पुस्तक समीक्षा : ‘गेस्टापो’ कमजोर आदर्श

~राजेन्द्र पराजुली~book cover - Krishna Dharabasi - Gestapo

दोस्रो विश्वयुद्धले ध्वस्त पारेको जर्मनी लगायतका युरोपेली मुलुक अहिले समृद्धिको शिखरमा छन् । युद्धोपरान्त विकास पथमा लम्कन ती मुलुकका दलहरु राजनीतिक पद्धति, वाक स्वतन्त्रता, अर्थतन्त्रको ढाँचा जस्ता मूलभूत मुद्दाहरुमा एकमत रहे । यसै कारण ती मुलुकहरुमा आर्थिक क्रान्ति सम्भव भयो । द्वन्द्वपछिको अवस्थामा तिनले अंगिकार गरेको राज्य सञ्चालन पद्धति युगानुकूल रहेका कारण नै आज ती देशहरु विकासको चूलीमा पुगेका हुन् । कुनै पनि मुलुकलाई अन्ध राष्ट्रवादले अग्रगामी बाटोमा हिंडाउँदैन । समयानुकूल राष्ट्रवाद मात्रै व्यावहारिक हुन्छ । कृष्ण धरावासीको उपन्यास गेस्टापो को मूल सन्देश यही हो ।

उल्लिखित सन्देश दिन उपन्यासकारले विश्व इतिहास र त्यसमा पनि खासगरी दोस्रो विश्वयुद्धबाट ध्वस्त जर्मनी बारेको अध्ययनमा थुप्रै समय खर्चेका छन् । त्यसैले यो उपन्यासलाई धरावासीको अध्ययनको उपज पनि मान्न सकिन्छ । यद्यपि, यो उपन्यास इतिहासले बढी थिचिएको छ । जर्मन अन्तर्राष्ट्रिय विकास नियोग (जीटीजेड)ले उनी लगायत केही नेपाली लेखकलाई जर्मनी भ्रमण गराएपछि धरावासीको लेखक मनभित्र यो उपन्यासको विजारोपण भएको हो । त्यस क्रममा उनले गेस्टापो बाहेक अरु दुई किताब लेखिसकेको उपन्यासको भूमिकामा खुलाएका छन् ।Rajendra Parajuli

यहाँ दुईवटा प्रश्न उठ्छ– १२ दिनको घुमाइबाट त्यो विशाल देशको जनजीवन, त्यसले व्यहोरेको लामो युद्ध, त्यसले पारेको गहिरो प्रभाव र समग्र जर्मन संस्कृति बुझ्न सकिन्छ ? उपन्यासको निर्माण रुचिकर अध्ययनबाट हुन्छ कि विषयगत ज्ञानबाट ? खासमा गेस्टापो को कथा लेखिएको पुस्तक पढ्दै गर्दा रन्थनिएको लेखकको अनुभूतिलाई यो उपन्यासमा ‘ट्रिकी’ ढंगमा उतारिएको छ । ‘वादी’ बन्न रुचि राख्ने धरावासीले यसमा पनि केही प्रयोग त गरेका छन्, तर त्यो पाठकका लागि रुचिकर बन्न सकेको छैन ।

हिटलरकालीन जर्मनीको गुप्तचर प्रहरी नै गेस्टापो हो । इतिहासले क्रूर खलनायक ठहर गरेको जर्मन तानशाह हिटलरप्रति लेखक कतिपय ठाउँमा सहानुभूतिशील हुन्छन् । इतिहासमा आतंकको पर्यायको रुपमा वर्णित गेस्टापो को पनि लेखकले असल र भावुक छवि देखाउने प्रयत्न गरेका छन् । युद्धकथाको पृष्ठभूमिमा लेखिएका उपन्यासमा पाठकले मूल रुपमा विष्मय, आश्चर्य तथा घटनामा अधिक उतारचढाव खोज्छ । यस्तो कृतिले पाठकलाई उद्वेलित पार्न सक्नुपर्छ । तर, इतिहास चित्रणले थिचिएको यो उपन्यासमा यस्ता सन्दर्भहरु ज्यादै न्यून छन् । बरु, अनावश्यक ठाउँमा पूर्णविराम, अर्धविराम तथा विष्मयादीवोधक चिह्नले उपन्यासलाई बोझिलो बनाइदिएको छ ।

अपरिचित परिवारमा आश्रय पाएको मूल पात्र हैम्बर्ग नै गेस्टापो हो । हैम्बर्गले एउटा अखबारमा कार्यालय सहायकको काम गर्दागर्दै संवाददाता बन्ने अवसर पाएको छ । युद्धकालमा अखबारले पालना गर्नुपर्ने संहिताबारे पनि ऊ सचेत छ । लेखकले उपन्यासमा मानवता र प्रेमको वकालत गर्न खोजेका छन् । मानवतालाई कुनै पनि युद्धले जित्न नसक्ने उनको ठहर छ । त्यसैले उनले उपन्यासमा नायक–नायिका बनाएर तिनका बीचमा प्रेम उमारिदिएका छन् । तर, हैम्बर्ग र नायिकाका रुपमा उभ्याइएकी मान्काबीचको मिलन अति नाटकीय लाग्छ । धरावासी निःशन्देह रुपमा एक शक्तिशाली लेखक हुन् । उनले राधा उपन्यासका निम्ति ‘मदन पुरस्कार’ जितेपछि नेपाली पाठक धरावासीप्रति झनै विश्वस्त भएका हुन् । पाठकहरु उनको लेखनले गुणात्मक फड्को मारेको हेर्न चाहन्छन् । गेस्टापो जस्तो ‘आदर्शवादी’ उपन्यासले त्यस्ता पाठकको चित्त बुझाउन सक्ने देखिंदैन ।

गेस्टापो
लेखकः कृष्ण धरावासी
प्रकाशकः पैरवी बुक हाउस
मूल्यः रु.३७५, पृष्ठः ३०८

(स्रोत : हिमाल खबर)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.