कार्यपत्र : समकालीन नेपाली कथामा सांस्कृतिक चेतना

~पुरूषोत्तम सुवेदी~

सार

नेपाली आख्यानका कथा, नाटक र उपन्यासमा नेपाली संस्कृतिका अनेक पक्षहरूको रचनात्मक आरोपण गरिएको छ । भाषा, भेषभुषा, खाना, गीतसङ्गीत र नृत्य र पेशाका अनेक भँगालामा बाँडिएको नेपाली समाज यही विविधताबाट शक्ति प्राप्त गरेर राष्ट्रिय मूलधारमा हेलिएको छ । यस सन्दर्भमा संस्कृतिको अर्थ, आख्यानमा यसको चेतनाको प्रयोग र प्रभाव जस्ता विषयको साथसाथै प्रगतिशील संस्कृति, साइबर संस्कृति, कृषि संस्कृति, छुवाछुत र दलित संस्कृति जनजातीय तथा क्षेत्रीय संस्कृति, नारीवादी संस्कृति आदि संस्कृतिका सङ्केतहरू नेपाली आख्यानमा कसरी प्रयोग गरिएका छन् तथा मूलभूत रचनाकारहरूको रचनाबारे पनि संक्षिप्त प्रकाश पारिएको छ । सांस्कृतिक चेतना र समकालीन नेपाली कथाको मूल्यको पहिचान गर्दै समकालीन आख्यानको महत्त्वपूर्ण घटकको रूपमा संस्कृतिले स्थान बनाएको र कतिपय अवस्थामा संस्कृति राजनीति पनि हुन पुगेको निष्कर्ष निकालिएको छ ।

उद्देश्य र सीमा

नेपाली कथा आधुनिकताबाट यात्रा प्रारम्भ गर्ने विशिष्ट विधा हो । यसले नेपाली कविताले झैँ संस्कृत काव्यशास्त्र वा अन्य सौन्दर्यशास्त्रीय परम्पराको हात समातेर जीवनयात्रा प्रारम्भ गर्नु परेन । बरू विश्वकै अत्याधुनिक चेतना र सृजन परम्पराको आलोकमा नयाँ विषय, चेतना र सृजन पथको यात्रा प्रारम्भ ग¥यो । नेपाली कथामा लगभग वि.स. १९९० को सेरोफेरोबाट नयाँ समयको नयाँ मूल्य र जीवन दृष्टिको रचनात्मक आरोपण हुँदै आएको छ । आख्यान विधाभित्र सामान्यतया नाटक, उपन्यास र कथाहरूलाई सम्मिलित गरिन्छ । यस प्रस्तुतिमा भने मूलतः कथामा सांस्कृतिक चेतनाको चर्चा गर्ने प्रयत्न गरिएको छ । यद्यपि नाटक र उपन्यासको पनि हाराहारी समयमै आधुनिक यात्रा प्रारम्भ भएको देखिएकोले तिनको पनि सन्दर्भ लिन भने छुटाइएको छैन ।

नेपाली संस्कृतिको सबैभन्दा ठूलो शक्ति यसको शक्तिशाली श्रुति र स्मृति सहित प्रवाहमान लोक चेतनालाई मान्नु पर्दछ । नेपाली रचनाकारहरूले आख्यान रचनामा नेपाली संस्कृतिको यही शक्तिशाली सिर्जनात्मकता, मौलिकता र जनपक्षधरतालाई आधारको रूपमा प्रयोग गरेका छन् । नेपालका सबै भाषाका लिखित र मौखिक रचनाकार आफ्नो भाषिक र सांस्कृतिक परिवेश, मूल्य, विश्वास र स्थानीयताका विविधता र जमिनसँग जोडिएका भोगाइहरूलाई रचनामा सामेल गर्न प्रतिबद्ध छन् ।

नेपाली आख्यानमध्ये नाटकका क्षेत्रमा केही पद्य नाटकहरू वि.सं. १९९१ अगावै देखिएका र मञ्चन भएका समेत देखिन्छन् । केही अनुवाद नाटकहरू गद्यमै पनि राजा महाराजाका डबलिमा मञ्चन भएको इतिहास रहेको छ । तर मौलिक र नेपाली भाषाको नयाँ चेतनाको नाटक पनि समको ‘मुकुन्द इन्दिरा’ र रिमालको ‘मसान’मै खोज्नु पर्ने भएकोले नाटक, कथा र उपन्यासको प्रारम्भताकाको रूप नितान्त नयाँ नै हो भन्न सकिन्छ ।

नेपाली भाषामा लेखिएका कथा, उपन्यास र नाटक मात्र यस पत्रका आधार रहेकाले नेपाली नेपाली बाहेकका भाषाका रचनाहरू यसको विषय क्षेत्रमा परेका छैनन् ।

नेपाली कथामा सांस्कृतिक चेतना विषयमा लगभग लेखिएकै छैन । थोर बहुत अध्ययन भएको भए तापनि त्यो अत्यन्त प्रारम्भिक खालको मात्र छ । यस पत्रमा नेपाली कथाको समकालीन परिदृश्यमा सांस्कृतिक चेतनाको आरोपण बारे अध्ययन गर्ने प्रयत्न गरिएको छ । प्रस्तुत कार्यपत्रमा प्राप्त हुने सुझाव, आलोचना र छलफलबाट नै कार्यपत्रको विषयबारे अध्ययन पूर्ण हुने ठानेकाले सक्रिय सहभागिताको लागि आग्रह गर्दछु ।

विषय प्रवेश
 
नेपाली बृहत् शब्दकोश अनुसार संस्कृति भन्नाले ‘परिस्कार वा परिमार्जन, कुनै राष्ट्र वा जातिको सामाजिक जीवन, राजनीति, अर्थव्यवस्था आदिमा प्रतिबिम्बित हुने र तिनका कलाकौशल तथा बौद्धिक विकास आदिमा प्रतिबिम्बित हुने सम्पूर्ण क्रियाकलापको परिस्कृत रूप, धेरै समयदेखि देशकाल सापेक्ष भई आन्तरिक वैचारिक तथा परम्परागत धारणाका रूपमा विकास हुँदै आएको र आचार विचार रहनसहन आदिका माध्यमले कुनै राष्ट्र समाज जाति आदिको स्वरूप खुट्टिने यावत मान्यता, भावना, चिन्तन मनन्, मौलिक अभिव्यक्तिहरू समेतको समूह वा साधन, कला, साहित्य, इतिहास, भाषा, धर्म, दर्शन आदि विभन्नि विषय वा मूल्य परम्पराको समष्टि नाम (नेपाली बृहत् शब्दकोश, २०४० ः १२८०) । संस्कृतिको क्षेत्र यस बाहेकका अनेकौँ अर्थहरूभित्रका सक्रियता र कार्यहरूका अन्तर्निहित तात्पर्यहरूबाट विस्तारित र निरन्तर प्रवाहित रहेको देखिन्छ ।

संस्कृतिलाई मूलतः २ श्रेणीमा विभाजन गर्न सकिन्छ ः
क. परम्परागत वा स्थापित संस्कृति, जसलाई आत्मिक संस्कृति पनि भनिन्छ ।
ख. निर्मित संस्कृति, जसलाई भौतिक संस्कृति समेत भनिन्छ ।

नेपाली बृहत् शब्दकोशले उल्लेख गरेको संस्कृति परम्परागत स्थापित संस्कृति हो भने समय क्रममा मानिसले वा मानव समाजले सृजना, निर्माण, उत्पादन वा आविस्कार गरेको भौतिक र चिन्तनगत संस्कृति निर्मित संस्कृति हो । आत्मिक संस्कृतिभित्र नै अनेक धार्मिक, जातीय वा क्षेत्रीय विश्वासका आधारमा विकसित धार्मिक शास्त्र, कर्मकाण्ड र अनुष्ठान लगायतका लोकाचार, सदाचार, साहित्य कला सङ्गीत र अन्य कलाकौशलहरू पनि पर्दछन् । पछिल्लो समय संस्कृतिका भेद–उपभेदहरूलाई अझ ससानोमा टुक्य्राइ अध्ययन गर्ने परिपाटी र विशेषज्ञताको चिन्तन सुरू भएको छ । जसले गर्दा संस्कृतिको अध्ययन टुक्राहरूमा विभाजित गरि गहिरोसँग हेर्ने परिपाटी सक्रिय रहेको छ । आत्मिक संस्कृति लामो अनुभव, चिन्तन र परिक्षणबाट बन्ने हुँदा यो लामो समयसम्म टिक्छ । निर्मित संस्कृति भने छोटो अवधिमा बन्छ र छोटो अवधिमै हराउँछ पनि । सभ्यता र संस्कृतिलाई भिन्नै अर्थका ठान्नेहरूको सङ्ख्या पनि कम छैन । तर धेरैको मतमा सभ्यता संस्कृतिको भौतिक विकास मात्र हो । र संस्कृति जिर्ण वा असफल भए पछि सभ्यताले जन्म लिन्छ । धेरैले संस्कृतिलाई जीवन दृष्टि, मूल्य र परिवर्तनशील सामाजिक अग्रगमनको रूपमा पनि स्वीकार्छन् । टाइलरले संस्कृतिलाई ‘एक जटिल समग्रता जसमा ज्ञान, विश्वास, कला, आचार, कानुन, प्रथा तथा यस्तै अन्य क्षमता र आदतहरू समाविष्ट हुन्छन् र मान्छेले यसलाई समाजको सदस्य हुनुको नाताले प्राप्त गर्दछ’ (टाइलर, इ.वि. १८७४ ः १) । संस्कृतिमा केही विशेषताहरू निम्न बमोजिम रहेका छन् ः
क.  संस्कृति पूर्णतः सामाजिक सिकाई र अनुभवमा आधारित हुन्छ । यसको चरित्र पुरै सामूहिक हुन्छ र प्रयोग सङ्गठित र व्यवस्थित रूपमा गरिन्छ । संस्कृतिको एक पिँढीबाट अर्को पिँढीमा हस्तान्तरण हुने गुण हुन्छ । कुनै पनि समाजको सामूहिक जीवन विधि अन्तर्निहित रहन्छ ।
ख.  संस्कृतिमा अनुकूलनको क्षमता पनि हुन्छ । भूगोल र परिस्थितिसँगै संस्कृतिको अनुकुलनले नै जीवन र जीवनको कार्यव्यापार सम्भव तुल्याउँछ ।
ग.  संस्कृति परिवर्तनशील हुन्छ । समाज विकासको प्रक्रियामा लामो समय लिए पनि संस्कृति परिवर्तनशील हुन्छ ।
घ.  संस्कृति मनुष्यको आवश्यकताको पूर्तिको साधन पनि हो ।
ङ.  संस्कृतिमा एकरूपता हुँदैन । प्रत्येक समाजका विशिष्टताले गर्दा र एकभन्दा अर्को समाज भिन्न भएकोले पनि संस्कृतिमा भिन्नता देखा पर्दछ । संस्कृतिमा एक आपसमा जोड्न सक्ने समानताका सूत्रहरू पनि विद्यमान रहेका हुन्छन् । संस्कृतिले नै मानिसलाई सामाजिक प्राणीका रूपमा विकास गर्न सहायता पु¥याउँछ ।
च.  संस्कृतिको विकासका निश्चित आधार हुन्छन् । यो शुन्यमा जन्मँदैन । यसको विकास उत्पादन र श्रम सम्बन्धबाट हुन्छ । उत्पादन सम्बन्धमा परिवर्तन आउँदा सस्कृतिमा पनि परिवर्तन आउँछ । आर्थिक व्यवस्था संस्कृतिको आधार हो भने साहित्य, दर्शन, कानुन, कला आदि विचार र दृष्टिकोणका विविधता चाहिँ अधिरचनाहरू हुन् । अधिरचनाको रूपमा रहेको संस्कृतिमा परिवर्तन हुँदा आधारमा परिवर्तन हुन जान्छ ।
छ.  संस्कृतिको चरित्र वर्गीय र सासकीय दुवै हुन्छ । यसले राजनीतिक प्रभुत्व र वर्गाधारसँग जोडिएर शासक वर्गको संस्कृतिको विस्तार गर्छ र अन्य संस्कृतिको दमन पनि गर्दछ । नेपालको संस्कृतिमा संस्कृतिको विस्तार र अर्को संस्कृतिको दमनका कुराहरू प्रशस्त उठेका देखिन्छन् । सानो माछालाई ठुला माछाले खान्छ र ठुलो माछालाई मारेर मान्छेले खान्छ भनेझैँ शासक र उच्च वर्गीय संस्कृतिले अन्य संस्कृतिलाई दमन गर्दछ । शासक एवं उच्चवर्गीय संस्कृति पनि बाह्य संस्कृतिबाट दमन गरिन्छ । बाह्य दमनका रूपमा शक्तिराष्ट्रको प्रत्यक्ष दबाब मात्र होइन भूमण्डलीय पुँजीका अन्य प्रत्यक्ष र अप्रत्यक्ष साधनहरू पनि दमनकारी शक्तिको रूपमा पर्छन् । आजको वर्चश्वकारी पुँजीवादले सामरिकभन्दा सांस्कृतिक हस्तक्षेप सघन बनाउँदै लगेको छ र यस सिलसिलामा उच्चवर्गीय संस्कृति र सत्ता स्वार्थसँग घाँटी जोड्न लागेको प्रत्यक्षतः देखिन्छ । संस्कृतिमा हस्तक्षेप, दमन र आक्रमण जति बढ्छ, प्रतिरोधको शक्ति पनि त्यसरी नै बढ्छ । प्रतिरोधको वा प्रतिपक्षको संस्कृतिको पक्षधरता नै नेपाली कथा परम्पराको प्रमुख स्वर रहँदै आएको छ । कथा नाटक र उपन्यास तिनवटै विधामा सांस्कृतिक प्रतिरोध बलियो रहेको र शास्त्रीयता तुलनात्मक रूपमा कमै रहेको देखिन्छ । सृजनाको सापेक्षमा आलोचना कमजोर रहेको र सिर्जनाको सापेक्षमा आलोचना शास्त्रीयतापरस्त समेत रहेको स्थितिमा पनि नेपाली आख्यानको प्रतिरोध क्षमता निकै शक्तिशाली देखिएको छ ।

सांस्कृतिक अध्ययनलाई पछिल्लो समयमा उत्तर आधुनिकतावादी र नव माक्र्सवादीहरूले निकै जोडका साथ अघि बढाएका छन् । उत्तर आधुनिकतावादीहरू बहुलवादी प्रवृत्तिको आधारमा र अन्तर्विषयक अध्ययन पद्धतिको रूपमा सांस्कृतिक अध्ययनलाई बहुपक्षीय र बहुमार्गी समेत मान्छन् भने माक्र्सवादी अवधारणालाई एकलवादी । प्रा. मोहनराज शर्मा माक्र्सवादी अवधारणालाई आलोचना गरिरहनु भएको छ ‘साइबर (उत्तर आधुनिक) समालोचना बहुलवादी हो भने माक्र्सवादी एकलवादी, एकलवादीले आफ्नो गोरूको बाह्रै टक्का गर्ने हुँदा अरूका जुनसुकै कुरालाई पनि अमान्य गर्छ । प्रगतिवादीले साइबर समालोचनाको विरोध गर्नु पनि यही एकलवादी दृष्टिकोणको परिणाम हो’ (मोहनराज शर्मा, समकालीन साहित्य, पूर्णाङ्क ७२ ः ११०) । त्यस्तै नवमाक्र्सवादी मत वर्ग, वर्ण र आर्थिक पक्षसँग संस्कृतिलाई जोड्छ । ‘समाज, लिङ्ग, जाति, धर्म, क्षेत्रसँगै वर्गबिचको द्वन्द्वबाट सञ्चालित छ र संस्कृतिले अर्थव्यवस्थाले जस्तै त्यही रूपमा जनतामा पहिचानको चेतनालाई आकार दिन्छ’ (ताराकान्त पाण्डेय, भृकुटी पूर्णाङ्क १९, पृ. १७२–१९३) । राजनीति, लैङ्गिकता, जनजातियता, कलाका विविध रूप र चरित्रहरू, पहिचानका अनेक रूपहरूसँग जोडिएर अहिले संस्कृतिको व्यापक अर्थ विस्तार भएको छ । विड्नेको मतमा संस्कृतिका चार घटक हुन्छन् ः

१. कृषि सम्बन्धी
२. मन सम्बन्धी
३. प्रविधि सम्बन्धी
४. समाज सम्बन्धी

यी ४ घटकभित्र संस्कृतिको समग्रता अटाउँछ । राल्फ टर्नर भन्छन् ः ‘मूलतः भाषा र अन्य प्रतीकहरू मार्फत प्राप्त हुने धनराशी संस्कृति हो ।’ संस्कृतिको उदय हुनुमा भाषाको केन्द्रीय महत्त्व त छँदैछ । संस्कृतिका अधिकांश कुरा र लक्षणहरू भाषाबाट नै उद्घाटित र विस्तार हुन्छन् भन्ने कुरामा अविश्वास गर्न सकिँदैन ।
सभ्यता र संस्कृति एउटै हुन् वा बेग्लै हुन् भन्ने कुराको विवेचना पनि महत्त्वपूर्ण ठहरिन्छ । सभ्यता गणना गर्न सकिने र दैनिक जीवनमा प्रयोग गर्न सकिने विषयहरूको उपयोगितासँग सम्बन्धित छ । यसले गर्दा सभ्यता तुलनात्मक रूपमा चलायमान र संस्कृति अपेक्षाकृत स्थिर विषय पनि भन्न नसकिने होइन । संस्कृतिलाई अघि बढाउन प्रयास गर्नु पर्छ भने सभ्यता विना प्रयास पनि अघि बढ्छ । यस्तै लोकप्रिय संस्कृति सनसनीपूर्ण हुने भएकोले विना प्रयास विना विज्ञापन फैलने चरित्रको हुन्छ । प्रथम विश्वयुद्धदेखि सन् १९३० को महामन्दी र द्वितीय विश्वयुद्धको बिच र पछि विश्वमा ठुलो आर्थिक र राजनीतिक परिवर्तन भयो । हजारौँ वर्षदेखि एकाधिकार साथ सञ्चालनमा रहेको पुँजीवादी व्यवस्थाको विकल्पको रूपमा वैज्ञानिक समाजवादी विश्व दृष्टिकोण एकैसाथ प्रस्तुत भयो । यसले अर्थतन्त्र, दर्शन, संस्कृति र परम्परागत मूल्यलाई हेर्ने दृष्टिकोण पनि नवीन बोकेर आएकोले यसका व्यापक प्रभावहरू परे । रेडियो, सिनेमा, टेलिभिजन र तारयुक्त र वेतार सञ्चार साधनले नयाँ संस्कृतिलाई जन्म दिए । द्वितीय विश्वयुद्ध पछि पुँजीवादी र समाजवादी शिविरमा गहिरिएको शितयुद्धले व्यापक निरासा एकातिर देखाप¥यो भने अर्कोतिर साम्राज्यवाद र उपनिवेशवाद विरूद्ध समाजवादी शिविरको नेतृत्वको अन्तर्राष्ट्रिय जागरणले सयौँ देशहरू उपनिवेशबाट मुक्त भए । फलस्वरूप जाति, जनजाति, क्षेत्र, लिङ्ग र वर्गीय विषयहरू बहसमा आउन थाले । पुँजीवादी संस्कृतिको वर्चश्वलाई चुनौती दिन समाजवादी संस्कृति देखा प¥यो भने सूचना प्रविधि, आर्थिक उत्पादन, वर्ग र श्रम सम्बन्धको नयाँ संस्कृतिले नै पुरै विश्वलाई चलायमान पा¥यो ।

साइबर संस्कृति
विभिन्न नाममा सांस्कृतिक राष्ट्रवाद, सांस्कृतिक पुनरूत्थानवाद र फाँसीवादका अतिवादी स्वरहरू नेपाली आख्यानमा देखिन थालेका छन् । साम्प्रदायिकता, उपभोक्तावाद, प्रविधिको गौरवमण्डन, व्यक्तिवादी संस्कृति र पम्परागत मूल्यको विघटन नेपाली कथामा विस्तारै देखिँदै आएका छन् । उत्तर आधुनिकताको नाममा आएको सूचना प्रविधि र साइबर संस्कृतिको तिव्र विकास हुँदैछ । खासगरि डायस्पोरिक साहित्यको मूल हिस्सा अनलाइन श्रोतबाट उत्पादन र प्रचार प्रसार भई रहेको छ । अनलाइन साहित्यको एउटा पुस्ता नै जन्मेको भन्दा पनि हुन्छ । लेख्नासाथ प्रविधिले प्रत्येक कम्प्युटर स्क्रिनमा पु¥याउने अनलाइन संस्कृतिको साहित्यले तुरून्तै प्रतिक्रिया पाउने, फैलने आलोचना प्रत्यालोचना प्राप्त गर्ने हुँदा यो तत्क्षण सम्पेक्षणमा शक्तिशाली देखिएको छ । अनलाइन बिक्रीको लागि आजका अधिकांश साहित्यिक रचनाका डिजिटल भर्सन उपलब्ध छन् । खासगरि उपन्यास र कथा यसरी डिजिटल भर्सनमा सर्वाधिक बिक्री हुने पुस्तकहरूमा पर्छन् । साइबर संस्कृति विस्तारै पुस्तक प्रकाशन, मार्केटिङ र बिक्री वितरणको महत्त्वपूर्ण श्रोतको रूपमा स्थापित हुँदैछ ।

दलित तथा छुवाछुत संस्कृति 
हिन्दु वर्णाश्रम धर्मका ४ जातको वर्गीकरणमा तल पारिएको दलित समुदाय शताब्दीयौँदेखि जातीय भेदभाव र छुवाछुतको भेदभावले पीडित रहेको छ । २०२१ सालको मुलुकी ऐनमै जातीय भेदभाव गैरकानुनी गराइए पनि समाजबाट यस्तो नकारात्मक संस्कृति हट्न सकेको छैन । यस पृष्ठभूमिमा टि.आर. विश्वकर्मा, जवाहर रोका, रविमान लमजेल, आहुति, धनकुमारी सुनार आदिका भुक्तभोगी कलमबाट निस्केका जातिभेद छुवाछुत विरोधी साहित्य महत्त्वपूर्ण छन् । आहुती र खगेन्द्र सङ्ग्रौलाका दलित चेतनाका सक्रिय प्रतिरोध र दलित चेतनालाई उठाउन आर्थिक–सामाजिक सक्रियताको आवश्यकता बोध गराउने रचनाहरू नेपाली आख्यानका महत्त्वपूर्ण प्राप्ति हुन् । दलितका पक्षधर प्रशस्त रचनाहरु अहिले नेपाली साहित्यमा देखिएका छन् ।

आख्यानको उन्नयन र प्रकाशन अवसरको प्रश्न
अहिले आएर नेपाली तथा अन्य भाषामा प्रकाशन हुँदै आएका पत्रपत्रिका या त बन्द भए या त तिनको स्तरीयता र प्रचार प्रसार कमजोर भएको स्थिति छ । लेखिएका रचनाहरू पाठकमा पुग्न नसक्ने स्थितिले एकै पटक पुस्तक प्रकाशन गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।
कथा, कविता, निबन्ध, नाटक, समालोचना या प्रकाशन मञ्चको कमीले नयाँ पुस्तालाई साइबर संस्कृतितर्फ धपाउँदैछ भने नयाँ रचना अब सङ्ग्रहमै पढ्नुपर्ने स्थितिले नेपालको प्रकाशन व्यवसायलाई पनि असर पु¥याउने निश्चित छ ।

नेपाली साहित्यमा अहिले निजी क्षेत्रका प्रकाशन गृहहरूको शक्तिशाली उपस्थिति हुन पुगेको छ । साझा प्रकाशनको पतन र नेपाल एकेडेमीको नयाँ सृजनात्मक सङ्ग्रहहरू कम छाप्ने निर्णयले सामान्य लेखकहरू प्रभावित हुन पुगेका छन् । नयाँ प्रकाशन गृहहरूले उपन्यास, कथा, निबन्ध र संस्मरणका पुस्तकहरू भव्य कलेवर र साजसज्जामा प्रकाशन मात्र गरेका छैनन्, विज्ञापन, प्रचार प्रसार, समीक्षा, मार्केटिङका अनेक शैलीहरू प्रयोग गरेर लक्षित समूहसम्म पु¥याएर ठुलो सङ्ख्याका पुस्तक बेच्ने संस्कृतिको पनि प्रारम्भ गरिसकेका छन् । यसले गर्दा उपन्यास, कथा, निबन्ध र संस्मरण निबन्धका नयाँ र व्यावसायिक सम्भावनाहरू पनि देखिएका छन् । उचित प्रयोग गरिएमा नयाँ लेखन र प्रकाशन संस्कृति उदय हुने क्रममा छ । पाठकहरूको नयाँ पंक्ति बजारमा पैसा तिरेर पुस्तक किन्न खडा भएको समयलाई सार्थक लेखन र दिगो प्रकाशनको क्रमले मात्र बचाउन सक्ने कुरामा पनि विश्वस्त हुन सकिन्छ ।

उपन्यास लेखनमा ध्रुवचन्द्र गौतम, खगेन्द्र सङ्ग्रौला, भाउपन्थी, हरिहर खनाल, प्रदीप नेपाल, नारायण ढकाल, नयनराज पाण्डे, शारदा शर्मा, मनिसा गौचन, उमा सुवेदी, आन्विका गिरी, अमर न्यौपाने, युग पाठक, कमल नियोल, राजन मुकारूङ, ऋषिराज बराल, विमल सुवेदी, आहुति, बुद्धिसागर, ब्रजेश खनाल आदिको सक्रिय, अर्थपूर्ण र सांस्कृतिक चिन्तन सहितको उपस्थितिले उपन्यासको रूप, गुण र बजार समेत प्रभावित हुन पुगेको छ । त्यस्तै नाटकमा मोहनराज शर्मा, अभि सुवेदी, अविनाश श्रेष्ठ, अशेष मल्ल, गोपी सापकोटा, किशोर पहाडी, गोविन्द सिं राउत, शार्दूल भट्टराई, राजव, खगेन्द्रराज सिटौला, विप्लव ढकाल, रमेश रञ्जन, रोशन सुवेदी, कृष्ण शाह यात्री लगायतको सक्रियता रहेको छ । लोक नाट्य क्षेत्रमा खास काम भएको देखिँदैन प्रस्टमा, तर गाउँगाउँमा सक्रिय लोक नाट्य परम्परा भित्रभित्रै सक्रिय रहेको छ । नाटक लेखनकै हाराहारीमा मञ्चनका प्रयास पनि भइरहेका छन् । तर नेपाली भाषाको रङ्गमञ्च मूल रूपमा विकासे संस्कृतिबाट प्रभावित र लगानी समेत प्राप्त गर्ने क्रममा विदेशी नाटकको अनुवादलाई मञ्चन गर्ने क्रममा मूलतः संलग्न देखिएको छ । रङ्गमञ्च एक वर्गको सोखको विषयको रूपमा विकास हुनु त्यति राम्रो होइन ।

यसको विपरित नेवार, मैथिली, भोजपुरी र अवधि भाषाका लोक परम्परा शक्तिशाली भएको कारण ती भाषाका संस्कृतिको नाटक, नृत्य र रङ्गमञ्च अहिले पनि प्रभावशाली र सांस्कृतिक सम्पन्नतायुक्त रहेको कुरामा भने सन्तोष मान्न सकिन्छ ।

ग्रामीण क्षेत्रमा प्रचलित नाट्यशिल्पहरू क्रमशः लोप हुँदैछन् । प्रदर्शनकारी संस्कृति अहिले सबैतिर सङ्कटमा परेको देखिन्छ । विवाह, व्रतबन्ध, पुजाआजा, षष्टिपूर्ति, चौरासीपूजा, तिज, दशैँ, तिहार, उधौली उभौली, चण्डी लगायतका लोक चाडपर्वहरू खर्चिला र संस्कृतिभन्दा पनि प्रदर्शनकारी ज्यादा देखिन थालेकोले यसको सांस्कृतिक असरबारे चिन्ता गर्नु पर्ने देखिन्छ ।

नेपाली कथामा संस्कृति
नेपाली समाजका विभिन्न जातीय, धार्मिक र भाषिक समूहमा लोकपरम्पराहरू अत्यन्त शक्तिशाली रहेका छन् । लोक परम्पराभित्र सम्बन्धित जातीय, धार्मिक वा भाषिक समूहमा धर्म, चाडपर्व, नृत्य सङ्गीत जन्म विवाह मृत्यु जस्ता घटनाहरूलाई लिने र तिनलाई मान्ने वा ग्रहण गर्ने परम्परा र प्रक्रियाहरू पर्दछन् । पूर्वीय संस्कृतिको नेपाली समाजका प्रत्येक व्यक्तिहरू आफ्ना आमाबुबाको विवाहदेखि नै कुनै न किसिमको धार्मिक वा सांस्कृति कर्मकाण्ड हुँदै अघि बढ्ने परम्पराबाट गुज्रने हुँदा धर्म र संस्कृतिको बलियो हस्तक्षेप रहेको हुन्छ । नेपाली संस्कृतिमा अधिकांश जातीयता र सांस्कृतिक समूहमा गर्भाधारण पछि दही चिउरा खुवाउने परम्परा रहेजस्तै क्रिश्चियन युरोपियन समाजमा द्यबदथ क्यधभच को प्रचलन हुन्छ । नेपाली परम्परामा सुस्वास्थ्य र सफल जन्मको कामना गर्दै आशीर्वाद र शुभकामना दिँदा केही महत्त्वपूर्ण खाद्य पदार्थ खुवाउने गरिन्छ भने अङ्ग्रेजी र युरोपियन परम्परामा गर्भवतीलाई र उसको हुनेवाला बच्चालाई आवश्यक लत्ताकपडा र खेलौनाहरू समेत दिइन्छ । गर्भधारण पछि जब बच्चा जन्मन्छ त्यसपछि छैँठी, न्वारान, व्रतबन्ध, विवाह, चौरासी पूजा (भीमरथारोहण) लगायतका अनेक कर्मकाण्डहरू धार्मिक मान्यता अनुसारकै परम्परामा प्रत्येक समुदायले पालन गर्दै आउँछ । जन्मदेखि नै कर्मकाण्ड, सांस्कृतिक परम्परा र सो परम्परा सुहाउँदो लुगाफाटो, खानपिन र ढोगभेट, भेटघाटको परम्परा व्यक्तिले पालन गर्छ । व्यक्तिमा प्रत्येक गतिविधि उसको सांस्कृतिक चेतना अनुरूप नै रहने हुँदा उसको लेखनमा पनि आफु जन्मेको समाजका क्रियाकलाप र सांस्कृतिक समझहरू ऊजागर हुनु स्वाभाविकै हो । बहुधार्मिक, बहुजातीय, बहुसांस्कृतिक र बहुभाषिक समाजमा साहित्य सिर्जनामा पनि व्यक्ति र समाजले भोग्ने सांस्कृतिक बिम्बहरू देखा पर्नु वा सांस्कृतिक प्रभाव अभिव्यक्त हुनु सामान्य नै हो । नेपाली आख्यानमा पनि सांस्कृतिक विविधताका आयामहरू फरक सांस्कृतिक समुदायका व्यक्ति लेखकका रचनामा स्पष्टतः दृष्टिगोचर हुन्छन् । बहुसांस्कृतिक र बहुभाषिक समाजका अधिकांश व्यक्तिहरू बहुभाषिक छन्, अधिकांश चाडपर्व र संस्कृति साझा रहेका छन् र एक अर्काका सांस्कृतिक परम्परा राम्ररी बुझ्छन् ।

भनिन्छ, अङ्ग्रेजी भाषी संसार विश्वभर फैलेको छ । अमेरिका, क्यानडा, अस्टे«लिया, बेलायत जस्ता मूल अङ्ग्रेजी भाषी राष्ट्रहरूसँगै अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका धेरै देशमा ठुलो अङ्ग्रेजी भाषी समुदाय छ र अङ्ग्रेजी पठन, लेखनको परम्परा शक्तिशाली रही आएको छ । तर अमेरिकी अङ्ग्रेजी, बेलायती अङ्ग्रेजी, भारतीय अङ्ग्रेजी, मोरिससको अङ्ग्रेजी, अफ्रिकी अङ्ग्रेजी र श्रीलङ्काको अङ्ग्रेजी लेखनमा भाषा बाहेक अन्य सबै विषयहरू फरक देखिन्छन् । भाषिक बाहेक अन्य सांस्कृतिक फरक विश्वव्यापी अङ्ग्रेजी भाषाको साहित्यमा स्पष्ट देखिन्छ । नेपाली भाषामा लेख्ने लेखकहरू विभिन्न धार्मिक, जातीय, भाषिक, सांस्कृतिक र क्षत्रीय परम्परा साथ आउँछन् र आप्mनो परम्परा र संस्कृति अनुसार नै रचना गर्छन् । उनीहरूले प्रयोग गर्ने बिम्ब प्रतीक, जीवन र प्राकृतिक चित्रणमा त्यस्तो मौलिकता स्पष्ट दृष्टिगोचर हुन्छ । भवानी भिक्षुले गरेको सामाजिक स्थितिको चित्रण गोविन्द गोठाले, विजय मल्ल, रमेश विकल, पासाङ गोपर्मा वा काजीमान कन्दङ्वा कसैसँग पनि मिल्दैन । त्यस्तै नेपालको नेपाली भाषामा लेखिने कतिपय सांस्कृतिक र जातीय बिम्बहरू नेपाल बाहिर खास गरी भारतीय नेपाली भाषीहरूका प्रयुक्त बिम्बसँग स्पष्टै छुट्टिन्छन् । तर नेपाल भित्रका भाषिक, जातीय र सांस्कृतिक समूहका नेपाली वा नेपाली बाहेककाभन्दा भाषाका रचनामा केही सांस्कृतिक बाहेक अन्य बिम्बहरू एकनास नै रहेको यथार्थका कारण नेपाली जातिको सांस्कृतिक सम्वाद र मिश्रण एक हदसम्म हुन सकेको कुरा प्रकाशित कथा, उपन्यास र नाटकहरूमा स्पष्टै देख्न सकिन्छ ।

सांस्कृतिक जागरण र नेपाली कथामा यसको आरोपण

नेपाली कथामा राजनीति, समाज परिवर्तन र सांस्कृतिक दृष्टि यसको प्रारम्भ कालदेखि नै प्रयुक्त भइ आएकोले समकालीन कथामा पनि यसको प्रयोग स्वाभाविक रूपमा रहँदै आएको देखिन्छ । प्रथम विश्व युद्ध, १९३० को महामन्दी र द्वितीय विश्व युद्धलाई नेपाली समाजको बाह्य विश्वसँग बन्द सम्बन्धलाई जोड्ने र युरोपियन र अमेरिकी विश्वमा हुँदै गरेका प्राविधिक, वैज्ञानिक, सांस्कृतिक र साहित्यिक सक्रियतासँग जोड्ने समयको रूपमा बुझ्न सकिन्छ । खास गरेर उच्च व्यापारिक घराना र भारदारहरूका छोरालाई निजामती, जङ्गी र परराष्ट्र सेवाका लागि योग्य बनाउन अङ्ग्रेजी पढाउने उद्देश्यले भारत र बेलायतका विभिन्न विश्व विद्यालयमा नेपाली पढ्न पुग्छन् । प्रथम विश्व युद्धपछि द्वितीय विश्य युद्धसम्मको लगभग ३० वर्षको अवधि छिमेकी भारतका मध्यम वर्गका बेलायत, युरोप र अमेरिका तथा भारतमै अङ्ग्रेजी पढेका व्यक्तिहरूसँग नेपाली भारदार वर्गका युवकहरूको पनि सम्वाद र सम्बन्ध भयो । त्यस सम्बन्धले भारतीय स्वतन्त्रता सङ्ग्राममा उनीहरू जोडिए । उनीहरूको सक्रियतालाई नेपालमा राणा शाहीको सामन्ती शासनको अन्त्यसँग पनि मानसिक र भौतिक रूपले जोड्छ । संस्कृत काव्य परम्पराका छन्द, रस र अलङ्कारमा नेपाली कविता लेख्ने वीरधारा, भक्तिधाराका कवि पण्डितहरू र स्तुति गायक कवि भारदारहरूको परम्परासँग जेलिएको र हिन्दु वर्णाश्रम धर्म सम्बद्ध परम्परालाई कथामा कलम चलाउने नव युवकहरूले आधारको रूपमा ग्रहण गरेनन् । वि.सं. १९८३ को देवीको वलि (सूर्य विक्रम ज्ञवाली) र १९८४ को अन्नपूर्णा (रूप नारायण सिंह) जस्ता कथाहरूबाट नयाँ राजमार्ग निर्माणमा ढल्केको नेपाली कथा १९९२ मा नासो (मैनाली) मा आइपुग्छ । कथाको साथसाथै मसान नाटक (रिमाल) र रूपमति उपन्यास (रूद्रराज पाण्डे) १९९१ मै प्रकाशित भएर आख्यानमा नयाँ हलचल र सामान्य मान्छेको नायकत्वको चेतना अकस्मात आइ पुगेकोले नयाँ गद्य भाषा, नयाँ सांस्कृतिक चेतना र नयाँ कथ्यको नयाँ युग कथाले ल्यायो भन्न सकिन्छ ।

‘वर्तमान नेपाली कथाको सम्बन्ध १९९२ देखि देखा परेका सजग कथासँग मात्र छ । र १९९२ देखि देखा परेका कथाहरूको सम्बन्ध चाहिँ पश्चिमेली आधुनिक कथासँग छ’ (मोहनराज शर्मा, कथाको विकास प्रक्रिया, सा.प. ०३५, भूमिका) ।

समाज परिवर्तनको स्वर मसान नाटकको नारी केन्द्रित चेतनाले जसरी ल्यायो त्यसरी रूपमतिले नल्याए पनि सामान्य मान्छेलाई र उसको कार्य व्यापारलाई केन्द्रमा ल्याउन भने सफल नै रहेको देखिन्छ । रूद्रराज र रिमालले जुन नयाँपन उपन्यास र नाटकमा भित्र्याए, त्यस्तै नयाँपन बोकेर गुरूप्रसाद मैनाली, वि.पी. कोइराला, पुष्कर शमशेर, बालकृष्ण सम, गोविन्द गोठाले, भवानी भिक्षु, हृदयचन्द्र सिंह प्रधान, पूर्णदास श्रेष्ठ लगायतको एउटा वर्ग कथा लेख्न ओर्लन्छ । यस समूहले यथार्थलाई कला मूल्यको रूपमा आरोपण गर्दै तथा तार्किक रूपमा नयाँ विषय अघि सारे पनि सोको अन्त तयारी वा परम्परागत तथा शाश्वत विचारलाई स्थापित गर्ने नियतले कथा रचना हुन पुगेको देखिन्छ । मैनाली र कोइरालासँगै भवानी भिक्षुको ‘मानव’, मैनालीको ‘परालको आगो’, गोठालेको ‘हाँसको भाले’, हृदयचन्द्र सिंह प्रधानको ‘विदुषी माधवी’ र इन्द्र सुन्दासको ‘सपनाको सम्झना’ जस्ता कथा १९९३ तिरै आइ सकेका थिए । ‘के गरेकी शोभा’ र ‘भाँडो’ कथाबाट कथा परम्परामा नयाँपन गोठालेले सूत्रपात गरे तथा मनोवैज्ञानिक र सांस्कृतिक चेतनाको गहिरो पाटोतिर कथा डोरिन थाल्यो । भवानी भिक्षु, ‘ईश्वर खुदा गड्काकान’, ‘हारजित’ जस्तो कथा लिएर गोठालेसँग हातेमालो गर्छन् ।

कथा प्रारम्भको यस समय मातृका कोइराला, विजय मल्ल, शिवकुमार राई, दौलतविक्रम बिष्ट र बदरीनाथ भट्टराई पनि कथामा नयाँपन ल्याउन प्रयत्न गर्छन् । सोमध्वज बिष्ट, रमेश विकल, इन्द्रबहादुर राई, बालकृष्ण पोखरेलहरूको जमात पनि २००७ सालमै हाराहारी कथायात्रा प्रारम्भ गर्छ । बालकृष्ण समको मुकुन्द इन्दिरा नाटक, रिमालको मसान र गोठालेको के गरेकी शोभा र हृदयचन्द्र सिंह प्रधानको एक चिहान उपन्यास र नाटक पनि नेपाली आख्यानको समग्र परिदृश्य बदल्ने गरी प्रकाशित भएको देखिन्छ । १९९४ मा प्रकाशित कथाकुसुमको प्रकाशन पनि नेपाली कथाको कोसेढुङ्गो हो । त्यसपछि ध्रुवचन्द्र गौतम, पारिजात, प्रेमा शाह, मनु ब्राजाकी, परशु प्रधान, भागिरथी श्रेष्ठ, खगेन्द्र सङ्ग्रौला, राजेन्द्र विमल, हरिहर खनाल, भाउपन्थी, ध्रुव सापकोटा, कुमार ज्ञवाली र प्रदीप नेपालहरूको शक्तिशाली कथा परम्परा प्रारम्भ भयो ।

त्यसपछिको पुस्तामा राजव, सन्तोष भट्टराई, अशेष मल्ल, इस्माली, हरि अधिकारी, रत्न धोजु, किशोर पहाडी, देवेन्द्र प्रताप शाह, नारायण ढकाल, कुन्ता शर्मा, रत्न कोजु, गोपाल पराजुली, विजय चालिसे, नन्दराम लम्साल, अनिता तुलाधर, अविरल स्थापित, अविनाश श्रेष्ठ, रविमान लमजेल, लीला श्रेष्ठ सुब्बा, जगदिश घिमिरे, माया ठकुरी, सीता पाण्डे, मञ्जु काँचुली, डा. विष्णु राई, नविन विभास, पुण्य कार्की, रोहित दाहाल, घनश्याम ढकाल, हिरामणि दुखी, सि.पी. गजुरेल, ऋषिराज बराल, क्षितिज मगर, बेञ्जु शर्मा, सनत रेग्मी, विवश पोखरेल, महेश विक्रम शाह, नयनराज पाण्डे, अमर शाह, शारदा शर्मा, इन्दिरा प्रसाई, मातृका पोखरेल, उषा शेरचन, जलेश्वरी श्रेष्ठ, कृष्णराज सर्वहारी, गोपाल अश्क, श्याम शाह, अभय श्रेष्ठ, उपेन्द्र सुब्बा, भानु बोखिम, प्रेम नेपाली, पार्वती राई, फूलमान बल लगायतका सर्जकहरू संलग्न रहेका छन् ।

शङ्कर लामिछानेले सुरू गरेको विधा मिश्रण मानिने रचना कर्ममा उनी पछि विमल निभा, बुद्धि सागर र कुमार नगरकोटी देखा परेका छन् । उनीहरूका यस्ता मिश्रित रचनालाई कतिले कथा र कतिले निबन्ध मान्दै आएका छन् । उनीहरूका यस्ता रचनामा सांस्कृति परिवर्तनको नवीनता भेट्न सकिन्छ ।

मोहनराज शर्माका अुनसार ‘कुनै आख्यानमा आख्यानकारको के कस्तो मूल्याङ्कन के कसरी प्रस्तुत छ भन्ने कुरा पत्ता लगाउन निम्न लिखित प्रश्नहरूको उत्तर खोज्नु पर्दछ ः

क. आख्यानको प्रयोजन के हो ?
ख. त्यसमा प्रयोजन प्राप्तिको के कस्तो प्रयास गरिएको छ ?
ग. प्रयोजनको प्राप्ति के कति गरिएको छ ?’
–(मोहनराज शर्मा, समकालीन समालोचना सिद्धान्त र प्रयोग, अक्सफोर्ड प्रकाशन, ०६३ ः ३११)

आख्यान रचनामा जे जस्ता उपकरण, कथानक र भाषाशैली प्रयोग गरे पनि आख्यानको प्रयोजन प्रमुख कुरा हो, जसबाट रचनाकारको सांस्कृतिक चेतना उजागर हुन्छ ।

प्रगतिशील संस्कृति

२००७ सालको हाराहारीबाट प्रगतिशील सांस्कृतिक र दार्शनिक चेतनाले नेपाली आख्यानमा प्रवेश गरेको भन्दा हुन्छ । खासगरी रमेश विकल, कृष्णचन्द्र सिंह प्रधान, ध.च. गोतामे, डि.पी. अधिकारी, गोविन्दप्रसाद लोहनी, हृदयचन्द्र सिंह प्रधान, शशिकला शर्मा, भवानी घिमिरे आदिका प्रारम्भकालीन आख्यान रचनामा प्रगतिशील संस्कृतिको आरोहण गरिएको छ । उल्लेखित रचनाकारहरूले सुरू गरेको लेखन पछिल्लो समय नेपाली आख्यानको महत्त्वपूर्ण धारको रूपमा स्थापित हुन पुगेको छ । पारिजात, हरिहर खनाल, खगेन्द्र सङ्ग्रौला, मनु ब्राजाकी, कुन्ता शर्मा, विजय चालिसे, राजव, नारायण ढकाल, इस्माली, ऋषिराज बराल, सि.पी. गजुरेल, घनश्याम ढकाल, हिरामणि दुखी, क्षितिज मगर, पुण्यप्रसाद खरेल, मातृका पोखरेल, अमर शाह, पुण्य कार्की लगायतका कथा र राजव, शार्दूल भट्टराईका नाटकमा देखिएको वर्गीय पक्षधरता, समाजवादी यथार्थको प्रकटीकरण र आख्यान संरचनाले प्रगतिवादी संस्कृतिलाई नयाँ उचाइमा पु¥याएको छ ।

खासगरि पारिजातको ‘मैले नजन्माएको छोरो’, खगेन्द्र सङ्ग्रौलाको ‘कुराउनीको रित्तो पेरूङ्गो’, नारायण ढकालको ‘इरफान अलि’, राजवको ‘क्रुर गद्य’, मनु ब्राजाकीको ‘भविष्य यात्रा’, राजेन्द्र विमलको ‘रामेछापको श्रवणकुमार’, इस्मालीको ‘काट जर्कीन डी’, ऋषिराज बरालको ‘किसान नगर’ र मातृका पोखरेलको ‘बाध्यता’ कथाले प्रगतिशील संस्कृति कथामा आरोहण गरेको परम्पराको सूचना दिन्छ । प्रगतिशील संस्कृतिमा आधारित रहेर धेरै उपन्यास, नाटक र कथाहरू लेखिएका छन् । तिनमा नेपाली समाजमा रहेको वर्गीय उचनिच, जातीय भेदभाव, लिङ्गीय उत्पीडन र क्षत्रीय असमानता विरूद्धका स्वरहरू मुखरित रहेका छन् । रमेश विकलका ‘लाहुरी भैँसी’ कथा र उपन्यासका वर्गीय र जनजातीय विसङ्गति विरूद्धका स्वर, हृदयचन्द्र सिंह प्रधानको कृषि संस्कृतिको उद्घाटन गर्ने चेतना र खगेन्द्र सङ्ग्रौलाका जातीय भेदभाव विरूद्धका सांस्कृतिक हस्तक्षेप नेपाली साहित्यमा स्थापित रहेका छन् । सांस्कृतिक चेतनाका सन्दर्भमा २००७ सालको राणा विरोधी आन्दोलन, ३० को दशकको झापाको माले आन्दोलन, ०५२ मा सुरु भई २०६३ मा अवतरण भएको नेकपा माओवादीको जनयुद्ध प्रगतिशील संस्कृतिको निर्माणमा अर्थपूर्ण प्रभाव पार्ने परिघटनाहरु हुन् । प्रगतिशील साहित्यिक आन्दोलनलाई सांस्कृतिक हतियार प्रदान गर्ने यी आन्दोलनले समकालीन नेपाली आख्यानमा महत्त्वपूर्ण असर पारेका छन् ।

सांस्कृतिक चेतना र व्यवहार

भारतको सन् १८५७ को असफल विद्रोह पछि पनि बेलायती गभर्नर जनरल सर रिचर्ड टेम्पल भारतका यति धेरै विविधताबिच पनि पुरै देशलाई जोड्ने सूत्रको रूपमा समृद्ध लोक संस्कृति रहेको निष्कर्षमा पुगे । लोक संस्कृति समृद्ध रहेमा कुनै पनि समय लोकशक्तिको रूप लिन सक्ने भएकोले लोक संस्कृतिको नियोजनको उपाय खोजितिर उनी लागे ।

उपनिवेशवादको हस्तक्षेप अघि पनि एसियाको यस क्षेत्रमा विभिन्न राजघरानाहरूका उदार र अनुदार शासनहरू कायम गरेका थिए । प्रत्येक दरबार वा राजघराना जहाँसुकै पनि राजकवि जस्तै राज कथा वाचक (किस्सा गो) पनि नियुक्त रहन्थे । पशुपंक्षीको संवादको काल्पनिक कथा र गतिविधिको आख्यान सुनाउने र राजदरबारका पाल्तु जीवजन्तुको बचाइचढाइ गर्ने बाहेक किस्सा गोले लोककथा र मिथकहरू लोक परम्पराबाट लिएर दरबारका केटाकेटीलाई शिक्षा दिनेसम्म काम गर्थे । काग कराउनु भनेको सूचना वा खबर आउनु, आगो भर्भराउनु भनेको पाहुना आउनु, जोर ढुकुर प्रेमको प्रतीक, जोर रूपी देख्नु शुभ सङ्केत, बिराला वा सर्पले बाटो काट्नु ठुलो अपसकुन मान्ने परम्परा अध्यायी प्रचलनमा छ । पशुहरूकै संवादमा तयार गरिएका नीति कथाले पञ्चतन्त्रको समृद्ध कथा परम्पराको समेत स्थान ग्रहण गरेको थियो । प्रश्नोत्तर, शास्त्रार्थ र संवादका आआफ्ना परम्पराबाट पनि ज्ञान प्रसार गर्ने संस्कृति कायम थियो । बिहावारी, जन्म, व्रतबन्ध, षष्टिपुर्ति, चौरासी पुजा र मृत्युपछिका कर्मकाण्ड हाम्रा सबैभन्दा महत्त्वपूर्ण संस्कृति हुन् । यस्ता चाड वा पर्वको रूपमा मनाइने धार्मिक कर्मकाण्डबाट आपसको प्रेम र सम्मानका साथै वरिष्ठताका सम्मान र समय अनुसारको मान्यता दिने विनम्र प्रयास हुन सकेको देखिन्छ । अहिले एक किसिमको सांस्कृतिक शून्यता र एक किसिमको सांस्कृतिक जागरण सक्रिय रहेको बुझाइ आआफ्नै चेतनाले ग्रहण गर्ने कुरा हो । सांस्कृतिक रिक्तता र शून्यताको अनुभव एक जनाले गर्ने र अर्को जनाले सांस्कृतिक नवजागरण अनुभूत गर्ने स्थिति जुनसुकै अर्थमा पनि राम्रो होइन । घर बाहिर निस्केपछि घर नफर्केसम्म असुरक्षाको बोध हुनु आफैँमा गम्भीर विषय हो । यही असुरक्षाले गर्दा रक्सी पसल र मन्दिरमा भिड बढेको भन्नेहरू पनि प्रशस्तै छन् ।

नेपाली लोक परम्परामा आख्यानका अनेक परम्परा रहँदै आएका छन् । हजुरआमा र आमाले कथा भन्दाभन्दै निदाउने व्यक्तिहरू अहिले पनि ठुलो सङ्ख्यामा छन् र अघि आफुले सुनेका कथा अहिले सन्तानलाई सुनाउने प्रचलन गाउँ सहर सबैतिर विद्यमान छ ।

नेपाली लोककथामा अधिकांश हिस्सा ओगट्ने धार्मिक÷सांस्कृतिक कथा नै हुन् । वेद, पुराण, मुन्धुम, त्रिपिटक, कुरान र बाइबलका कथा प्रत्येक आमाबाबुले आफ्नो संस्कृति अनुसार छोराछोरीलाई सुनाउने परम्परा सबैभन्दा शक्तिशाली देखिन्छ ।

धार्मिक, सांस्कृतिक कथा बाहेक तिलस्मी, प्रकृति केन्द्रित र दन्त्यकथा सबैभन्दा धेरै नेपालीलाई थाहा हुन्छ । नदी, जङ्गल, पहाड, हिमाल, देवस्थान, पितृको सम्मान, सम्झना, नैतिक आस्थाको बिजारोपण र राष्ट्रप्रेम लोककथाका प्रमुख सरोकार रहन पुगेका छन् । संस्कृति मान्छेले जन्मेको सांस्कृतिक परिवेशमा सिकेर सन्तान दरसन्तान हस्तान्तरण गर्दै आएको परम्परागत विषय हो । तर संस्कृति अध्ययनको संस्कृति भने अन्तर्राष्ट्रिय सैद्धान्तिक आधार र विकासे शैलीले लिन लागेपछि संस्कृतिलाई संयोजनभन्दा विखण्डनको श्रोतको रूपमा प्रयोग गर्ने सम्भावना बढेर गएको छ । आफ्नो संस्कृतिको गौरव मण्डन गर्न अरूको संस्कृतिको निन्दा गर्ने प्रवृत्ति पनि बढिरहेको छ । यसका नकारात्मक प्रस्थापनाले दूरगामी प्रभाव पार्ने सम्भावना छ । यद्यपि क्रमिक रूपले सहिष्णुता अर्काको संस्कृतिप्रति सम्मान भाव र समन्वयकारी चेतना बढि रहेको विषय पनि मननयोग्य रहेको छ ।

केही नेपाली कथामा सांस्कृतिक चेतना

नेपाली काव्यमा संस्कृत काव्य संस्कृतिले निर्णायक प्रभाव पार्दै आएको छ । संस्कृत काव्य शास्त्रका उपकरणहरू प्रयोग गरेर आलोचना गर्ने वा काव्य पारख गर्ने परम्परा अद्यापि सक्रिय रहेको छ । तर नेपाली आख्यानको प्रारम्भको भावभूमि नै पाश्चात्य परम्परा र ज्ञान–विज्ञानसँग जोडिएकोले सक्रियताको न्यूनतम प्रभाव परेको विधा हो कथा । पाश्चात्य मूल्यप्रति जति नै जानकारी वा भक्तिभाव राखे तापनि भाषा, धार्मिक आस्था, लोक परम्परा र कथावाचन परम्परा फरक भएकोले नेपाली कथाका प्रारम्भकालीन कथाकारहरूले नेपाली कथालाई अङ्ग्रेजीकरण गर्न नसकेको प्रस्टै छ । बरू कथाले नेपाली समाजको पछिल्लो चरणमा बौद्धिकता, सहरी जीवनमूल्य र भौतिक वैज्ञानिक उन्नयनलाई आफ्नो कथ्यको रूपमा प्रयोग गरेको स्पष्टै देखिन्छ । नेपाली समाजको संक्रमणकालीन सामाजिक परिस्थिति, परिवर्तनको भोगाइमा भएको अन्तर्राष्ट्रिय सम्बन्ध, विश्व समुदायसँग जोडिने चाहना र आकर्षण, वर्गीयता, लिङ्ग, क्षेत्र र लोक परम्परालाई हेर्ने बदलिँदो दृष्टिकोण जस्ता विषयहरू प्रारम्भकालीन नेपाली कथाका सांस्कृतिक सरोकारमा आएका छन् । हृदयचन्द्र सिंह प्रधानका कथा र उपन्यासमा देखिने कृषि संस्कृतिको रौँचिरा वर्णन र नेपाली जातीयताको उद्घोष आजसम्म पनि अन्य नेपाली कथाकारले टिप्न नसकेको नवीन र मौलिक सांस्कृतिक प्राप्ति हो भन्न सकिन्छ । कृषि प्रधान देश भनिए तापनि कृषि संस्कृति कथामा नआउनु, किसानमा दुःख, पीडा, सङ्कट, उपलब्धीको चर्चा नहुनुले गर्दा नेपाली संस्कृतिको मूल धारमा आख्यान पुग्न नसकेको भन्न सकिने प्रशस्त सम्भावना देखिन्छ । यद्यपि हृदयचन्द्र सिंह प्रधानले ‘एक चिहान’ उपन्यास र ‘विदुषी माधवी’ कथाका साथै उपन्यास स्वास्नी मान्छे, अरू कथाहरू र गङ्गालालको चिता, मरूभूमिका लेखक जस्ता नाटक मार्फत् नेपाली संस्कृतिको मौलिकतालाई सरोकारको विषय बनाउन सफलता पाएका छन् ।

प्रधानसँगै भवानी भिक्षुले ‘मानव’, ‘हारजीत’, ‘माउजङ्ग बाबु साहेबको कोट’ र ‘आगत’ उपन्यासबाट तराइको कृषि संस्कृतिका मूल प्रवृत्तिमा हात हाल्न भ्याएका छन् । खानेकुरा, चाडपर्व, मानसम्मान, पुजा अर्चना र चाडबाड मात्र होइन, सामाजिक दिशा पत्ता लगाउन पनि संस्कृतिको अध्ययनबाट सहयोग पुग्छ । नेपाली भाषामा अहिलेसम्म पनि एक चिहान र आगत जस्ता उपन्यास नयाँ पुस्ताबाट लेखिएका छैनन् । कृषि परम्परा र किसानको गाथा र व्यथाहरू कथामा नटिपिएर सहरका आर्थिक सामाजिक र मनोसामाजिक चिन्ता र यौनजन्य कुण्ठाको चित्रण नै उपन्यास कथाको मूल प्रवृत्ति रहि आएको छ । अहिले महत्त्व साथ हेरिएका नारीवादी चेतनाको चित्रणमा पनि हृदयचन्द्र सिंह प्रधानको स्वास्नी मान्छे उपन्यासबाट युगान्तकारी हस्तक्षेप हुन पुगेको छ । गोपालप्रसाद रिमालको नाटक मसान, हृदयचन्द्र सिंह प्रधानका दुई उपन्यास, कथा र नाटकबाट व्यक्त भएका नारीका वि.सं. १९९१ तिरका सरोकारहरू अहिलेसम्म पनि केन्द्रीय महत्त्वकै रहनुले गर्दा उनीहरूको लेखनको सांस्कृतिक चेतना उच्च कोटीको वैज्ञानिकताबाट उद्बोधित रहेको देखिन्छ ।
गुरूप्रसाद मैनाली, शिवकुमार राई, बालकृष्ण सम, पुस्कर शमशेर, रूपनारायण सिंह, गोविन्द गोठाले, बदरीनाथ भट्टराई, सोमध्वज बिष्ट, इन्द्र सुन्दासहरूका कथामा समान्य मान्छेको कथा र तिनमा मनोसामाजिक उद्वेगहरू प्रकट भएको देखिन्छ । नेपाली संस्कृति र समाजमा अनेक मूल्यहरू सूक्ष्म रूपमा तिनका कथामा परेकै छन् । नेपाली कथामा नेपाली पात्र, जनजीवन र कार्यव्यापार प्रतिबिम्बित गर्न तिनले प्राप्त गरेको सफलता अहिलेसम्म पनि स्मरणीय छ ।

विपी कोइराला, विजय मल्ल, दौलतविक्रम बिष्टहरूले कथा उपन्यासमा सामान्य मान्छेको मनोसामाजिक चित्रण र यौन मनोविज्ञानको प्रकटीकरणबाट नेपाली कथामा रतिरागात्मक रहस्यको नयाँ चरणको उद्बोधन भएको छ । पछि पोषण पाण्डे, कुमार नेपाल, पुस्कर लोहनी, सीता पाण्डेहरूले त्यही बाटोबाट कथा रचना गर्ने गरेका छन् ।

धर्मराज थापा, पूर्णप्रकाश नेपाल यात्री, चूडामणि बन्धु र तुलसी दिवसको लोक संस्कृतिको अध्ययन अनुसन्धान, लोककथा, गाथा र मिथकको खोजी र प्रकाशनले पनि नेपाली आख्यानमा सांस्कृतिक चेतना परिदृष्ट पार्न प्रशस्त सहयोग पु¥याएको छ ।

पछिल्लो समयमा डायस्पोरिक चेतनाको विषय चर्चामा रहेको छ । विदेशमा बसेर त्यहाँका सङ्घर्ष, पीडा र भोगाइका आधारमा नवीन संस्कृतिले कथा लेखनमा निकै ठुलो सङ्ख्या संलग्न रहेको छ । त्यसमध्ये होमनाथ सुवेदी, राजव, भारती पोखरेल र गोविन्द गिरी प्रेरणाका कथा र उपन्यासमा प्रवासको जीवन सङ्घर्ष राम्ररी प्रकटीकरण भएको छ । राजवका ‘किवुका’ र ‘वेविसीटर’ जस्ता कथा गोविन्द गिरीको ‘घोडा’ तथा अन्य कथाहरू र भारती पोखरेलका केही कथाहरू महत्त्वपूर्ण रूपले डायस्पोरिक संस्कृतिको उद्घाटन गर्न सक्षम देखिएका छन् ।

रत्न कोजुका कथा नेवार संस्कृतिका अत्यन्त मिहिन, सरोकार र जातीय सांस्कृतिक बिम्ब टिप्न र कलात्मक लक्ष्यमा पुग्न सफल देखिएका छन् ।

पछिल्लो समय नारी संस्कृति विमर्श र रचनाको केन्द्रमा रहेको छ । विपी कोइराला, गोठाले, भिक्षु, गोपालप्रसाद रिमाल, हृदयचन्द्र सिंह प्रधान, पारिजात आदिबाट नारीका विभिन्न चरित्र र भावभूमिमा कथा, नाटक र उपन्यासको सिर्जना भई नेपाली आख्यानलाई प्रभाव पार्ने काम भएको छ । तर वर्गीय दृष्टिले नारीलाई हेर्ने दृष्टि र नारी शरीरको केन्द्रमा रचना गर्ने प्रवृत्ति दुवैमा आआफ्ना तर्कहरू रहेका छन् । गोविन्द भट्ट र मदनमणि दीक्षितका विपी कोइरालाको नारी केन्द्रित उपन्यासको बारेमा गम्भीर टिप्पणी यस अर्थमा अर्थपूर्ण रहेका छन् । नारीको शरीर, सम्पत्ति र समानताका अधिकार उनीहरूका मौलिक, प्राकृतिक र अविभाज्य अधिकार हुन् भन्ने कुरामा अबको समयमा कुनै शङ्का छैन । पारिजात, प्रेमा शाह, कुन्ता शर्मा, भागिरथी श्रेष्ठ, जलेश्वरी श्रेष्ठ, सृजना शर्मा, गङ्गा सुवेदी, शर्मीला खड्का, गीता केशरी, विजया शर्मा, अनिता तुलाधर, लीला श्रेष्ठ सुब्बा, मनिसा गौचन, तारा राई, पार्वती शाही आदिका कथा र उपन्यासमा उद्घाटन गरिएका नारीवादी चेतनायुक्त रचना सामथ्र्यले नेपाली कथा गहिरोसँग प्रभावित रहेको छ ।

जनजातीय संस्कृतिको उद्घाटन

जनजातीय संस्कृति माथि कथा, कविता र उपन्यास लेख्ने सङ्ख्या केही वर्ष यता निकै नै बढेको छ । राजन मुकारुङका हेत्छाकुप्पा र दमिनीभिर उपन्यास, उपेन्द्र सुब्बाको भर्खरै प्रकाशित कथासङ्ग्रह लाटो पहाडको लाटो पहाड र अन्य केही कथाले किराती सांस्कृतिक चेतनाको अन्तर्यको उद्घाटन गर्न सफलता पाएका छन् । कल्पना वान्तवा, तारा राई, फूलमान बल, भानु बोखिम, डा. विष्णु राई, क्षितिज मगर, चन्द्र रानोहोंछा, इरान राई सेवक लगायतका कथाकारहरूका रचनामा किराती र जनजाति संस्कृतिका अनेक प्रवृत्ति, वेशभुषा, खानपान, चाडपर्व, उत्सव, सङ्गीत र नृत्यका अनेक सांस्कृतिक सम्पदाहरू र समन्वयकारी सङ्केतहरू अनावरण भएको कारण नेपाली भाषाका कथामा एउटा नयाँ भाषा र संस्कृतिको समग्रता देखा परेको छ । जनजातीय सौन्दर्यदृष्टिको अनावरणबाट नेपाली कथा गहिरोसँग प्रभावित भएको स्पष्ट देखिन्छ । महत्त्वपूर्ण कुरा के हो भने नेपाली र नेपालका अनेक भाषाकर्मीहरू नेपालको राजतन्त्र विरोधी लोकतान्त्रिक, गणतान्त्रिक राजनीतिक आन्दोलनका योद्धा थिए । लोकतान्त्रिक संस्कृतिको निर्माणमा समावेशीकरण र समानताका अनेक परम्पराको स्थापना पनि यसैकारण हुन सकेको हो । कथा र उपन्यासमा आरोपित जनजातीय संस्कृति त्यस संस्कृतिलाई देशभित्रका अन्य संस्कृतिसँग संवाद गर्न र सांस्कृतिक चेतनाको यथार्थमा जनजातीय संस्कृतिलाई स्थापना गर्न महत्त्वपूर्ण योगदानको आशा गर्न सकिन्छ ।

काजीमान कन्दङ्वा, शिवकुमार श्रेष्ठ र पछि आएर विष्णु राई, उपेन्द्र सुब्बा तथा राजन मुकारूङले कथा र उपन्यासमा किराती लोक परम्परा र संस्कृतिलाई उजागर गरेका छन् । कन्दङ्वा र शिवकुमारले मूलतः किराती लोककथालाई अघि बढाए भने उपेन्द्र सुब्बाले मिहिन रूपमा लाटो पहाड जस्ता कथाबाट किराती संस्कृतिमा भित्री तहमा प्रवेश गरेका छन् । राजेन्द्र विमल, राम भरोस कापडि भ्रमर, रमेश रञ्जन र रा.प्र.उ. पोखरेल लगायतले तराइका विभिन्न क्षेत्र र जातीय सांस्कृतिक समूहको सांस्कृतिक सरोकारमा हस्तक्षेप गर्न सफलता पाएका छन् । यद्यपि पहाडका किराती, तामाङ, गुरूङ, मगर लगायतका भाषामा र तराइका मैथिली, भोजपुरी, अवधी र थारू भाषामा अत्यन्त मिहिन रूपले सांस्कृतिक सम्पदाहरू प्रकट गर्ने कामहरू भइरहेका छन् । कविता, कथा, नाटक, उपन्यास र निबन्ध लेखन तथा प्रकाशन प्रदर्शनका काम समेत सक्रियता साथ हुँदै गरेको आशालाग्दो स्थिति उत्पन्न भएको देखिन्छ ।

पासाङ गोपर्मा, भद्रकुमारी घले, वैरागी काइँला, अमर तुम्याहाङ लगायतका व्यक्तित्त्वका आआफ्ना सांस्कृतिक सरोकारको प्रकटिकरण, अनुवाद र व्याख्या विश्लेषणको महत्त्व पनि निर्विवाद रहेको छ ।

मधेसको पृष्ठभूमि र संस्कृतिमा आख्यान

मधेशका सांस्कृतिक विषयमा कलम चलाउनेहरू पनि प्रशस्तै देखिएका छन् । डा. राजेन्द्र विमलको ‘संस्कार’ कथाले मधेसको शोषण र दमन तथा त्यस विरूद्ध जुध्न असहाय एउटा समाजको उल्लेख गर्छ भने ‘रामेछापको श्रवणकुमार’ले नेपाली संस्कृतिको स्वार्थीपन राम्ररी उद्घाटन गर्छ । राप्रउ पोखरेल, रमेश रञ्जन, रामभरोस कापडि भ्रमर, महेश विक्रम शाह, डा. धीरेन्द्र, नारायण तिवारी, मनु ब्राजाकी, मदनमणि दीक्षितका मधेसको भावभुमिका कथा र डा. धीरेन्द्र, महेन्द्र मलङ्गिया, रमेश रञ्जन, कृष्ण शाह यात्री आदिका नाटकबाट मधेसको संस्कृतिका धेरै पक्ष उद्घाटित भएका छन् ।

ध.च. गोतामे, ध्रुवचन्द्र गौतम, भिक्षु, राजव, नयनराज पाण्डे, र रमेश रञ्जनका मधेसकै पृष्ठभूमिका कथा र उपन्यासले पनि मधेसको संस्कृतिको विविधता, सङ्कट र व्यापकताको राम्रो चित्र बनाउन सफलता पाएका छन् । मधेस मेची महाकालीका सबै संस्कृतिका स्रष्टाहरूले टिप्न खोजेको र सफलता पाएको भावभूमिको संस्कृति हो भन्न सकिन्छ । पछिल्लो समय श्याम शाह मधेसी भावभूमिका शक्तिशाली कथा लिएर आएका छन् । उनको ‘अब्बा’ कथा यस अर्थमा महत्त्वपूर्ण ठानिएको छ ।

मदनमणि दीक्षित, ध्रुवचन्द्र गौतम, ध.च. गोतामे, गोपाल अश्कहरूले भोजपुरीभाषी क्षेत्रमा र प्रफुल्ल कुमार सिंह मौन, महेश चौधरी र कृष्ण सर्वहारीको थारू भाषाको कथामा योगदान पनि बिर्सी नसक्नु छ । महेश विक्रम शाह र नयनराज पाण्डेले पनि पश्चिम तराईको थारू र अन्य मधेसी समुदायको सांस्कृतिक सरोकारमा कथा लेखेका छन् ।

यहाँ म ३ कथा प्रस्तुत गर्न चाहन्छु जसले विश्वव्यापी रूपमा रहेको साम्प्रदायिकता, वर्णभेद, जाति भेद र त्यससँगका प्रतिरोध र सहिष्णुताका दृष्टान्त दिन्छन् । पहिलो कथा हो राजेन्द्र विमलको कथा ऐँजेरू । जसले तराई आन्दोलनमा घर छाडेर हिँड्न लागेका पहाडिया छिमेकी र मित्रहरूप्रति गहिरो समवेदना राख्छ । दोस्रो कथा हो इस्मालीको मनुखः नेपाली खः कथा जसले मधेस आन्दोलनकै आँधीबेहरीमा घर छोड्न सपरिवार तयार लालबहादुरलाई घर छोड्न रोकेर साम्प्रदायिकता विरूद्ध सांस्कृतिक चेतना जगाउने अजोधिराम र सिङ्ग्याहिवाली काकीको गम्भीर सहयोग । तेस्रो कथा हो अमेरिकामा एउटी गोरी महिलाबाट जातिवादी आक्रमणमा जोगिँदै घर आएर साम्प्रदायिकताको विष विर्षँदै गुलीयो पाइ खाएर आफुलाई सामान्य बनाउने कथाकार राजवको पाइ कथाको नायक । यी ३ वटै कथाको सन्देश साम्प्रदायिक शक्ति विरूद्ध पीडितको पक्षमा सहानुभूति र समवेदना राख्दै अडान लिने संस्कृतिप्रति प्रतिबद्ध मान्छेहरू पनि छन् भन्ने हो । कतिपय स्थितिमा शान्त भएर साम्प्रदायिक घृणालाई बिर्सनु पनि पर्छ, किनकि समाजमा सबै साम्प्रदायिक सोच भएका व्यक्तिहरू मात्र छैनन् भन्ने हो ।

नेपाली कथा र आख्यानमा प्रारम्भदेखि नै विभिन्न किसिमका सांस्कृतिक सङ्केतहरू राम्रोसँग बुनिएका, टिपिएका छन् । कथाले खास गरि सहरी मध्यमवर्गका अर्थ सामाजिक र मनोवैज्ञानिक विषयमा मात्र हस्तक्षेप गरेको वा कथ्यको रूपमा प्रयोग गरेको परिप्रेक्ष्यमा सांस्कृतिक सरोकार राख्दै नराखेको होइन, केही कम भने निसन्देह हो । तर जति कथा उपन्यास र नाटकमा सांस्कृतिक सरोकार राखिएको छ, तिनमा टिपिएको सांस्कृतिक सचेतता र बिम्ब महत्त्वपूर्ण र अग्रगामी रहेको छ । आगामी दिनमा संस्कृति सचेत आख्यान सिर्जना बढ्ने कुरा निश्चित छ । तर आख्यानमा नेपालको जनजातीय संस्कृतिका बिम्बहरू, प्राकृतिक सम्पदा, कृषि पशुपालन र परम्परागत उद्योग व्यापार तथा जनताको जीवनशैलीको समग्रताभन्दा व्यक्ति भित्रका कुण्ठा, घुुटन र मानसिक उहापोह व्यापक रूपमा देखिएको कुराले आख्यानको अग्रगमनलाई कुन रूप दिन्छ हेर्न बाँकी छ । सांस्कृतिक चेतनालाई दलालीको तथा पद र प्रतिष्ठा पाउने विषय बनाइएका गौँण घटनाले दीर्घकालमा सांस्कृतिक उत्थानमा बाधा पार्ने कुरा पनि मध्यनजर राख्नुपर्ने विषय हो ।

नेपाली आख्यान संस्कृतिसँग जोडिएर झन् मौलिक झन् जनमुखी र झन् अर्थपूर्ण हुन पुगेको कुरा एकातिर राख्ने हो भने पनि अर्कोतिर सिर्जनात्मकताले जमीन भेटेको र जमीन तथा जमीनका सहयात्रीहरूको आन्तरिक र बाह्य शक्ति, सङ्कट, पीडा र प्रतिरोधको केन्द्रमै घुमेर आफ्नो सिर्जनात्मक उन्मेशको प्रकटीकरण हुन पुगेको यथार्थले आगामी दिनमा सांस्कृतिक चिन्तन आख्यान रचनाको केन्द्रमा स्थापित हुने कुरामा एकमत हुन सकिन्छ । दलित, महिला, जनजाति र मधेसी समुदायलाई राज्यले दिने प्रतियोगिता र शिक्षा प्राप्तिका अवसरलाई आरक्षण दिएर राज्यले भेदभाव विरूद्ध सशक्तीकरणको सकारात्मक प्रयास प्रारम्भ गरेको छ । दलित आयोग, जनजाति आयोग र महिला आयोग मार्फत भेदभाव विरूद्धको प्रतिरोध र सांस्कृतिक जागरणको प्रयासले आगामी दिनमा सांस्कृतिक आन्दोलन अरू सशक्त र सक्रिय हुने आशा गर्न सकिन्छ ।

सन्दर्भ

समकालीन समालोचना सिद्धान्त र प्रयोग, मोहनराज शर्मा, अक्सफोर्ड प्रकाशन, २०६३ ।
तराइ मधेशका कथा, सं. परशु प्रधान र नारायण तिवारी, नेपाल स्रष्टा समाज, २०६७ ।
आधुनिक नेपाली कथामा चालिसको दशक, पुरूषोत्तम सुवेदी, बगर द्वैमासिक, पूर्णाङ्क ५३, २०५३ ।
समसामयिक साझा कथा, सं. मोहनराज शर्मा, राजेन्द्र सुवेदी, साझा प्रकाशन, २०४१ ।
कथा विमर्श, सं. सनत रेग्मी, भाउपन्थी, ने.रा.प्र.प्र., २०६८ ।
समकालीन भारतीय कहानी, सं. उमाशुक्ल, माधुरी छेडा, भारती भाषा प्रकाशन दिल्ली, १९९१ ।
कृति अवलोकन, कृष्णचन्द्र सिं प्रधान, साझा प्रकाशन, २०५९ ।
आधुनिक नेपाली उपन्यासमा सांस्कृतिक चेतना, कृष्णचन्द्र सिं प्रधान, कार्यपत्र ।
सांस्कृतिक अध्ययनका सैद्धान्तिक आधार र अवधारणा, अमर गिरी, भृकुटी, पूर्णाङ्क १९, २०७० ।
आख्यानदेखि पराख्यानसम्म, पेम्बा तामाङ, सरिता प्रकाशन, गान्तोक, २००५ ।
टाइलर इ.वि., प्रिमीटिभ कल्चर, न्यूयोर्क, १८७४ ।
मिर्मिरे द्वैमासिक कथा विशेषाङ्क, पूर्णाङ्क ८३ र पूर्णाङ्क २६०, ने.रा. बैँक ।
गरिमा कथा विशेषाङ्क, पूर्णाङ्क ८९, साझा प्रकाशन ।
नयी कहानी सन्दर्भ और प्रकृति, देविशङ्कर अवस्थी, राजकमल प्रकाशन, भारत, २००२ ।
मेरो कविताको आराधन, बालकृष्ण सम, साझा प्रकाशन, संयुक्त प्रथम

(स्रोत : समकालीन साहित्य – पूर्णाङ्क ७२)

This entry was posted in कार्यपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.