कथा : निमिसा र मनिष

~भावना परिष्कृत सुनुवार~Bhawana Parishkrit Sunuwar

निमिसा र कुन्दनको प्रेमकथा पर्दाफास भएपछि नरनारायणको परिवारमा बज्रपात प-यो । दुई वर्ष त यी प्रेमिले जोडीहरूको सम्बन्ध विषयमा कसैलाई भनक थिएन । गुजुरगुइँठे नाम गरेको व्यक्ति जसको काम टोल छिमेक, पुरै गाउँभरिका विषयमा चियो चर्चा गर्दै हिँड्नु थियो । उनै गुजुरगुइँठेले भनक पाएपछि गाउँमा बेजोडको हल्ला मच्चियो । सामाजिक नीति नियम र मर्यादा विपरीत आचरण गरेवापत कुन्दनलाई मरणासन्न हुने गरी पिटियो । उनी कथित निच जातिले कथित उच्च जातिकी कन्या बिमिसासँग प्रेम गरेर महाअपराध गरेकोले ज्यानै लिनु पर्छ भन्ने तर्कमा पुगेका थिए त्यो गाउँका उच्च जातिका बुद्धिमानहरू । कुन्दनलाई हत्या गरेको खण्डमा आफूले पनि आत्महत्या गर्ने हठ निर्णय सुनाइन विमिसाले । कुन्दनको हत्या हुनबाट, महा अनर्थ हुनबाट त टारियो तर दुई प्रेमीहरूको पवित्र प्रेम भने भाँडियो ।

निमिसाको परिवारले तुरुन्तै उनको बिहे सजातीय वरसँग गरिदिए । विचरा कुन्दन ! आफ्नै घर अगाडिको बाटो बाट प्रेमिकाको डोली उठेर गएको हेर्न नसकी ढल्यो । अगाडि विमिसाको बिहेको जन्ती जाँदै थियो घोडामा वर र डोलीमा बधु बोकेर । पछाडि–पछाडि डोकोमा घाइते बेहोसी कुन्दनलाई बोकी उनको लाचार बाबु कुमाले स्वास्थ्य केन्द्रतर्फ जाँदै थिए ।

विवाहको पहिलो रातमा मनिषले आफ्नी प्रेमिका योजनालाई कहिल्यै भुल्न नसक्ने कुरा नव दुलही विमिसालाई बतायो । उनले त्यो विवाह परिवारको दवावमा गरेको र उक्त सम्बन्धलाई सम्झौताको रूपमा मात्र स्वीकार्ने बतायो । यदि इच्छा नपरेको खण्डमा विमिसालाई पनि कुनै पनि बेला आफ्नो धारणा राख्न सङ्केत पनि उसले दियो । यसैगरी विमिसाले नि आफ्नो बढेको हिम्मत र सही मौकाको सदुपयोग गर्दै आफ्नो र कुन्दनको सम्बन्धको बारेमा स्पष्ट बताइन् । विहेको पहिलो रातमा यी दुई नव दम्पत्तीहरू मनको आ–आफ्नो ब्यथा पोखाएर एक आपसमा असल मित्र बनेका थिए, हितैषी बनेका थिए ।

विवाहको भोलिपल्ट विमिसा र मनिष दुवैले आफूहरू वैवाहिक सम्बन्धबाट खुशी नभएको र एक अर्काको असल मित्र बनेको कुराको खुलासा गरे । दुवैले एक अर्काको खुशीको निम्ति ज्यानै दिएर सहयोग गर्ने वाचा गर्दै सबैको अगाडि आफूहरूलाई त्यो विवाह बन्धनबाट मुक्त गरिनुपर्ने माग राखे ।

समस्या दुवैको एकै खालको थियो, अन्तरजातीय प्रेम विवाह आफ्नो नैसर्गिक अधिकारमाथि पुरातनवादी सोचद्वारा हनन् । विमिसा जस्तै मनिषले पनि कथित निच जातकी योजनासँग प्रेम गथ्र्यो । “प्रेम र विवाह सबै उमेर पुगेका युवा युवतीहरूको आ–आफ्नै नैसर्गिक अधिकार भएकोले परिवार र समाजले पनि यसमा सहयोग गर्नुपर्ने हुन्छ । तपाईँहरू सबैसँग हाम्रो अनुरोध छ हामीलाई सहयोग गर्नुस्, बुझिदिनुस्” भन्दै निमिसाले कुन्दनसँग र मनिषले योजनासँग विवाह गर्ने इच्छा राखे । तर समाजले उनीहरूको साथ दिनुभन्दा सामाजिक नियम र मर्यादा उलङ्घन गर्नेलाई सजाय दिने, समाजबाट बहिष्कार गर्ने तथा जस्तो सुकै कडा सजाय हुन सक्ने चेतावनी दिँदै आफ्नो निर्णयलाई फिर्ता लिनुपर्ने सुझाव लादी नै रहे ।

यत्तिकैमा मनिष र विमिसा दुवै एक आपसमा हात गाँसेर भीडबाट निस्के । “एक दुई दिनको भावुकता हो आजकालका पडन्ता उरन्ठेउलाहरूको । पछि बिस्तारै गएर एक अर्कालाई स्वीकार्ने छन्, अनि यिनै गएर भोलिका दिनमा आदर्श जोडी बन्ने छन्” सबै भन्दा बुद्धिमान मानिएका, विचार र निर्णयले खरिएका एक अग्रजले यसो भने पछि सबैले उनैको कुरालाई हो मा हो थपी समर्थन गरे । अचानक केही समयपछि विमिसा र कुन्दन, मनिष र योजना आ–आफ्नो प्रेमी जोडीको हात समातेर त्यहाँ भीडको बीचमा आइपुग्छन् । आफूहरूलाई सामाजिक मान्यता र पारिवारिक सहमतिमा विवाह नगराइ दिए मृत्युदण्ड दिए भोग्न तयार छौँ तर आफ्नो भूमि र समाजबाट टाढा जाने छैनौँ, हामी अपराधी हैनौँ । आफूहरू जस्तै थुप्रै युवा युवतीहरू भोलि गएर यस खालको परिस्थितिमा आउने छन् । कतिको अहिलेकै स्थितिमा अन्तरजातीय प्रेम होला, अपराधीले झैँ लुकेर आफ्नो प्रेमलाई सडाउन बाध्य भएका होलान् । तपाई युवाहरू नै बोल्नुस् यतिखेर ।

किन हामी एकोहोरो, खोक्रो परम्परा र अन्धो संस्कृति धानी आएको, सामाजिक विकृति र विसंगतीहरूको साथ दिने ? आफू चेतनशील भएर पनि मुर्दाको अभिनय गर्दै कहिलेसम्म बाँची रहने ? के साँच्चै हामीले जघन्य अपराधै गरेका हौँ त ? यदि हामी सही छौँ र कुनै गलत भै रहेको छैन भने युवा साथीहरू हामीलाई साथ दिनुस् । यसरी विमिसा र मनिषले भनेपछि त्यहाँ भएका मध्ये सबैभन्दा चन्चले किशोर मरिचदानाले भन्यो “हो नि, सबैले प्रेम गर्छन्, अनि बोल्न डराउँछन् । म त डराउँदिन, सेलिना र मेरो पनि जात मिल्दैन यिनीहरूको भनाइ अनुसार तर उनी केटी म केटा, त्यो नै सही जात हो लु जा त म त भन्छु, त्यसपछि हिम्मत लाल नि बोल्यो “रमिता दिदी र प्रेम दाइ पनि डराउँछन् सबैको अगाडि बोल्न । उनीहरूले अर्को महिना भाग्ने सल्लाह गरेका छन् । अनि कुसुम र रवी, दिवस र हिमाका साथै र अरू पनि थुप्रै यस्तै अवस्थामा छन् । त्यसपछि एक–एक गर्दै थुप्रैले अरूको प्रेम को–कोसँग क–कसको छ भन्ने क्रममा भन्दै थिए, पछि त आ–आफ्नै प्रेमको बारेमा खुलेरै पो भन्न थाले ।

त्यहाँ परिस्थितिले विपरीत मोड लिँदै गयो जुन अन्तरजातीय विवाह त्यै पनि जातीय विभेदको महा विरुद्धमा उठेको थियो । सबै युवाहरू एकै स्वरमा बोल्न थाले
–जातीय विभेद अन्त्य गरिनुपर्छ
– अन्तरजातीय विवाहले मान्यता पाउनुपर्छ
– प्रेम र विवाह नैसर्गिक अधिकार, मौलिक अधिकार हो
– कानूनले दिएको कुरालाई पालना गर्नुपर्छ
– जबरजस्ति सामाजिक कुरीति लाद्न पाइँदैन

यसो भन्दै युवाहरूले जोड दिन थाले निमिसा र कुन्दन अनि मनिषसँग योजनाको विवाहको निम्ति । “ल त अब यो जमाना नयाँ पीँढीहरूको हो । उनीहरूकै चाहना अनुसार समयको तालमा हामी पनि हिँड्नु उचित होला” भन्दै तिनै समाजका अगुवाले बोलेपछि सबैले सहमति जनाए । अनि त अर्को हप्ता ती चारै जनाको विवाह सुसम्पन्न भयो र त्यसपछि त्यो ठाउँमा जातीय विभेद सधैँको लागि अन्त्य भयो । हिजोआज उनीहरू आफ्नो प्रेम निभाइ रहेछन्, सयौँ जोडीहरू अन्तर जातीय विवाह बन्धनमा बाँधिइ सकेका छन् भने अरू सिलसिला जारी नै छ । यो परिवर्तन र क्रान्तिको श्रेय निमिसा र मनिषलाई दिएर थाक्दैनन् त्यहाँका बासिन्दाहरू । अनि त्यो अभियान पुरै देशमा फैलाउने योजना छ निमिसा र मनिषको ।

(स्रोत : सत्यतथ्य मासिकको फेब्रुअरी २०१४ – अंक ५, वर्ष २)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.