थाल्छन्
अनि, औंसीको अँधेरीरात पनि
मुस्कुराउन थाल्छ ।
–लमही नगरपालिका–६ उत्तर मजगाउँ,
देउखुरी–दाङ
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)