~भिमा राई ‘तोलाछा’~
तिम्रो विषाक्त शंकालाई
विश्वासमा परिणत गर्न सकेनौं
पूखौँदेखि चट्टान जस्तै
हिमालयको फेदमा अवस्थित
तिमीलाई हाम्रो उपस्थिति मिथक किन लाग्छ?
आवाजलाई दमन गर्न
पठाऊ पठाऊ तिमी
हात हतियारले सुसज्जित अनि
बम-बारूद बोकाएर
सेना उतार
पुलिस खनाऊ
तथापी युद्ध जारी रहनेछ।
हड्डीलाई मात्र छालाले घेरिएको
पिंजरा जस्तै देखिने
जिउँदा लाशमाथि
बुलेट वर्षाऊ
तिम्रो प्रतिवादमा मुट्ठीहरू उठ्नेछन्
रगत बग्ने छ
तथापी युद्ध जारी रहनेछ।
ए मेरो देश!
तिमी आज कति माथि कति माथि
हामी पैतालाका धूलो
तिमी प्राप्तिको हर्षमा विभोर
असंख्य सपनाहरू
आँखी झ्यालमा काकाकुलको तृष्णा लिएर
आजपर्यन्त नयनहरूमा यथावत छन्
ए मेरो देश!
सपनाको मुहान थुन्न
बाँध निर्माण गर
बाँध एकदिन तोडीने छ
अनि समुद्र लहरी जस्तै बग्नेछ सपना
हावा-पानी, आकाश-धरती
दाल-चामल, स्कूल-दवाई
सब सबमा कर्फ्यू लगाऊ
गरीब हटाउन गरीब नै मार्ने तिम्रो योजना
स्याबास!
ए मेरो देश!
तथापी युद्ध जारी रहनेछ।
जसलाई हेला गर्छौ
उसैको काँध माथि विराजमान तिम्रो सत्ता
जति नै माथि उड़े पनि
वलिष्ठ तिघ्रा उसैको हो
जो निरन्तर जमीनसित संग्लग्न छन्।