~चण्डी सुवेदी~
चाडवाड निकै नजीकै थियो। दिलेको पनि यसपालि दशैंमा त बाले कमीज हालिदिने कुरा थियो।
हालिदिने भन्दा पनि दशैमा ल्याइदिने भनौ।
किनकि पोहोर पनि दशैमा उसले परारकै झुत्रेको टिशर्टमा चित्त बुझाएको थियो।
नभन्दै दुई चार दिन गन्दै असोज आइहाल्यो। टिनको बाकस लिएर जुगेदार दिलेका बा पनि पल्टनबाट आए। सबैलाई केही न केही त ल्याका थिए।
“ ला दिले ,तैले कमीज कमीज भनेको होइनस् , हेर त टेलिकटनको कस्तो नखुम्चने कमीजको कपडा ल्याइदिएको छु। “ – बा ले दिलेलाई भित्र कोठामा बोलाउदै भन्नु भो।
“साँच्चै कमीज भनेको त कपडा , “ – दिलेलाई त्यही दिन नै कमीज लगाउने रहर थियो , अलिकति नरमाइलो लाग्यो।
“ भोलि स्कूल जाँदा कान्छी दिदीकहाँ दिएर जा न , दशैँ सम्म त तयार हुन्छ नि “ – आमाको ढाडसले भने उसको मन ढुक्क भयो।
दिले त्यो रात निदाउन सकेन। उसले गोर्खापत्रमा बेरेको बुटा बुटा भएको कमीजको कपडा सुमसुमायो ।
भोलि बिहान। कान्छी दिदीकोमा ऊ बिहान आठ बजे नै पुग्यो।
“ल दिदी मेरो यो कमीज छिटै बनाऊ है, कहिले तयार हुन्छ भोलि आउँ ? “ – ऊ कान्छी दिदीले बनाएर तयार भएर झुण्डाइको फिते कट्टु हेरेर सोध्यो।
“हुन्छ भोलि स्कूलबाट फर्कदा एकचोटि पस्नु न बाबु “- सधै झैँ नरम स्वरमा कान्छी दिदीले भनिन्।
“त्यस्तो एउटा टुक्रा कपडाबाट त्यति राम्रो चिटिक्कको फिते कट्टु बनाउने” दिलेलाई अर्थ न बर्थको लामो लामो सामाजिक शिक्षाको पढाउने गुरू भन्दा कान्छी दिदी महान लाग्यो।
भोलि भयो। स्कूलको छुट्टीको घण्टी गोविन्दे पालेले हात लिन नपाउंदै दिले आफ्नो कमीज लिन कान्छी दिदीकोमा दौड्यो।
तर अफसोच कान्छी दिदीले बल्ल कपडा काट्दै रहिछन्। ऊ त्यही कुरेर बस्न खोज्यो तर कसै तयार नहुने भएसी
निराउरो अनुहार लिएर घर गयो।
“ अहिले सबैका कपडा सिलाउन छन् , तेरो दशैँको दिन सम्म त तयार हुन्छ नि। किन गुनासो गर्छ यो बाबु “ – आमाले दिलेलाई सम्झाउनु भयो।
नभन्दै भोलि पल्ट बिहानै कान्छी दिदीकोमा फेरि दिले टुपुलुक्क पुग्यो। उसको बुटेदार कमीज साच्चै नै तयार भएर दिलेलाई नै पर्खेको थियो।
टीकाको दिन पनि आयो। दिले नयाँ कमीज लगायो बाले निधार भरि टीका लगाइदिनु भयो।
नयाँ कमीज लगाएको दिले फ़ुरुङ्ग भयो।
दशैँ पछि पनि दिलेले त्यो कमीज कहिल्यै छोडेन। आघुमको वर्खा याम पनि शुरु भयो। लुतो फाल्ने दिन।
मिल्ने साथी जानुकाको घर दिलु पुगेको थियो।
“ हेर दिले , म पनि लुतो फाल्छु नि “ – जानुकाले अगुल्टो लिएर घुमाउदै थिई। त्यतिकैमा अगुल्टोको फिलिन्न्गो जानुकाको पछौरामा परेछ।
“लौन नि “ – सल्किदै गरेको पछौराको आगो निभाउन दिलेले केही देखेन , हतपत लाको कमीज खोल्यो र कमीजले फिलिंगो टउटकायो।
आगो त निभ्यो तर अफसोच दिलेको कमीज नै अलिकता डढेछ।
जानुकाले भित्र अम्खारा बाट पानी ल्याएर भिजाई दिई तर बाहुला अलिकति डढेछ नै। तर किन हो कुन्नि , दिले कमीज डढेकोमा जानुका जस्तो दु :खी देखिएन।
उसले स्कूल जाँदा , डिया हेर्दा कहिल्यै त्यो कमीज छोडेन।
धन्सारमा थियो त्यो कमीज , ख्वै कता गयो कुन्नि अचेल त, उध्रेर लगाउनै छोडेको वर्षौ भएछ।
*** *** ***
“मिस्टर दिलराज। अँ त म सोध्दै थिए। विन्टरको बोनस पनि आज निस्केछ। तपाईं त ट्वाल्ल पर्नु भयो नि। “
सिकागो ३७ तलामा काम गर्ने दिले सहकर्मी रोजाले एकाएक बोलाए पछि वर्तमानमा आयो।
खासमा उसले केही वर्ष यो तलब बोनस कति आयो , हेर्ने थिएन। आउँछ , जान्छ आएर नयाँ कुरा केही हुने पनि होइन , आफूलाई केही किन्ने पनि होइन।
“ अहो , कस्तो टोलाएछु। अनि साँच्चै तिमी विन्टरको बोनसले के गर्ने नि “ – दिलेले रोजालाई सोध्यो।
“ ल फेबमा मेरो विहे छ नि , खर्च भैहाल्छ नि अनि दिलराज के गर्ने हो त्यत्रो बोनस भन्या “ – रोजा दिलेलाई नि कफी थप्दै भन्दै थिई।
“ म म , वाल्मार्टमा एउटा कमीज किन्छु , कमीज “ – दिलेले हडबडाउँदै भन्यो।
“ सो फन्नी “ – रोजा हाँस्दै आफ्नो डेस्कतिर लागी।
तर कमीज किन्छु भनेको दिलुका अनायास शव्दहरू निश्चय नै कुनै ठट्टा थिएनन् , सक्ने भए उसले आज आर्जेको यो सानो वैभवबाट बाल्यकालका ती सुनौलो घडीहरू किन्ने थियो।
यो कुरा गोधूलीको सिकागोमा डुब्न लागेको घामले साक्षी भएर पहेलो किरणले दिलुको मुहारमा सान्त्वना दिइरहेर बताइरहेको थियो।
*** ***
-चण्डी सुवेदी
टोकियो
(स्रोत : रचनाकारको ब्लगबाट सभार)