~चन्त वनेम~
‘ए शिला ! बस्तु खोल्ने बेला भएन ?’ गल्लीबाट गीताले कराइन् ।
‘म तल पित्तोलुङमा चराउँदै गर्छु, बस्तु त्यतै लिएर आइज है’ भन्दै बस्तु लिएर ओरालो झरिन् ।
शिला सुन्तलाको रुखबाट कराई, ‘म आई हाल्छु हिँड्दै गर, सुन्तला र ज्यामिर टिपेर नुन खुर्सानी पिसेर ल्याउँछु मजाले खानु पर्छ ।’ नभन्दै गीताले पित्तोलुङमा पुगेर बस्तु जङगलतिर मात्र लगाएकी थिइन् शिला बस्तु लिएर आइपुगी हालिन् ।
दुबै मिलेर बस्तु जङ्गलमा धपाएपछि नुन खुर्सानीसँग ज्यामिर र सुन्तला खान थाले । अमिलो खाँदै गाउँघरका लोकभाखाको “दाइ साइला दाइ छ, मै जाने ठाउँमा मायालु रैछ” भन्ने गीत गाएर वननै घन्काउन थाले ।
‘ए शिला हिजो तँसँग गफ गर्ने को हो नि ? निकै मस्किँदै गफ गर्दै थिइस् त’ – गीताले सोधिन् ।
‘तलाई थाहा छैन पार्टीडाँडा स्कूलमा आएको नयाँ सर हो नि’ शिलाले भनिन् ।
‘हैन, कहिले आएछ मान्छे त निकै गतिलो रहेछ नि मोरो’ गीताले यसो भनेपछि दुबैजना खितिती हाँसे ।
‘ए गीता तँलाइै थाहा छ मान्छे त दमाई पो रहेछन् । नाम मनकुमार नेपाली रहेछ । उता हाङपाङबाट आएको रहेछन् ।’
‘जयप्रसाद तुम्बा स्कूलको सञ्चालक समिति भएकोले हिसाब पढाउने सर कतै नपाएर उनलाई खोजेर ल्याएका रहेछन् । हेर न, हाम्रो समाजमा अझै पनि जातिपाती छुवाछुतको प्रचलनले गाँजी रहेछ । गाउँघरमा कसैले घर दिएनछन् र तुम्बा आफैले तल्लो बारीको घरमा डेरा दिएर राखेका रहेछन्’ शिलाले भनिन् ।
‘कठैबरा बिचारा एक्लै त्यत्रो घरमा बस्दा रहेछन्’ गीताले भनिन् ।
‘तलाई माया लाग्यो भने तेरो घरमा ल्याएर राख न त शीलाले भनिन् ।
‘तँ आफै राख है, तेरो मतान पनि ठुलो छ’ गीताले जवाफ फर्काइहालीन् ।
शिलाले अलि गम्भिर हुदैं भनिन्, ‘हेरन मान्छे कति राम्रो, भलादमी र पढेलेखेको छन् । हिजो देखिनस् प्रजातन्त्र दिवसको बारेमा भाषण गर्दा सबैभन्दा राम्रो मिलाएर उनैले बोलेका थिए, हैन ? यो कसले बनाएको नियम हो कुनि ! मानिस सबै एउटै हो नि, मात्र हिन्दु धर्ममा जातपात छुवाछुत हुनुपर्ने ! खोइ त अरु धर्ममा ठूलो सानो जात हुँदैंन त ! हाम्रा दाइहरुले रोज्नु भएको प्रगतिशील विचारमा आर्थिक, सामाजिक, राजनीतिक समानताका कुरा गर्नु हुन्थ्यो हैन ।’
‘यता सुन न ! तँ साह्रै भावुक बनिस् छोड दे यस्ता कुरा साँझ पर्नलाग्यो बस्तु लिएर घर लागौं’ गीताले भनिन् । यसपछि दुबैजना बस्तुहरु बटुलेर घरतिर लागे ।
यी दुई दौँतरी मिल्ने साथी पनि हुन् । दुबै जनाले गाउँकै स्कूलबाट कक्षा ७ सम्म पढेर छोडेका हुन् । पढाई छोडेपछि घरमा दाउरा घाँसपानी गरी घरको ठूलो अभिभारा लिएका छन् । शिलाको बाबु धनपति मुद्दामामिलामा निकै पोख्त छन् साथै गाउँघरमा अरुसँग मुद्दा गरेर जिल्ला धाईरहनु उनको स्वभाव पनि हो । उनीसँग गाउँले सोझा मनिस डराउने गर्दछन् । शिलाका दुई दाजुहरु गाउँको स्कूलमा शिक्षक पेशा गर्दछन् र घरबाट छुट्टिएर अलग्गै ब्यवहार गरी खाएका छन । दिदीहरु विवाह गरेर आफ्नो घर गइसकेका छन् । शिला घरकी कान्छी छोरी, घरको सबै काम भ्याएर पनि आफ्नो कम्युनिष्ट पार्टीको महिला सगंठनको गाविस ईकाइको अध्यक्ष पनि भएकी छन् । यसैले त्यस ठाउँमा उनको आफ्नै एक किसिमको इज्जत पनि छ ।
देशभरि प्रजातन्त्रको लहर छाएको छ । प्रजातन्त्रलाई संस्थागत गराउन र प्रजातन्त्रको स्वाद लिन सबै मनिसहरु आतुर छन । फाकुम्वा ईकाइका कम्युनिष्ट विचारमा आवद्घ सबै भातृसंगठनका मानिसहरु आज नारायणको मचानमा पार्टीलाई कसरी उचाइमा लान सकिन्छ र पार्टीलाई अगाडि बढाउनको लागि अवरोधहरु के के छन् भन्ने विषयमा छलफल गर्न भेला भएका छन् । सबैले पालैपालो बोल्दै जाने क्रममा शिलाले जहिले पनि पुरुषले महिलालाई हेप्ने गरेको कुरा उठाइन् । उनले आधा धर्ती पुरुष हुन भने आधा धर्ती नारी हुन, त्यसो हुनाले पुरुषहरु जत्तिकै सबै क्षेत्रमा नारीहरुलाई संलग्न गराउनु पर्छ भन्ने कुरामा जोड दिइन् । यसरी पालोको क्रममा मनकुमार पनि बोल्न थाले । उनले कम्युनिष्ट विचारका प्रतिपादनका आधारशिलादेखि लिएर माओले कसरी चीन जस्तो विशाल देशमा यो विचारमा सबैलाई मान्न योग्य बनाए साथै कसरी यो सिद्घान्त संसारमा सबैको लागि प्रिय हुँदै गइरहछ भन्ने बारेमा ब्याख्या गरे । नेपालमा पनि यो विचारमा आवद्घ हाम्रा अग्रजहरुले राणाहरुलाई सत्ताच्युत गराउन ठुलो भूमिका खेलेका थिए भन्दै उनले जसरी यो विचार नेपालमा सरर अगाडि बढेर सबैतिर फैलिनु पर्ने थियो तर त्यसरी बढ्न सकेन भन्ने टिप्पणी पनि गरे । उसले यसको कारण हिन्दु समाजमा नारीलाई जहिले पनि तल्लो तहमा राखिने (दिइने दर्जा ), छुवाछुत र पानी चलअचल जस्ता प्रथा हुन् भन्ने पनि बताए । यस्ता खालका विकृतीहरुको विरुद्धमा हामी सबै मिलेर सामाजिक तथा साँस्कृतिक क्रान्ती गर्न जरुरी छ भन्दै उनले मान्छे जन्मसिद्घ ठूलो सानो हुँदैन, यदि ठुलो हुन्छ भने उसको बुद्घी विवेकल,े उसको सीपले, गुणले साथै उसको महानताले हुन्छ भने । उनले यस्ता समाजलाई बदल्ने कामलाई हामीले आजैबाट थालनी गर्न जरुरि छ भन्दै आफ्नो कुरा टुङग्याए । सबैले ताली बजाएर समर्थन गरे । शिलाले यसरी मिलाएर बोलेको यो भन्दा अगाडि सुनेकी थिइनन् । उनलाई उनको प्रत्येक शब्द राम्रो लाग्यो साथै ऊप्रति सम्मान अझ बढ्यो ।
दिउँसो तीन बजेतिर शिला खेतालालाई खाजा दिएर घरतिर आउँदै थिइन, पछाडिबाट ‘भारि साह्रै गह्रौँ भयो कि क्या हो ? सघाउनु पर्छ कि ?’ भन्ने आवाज आयो । उनी पछाडि फर्केर हेर्दा मनकुमार पछाडिबाट आउँदै थिए ।
‘ए ! सर पो हुनुहुँदो रहेछ, तपाईहरु जस्तो सरले कहाँ यस्तो भारि बोक्नु हुन्छ र !’, शिलाले भनिन् ।
‘हैन कसरी यस्तो भन्न सकेको शिला, हामी सबै यो भन्दा टाढाँ कहाँ छौँ र’ मनकुमारले भने ।
शिलाले प्रसंग बदलिन्, ‘हैन सरले त साह्रै राम्रो विचार राख्नु हुँदो रहेछ । कहाँबाट यति धेरैकुरा सिक्नु भयो ।’
अलि स्वर तान्दै मनकुमार भन्न थाले, ‘खै के गर्ने, कसैले भनेको, व्यवहार गरेको चित्त बुझेन, त्यसैले यसको यथार्थ के रहेछ भनेर किताब खोजी गरेर पढियो अनि केही जानकारीमा आएको हो । भारतवर्षमा जन्मेका मनुले यसरी जातपात तलमाथि छुवाछुत नछुट्ट्याई दिएको भए आज यस्तो समाजको सृजना हुने थिएन । अब त सबै मानिसको नसा–नसामा बसिसकेको छ यो । यसलाइ परास्त गर्न तपाई हामीले धेरै ठूलो मूल्य चुकाउनु पर्ने भएको छ ।’ यही गफगाफकै क्रममा शिलाको घर आइपुग्छ । उनी घरतिर लाग्छिन् मनकुमार माथितिर लाग्छन् ।
बिहानी पख आमाछोरी सिखुवामा बसेर चिया खाइरहेको बेला काग घरअगाडि रुखमा बसेर काँ..काँ.. गरेर कराउँछ । हैन बिहानै किन काग कराउँछ, नौलो खबर पो आउँछ कि भनेर आमाले टिप्पणी गरिन् । शिला चिया खाइसकेर आँगन बढार्न लागिन् । केहीबेर पछि हुलाकी आएर शिलालाई एउटा चिट्ठी दिन्छन् । चिट्ठी थापेर पुलुक्क सिखुवातिर हेर्दै गोजीमा लुकाउँछिन । उनको मनमा कुरा खेल्न थाल्छ – पठाउनेको नाम छैन त्यसमा पनि जिन्दगीमा पहिलो पल्ट कसैले चिट्ठी पठाएको छ । उनी यताउति आँखा घुमाउँदै घर पछाडि गएर चिट्ठी खोल्छिन् । चिट्ठी मनकुमारको रहेछ । उनले प्रेम प्रस्ताव राखेका रहेछन् । पत्र पढिसक्दा आँखा तिरमिराए । पसिना आए जस्तो भयो । हत्त न पत्त पत्र गोजिमा राखेर आफ्नो काममा लागिन् ।
अब उनलाई चिट्ठीको बारेमा संझियोकि मन पोल्न थाल्यो । के गर्ने के नगर्ने, के भन्ने के नभन्ने जस्तो मनमा लाग्न थाल्यो । उनले गीतालाई सुनाउने धेरै चोटि कोसिस गरिन् तर सुनाउन सकेकी थिइनन् । यसरी नै दिनहरु बित्तै गए ।
तीहारको दिन सदाझैँ पार्टीडाँडामा दुई दिने बजार लागेको छ । बजारमा मानिसको घुइँचो निकै बाक्लै छ । तिहारको बजार भएकोले कोही लिङगे पिङमा, कोही डाइसमा, कोही जुवामा, कोही दोकानमा बसेर तोङबा खाँदैं तन्नेरी–तरुनी ख्यालठट्ठा गर्दै बसिरहेका थिए । धेरैजसो युवा–युवतीहरु ए ए हा हा गर्दै धान नाचिरहेका थिए । साँझको बेला मनकुमार र शिलाको भेट भयो । ए ! शिला बहिनी पनि बजार आउनु भयो भनेर मनकुमारले भनेपछि शिलाले हो है सर भनिन् । मनकुमारले शिलाको छेउमा गएर अस्तिको पत्रले अप्ठ्यारो पा¥यो भने नो भने हुन्छ, त्यसमा केही छैन भनेपछि शिलाले आत्तिदै हैनहैन त्यस्तो केही भएको छैन भनिन् र लाजले अनुहार रातो बनाइन् । मनकुमारले उनलाई अप्ठयारो भयो भनेर कुरा अन्तै मोडे । दुबै जना गफ गर्दै बजारको कयौँ चक्कर काटिरहे । रात निकै छिप्पिएछ उनीहरुलाई पनि थाकेको महसूस भयो र बजारको हल्ला भन्दा अलि परको चौतारामा गएर कुरा गर्न थाले । यसरी कुरैकुरामा जीवनको धेरै पुल बाँधे, गोरेटो बनाए र सुन्दर सपनाको संसार बसाए । यसरी बैँसांलु जोडी धेरैबेर सँगै टासिँएर बस्दा एकआपसमा सम्हालिन सकेनन् र अन्तमा एकअर्कामा समर्पित भए । तर यस घटना पश्चात शिला धेरैबेर रोइरहिन् र मनकुमारले पाथिभरालाई साक्षी राखेर जस्तासुकै परिस्थितीमा पनि धोका नदिने नछुट्ने बाचा गरे । यसरी धेरैबेर बसेर अन्तमा दुबै जना बजारको भिडमा आएर हराए ।
उनीहरुको भेटघाट बाक्लिन थाल्यो । साथै गाउँघरमा दुबैको मायाको चर्चा पनि चल्न थाल्यो । सान्दाइले आफन्त एकदुई जनालाई बोलाएर शिलालाई गोप्यमा सम्झाउन खोजे तर शिला घरकी कान्छी छोरी घरको सबै काम उनले नै धान्दै आएको हुनाले बाबुआमाको मन जितेकी थिइन्, कसैको कुरा सुनिनन् । बरु उल्टै जातीय समानताको दर्शन सुनाएर पठाइन् । समय बित्तै गयो उनीहरुको मायाको चिनो शिलाको पेटमा दिनानुदिन बढ्दै गयो । अन्तमा अब धेरै माइत बस्नु हुँदैन भनेर मनकुमारसँग भागिन् ।
हिन्दु धर्मले पानी नचल्ने शुद्र बनाएपछि मनकुमारका परिवार क्रिश्चियन बनेका रहेछन् । विवाह पनि क्रिश्चियन परम्परा अनुसार गरेर बुहारी भित्र्याए । विवाह सकेको भोलिपल्ट खाना खाएर सबैजना कुरा गर्न थाले । मानकुमारको बाबु दिल भन्न थाल्यो बुहारी तिमी धनपति प्रसाईकी छोरी रहेछौ । वहाँलाई म चिन्छु । बाबा निकै खतरा हुनुहुन्छ । तिमी कुमाईकी छोरी प-यौ, हिन्दु धर्मले हामी दमाईलाई पानी नचल्ने बनाएको छ । यस्तो संस्कारले समाजमा दरो जरा गाडेर बसेको छ र यसको बिरोधमा तिमीहरु दुई पनि होमिएका छौ । निकै ठूलो मुटु बनाएर सामना गर्न सक्नु पर्दछ । केही कुराको अप्ठ्यारो नमान्नु, यो आफ्नै घर हो । यदि केही कुराको अप्ठ्यारो लागेमा सबैको सामने स्पष्ट कुरा राख्नु । यस्ता कुराको हामी सबै मिलेर सामना गर्नु पर्दछ । हाम्रो घरमा अहिलेसम्म चलिआएको चलन पनि यही हो । यसरी धेरैबेर कुरा गरेर सबैजना सुत्न गए ।
शिला यहाँ आएर बस्न थालेको पनि दुई महिना बितेछ । उसलाई कुनै कुराको दुख छैन । सबै असल छन् । ऊ छोरीबाट बुहारी बनेकी छ । आखिर ऊ पनि छोरी मानिस हो त्यसैले उसलाई पनि माइती गाउँमा नाचेका, गाएको, उफ्रेको साथिभाइसँग मेलापात गरेको, दाउरा घाँस पानी गरेको सम्झनाले सताई रहेको हुन्छ । राति सुतेको बेला शिलाले मनकुमारलाई एकचोटि माईत गएर आमाबाबालाई रोइकराई सम्झाई बुझाइ गराँै न मान्नु हुन्छ होला भनी । ठूल्दाइ पनि प्रगतिशील विचारको हुनुहुन्छ, उहाँलाई पनि भन्न लाउँ कुरा मिल्छ होला हुन्न ? भने पछि निकै बेरमा मनकुमारले कुरा त मिल्ला जस्तो लाग्दैन तर तिमीले जाऊँ भन्छौ भने जाऊँ भन्यो । भोलिपल्ट बिहान दुबै जना शिलाको माइततिर लागे । बाटामा कुरा गर्दै जाँदा पहिला गीताको घरमा जाउँ, उसका बाबा गाविस उपाध्यक्ष हुनुहुन्छ वहाँलाई पनि भन्न लगाउँ भन्ने सल्लाह बमोजिम उतै लागे । गीता घरमा नै रहिछन् । ए ! गीता भन्ने बित्तिकै ओहो यो पो आइछ, के छ तेरो खबर ? निकै मोटाइछस् त भन्दै भुँडीतिर हेरेर ब्यङ्ग्य गरिन् ।
‘भेनालाई नमस्ते है, यतैतिर बसौँ है’ भन्दै सिखुवामा गुन्द्री ओछ्याई दिइन् । दुबैजना बसेपछि गफ सुरु भयो ।
‘ए केटी ! तँ त भेना पाएपछि भन्न पनि नभनी सुटुक्क भागिस् हैन !’, गीताले भनिन् । कहाँ भन्न भ्याइयो र तेरो भेनाको मायाले भन्दै मरिमरी दुबैजना हाँस्न थाले । त्यसैबेला गीताकी आमा पानी लिएर आइपुगिन् र पिढीमा बिसाइन् दुबै जनाले नमस्ते काकी भने, उनले पनि नमस्ते फर्काइन् । त्यसपछि शिला जुरुक्क उठेर काकीलाई ढोग गर्छु भनेर काकी भएतिर जाँदैं थिइन् उनले हैन उतै बस्न पानी बोकिराखेकी छु देखिनस् भन्दा शिलालाई छाङगाबाट खसे जस्तो भयो । उनले गीतालाई घरपछाडि लगेर किन यो दमाईसँग जानेलाई घरमा बोलाइस्, तेरो अलिकती पनि बुद्घि छैन भनेर गालि गरेको यता प्रष्ट सुनियो । शिलाले मनकुमारलाई जाऊँ अब भनेर ईशारा गरेपछि दुबै ठूल्दाइको घरतिर लागे । गीता आगँनमा फर्कदा उनीहरु निकै माथि पुगिसकेका थिए । शिला आशुँ झार्दै हिडिरहेकी थिइन् भने मनकुमार चुप लागेर पछ्याइरहेका थिए । शिलाले ठूल्दाइ भनेर बोलाउँदा भाउजु घरभित्रबाट निस्केर ए नानी पो आउनु भएछ त्यहीँ आगँनमा बस्नुहोस् भनेर गुन्द्री ओछयाई दिइन् । दाजु खोइ त भन्दा स्कूलबाट आउनु भएको छैन भन्दै अनि कता हिड्नु भएको नानी भनेर उल्टै सोधिन् । कता हुनु माइत आएको नि भाउजु भन्दै गर्दा भित्रबाट नानी रोएको आवाज आयो । भाउजुले ल है नानी म हतारमा छु, दाजु आएपछि माथि मुलघरमा पठाइदिउँला भनेर भित्र पस्दै डम्म ढोका लगाइन् । यस्तो ब्यवहार देखेपछि दुबैजना कठोर ह्रृदय बनाएर मूलघरतिर लागे । मूलघरमा सबै जना भेला भइसकेका रहेछन् । उनीहरुले आगँनको डिलमात्र टेकेका थिए धनपति बुढा रिशले आगो हुँदै उफ्रिन थाले ।
उनी कराउन थाले, ‘यसलाई कसले यहाँ आउनु भन्यो ? यो त हाम्रो कोखमा जन्म लिनु भन्दा त गर्भमा नै तुहिएको भए हुने थियो । कोही नपाएर दमाईसँग पोइला जानु परेको । तँ यहाँबाट गइहाल् । म तेरो अनुहार पनि हेर्न चाहदिँन । तँ हाम्रो लागि मरी सकिस् र तेरो लागि हामी पनि मरी सक्यौ । फेरि कहिले पनि फर्केर यो घरमा नआउनु ।’ यदि भन्दैै रिसले थरर कामेर सिखुवामा थचक्क बसे । शिलाले आमातिर आखाँ घुमाएर हेरिन् । उनी बलिन्द्र धारा आशुँझारी रोइरहेकी थिइन् । आखिर मातृत्व न हो कसरी मन थाम्न सक्छिन र ! आमाले उनलाई हेरिमात्र रहेकी थिइन् । उनको अगाडि हिन्दु धर्मले बनाएको साह्रै ठूलो पर्खाल थियो । फलामे साङलाले शरीरका सबै अंग बाँधेंका थिए । उनी मौन दर्शक मात्र थिइन् । उनको आँखामा हेर्दा केही भन्न खोजेको देखिए पनि केही भन्ने आँट थिएन । त्यहाँ भेला भएका गाउँले आफन्तहरुले सम्झाउँन थाले । दुबै जनाले सुनी मात्र रहे । अन्तमा ठूल्दाइ झोक्किएर तँ गइहाल्छस कि जान्नस्, यहाँ किन तमासा बनाएर बस्छेस भनेर कुटौँलाझैँ गर्दै अगाडि बढे ।
बल्ल मनकुमार बोले, ‘ठूल्दाई ! तपाई त निकै ठूलो दिलको प्रगतिशील विचारको मानेका थियौँ तर तपाईले आफ्नो असली रुप देखाई दिनु भयो । यिनी मेरी श्रीमती हुन् त्यसैले कसैलाई छुन त परै जावोस् औँला ठड्याउने अधिकार पनि छैैन, बुझ्नु भयो होला नि सबैले ।’ यति भनेपछि मन कुमारले सबैतिर फर्केर हेरे । अनि शिलातिर फर्केर अब पुग्यो जाउँ भने ।
यी सबै घटनाक्रमहरु शिलाको आखाँ अगाडि फिल्मको रिलझैँ नाच्न थाले । आफ्नै घरजस्तो गरी कुदी हिँड्ने गरेको साथी गीताको घरमा पानी छुन्छेस् भन्नु, भाउजुले ढोका लगाउनु, आफु जन्मेको घरमा तिरस्कृत हुन पुग्नुले उनी अत्यन्त पीडामा थिइन् । यी सबै घटानक्रमले शिलाको मन साँच्चिकै शिलापत्थर नै बन्न पुग्यो । त्यसपछि कहिले पनि माइत नफर्किने वाचा गर्दै सदाको लागि माइती घर त्याग गरेर मनकुमारको अगाडि अगाडि खार्ते खोला तरेर गइन् ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)