कथा : पानी चोर

~लेखनाथ काफ्ले~Lekhnath Kafle

आज वडा प्रहरी अड्डामा अजीबको उजुरी पर्‍यो, हिरामान साहुको। त्यही उजुरीको छिनोफानो गर्न भनु वा सत्य तथ्य पत्ता लगाउन उसको छिमेकीको घरमा बस्ने सबैलाई उपस्थित गराइएको छ। उजुरी “मेरो घरको इनारको पानी छिमेकीको घरमा बस्ने डेरावालहरु द्वारा चोरी भयो। दोषिहरुलाई उचित कारबाही गरी पाऊँ” भन्ने थियो।

बुद्धनगर, नयाँ बानेश्वर चोक नजिकैको एउटा घर। तीन तलाको घरमा जम्मा जम्मी नौ वटा कोठा, नौ वटा नै चुला। घर लगभग समाबेशी छ, भुगोलका हिसाबले, जात, समुदाय, पेशा र भाषाका हिसाबले पनि। खाली एउटै समानता छ त्यहाँ, सबै काठमाडौं बाहिरका हुन। केही गर्न, जिन्दगीलाई बदल्न त्यहाँ आइ पुगेका हुन, आ-आफ्नो जन्मभूमिबाट। अब त्यहीबाट जिन्दगीको नयाँ सुरुवात गर्नु छ, नराम्रो बाट राम्रो तिर, दु:खबाट सुख तिर, अफ्ट्यारोबाट सजिलो तिर। त्यही थियो ती सबैको कल्पना काठमाडौं छिर्नु अघि।

त्यहाँ बस्नेहरु क्याम्पस पढाउने लेक्चर, बोर्डिङ् पढाउने सर, क्याम्पस पढ्ने र ट्युसन पढाउने विद्यार्थी, आफ्नै बनीबुतो गरी जीबन गुजारा गर्ने साना ब्यापारी, नौ सिङ हुने कानुन घुमाउने कानुन ब्यबसायी, विवाहित, अविवाहित सबै छन। ति सब त्यहाँ संजोगले मात्रै भेट भएका हुन।

काठमाडौंको डेरा!

कम्ताको छैन पाउन नि। केटीले केटा, केटाले केटी खोजे पाउलान, जागिर खोजे भेटिएला तर काठमाडौंमा डेरा, त्यसको कसैले ग्यारन्टी गर्न नै सक्दैन, त्यसको कुनै भर छैन। डिभी भरे पर्ला तर काठमाडौंमा डेराको चिठ्ठा पर्दैन। डिभी त परी पुर्याएर भरे, बिधी र प्रकृया अनुसार पाइने न पाइने समयमा नै थाहा लाग्छ। तर काठमाडौंको डेरा, त्यसको न त कुनै प्रकृया छ न त कुनै बिधी बिधान नै। न देखिने आकार छ, न बुझिने प्रकार। डेरा खोज्न संयम र धैर्य न हुनेले त यो निस्ठुरीहरु बस्ने खाल्डोमा न पसे नै जाती, बस्ने प्रयास नगरेको नै बेश। नभै न हुने बास लिन वा दिन सरकारले कुनै प्रकृया न तोकेकोले साह्रै भद्रगोल छ यो। दिनेका पनि आफनै गुनासाहरु त होलान, तर लिनेको जती त पक्कै छैनन, यो चाँही ठोकेर नै भन्न सकिन्छ।

डेरा खोज्दा दाता र खोजारु बिचमा हुने अन्तरबार्ता त झन कुन्सान काकाको बेलायत भिसा अन्तरबार्तालाई नि माथ गर्ने किसिमका हुन्छन। त्यसको बयान त कतै अस्थित्वमा नै नभएका ति स्वस्थानीका हजार जीब्रा भएका शेष नागले पनि गर्न न सक्लान।

अहिले दोश्रो तल्लाको जुलुम बहादुरको डेरामा सबै डेरावाल वा तिनका प्रतिनिधिहरु जम्मा भएका छन। कुनै चुनावको भोटको लागि सल्लाह गर्न होइन, न त कुनै समाज सेवाका लागि योजना बनाउन नै। उनिहरु त आफ्नै दिन दिनको समस्या समाधान गर्ने उपाय पत्ता लगाउन, एउटा कमिलाको गोलो झै लाग्ने गरी बर्षे बिषालु च्याउ जसरी फैलिएका सहकारिहरुको साधारण सभामा जस्तै जम्मा भएका छन त्यहाँ।

पानी

हो, पानी कसरी जुटाउने, भन्ने सल्लाह गर्न, टाउको दुखाउन, बुध्दी लडाउन।

त्यस घरमा बस्ने जुलुम बहादुर हुम्लाबाट काठमाडौं राम्रो ठाँउमा पढेर ठुलो मान्छे बन्न आएको हो, ६ महिना अगाडि। उसका आफ्नै मीत बा सांसद छन, हुकुम बहादुर। जुलुम बहादुर र मित बा को जेठो छोरो हुल बहादुर लगौटेया यार हुन। गाँऊमा संगै बाख्रा, च्याङ्ग्रा चराएका, घाँस काटेका, दाउरा चिरेका, खाध्येको लाइनमा मदेशको चामल लिन मध्य रात बाटै कुरी बसेका। त्यही चामल पनि न पाएर संगै लुरु लुरु घर फर्केका।

हुल बहादुर बा संगै बस्छ, सांसद निवासमा। त्यै, उनकै पार्टीले ब्यबस्था गरेको सामुहिक आबासमा। ऊ पनि त्यही शरण लाग्न आएको हो, पहिले।

मीत बा ले पनि कम्ताको हन्डर खाएनन उसलाई डेरा खोजिदिन। आफ्नै पार्टीका साथीहरु, समर्थकहरु सँग नि सोधी हेरे। के को सोधे मात्रै नि गुहारे नै। ति शहरका आफ्नै पार्टीका मान्छेहरु पनि अजीबका भएर निस्के। एक जना भलाद्मी जस्ता लाग्ने स्थानिय सहकर्मीले त स्पस्ट नै भनी दिए “हेर्नुस् यो पार्टीको काम, सिद्धान्त र बाद अनि डेराको कुरा मिसमास नगरौ। यी अलग अलग बिषय हुन, बुझ्नु भो।”

अनि बल्ल बुझे, गहिरो गरी थाहा पाए मीत बा ले आफ्नो हैशियत र हबिगत पनि। जात नि न मिल्ने, क्षेत्र पनि न मिल्ने, सुदुर पश्चिम कर्णालीको गनाउने हुम्ली, मन्त्री हुने कुनै खैरियत नै नभएका उनी बास्तब मै कोटा पुर्‍याउन थपिएका एक जना दुर दराजका मान्छे मात्रै रहेछन। उनी त खाली, खाली ठाउँ भर्न थपिएका एउटा च्याँग्रा मात्रै रहेछन। यो सहरमा, यो समयमा बाद, सिद्धान्त र बिचारधाराले के मनाउन सक्थ्यो र, यो मन र मुटु नै न भएको जङगललाई। त्यो पनि यो चिसो र फुश्रो खाल्डोमा। उनलाई नि बल्ल बिर्सनै लागेको कुराको सम्झना भयो, खासमा उनको यो आफ्नो गाँऊ थिएन, आफ्नो जिल्ला थिएन, आफ्नो कर्णाली नि थिएन।

अन्तमा एक जना पर्यटक घुमाउने अफिस खोलेर बसेका आफ्नै जिल्लाबाशीले सहयोग गरे। एउटा डेरा पाइयो, त्यो पनि एउटा सर्तमा,“पानीको बारेमा गुनासो गर्न न पाईने”। जुलुमले केही न सोची सकार्‍यो। तै तै पाएको डेरा गुमाउने त सवाल नै भएन। “बस्ने ठाम भए, अर्को राम्रो खोजौला नि, बिस्तारै। कति शरणार्थी बनेर बस्नु मीत बा को मा। अर्काकोमा बस्नु त साह्रै दहकस लाग्दो हुदो रहेछ”यस्तै सोच्यो उसले।

लगभग साँढे एक बर्ष पुगेछ त्यही बसेको नि। त्यो अर्को राम्रो अझै पाइएको छैन। कता छ त्यो, त्यो पनि थाहा पाउन सकिएको छैन। खोज्ने क्रम चलेकै छ। जुलुमले पछी थाहा पायो, त्यहाँ बस्ने सबै, स्याङ्जाका चलाख प्रसाद पाण्डे, झापाका बचन राम कडारिया, जनकपुरका राम लछुमन साह, अर्घाखाँचीका लेखराम भुषाल र अरु हरुको पनि उस्तै दु:ख रहेछ, उस्तै बेथा रहेछ। किन हो कुन्नी, काठमाडौं, यो चिसो, पानी बिनाको पोखरी त कालो, धमिलो, हरेक कदममा फट्याइ गर्न जानेको अंध्यारो, बुझ्नै न सकिने र रहस्यमय बन्दै छ यो, दिन दिनै।

ऊ र ऊ जस्तै जीवहरुको त्यो गोलो आज पानीको समस्यालाई कसरी समाधान गर्ने भनेर गुनगुनाइ रहेको छ।

“म त जारको पानी पिउछु, ट्यांकरको पानीले घरायाशी काम र नुहाउने, धुने गर्छु” एक प्रोजेक्टजीवीको घोषणा।

“त्यो परको ढुँगे धारामा तीन घण्टा कुरेर एक गाग्री पानी ल्याउछु, के गर्ने किनेर खान सकिदैन” एक गृहणीको दुखेसो।

अरु पात्रहरुका मर्काहरु ति दुई पात्रहरुका समस्याहरुका बिच बिच मै वा वरिपरी परे।

“अब के गर्ने?” यतिन्जेल अरुका कुरा सुन्दै सुर्ती मोल्दै गरेका मास्टर, एक फ्वाक सुर्ती ओठ भित्र च्याँपेर हात टकटकाउदै जागे।

कोठामा सन्नाटा छायो।

“त्यही उपाय पत्ता लगाउन त हामी जम्मा भाको नि। केही उपाय छ कि सरको तर्फबाट?” पाण्डे जी

सरले झ्यालबाट बाहिर टाउको निकालेर प्याच्च थुके र थपक्क बसे, उपाय नास्ती।

“यो सरकार पक्कै ढल्छ त?” कडरिया बाजे उपबुज्रुक बन्न र्‍याङ न ठ्याङको कुरो बेतुक सँग तेर्साए। त्यसमै आधा घण्टा बित्यो।

“होइन पानी कता गयो। म त जनकपुरको पोखरीको माछा जस्तो भए, पोखरी उतै माछा यो सुख्खा खाल्डोमा” बल्ल राम लछुमनलाई लागेछ, कुरो बिषय भन्दा धेरै फरक परी रहेछ।

“एउटा उपाय छ।” जुलुमको बोली खस्न न पाउदै के, कस्तो, कसरी, ए, ल ल, हो त नि, हुन्छ र? हुँदैन होला, अनि अनी…आदी आदी मा गोलो भुनभुनायो। खोइ को को ले के के बोले तर नारी, पुरुष, धोद्रो, मसिनो, मिठो, कर्कस सहितका समाबेशी आवाजहरु त्यो सन्देह पूर्ण बातावरणमा मिसिए। जिब्राहरु फट्किए, घाँटी बजे, बोली फुटे।

“हिरामान साहु छन नि पल्ला घरे, हो तिनको घरमा एउटा गहिरो इनार छ। सधैं पानीले भरी नै रहने। मौका मिलाएर त्यही पानी ल्याउने। सबै मिलेर। अनि ल्याएको पानी भाग लगाउने।” जुलुमको योजना सबैको हैरानीलाई नै तमाम गर्ने किसिमको देखियो।

“यो हुम्ली हेर्दा मात्रै सानो काँटको, कुरा चाँही छाँटका गर्‍यो गाँठे।“भुषाल जी लगायतका सबैले तारिफ गरे जुलुम बहादुरको नयाँ आविस्कारलाई। तर ति प्रोजेक्टजीवी भने कति खेर कोठाबाट दम्पच भएछन कसैलाई नि पत्तै भएन।

त्यही भेलामा नै पानी लिन को को जाने, समय, तरिका, भागबण्डाको नियम बन्यो भोली बाटै तुरुन्तै कार्यन्वनमा जाने गरी।

गृहणीहरुको अनुशंधानले पत्ता लगाए अनुसार साहुको घरमा एक जना सिन्धुपाल्चोक तिरकी तमाङनी अधबैशे घरको हेरचाह र साहुलाई सघाउन त्यहाँ बस्दी रहिछन ४ बर्ष देखी। साहुनी रहिनछीन त्यस घरमा। हाम्रा देशका सार्वजनिक सवारी साधनहरुको अनुहार त कतै न कतै जेमराज सँग मिल्छ। त्यही जेमराजले लगेको रहेछ उनको एक बारको जूनी। ५ बर्ष अगाडि एक दिन, अस्पतालबाट फर्कदै गर्दा एउटा कुन्नी के जाती यातायात सेवाको थोत्रो जेमराजले ति फुकिढल साहुनीलाइ ठोकिदिएछ, कोटेश्वर चोक मै। साहुनीको प्राण पखेरु पनि ठाममै अलप भैहाले छ, निमेष भर मै। एउटा छोरो क्यानाडामा पिआर, अर्को अस्ट्रेलियाको आप्रबशी। छोरी युकेमा नर्शिङ पढ्न गएकी उतै एउटा डाक्टर सँग हिडि छ, जातपात न मिलेको भन्दै साहु छोरी सँग पनि बेखुशी रहेछन। साहु हरेक दिन ४-४.३० तिर नयाँ बानेश्वर तिर निस्कदा रहेछन, चिया पिउन, साथी भाई सँग पिपल पाते राजनीतिमा गफिन र कहिले काही लोकल ठर्रा “वासा”मा रमीन। साँझ ७-७.३० तिर अली कति तरकारी च्यापेर कहिले ठम ठमी, कहिले बत्तिदै, कहिले कहिले त आकासिदै फर्कने रहेछन।

अब त्यही समयमा गौडा कुरेर, लोग्ने मान्छेहरुले घरको गेटमा बस्ने, महिलाहरुलाई भित्र पठाउने, एक जनाले तमाङनी दिदिलाई भुलाउने, अरुले भटाभट पानी भर्ने। गेट सम्म महिलाहरुले पुर्याइदिने। त्यहाँबाट आफ्नो घरसम्म लामा खुट्टे पुरुषहरूले कुदाउने। यसरी एउटा जर्किन भरेर गेट सम्म पुर्याउन सरदर २ मिनेटका दरले १ घण्टामा ३० जर्किन, यानि कि जम्मामा ३०० लिटर।

यसरी नै चल्यो ११ दिन। कहिले काही पाण्डे र कडारियाले पानी साझा ट्यांकीमा न थपेको बरु आफ्नै भान्सा तिर लगेको हल्ला पनि चल्यो। बेला बेलामा त्यो गोलोको एक घरे सदन बस्यो। बाधा अड्काउ फुकाउ नियमावली बन्यो, काम सुचारु भयो।

१२ औं दिनमा पनि ११ दिनको जस्तै साढे ४ बजे घरबाट हिरामान साहु निस्के। गोलाका कमिलाहरु चम्के, गोला सदस्यहरु बिचमा मिस कल चले, दौड धुप बढ्यो। गाग्री थपिए, जर्किन उभिए। एउटा फौज निस्क्यो। पानी सेना आ-आफ्नो मोर्चामा खटियो, पोस्टमा, डिउटीमा खडा भए। एक जर्किन पानी गेटमा के आइ पुगेको थियो, एउटा मोटर साइकल गेटमा टक्क अडियो। हेलमेट खोलेर एउटा अनुहार झुल्कियो। गेटमा उभिएको पानी सेनाको पहरेदार त अक्क न बक्क भयो। न राम्ररी चिप्लियो आफ्नो डिउटीबाट। सय सुर्य चम्किएको मध्यान्न जस्तै भयो, तिरिरी झ्याइ। सारा बथान समातियो, रंगे हात, हिरामान साहुको छडकेमा। पहरेदार अक्क न बक्क भयो। अनि जबरजस्ती रुन्छे हासो हास्यो फ्यास्स। अर्को तिरबाट भने गोलभेडे आँखा चम्किए।

हल्ला खल्ला भयो, छिमेक पनि थपिए, अरु घरमा बस्ने डेरावालहरु पनि आए। पक्ष थपियो, बिपक्ष थपियो, तठस्थ थपिए। एउटा रमाइलो हास्यरसको खुराक बन्यो त्यो घटना। तर निष्कर्स बिना सेलायो त्यो भिड।

पछी हल्ला चल्यो त्यही गोला बाट एक जना बुज्रुकले छिमेकीलाई सुचना चुहाइदिएछन। छिमेकीले साहुको कान फुके छन। आपतकालीन सदन बस्यो त्यो गोलामा। शंकाको घेरामा एक जना पानी किनेर खाने डेरावाल परे। सुरुमा त कसैले पनि मुख नै फोर्न सकेनन। तर पछी त त्यो कान फुक्ने मान्छेले पनि पेट भरी गाली खायो। पूर्व मेची देखी पश्चिम कर्णाली सम्मका छाडा शब्दहरु एक पछी अर्को गरी बर्से, महाभारतमा अर्जुनका बाण जसरी। अब भुलेर पनि उसले कान न फुक्ला।

त्यसैको उपज, आज बिहानै साहुले उजुरी गरेछन, अहिले त्यसैको अनुसन्धानले धारा, उप-धाराका घुमाउरा घोडेटोहरु नापीरहेछ।

अड्डाका कारीन्दाहरुमा पनि खल्बली चलेको छ। सुन, हिरा, मोती, चोरेको, डलर लुटेको, पाकेट मारेको, जाँड खाएर झगडा गरेको आदी इत्यादी उजुरी त परेकै हुन। तर तिनिहरुको जागिरे जीबन मै पहिलो पल्ट यो खानेपानी चोरी भएको, त्यो पनि जमीन मुनिको ईनारबाट भन्ने उजुरी परेको थियो। त्यसैले कानुनको कुन हाँगो समाउने, कुन दफाको टुप्पो देखाउने हो, हैरानी छ, त्यो अड्डा भरी नै।

पुरापुर सिंगो दिन गयो तर उपाय आएन। अन्तमा एक जना कारींदा आएर “केस अफ्ट्यारो रहेछ। माथि न सोधी केही गर्न सकिएन यहाँबाट। भोली सबै आउनु” भने।

त्यस पछी सोधनीको त्यो मैलो बाफ माथिबाट झन माथि, अझ माथि हुँदै टुप्पै सम्म र टुप्पाबाट गजुर सम्म नै पुग्यो। त्यती हुन जम्मा जम्मी छ महिना लागेछ। कुराको टुंगो कहिले लाग्ने, अनि त्यो कुरो त्यही पुरानो बाटो भएर आउन कति लाग्ने हो?

मुद्दा चल्दै गयो, लुकी छिपी पानीको चोरीको कारोबार पनि थामिएन। त्यो बिचमा पनि कति रुन्छे हासो हासीए, कति गालीहरु बर्से, कति आपतकालिन बैठकहरु भए। तर अर्को उपाय निस्केन, “के हुनु भन्दा कुन्नी के जाती” भने झै पनि चोर्ने अभियान रोकिएन। थाहा छैन, कहिले सम्म यो चली रहने हो।

जुलुम बहादुरलाई आजकल एउटा कुराको बडो ताज्जुब लागि रहेको छ। उसको अन्तस्करणको सानो चेतनाले आँफैलाई सोध्छ, बायुमण्डलबाट अक्सिजन हावा लिएको, सुर्यबाट उज्यालो र राप लिएको, नदीको पानी छोएको उजुरी कुन अड्डामा लाग्ने होला? कल्ले छिनो फानो गर्ने होला? अब उसलाई त्यही हेर्ने र बुझ्ने रहर छ राम्ररी, कौतुहलताका साथ।

ताइपेइ, ताइवान

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.