~अशोक सिलवाल~
स्काइनेट अघिदेखि नै ब्युँझेर अफिमजस्तो एउटा आवाज प्रतीक्षा गरिरहेको छ।
सिरानीमा रहेको मोबाइल बज्छ, ‘ऋतुहरूमा तिमी हरियाली वसन्त हौ, नदीहरूमा तिमी हो…।’
गीत बज्नासाथ हत्तपत्त मोनिटर हेर्छ। थाहा थियो उसलाई– त्यो पावरवानकै आवाज हुन्छ।
म हिँडे, ‘उसले भन्छे।’
अघिल्लो रात उसले जिद्दी गरेकी हुन्छे, ‘तिमी आए पनि आऊ, नआए पनि नआऊ तर म स्वयम्भूको एकान्तमा तिमीलाई कुरिरहेको हुन्छु।’
पावरवानलाई सम्झाउँदै स्काइनेट मायाले बोल्छ, ‘तिमी यति धेरै ‘क्रेजी’ मसँग?’
खुसीले लाडिदै मादक आवाजमा उत्साहित हुँदै पावरवान बोल्छे, ‘त्यसो भए तिमी आउँछौं?’
‘पक्कै।’
हतारहतार उज्यालो नभइसकेको काठमाडौको चिसो बिहान कोठामा बत्ती बालेर दुई रुपैयाँको रेजर पर्सबाट निकालेर निकै दिनदेखिको दाह्री, जुँगा खौरिन्छ, स्काइनेट। कपालमा हल्का तेल लगाउँछ।
…
राति दुई बजेसम्म उनीहरू मोबाइल–संवादमै मस्त थिए। त्यहाँ थियो– प्रेम, यौन, हाँसो, लामा सासहरू, चुम्बनहरू, सुन्ने चार कान र बोल्ने दुई मुख। तर थिएनन् त्यहाँ आँखाहरू।
यो बिहानसँगै पावरवान र स्काइनेटका चार आँखा ‘न्याय अन्याय छुट्याई हेर्ने’ स्वयम्भूका दुई आँखामा रूपान्तरित हुन्छन्।
स्वयम्भूका निर्जीव आँखा सजीव भए अब।
…
चार दिनअघिको कुरा हो। अनायास अपरिचित मोबाइल नम्बर डायल गरेको थियो, स्काइनेटले। घन्टी बजेछ, पावरवानको मोबाइलमा। पहिलो झट्कामै आगलागीमा दमकल भएको थियो स्काइनेट। पावरवान जलिरहेकी थिई।
त्यसपछि आगो निभ्यो।
कुनै समय भ्याट, टीटी अनि थुपै ड्रग्सको सेवनअघि र पछिको ‘हेभन टि्रप्स’मा फसिसकेकी केटी फेरि पनि त्यतैतिर फर्किने हो कि भनेर डराइरहेकी थिई। अब ऊ स्काइनेटको आवाजमा त्यस्तो महसुस गर्दै थिई।
स्काइनेट उसलाई सम्झाउँदै थियो, ‘यदि त्यस्तो लाग्दै छ भने अब हामी कुरै नगरौं।’
स्काइनेट ‘स्लो पोइजन’ नभएर ‘स्लो’ अमृत हुँ भन्दै थियो आफूलाई। र, सेवन गर्न आग्रह गर्दै थियो, ‘वायर सेक्स, वायर लभ।’
अपरिचित आवाजहरू तीन दिनकै बीचमा दुवैका लागि अक्सिजन भइसकेका थिए। प्रत्येक सासमा स्काइनेट, प्रत्येक सासमा पावरवान।
…
पोखराबाट आएकी थिई ऊ राजधानी। विगतलाई बिर्सेर नयाँ जीवन सुरु गर्न। त्यसैक्रममा एउटा केटासँग फरार भएकी थिई। उनीहरूले भागी बिहे गरे। दुई महिना त कहिले होटल, कहिले लज र कहिले साथीकहाँ लुकेका थिए। टेलिभिजनमा उनीहरूका तस्बिर प्रसारण भएका थिए, थाहा दिनेलाई इनामसहित।
केही समयपछि उसले बिहे गरेकी हङकङ आइडीवाला केटो त्यतै गयो। ऊ बेलाबेला पैसा पठाउँथ्यो। उसले पठाएको पैसा सुन्धाराबाट लिन्थी। पैसा लिएको रात ऊ आफ्नो सानुभाइलाई छोडेर कतै जान्थी। सायद अन्धकारमा हराउन।
काठमाडौंमा ऊ र सानुभाइ बस्थे।
त्यो दिन पनि त्यस्तै भयो। स्काइनेटसँग स्वयम्भूमा बिहान छदेखि दस बजेसम्म समय बिताएकी थिई उसले। स्काइनेट खुसी थियो, पावरवान पनि खुसी नै हुनुपर्ने हो। स्काइनेटले अघिल्लो दिन नै खुसी भएर मोबाइलमा बोलेको सुनेर पावरवानको नाम नै ‘खुसी’ राखिदिएको थियो।
ओहो कस्तो संयोग! खुसी हुँदै उसले भनेकी थिई, ‘कसरी थाहा पायौ?’
‘के?’
सोधेकी थिई पावरवानले, ‘मेरो नाम खुसी पनि हो भनेर के?’
उसलाई मन पराउने पोखराका साथीहरूले कहिल्यै नरिसाउने भएकोले उसलाई ‘खुसी’ भनेर बोलाउँथे। अनि उसको दुई जोर रातो ट्र्याकसुट थियो। साथीहरूले गाउँथे एउटा गीत, ‘रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो…।’ पछिमात्र बुझी उसले, त्यो गीत त उसलाई जिस्काउन पो गाएका रहेछन्।
विदेश जाने मोह त थिएन। तर, कोरिया जान फारामा भर्ने बहानामा दर्जन बढी केटी आएका थिए, पोखराबाट काठमाडौं। ऊ पनि थिई त्यो हुलमा।
विदेश जाने भनेर काठमाडौं आए पनि उनीहरू विदेश त गएनन्, डिस्को भने धेरैपटक गए।
उनीहरू जो ड्रग्सलाई संसार भन्ठान्थे, ऊ पनि त त्यस्तै थिई। फेरि पनि त्यतै लाग्ने त होइन? स्काइनेटलाई चिन्ता लागिरहेछ।
उसको लोग्ने हङकङमा बसेर दर्जन बोतल बियर तन्काइरहेको टेलिफोनबाट उसले थाहा पाएकी थिई। भन्दै थिई, ‘काले! तिमीले खाएको बियरको गन्ध काठमाडांैसम्म आइपुगेको छ।’
यी सब टेलिफोन संवाद स्काइनेटलाई प्रत्यक्ष सुनाइरहेकी थिई, अर्को मोबाइल चालु राखेर।
…
त्यसपछि ऊ छतमा आई। स्काइनेट अघिदेखि नै छतमा थियो। त्यतिबेला सायद रातको आठ बजेको थियो।
आकाशमा हवाईजहाज पश्चिमतिर उड्दै थियो। काठमाडांैकोे आकाशबाट पर जाँदै थियो त्यो। उसले भनी, ‘तिमीले देखेका छौ, त्यो हवाईजहाजको लाइट?’
‘अँ देखेँ, देखेँ।’
धेरै बेरसम्म स्काइनेट र पावरवानले आकाशमा लाइट देखिरहे। उनीहरूले एकोहोरो हवाईजहाज उडेतिर हेरिरहे। जहाजले काठमाडांैको आकाशमात्र होइन, देशको सिमाना काटिसकेको थियो सायद। तर, पनि उनीहरूले लाइटको झिल्का देखिरहे। उनीहरूलाई लाग्यो, ‘त्यहाँ लाइट छैन र लाइटको झिल्का पनि। त्यो त मात्र फिलिङ्स हो।’
‘किन हामीमा यस्तो फिलिङ्स आयो?’ दुवैले दुवैलाई प्रश्न गरे।
उत्तर पाए– प्रेम।
तर के त्यो प्रेम थियो वा अर्कै केही…?
…
त्यसो त मोबाइल संवादको पहिलो दिन नै पावरवानले स्काइनेटसँग ‘ब्लाइन्ड डेट’को प्रस्ताव गरेकी थिई। त्यो प्रस्ताव त्यति ‘सिरियस’ थिएन। यदि ‘सिरियस’ थियो भने पनि रातको अन्धकारमा हराइरहेकी एउटी मोटी केटीको यौन–भोकबाट प्रेरित आग्रहमात्र।
तर, भोलिपल्टको रात त्यस्तो रहेन। प्रेम, आफ्नोपन, परिवार र लोग्नेभन्दा पनि नजिकको सम्बन्धको अनुभव भयो।
भन्दै थिई स्काइनेटलाई, ‘नदेखेको मान्छेलाई प्रत्येक पल खोजिरहेछु। एकान्त खोजिरेहछु तिमीसँग गफ गर्न।’
स्काइनेटले स्वयम्भूमा भेट्नुअघिको रात मायाले भनेको थियो, ‘पावरवान तिमी एकपटक रोइदेऊ न।’
सट्टामा उसले मोबाइल काटेकी थिई।
स्काइनेटको जीवनमा कुनै ‘टेन्सन’ थिएन। र, ‘टि्रप्स’ पनि थिएन। तर अहिले? पावरवानको प्रवेशपछि? ‘कसलाई भनूँ मेरो पीडा? ओ! पावरवान तिमीलाई भनूँ?’
जुन दिन पावरवानले सुन्धाराबाट पैसा ल्याएकी थिई र गायब भएकी थिई। त्यो १५ गतेको रात ऊ कुनै अन्धकारमा कालोसँग हराएकी थिई। उसलाई सम्झेर स्काइनेट बर्बराइरहेको थियो, ‘म मान्छेलाई मन दिन्छु र सट्टामा सबै चाहन्छु तर तिमी मलाई छोडेर कता गयौ?’
…
पावरवानले भनेकी थिई, ‘स्काइनेट म सोच्दै छु तिमीलाई। हरेक पल तिमीलाई सम्झँदै सोच्छु– मेरो कोही आफ्नो छ, जसलाई देखेको छैन, तैपनि ऊ के गर्दै होला, खाना खायो कि खाएन? उसले मलाई नै सम्भि्करहेको होला।’
‘एउटी विवाहित केटी, मोटी केटी, राम्री केटी, फ्र्याङ्क केटी।’ यस्तै सोच्छ स्काइनेट पावरवानलाई। तर, पावरवान बेखबर स्काइनेटलाई ‘फ्रस्टेड’ बनाउँछे अनि सहन नसकेर लेख्न बस्छ ऊ रातभर।
‘पावरवान! आइ मिस यु ए लट।’
भनेकी थिई उसले, ‘भोलि बिहान कहिले हुन्छ? यो रात कत्ति लामो।’
अझ यो पनि भनेकी थिई, ‘स्काइनेट, भगवान्ले मलाई जीवन वा बिहान तिमीलाई भेटेपछि मृत्युको ‘अप्सन’ दियो भने तिमीलाई भेटेर मर्न तयार छु।
स्काइनेटले जीवनमा त्यस्तो भन्ने पहिलो प्रेमिका पाएको थियो। यद्यपि ऊ प्रेममा विश्वास गर्थेन। तर, आज ऊ पीडित छ प्रेममा।
भोलिपल्ट उसले केही भनिन र रातको अन्धकारमा कालोसँग हराई।
…
स्काइनेट र पावरवान जब स्वयम्भूको उचाइमा पहिलोपटक पुगेका थिए, ठ्याक्क त्यति बेला हुस्सुलाई चिरेर सूर्य घाम बनिरहेको थियो। घाम स्वयम्भूभरि छरिएको थियो।
डन्डीमा अडेस लगाएर उभिँदा त्यो घाम पावरवानको अनुहारमा लपक्कै टाँसिएको थियो।
कस्तो राम्रो लागेको थियो, स्काइनेटलाई त्यो अनुहार।
‘तिमी र तिम्रो अनुहार स्वर्ग हो,’ मनमनै स्काइनेटले भनेको थियो, आफैंसँग।
त्यसपछि आफ्नो चिसो हात ऊतिर फ्याँकेको थियो र छुनलाई इसारा गर्दै थियो।
पहिलोपटक जब पावरवानले समातेकी थिई स्काइनेटको हात– कस्तो करेन्ट लागेको थियो ऊसलाई।
‘पावरवान म तिम्रो स्पर्शले म चार्ज्ड भएँ,’ उसले भनेको थियो। यो उसले ढाँटेको थिएन।
पावरवानले अघिल्लो रात एउटा प्रश्नको उत्तर दिँदै भनेकी थिई, ‘आकाश र आकाशमुनिको जमिनभन्दा बढी म तिमीलाई माया गर्छु।’ त्यो एक अर्कासँग नभेट्दै भनेकी थिई, उसले।
तर, जीवनमा पहिलोपल्ट सशरीर भेटेको पहिलो दिन सकिन नपाउँदै सुरु भएको १५ मंसिरको साँझ ऊ कता हराई? स्काइनेट यस्तै सोच्दै रातभर निदाउन त के, सुत्नसम्म पनि सकेन।
स्काइनेट एक्लो भयो।
‘माया के हो? ओ पावरवान, के त्यो सबैभन्दा ठूलो विश्वास र समर्पण होइन र? तिमी बेखबर हराउन पाउँछौ, तिम्रो मर्जी। तिमी तिम्रो मालिक हौ तर, म सहन सक्दिनँ।’ स्काइनेट पावरवानबारे रातभर यस्तै सोचिरहन्छ।
स्काइनेटले पावरवानको ती प्रत्येक शब्द र सासलाई सम्भि्करहेको छ। ‘अँ, अँ, होइ, किङ…। क्वीन, किस मी, किल मी, आई किस यु, आई लभ यु, आई हेट यु, आइ ब्रेथ यु, कति माया लाग्छ, एक मुरी…।’
‘आइ ह्याभ नो सेक्स एक्सपियरेन्स एन्ड यु ह्याभ एक्सपियरेन्स अफ सेक्स विथ योर हज्ब्यान्ड। सो प्लिज टिच् मी, हाउ टु मेक यु स्याटिस्फाई,’ यस्तै भनेको थियो उसले पावरवानलाई।
उसले भनेकी थिई, ‘यस् आइ विल् टिच यु।’
…
‘लुक एट माइ आइज,’ स्काइनेटले स्वयम्भूमा धेरैपटक भनेको थियो। हाँस्दै हेरेकी पनि थिई उसले।
के त्यो रमाइलो होइन? के त्यो आनन्द होइन?
तर, किन त्यही रात ऊ गायब भई?
स्काइनेट मनमनै सोचिरहेको थियो तैपनि, ‘आइ ह्याभ नो कमेन्ट। स्टिल आई लभ यु, विथआउट एनी होप एन्ड एक्सपेक्टेसन।’
यो प्रेम पनि कस्तो? केही दिनअघिसम्म कुनै चमत्कार थिएन। उज्यालो थिएन। तर, उज्यालो आयो, पावरवानसँगै।
उसले झुकेर जुत्ताको तुना बानिदिएकी थिई। स्काइनेटले लाडिएर, मातिएर, असिमित मायाले ‘जुत्ताको तुना लगाइदेऊ न’ भनेको थियो।
बाँदर र बदाम। पैसा चढाउने पोखरी र प्रतीक्षा। चिया र चुरोट। एकान्त र किस।
स्काइनेटको मनमा एउटै प्रश्न छ, ‘ओ गड, म के गरौं? स्काइनेट इज अ ड्रगिस्ट। एडिक्ट।’
पावरवानको आवाज नसुनी ऊ निदाउनै सक्दैन। के योभन्दा ठूलो ड्रगिस्ट, एडिक्ट कोही हुन सक्छ?
स्काइनेट आफैं प्रश्न हो र उत्तर पनि, ‘ओ, माई स्लिपिङ ट्याब्लेट, होयर आर यु? आइ वान्ट टु लिसन् योर भ्याइस एन्ड बे्रथ।’
यसरी रातरातभर बरबराइरह्यो स्काइनेट।
पावरवानले गुनगुनाएका गीत सम्झेर केही छिन शान्त भयो ऊ।
संगीतको शक्ति।
अघिल्लो दिन पावरवानले केही गीत गुनगुनाएकी थिई। एउटाचाहिँ यस्तो थियो– तिमी मनको दियो बाली बस्नु है, म आउनलाई…।
…
त्यति बेला रातको होइन, बिहानको चार बजिसकेछ। निदाउन खोज्यो स्काइनेट। सम्झनाले निदाउन दिएन उसलाई।
आँखा चिम्लेर एउटा लामो सास लियो, स्काइनेटले। अब ऊ ड्रग्सको संसारमा पुगिसकेको थियो।
कहिल्यै पनि ड्रग्सको अनुभव नभएको स्काइनेटलाई बिहान पावरवानले ‘टङ किस’ गरेकी थिई। दसौंपटक। स्वयम्भूको दर्शन गर्न आएका सयौं दर्शनार्थीको भीडमा।
स्वयम्भू अर्थात् बुद्ध। बुद्ध अर्थात् शान्ति। स्काइनेट शान्तिको खोजीमा थियो र निदाउन खोज्दै थियो।
स्काइनेटले शान्ति पायो। पावरवानको जिब्रोमार्फत शरीरका सम्पूर्ण अंगअंगमा, नशानशामा पुगेका कम्पनहरूबाट।
उसले भनेकी थिई, ‘हेर त, मेरा हात कसरी कामिरहेका छन्? हो, अझै पनि म नर्मल भइसकेको छैन। त्यसैले हातलाई सधैं ज्याकेटको खल्तीमा हाल्छु।’
ड्रग्सको संसारमा पावरवान हराएको र त्यसको ‘ह्याङ’ अझै पनि बाँकी रहेको सुनेर मायाले कति ‘सरप्राइज्ड’ भएको थियो, स्काइनेट।
स्वयम्भूका बाँदर साक्षी छन्। ती बेलाबेला जिस्काउन आउँथे। ऊ डराएर कराउँथी, ‘ओ, उः।’ स्काइनेट भित्रभित्रै जल्थ्यो, पावरवानलाई अरूले हेरेको देखेर। यतिसम्म कि बाँदरले हेरेको देखेर पनि।
…
जीवन फूल होइन, काँडा पनि होइन। यो त जसले जसरी बाँच्छ, त्यही हो। अनि सम्बन्ध र प्रेम पनि त्यस्तै हो। जस्तो सोच्यो, त्यस्तै बन्ने। राम्रो, नराम्रो।
स्काइनेट कुनै बेला थियो, पावरवानको हृदयमा। ऊ त्यसै भन्थी। विश्वास गर्नु भुल हो भने भुल गरेको थियो उसले। पावरवानको आवाजमा सत्य महसुस गरेर।
पावरवान पनि सायद भुलमै थिई र पीडित छे यति बेला।
उसले जे सोची त्यो पाइन, जे पाई त्यो सोचेकी थिइन।
यो कस्तो दुखको खबर? तिनीहरू दुवै खुसी भएनन्।
स्काइनेट जो पावरवानको मुटुको धड्कन भएको थियो, आज ऊ देख्न चाहन्न। र, भेट्न चाहन्न। सम्बन्धका सुरुवातका दिनमा पावरवान प्रार्थना गर्थी स्काइनेटलाई र भन्थी, ‘तिमीलाई भेटेर मर्न पाऊँ।’
त्यो क्लाइमेक्स थियो, सायद। त्यसैले झर्नु सिवाय अर्को के हुन सक्थ्यो र?
भयो त्यस्तै। अब मोबाइल भिडियो गेममा बदलियो। स्काइनेट प्रतीक्षा गरिरहेको हुन्थ्यो, पावरवानले कतै घन्टी बजाइहाल्छे कि भनेर। समय र सम्झना दुवै ‘वेटिङ’मा बसे। तर, पनि घन्टी बजेन।
स्काइनेटलाई झ्याउ लाग्यो। बोर लाग्यो। टेन्सन भयो। अब ऊ ‘ननस्टप’ सिगरेट खान थाल्यो।
अन्धकारबाट सुरु भएको उनीहरूको संवाद सम्बन्ध झ्याँगिदै गएको थियो। घामजस्तै। तर दिनको उज्यालोमा उनीहरूले एक अर्कालाई देखे।
त्यसपछि सुरु भयो, अर्को सम्बन्ध। जहाँ मोबाइल कुराकानी झोल तरकारीजस्तै, फलफूल निचोरेर निकालेको रसजस्तै तर, लिक्विड हुँदै गयो। पातलो हुँदै गयो। त्यो मिठो थियो।
तर बिचरा! पावरवानले बुझ्न सकिन।
…
दिन र रात एक अर्काको शब्द र सास सुनेर बिताउँथे, उनीहरू। तर, पनि अघाएका थिएनन्। समय सम्मोहन र जादु भएको थियो।
अहिले आएर धोका कसले दियो?
पावरवानले? स्काइनेटले? कल्पनाले? समयले? प्रेमले? आर्कषणले? ड्रग्सले? केले? कसले?
प्रारम्भिक दिन ऊ सबेरै ब्युझाँउथी, स्काइनेटलाई। ‘टु मच’ नै गरेकी थिई उसलाई र प्रत्येक बिहान सायद छ बजे सधैं भन्ने गर्थी, ‘हेलो! गुड मर्निङ।’
मन्दिरमा घन्ट बजेजस्तो, धारामा पानी थापेका आवाज आएजस्तो, कुखुराको भाले बासेजस्तो। कस्तो अनौठो। कस्तो आफ्नो लाग्थ्यो– स्काइनेटलाई ती सब।
‘हामी बिहेको भोलिपल्टै मर्यौंय।’ सायद स्काइनेट अहिले त्यो महसुस गर्दै छ। पावरवानलाई पनि त्यस्तै लाग्दै होला।
प्रत्येक बिहान पावरवान ब्युझाउँथी स्काइनेटलाई। तर, ऊ त्यति बेला जीवनबाटै ब्युँझेको थियो। त्यसैले त चाहेर पनि बिर्सन सक्दैन पावरवानलाई।
‘अनि, त्यसपछि…,’ स्काइनेट पाउँथ्यो, आफूभित्र पावरवान छताछुल्ल पोखिएको। त्यसभन्दा बढी भन्थी स्काइनेटलाई ऊ, ‘तिमी मेरो मुटुमा छौ।’
अनि उसको पति?
मुखले होइन, मनले। मनले होइन आत्माले बोल्थी ऊ, ‘जीवनमा दुइटा केटा आए। एउटा सिउँदोमा बस्यो। अर्को मुटुमा।’
स्काइनेटले सोधेको थियो, ‘कुनचाहिँ ठूलो?’
स्पष्टसँग कति सजिलै भनेकी थिई पावरवानले, ‘सिउँदो त पखालिन सक्छ।’
…
बरन्डामा घाम ताप्दै थियो स्काइनेट। उसले देख्यो, एउटी क्याबिनकी केटी। छातीलाई ‘एक्सपोज’ गरिरहेकी थिई। र, अनुहारमा लपक्कै क्रिम थियो। ‘छ्या!’ मनमनै यस्तै लागेको थियो स्काइनेटलाई।
अनि तत्काल पावरवानलाई सम्झ्यो उसले। कहिल्यै मेकअप गर्दिन ऊ। मात्र लगाउँछे, आफ्ना साना आँखामा गाजल।
स्काइनेटको ओठमा कालो लागेको थियो।
(स्रोत : नागरिक – शनिबार)