कथा : नेताहरूको शरीरमा मृतात्माहरू

~विश्वराज अधिकारी~

अमेरिकामा नोभेम्बर महिना शुरू हुनुको अर्थ चाडपर्वहरू आउन शुरू हुनु हो । नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्दछ । जोड, बिजोड जस्तो वर्ष होस् हरेक वर्षको नोभेम्बर महिनाको अन्तिम बिहीवार थैंक्स गिभिङ पर्छ नै । बिहीवार हुने थैंक्स गिभिङको बिदालाई लामो पार्न केही संस्थाहरूले थैंक्स गिभिङको भोलिपल्टको शुक्रवार पनि बिदा दिन्छन् र शुक्रवारपछि शनिवार र आइतवार पनि बिदा पर्ने हुनाले थैंक्स गिभिङमा चार दिनको बिदा हुन पुग्दछ । यो चाड यसरी चारे दिने चाड हुन पुग्दछ र मान्छेहरूले यो चाडलाई टर्की खाएर निकै धूमधामका साथ मनाउँछन् । यसैगरी, नोभेम्बर महिना समाप्त हुनासाथ सबैभन्दा ठूलो चाड क्रिसमसको तयारी प्रारम्भ हुन्छ । एकले अर्काेलाई उपहार दिएर अनि घरका सबै सदस्यहरू जम्मा भएर मनाइने यो चाड पनि चार/पाँच दिनसम्म मनाइन्छ । क्रिसमस इभ र क्रिसमसमा भने चारैतिर उज्यालो गरी विशेष किसिमले अति भव्यताका साथ मनाइन्छ । अनि क्रिसमस समाप्त हुनासाथ अर्काे वर्षको चाडको आगमन हुन्छ । अर्काे चाड, नयाँ वर्षको आगमन भएको पहिलो दिन, जनवरी एक तारिखको दिन, मनाइन्छ । जनवरी एक तारिखलाई नयाँ वर्षको रूपमा मनाइने यो चाड पनि निकै उम·का साथ मनाइन्छ । भन्ने हो भने डिसेम्बर महिना त एक किसिमले चाडबाडहरूले घेरिएर बित्छ । बत्तीहरू बालेर प्रकाश छरेर बित्छ । निवास, व्यापारिक र अन्य प्रयोजनका भवनहरू सि·ार्नका लागि सजाइएका बत्तीहरू, जुन क्रिसमसको आगमनसँगै राखिएका हुन्छन्, लाई नयाँ वर्ष मनाउन्जेलसम्म राखिन्छ । अमेरिकीहरू चाडपर्वमा निकै खर्च गर्छन् । श्रीवास्तव अड्ढललाई अमेरिकामा मनाइने चाडपर्वको बारेमा छोटो जानकारी मैले यसरी सुनाएँ ।

श्रीवास्तव अड्ढल पत्नीसहित जनकपुरबाट अमेरिका घुम्न आउनुभएको थियो । श्रीवास्तव अड्ढल अमेरिका आउनुको मुख्य उद्देश्य भने डालस शहरमा बस्ने उनका छोरा र बुहारीलाई भेट्न । लुजियाना राज्यको लाफियत शहर, म बस्ने शहर, डालसबाट ड्राभिङ दूरीमा छ/सात घण्टाको दूरीमा रहेकोले म बसेको शहरमा आउन अड्ढललाई मैले खास आग्रह गरेको थिएँ । मेरो आग्रहलाई स्वीकार गरेर डालसबाट लाफियत आउने एकजना परिचितको गाडीमा राइड मागेर मकहाँ श्रीवास्तव अड्ढल एक्लै आउनुभएको थियो । डालस फर्किने बेलामा आफूसँग मलाई पनि हिंड्न भन्नुभएकोले उनको आग्रहलाई टाल्न नसकेर म पनि अड्ढलसँग जाने निर्णयमा पुगेको थिएँ । मलाई त्यो निर्णयमा पुग्न थैंक्स गिभिङमा म पढ्ने युनिभर्सिटीमा बिदा हुनुले सहयोग पुर्‍याएको थियो । कारमा हामी दुईजना, म र अड्ढल थियौं । कार मैले चलाइरहेको थिएँ ।

बिहानको समय थियो । कार डालसको दिशामा दौडिरहेको थियो । लाफियतबाट हिंडेको एक घण्टा जति भएको थियो, अलेक्जेन्ड्रिया आउन लागेको थियो । मैले भने– “अड्ढल यसो नेपालतिरको, वा कुनै चाखलाग्दो कुरा झिक्नुस् न । लामो बाटो छ, कुरा गर्दै हिंडे भने बाटो कटेको थाहा हुँदैन ।”

मेरो कुरा सुनेर अड्ढलले हाँस्दै भन्नुभयो– “नेपालतिरको हालखबर के सुनाउँ, ख ै१ जता हेर्‍यो उतै दुर्दशा देखेर रुन मन लाग्छ । एउटा संविधान त अहिलेसम्म बन्न सकेको छैन । जबकि संविधान बनाउन भनेर नै संविधानसभाको चुनाव दुईपटक भइसक्यो । नेताहरूबीचको खिंचातानीले गर्दा नै संविधान बन्न नसकेको हो । अहिले २०७१ सालको मङ्सिर महिना चल्दैछ । आशा गरौं, यो वर्षको अन्त्यसम्ममा पनि नयाँ संविधान आओस् । तर आउँला जस्तो चाहिं मलाई लाग्दैन ।”

“यस्तो हुनुमा कसलाई दोषी देख्नुहुन्छ, अड्ढल ?” मैले प्रश्न गरें ।

“नेता र जनता दुवै,” अड्ढलले जवाफ दिए ।

“कसरी ?”

“आफ्नो स्वार्थ मात्र देख्नु नेताहरूको दोष अनि यस्ता गैरजिम्मेवार नेताहरूलाई चुनावमा फेरिफेरि विजयी तुल्याउनु जनताको दोष ।”

यस्ता अनेक तर्कहरू चलेपछि अड्ढलले भन्नुभयो– “ल त म तिमीलाई एउटा रोचक घटना सुनाउँछु ।”

अड्ढलले भन्न आरम्भ गरे– “भर्खरै, केही महिना पहिले, नेपालमा एउटा अनौठो रोग चारैतिर फैलियो । त्यो रोगले हैजाभैंm छोटो समयमा धेरैलाई छोप्न थाल्यो । तर त्यो रोग भने केवल नेताहरूमा मात्र देखापर्‍यो । त्यो रोग अचम्म किसिमको थियो । कस्तो अचम्म किसिमको भने त्यो रोग केवल नेपालका सबै नेताहरूलाई मात्र लागेको थियो । अन्य सामान्य नागरिकलाई भने लागेको थिएन । दोस्रो, त्यो रोगका लक्षणहरू सबै नेताहरूमा समान किसिमले देखिएका थिए । तेस्रो, त्यो रोग मधेसवादी, राजावादी, पहाडवादी, जातिवादीदेखि लिएर प्रजातन्त्रवादी, साम्यवादी, जनवादी, एकतन्त्रवादी गरी सबै वादी नेताहरूलाई लागेको थियो । सबै विचार, सिद्धान्त र पृष्ठभूमि भएका नेताहरू रातभरि छटपटिएर सुत्न नसक्ने, कराउने, उफ्रिने, तर्सिने, कहिले रुने, कहिले हाँस्ने, कहिले हिंसक हुने जस्ता समस्याहरू देखिए ।”

“नेताहरूले देशभित्रका सामान्य चिकित्सकदेखि विशेषज्ञहरूलाई समेत देखाए । सस्तोदेखि अति महँगो औषधिहरू पनि खाए । तर उनीहरूको त्यो अनौठो रोक निको हुन सकेन । सत्तामा रहेका नेताहरूको हातमा नै नियम कानुन बनाउने अधिकार रहेकाले ‘अनौठो रोग लागेमा नेपालका सबै रोगी नेताहरूलाई विदेशमा लगी सरकारी खर्चमा इलाज गराउन सकिने’ नियम बनाए । इलाजका लागि नेताहरू पूर्ण सरकारी खर्चमा विदेश गए । बडे बडे विशेषज्ञहरूलाई आफ्नो त्यो अनौठो रोग देखाए । तर विदेशमा गएर गराइएका अति महँगा इलाजहरूले पनि कुनै नेताको रोग निको पार्न सकेन ।”

“नेताहरू लामो समयसम्म विचित्र र पीडादायी स्थितिमा बसेको देखेपछि केहीले सहानभूति प्रदर्शन गर्दै एउटा उपाय सुझाए । नेताहरूलाई झाँक्रीसँग सम्पर्क गर्न, झाँक्रीलाई देखाउन सल्लाह दिए । यो सल्लाह अनुसार कार्य गर्न केही दिनको छलफलपछि अरू नेताहरू तयार भए तापनि कम्युनिस्ट नेताहरू भने तयार भएनन् । आफूहरू झाँक्रीको शरणमा परेमा अन्धविश्वासी मात्र होइन, आफ्ना विदेशी गुरुहरू लेलिन, स्टालिन, माओत्सेतुङसमेतको पनि अपमान हुने निष्कर्ष झिके । आफूहरू अग्रगामी होइन, पश्चयगामी हुने तर्कहरू पेस गरे । दुनियाँले आफूहरूमाथि हाँसो र व्यङ्ग्य गर्ने भनी तर्से । तर लामो तर्क वितर्कपछि डरलाग्दो रोग निको पार्न आफ्नो सिद्धान्तलाई एकातिर राखेर आफ्नो फाइदालाई ध्यान दिनुपर्नेमा सहमत भए । यसरी आफ्नो स्वार्थका लागि भूतप्रेत, धामीझाँक्री मान्न कम्युनिस्ट नेताहरू पनि तयार भए । कम्युनिस्टहरूले बेलाबेलामा यसरी यूटर्न गर्ने हुनाले उनीहरूमा आएको यस्तो परिवर्तनलाई सर्वसाधारणले आश्चर्यजनक मानेनन् पनि ।”

“सबै नेताहरू अनेक झाँक्रीहरूकहाँ पुग्ने क्रम शुरू भयो । तर कस्तो अचम्म १ झारेपातेदेखि मसान जगाउनेसम्म, अनि भूतपिचासलाई बोलाएर आफूले भने जस्तो गर्न लगाउने झाँक्रीहरूदेखि अघोरीबाबाहरूसम्म, कसैले पनि नेताहरूलाई के रोग लागेको हो भनी पत्ता लगाउन सकेनन्, उपचार त परको कुरा भयो । लामो अध्ययन र अनुसन्धानपछि भने एक पाको उमेरका झाँक्रीले नेताहरूमा देखिएको त्यस्तो डरलाग्दो रोग निको पार्न सक्ने क्षमता आफूमा रहेको घोषणा गरे । यस्तो घोषणा प्रकाशमा आउने बित्तिकै सधैं विग्रह र कलहमा लीन हुने नेताहरूले, आफ्नो त्यो बानीलाई बिर्सिंदै एउटै थलोमा जम्मा हुन सहमत भए । आफ्ना प्रमुख नेताहरू सम्मिलित एक शिष्टमण्डल उक्त झाँक्रीकहाँ पठाउने सहमतिपत्रमा सहर्ष हस्ताक्षर पनि गरे । अरू मुद्दाहरूमा फुटे पनि आफ्नो हितका लागि, अब फुटेर होइन, जुटेर अगाडि बढ्ने भनी मौखिकरूपमा प्रणसमेत गरे ।”

“विभिन्न दलका प्रमुख नेताहरू सम्मिलित त्यो शिष्टमण्डल उक्त झाँक्रीले बोलाएको दिनमा उसको निवासमा पुगे । झाँक्रीले राखेका शर्तहरू, कुनै पनि नेता न त गाडीमा चढेर आउन पाउने, न त कुनै बडीगार्ड लैजान सक्ने, न त कुनै हतियार बोक्न पाउने, को पालन गर्दै सबै शीर्ष नेताहरू त्यो झाँक्रीकहाँ हिंडेर नै, सामान्य हैसियतमा पुगे ।”

“पहिलो दिन त्यो झाँक्रीले ती नेताहरूको शिरमा शुद्ध जल हालेर सबैलाई पवित्र पारेछ । अनि उसले नेताहरूलाई विभिन्न किसिमका प्रश्नहरू सोधेछ । प्राप्त उत्तरहरूको विश्लेषण गर्न केही समय लाग्ने भन्दै त्यो झाँक्रीले नेताहरूलाई एक हप्तापछि बिहीवारका दिन पुन: आउन आग्रह गरेछ ।”

“एक हप्तापछि शीर्ष नेताहरू, आफूलगायत अन्य नेताहरू पनि त्यो डरलाग्दो रोगबाट मुक्ति पाउने आशमा, पुन: त्यो झाँक्रीको निवासमा उपस्थित भए । झाँक्रीले नेताहरूमाथि केही बेर अनेक किसिमका तन्त्रमन्त्रहरूको प्रयोग गर्‍यो । एक नेताबाहेक अन्य सबै नेताहरू रुन, कराउन, उफ्रन थाले । जुन नेता रोइकराइ गरिरहेका थिएनन् उनीतिर हेर्दै त्यो झाँक्रीले भन्यो– “नेताज्यू, सबै नेताहरूलाई के रोग लागेको छ, थाहा छ ?”

त्यो झाँक्रीले भन्ने क्रम जारी राख्यो । उसले भन्यो– “सबै नेताहरूमा अनेक आत्माहरूले प्रवेश गरेका रहेछन् । ती आत्माहरू कस कसका रहेछन्, थाहा छ ? ती आत्माहरू विदेशमा रोजगारका लागि जानेक्रममा दु:ख, कष्ट सहन नसकेर, दुर्घटनामा परेर मर्ने, विदेशमा काम गरिरहेको बेला जोखिमपूर्ण काम गर्दा दुर्घटनामा परी मर्ने, विदेशमा आतड्ढवादी स·ठनहरूको शिकारमा परी प्राण गुमाउने, विदेशमा पुगेर डिप्रेसनको शिकार भएर आत्महत्या गर्नेहरूको रहेछ । मैले ती आत्माहरूलाई तिमीहरू स्वर्ग नगएर किन यी नेताहरूको शरीरमा प्रवेश गरेको भनी प्रश्न गर्दा ती आत्माहरूले के जवाफ दिए, थाहा छ ? ती आत्माहरूले भने यी नेताहरूले सधैं झगडा गरेर, आफ्नो स्वार्थको मात्र ख्याल गरेर देश र जनताको हितको बेवास्ता गरेका हुनाले देश गरिब भयो, अनि देश गरिब भएकोले बेरोजगार बढेकाले हामीहरू विवश भएर रोजगारको लागि विदेश जानुपर्ने स्थिति उत्पन्न भयो । अनि, रोजगारका लागि विदेश जाने क्रममा हाम्रो अकालमा ज्यान गयो । त्यस कारण, यी नेताहरूको स्वार्थले गर्दा हाम्रो ज्यान गएको हुनाले यिनीहरूलाई सताउन हामी मृतात्माहरू यिनीहरूको शरीरमा प्रवेश गरेका हौं ।”

त्यो झाँक्रीले भन्ने क्रम जारी राख्यो– “तर यी आत्माहरूलाई नेताहरूको शरीरबाट हटाउने उपाय भने छ । र, त्यो उपाय पनि ती आत्माहरूले नै बताएका हुन् । उपाय के हो भने सबै नेताहरूले आआफ्नो धर्म अनुसारको देवस्थलमा गएर अबदेखि हामी आफ्नो स्वार्थमा लीन हुनेछैनौं, देश विकासलागि साझा सहमति कायम गर्दै अगाडि बढ्नेछौं, देशको विकास गरी रोजगारका लागि देशवासी विदेशिने स्थितिको अन्त्य गर्नेछौं भनी क्रिया खाने हो भने ती आत्माहरू नेताहरूको शरीरबाट निस्केर स्वर्गतिर जानेछन् ।”

“तर नेताहरूले आफूहरूले खाएको क्रियाको पालना कठोरताका साथ गर्नुपर्ने छ । त्यस्तो नगरेमा आत्माहरू स्वर्गबाट झरेर आफूले खाएको क्रियाको पालना नगर्ने नेताहरूको शरीरमा पुन: प्रवेश गर्ने छन्,” झाँक्रीले थपे ।

अड्ढलले भन्नुभयो– “नेताहरूले झाँक्रीको आदेशको पालना गरेनन्, सबै बौलाए ।”

अड्ढलले सुनाउनुभएको यो रोचक घटना सुनिसकेपछि मैले हाँस्दै भनें– “अड्ढल, अचम्मको हावादारी गफ सुनाउनुभयो त ।”

“हो, हावादारी गफ नै हो,” अड्ढलले भन्नुभयो ।

यति भनिसकेपछि अड्ढल ज्यादै गम्भीर हुनुभयो । अनि अनुहार मलीन पार्दै भन्नुभयो– “तर एउटा कुरा गाँठो पारे हुन्छ । त्यो के भने यदि नेताहरूले झगडामा समय बर्बाद गर्ने हो, यस्तो हालमा पारेर मुलुकलाई गरिब पार्दै लाने हो भने मुलुकमा बढेको गरिबीले उनीहरूको अस्तित्व समाप्त पार्नेछ । उनीहरूको अस्तित्त्व समाप्त पार्न ती आत्माहरू नै आउनुपर्ने छैन । जीवितहरूले नै उनीहरूमाथि हमला गर्नेछन् ।

अनि …..।

हाम्रो कुराकानी सकिनु अनि डालस आउनु पनि, एकैचोटि भयो ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.