~राजव~
हरि सिंह कार्की चालीस वर्षअगाडि जङ्गल फाँडेर बसालेको तराइसँग जोडिएको वस्तीको मानिस हो । अठ्र्ठाईस वर्षअगाडि ऊ यहाँ जन्मिएको थियो । ऊ यहाँ जन्मिँदा उसका बाउआमा भर्खर पहाडबाट यहाँ बर्साईंसरेका थिए । त्यस बेला उसका बाउआमासँग यहाँ तीन बिगहा जग्गा थियो । अहिले उनीहरूसँग सात बिगहा जमीन, दुइ छोरा, एक छोरी, दश-आठ बस्तुभाउ, एउटा टायरगाडा (गोरुले तान्ने), एउटा थोत्रिएको पुरानो गाडा, तेर्ह जोर परेबा, केही कुखुरा र हाँस छन् ऊ उनीहरूको जेठो छोरो हो ।
हरि सिंह कार्की एक महिना अगाडिसम्म विद्यार्थी थियो । अब जागीर खोज्न थालेको बेरोजगार भएको छ ।
गाउँ छेउको बजारको हाइस्कूलमा पढ्ने हरि सिंह हाइस्कूलको शिक्षापछि काठमाडौं लागेको थियो । घरबाट ओसारेको दाल, चामल, आलु, मस्याङ, अडहर, प्याज र नगद खर्चले ऊ क्याम्पसको पढाइ पूरा गर्न कस्सिएको थियो । उसको यो कस्सियाई दरो थियो । त्यसकारण केही महिना अगाडि उसले स्नातकोत्तर (तर ऊ एम.ए भन्न रुचाउँछ) पनि पूरा गर्यो । अब उसको बाँकी लक्ष जागीर थियो । यही लक्षको महिनौंको तनावबाट केही दिनको मुक्ति लिन ऊ आफ्नो घर-गाउँ आएको थियो । तर, आज साँझ समातियो । यस पटक ऊ काठमाडौंमा झैं पुलिसबाट समातिएको थिएन । पुलिसजस्ता अर्काथरी पुलिसबाट समातिएको थियो । ती नयाँ देशव्यापी पुलिस आफूलाई क्रान्तिकारी भन्छन् । पुराना पुलिस तिनलाई आतंकवादी भन्छन् । यो गाउँका साधारण जनताहरू चाहिँ पुराना पुलिसलाई काला पुलिस भन्छन् । नयाँ पुलिसलाई रातापुलिस भन्छन् । यिनै हतियारधारी राता पुलिसबाट आज साँझ ऊ समातिएको थियो । गाउँ आएको चार दिनको साँझ ऊ समातिएको हो ।
आज साँझ सौसा सुर्ती र चुना माड्दै ऊ सरहीतिरका (फाँट) चना र मुसुरीका हरिया खेतहरूको आली आली मग्न डुल्दै हिंडिरहेको थियो । गाउँमा हुँदा साँझको उसको चर्या पहिलेदेखिनै यस्तै रोमान्टिक हुन्थ्यो । वास्तवमा गाउँ आएपछि ऊ गाउँको सम्पूर्ण प्राकृतिक आनन्द लिन खोज्छ । बिहानै उठेर अरु गाउँलेझैं ऊ फाँटतिर ओठमा राम्रोसँग आफैंले माडेको सुर्ती-चुनाको जुम च्यापेर र हातमा पानीले भरिएको पित्तले लोटा अँठ्याएर फाँटतिर विष्ट्याउन जान्छ । फर्कदा किरकिरचाह नदी किनारमा पुगेर पाँगो माटोले हात धुन्छ । लोटा माझछ । अनि घरबाट निस्कँदा कानमा अड्काएर लगेको बाँसको दतिवन झिकेर हिँड्दै चपाउन थाल्छ । त्यो राम्रोसँग चप्पिएपछि त्यसले दाँत माझन थाल्छ । त्यसरी दाँत माझदै ऊ सरहीको बिहानी आनन्द भोग्दै घर फर्कन्छ । घर अगाडि आँगनको ट्यूवेलको धारोमा कुल्ला गर्छ । मस्तले नुहाउँछ । नुहाएपछि तीन-चार अँजुली पानी सूर्यतिर फाल्छ (स्मरण रहोस् ऊ दर्शन र विज्ञानको विद्यार्थी हो) । त्यसपछि आमाले शुद्ध दूधमा मात्र पकाएर दिएको चिया पिउन थाल्छ । काठमाडौंबाट लगेको नेपाली तथा विदेशी पत्रपत्रिका पनि त्यही क्रममा चिया पिउँदै पढ्न शुरु गर्छ । एक दुइ घण्टा ऊ ती पत्रिका पढेर बिताउँछ । त्यसपछि आमाले भात खान डाकेपछि ऊ खपडाको छानो हालेको भान्छा घरभित्र पस्छ । भान्छा घरबाट दाल, भात, तिउन, दूध, दहीले भूँडी टन्काएर निस्किएपछि आँगनको ट्यूवेलमा चुठ्छ । र चुठेको चिसो हात बयलको (गोरुको) ढाडमा पुछ्छ । यो उसको पुरानो बानी हो । यसो गर्न उसलाई अहिले पनि मजा लाग्छ । उसको चिसो हात आँगनमा बाधेको गोरुको ढाडमा पर्नेबित्तिकै गोरु आँग सिरिङ्ग्याउँछ । आफ्नू चिसो हात ढाडमा परेपछि गोरुले यसो गरेको हेर्न उसलाई आनन्द लाग्छ । यै आनन्दको लागि गोरुको ढाडमा चुठेको चिसो हात उसले हाइस्कुल पढ्न थालेदेखिनै पुछ्न थालेको हो ।
गोरुको ढाडमा त्यसरी हात पुछेर ऊ काठमाडौंबाट लगेका दश-आठ किताबमध्ये एउटा किताब अँठ्याएर आँगन छेउको भुस्यौली घरभित्र पस्छ । र, त्यहाँ भएको परालको अग्लो धुस्नोमा पल्टिएर त्यो पुस्तक पढ्न थाल्छ । विशेष गरी ऊ दर्शन प्रधान र साहित्यसम्बन्धी पुस्तक पढ्न मनपराउँछ । ध्यानरहोस् साहित्यमा ऊ विशेषगरी उपन्यास पढ्न मनपराउँछ । अहिलेसम्म उसले जोला, बाल्जाकदेखि चिनुवा अचेवे र हा जिनसम्मको गरी साठी सत्तरी उपन्यासकारका सवा सय उपन्यास पढिसकेको छ । आख्यानपछि ऊ कविता पढ्न मनपराउँछ । त्यसकारण ऊ नेपाली कुन कुन कविहरूमा भारतीयदेखि पाश्चात्यसम्मका ख्यातनामा कविहरूको ठाडो, तेर्र्सो र छायात्मक नक्कल छ भन्न सक्छ । यी नक्कलबीर कविबारे तीखो समीक्षा लेख्ने विचार उसको दिमागमा योजनाकै रूपमा रहिरहेको छ । किनभने ऊ लेख्ने बानीको मान्छे हैन, ऊ सिर्फपढ्न मात्र रमाउने मान्छे हो । त्यसकारण ज्ञानको धेरै आधुनिक – उत्तर आधुनिक क्षेत्रमा उसले पौडेको छ । किनभने ऊ पुस्तकको संसारको राम्रो धावक हो । तर, उसको धावनमार्ग तथाकथित भन्दा भिन्न र अनाग्रही छ ।
भुस्यौलीको धुस्नोमा त्यसरी पल्टिएर पढ्दा पढ्दै ऊ निदाउँछ । करिब डेढ घण्टा मुखबाट र्याल निकालेर गालामुन्तिर धुस्नो भिजाउँदै ऊ निदाउँछ । त्यसपछि उठेर दइचार लोटा पानी घुट्क्याउँछ । र, छिमेकी घरतिर यसो भलाकुसारीको लागि लाग्छ । एकाध घण्टा त्यसरी घुमेपछि घर फर्किएर कट्याककुटुक खाजा खान्छ । र, साँझको सयर गर्न र रोमान्टिक आनन्द लिन अनन्त विस्तारमा फैलिएको आफ्नू गाउँको फाँटतिर जान्छ । त्यसैगरी जाने क्रममा ऊ आज साँझ राता पुलिसबाट समातिएको हो ।
यसैगरी ऊ काठमाडौंमा देशका रैथाने काला पुलिसबाट पनि समातिएको छ । हालै पछिल्लो पटक समातिँदा काला पुलिसले उसलाई चौरानब्बे दिन थुनेका थिए । आठ दिन सात रात अँध्यारो कुनुमा थुनेर उसलाई बयानको लागि काला पुलिस अफिसरकहाँ पचासौं पटक पुर्याइयो । र, उसलाई सोधियो :
“घर काँ <“
“डेरा काँ <“
“बाउको नाम के <“
“काठमाडौंमा किन बसेको <“
“के पढ्ने <“
“कहाँ पढ्ने <“
काला पुलिसबाट दुइ -चार वर्षयता ऊ तीन चार पटक समातिइसकेको छ । पछिल्लो पटक समातिंदा पनि माथिका प्रश्नहरूपछि उसलाई त्यही प्रश्न सोधियो ः
“आतंकवादी संगठनमा लागेको कत्ति भयो <“
उसको जवाफ थियो ः “म कुनै पनि संगठनमा छैन …”
प्रतिप्रश्न सोधियो ः “किन छैन – …. हामीलाई थाहा छ …..”
“तर म ……. छैन…”
“….. छैन भनेर सुखपाउँदैनस् ……….. हामीलाई थाहा छ तँ आतंकवादी संगठनमा लागेको मान्छे होस् ……..”
“…. हैन म कुनै पनि संगठनमा छैन ………”
“तँ आतंकवादी होस् ….”
“…… म कुनै पनि संगठनमा छैन, म विद्यार्थी हुँ …… स्नातकोत्तर पूरा गरेर रोजगारीमा लाग्ने मेरो लक्ष्य छ ………”
“……….. के तँ आतंकवादी लक्ष्यमा लागेको मान्छे हैनस् ……. -“
“…. हैन…….”
“….त्यसो भए तँ कुनै विद्यार्थी संगठनमा त होलास् ……… भन् तेरो विद्यार्थी संगठन कुन् हो < …”
“मेरो कुनै विद्यार्थी संगठन छैन …… “
“…. यो कसरी हुन्छ < …. तँजस्तो मान्छे विद्यार्थी संगठनमा छैन भनेर पत्याइन्न ….. भन् कुन् नेता तैँले रोजेको छस् ….”
“मलाई नेताप्रति घृणा लाग्छ ….”
“……… कुन् नेताप्रति तँलाई घृणा लाग्छ -“
“…………….”
“अनि आफ्ना नेताप्रति चाहिं तँलाई श्रद्धा लाग्छ हैन < “
“हैन ……”
“किन हैन …..”
“….. किन भने म कसैको टट्टू हैन ….”
“…..अनि तँ कस्तो टट्टू होस् – ….. तँ आतंकवादी टट्टू होस् ….”
“….. म टटू हैन, म किसानको छोरो हुँ …… म स्वतन्त्र हुन मनपराउँछु …………..”
“…….. कस्तो स्वतन्त्र …”
“……. जस्तो …… प्रजातन्त्रले जनतालाई दिन्छ ………”
“….. त्यसो भए तँलाई लोकतन्त्र भनेको पनि थाहा छ ….”
“थाहा छ …..”
“के थाहा छ -“
“लोकतन्त्र राम्रो हो भन्ने थाहा छ ….”
“…. त्यसो भए तँ कुन लोकतन्त्रवादी नेताको टट्टू होस् ….”
“…. म कसैको टट्टू हैन …. मेरो स्वतन्त्र व्यक्तित्व छ …..”
“…. यो मान्न सकिन्न …….”
यै निष्कर्षसाथ काला पुलिसले पछिल्लो पटक उसलाई चौरानब्बे दिन कडा निगरानीमा थुनेका थिए ।
ऊ त्यसरी थुनिँदा देशका कुनै पनि अखबारमा ऊ समाचार बनेको थिएन । न कसैले उसको गिरफ्तारीको विरोध गरेका थिए । सिर्फउसको त्रिसठ्ठी वर्षको बाउ यातनामा पिल्सिएको थियो । र, छोरोको अनुहारको झलक लिन त्यो चौरानब्बे दिनमा सोर्ह पटक राजधानी धाएको थियो ।
चौरानब्बे दिनको हन्डरखाँदो यातनामय थुनुवाईबाट छुटेपछि हरि सिंह कार्कीले आत्मगुप्तवास बसेर आफ्नू पढाइ सिध्याएको थियो । त्यसरी थुनिनुभन्दा अगाडि ऊ पुस्तकालयमा पुगेर घण्टौं पुस्तकहरू पढ्थ्यो । तर, त्यसरी थुनामा परेर छुटेपछि ऊ पुस्तकालयको वरिपरि पनि पुगेन । किनभने काला पुलिसको थुनाईमा पर्नुको कारणमध्येको एक प्रमुख कारण उसको नियमित पुस्तकालय जबाई पनि रहेछ । त्यस दिनको केरकारमा काला पुलिसको केरकार इन्सपेक्टरले उसलाई सोधेको थियो ः
“तँ पुस्तकालय पनि जाँदो रहेछस् हैन ……. -“
यो चाहिं सत्य थियो । त्यसकारण उसले यसको जवाफ यसरी दिएको थियो ः
“हो …..”
“किन <“
यो मूर्खलाई उसले भनेको थियो ः
“पढ्न ….”
“के पढ्न -“
“पुस्तकहरू पढ्न …..”
“पुस्तकहरू ! -…..”
“हो ….”
“त्यहाँ तँ कस्तो पुस्तक पढ्छस् <…..”
“साहित्य, दर्शन र आफ्नू विश्वविद्यालयको लागि चाहिने सम्बन्धित पुस्तहरू ….”
“…. ए ! तँ दर्शन पनि पढ्दो रहेछस् …. कस्तो दर्शन पढ्छस् तँ ..- “
“अर्वाचीन, प्राचीन, मध्ययुगीन, आधुनिक, म्याजिकल, पोष्टमोर्डन …..”
“राजनीतिक दर्शन नि <“
“मलाई रुचि छैन ….”
“मार्क्स चिन्छस् -….”
“चिन्छु ….”
“को हो मार्क्स <“
“मानिस हो ….”
“ए मैले भैंसी होला भन्ठानेको …… ” भन्दै स्वयं भैँसी कायाको त्यो कालो इन्सपेक्टरले व्यँग्योक्ति हाँस्दै फेरि उसलाई सोधेको थियो ः
“…. तैँले त्यसको किताब पढेको होलास् नि ….”
“छु …..”
“के पढेको छस् ….”
“सानो जीवनी …..”
“अरु <“
“अरु छैन …..”
“किन <“
“मन नलागेर ….”
“तँ फटाहा होस् …. तँ लाइब्रेरीमा मार्क्सको गहन अध्ययन गर्थिस् भन्ने हामीलाई रिपोर्ट छ …. तँ कट्टर मार्क्सवादी होस् भन्ने पनि हामीलाई रिपोर्ट छ ….”
यो क्षण रोक्न खोज्दा खोज्दै पनि उसको मुखबाट खित्का चिप्लिएको थियो ।
“किन हाँसिस् <“
“म जे होइन त्यही भनेकोले ….”
“…. तर हामीलाई रिपोर्ट छ तँ आतंकवादी होस् र तँ पुस्तकालयमा कम्यूनिष्ट दर्शनका किताब घण्टौं पढ्छस् भन्ने ….”
फेरि उसको मुखबाट हाँसोको खित्का निस्कन आँटेको थियो । तर, मार खाइएला भन्ने डरले हातले मुख थुन्दै उसले खित्का मज्जाले रोक्यो । यो चाल पाएर भैंसी कायाको कालो इन्सपेक्टरले उसलाई सोधेको थियो ः
“…. साँच्चै तैँलै कम्यूनिष्ट पुस्तक पढेको छैनस् त <“
“…. त्यस्ता पुस्तक पढ्ने मेरो रुचि छैन ….. र मलाई जरूरी पनि छैन ….. “
“…. ल भैगो त्यसो भए … पुस्तकालयमा तँ अरु के पढ्छस् <“
“साहित्य पढ्छु ….”
“साहित्यमा के पढ्छस् <“
“उपन्यास पढ्छु ….”
“उपन्यास ! …. कस्तो उपन्यास पढ्छस् तँ …..”
“आख्यानात्मक कलाले भरिएको साहित्यिक उपन्यास ……”
“राजनीतिक उपन्यास पनि पढ्छस् कि ….”
“यौनिक, राजनीतिक, जस्तो पनि तर कलापूर्ण …..”
“….. क कसको उपन्यास पढेको छस् …. -“
“धेरैको पढेको छु ….”
“जस्तो -“
“बाल्जाक, एमिल जोल्ग, जो से सारामाओ, सात्र, कामु, गार्विय गार्सिया मार्खेज, एमी टाङ, हा जिन, जोन् वार्थ, चिनुवा अचेवे, आदि थुप्रै …..”
“नेपालीको पढेको छैनस् -“
“झन् धेरै ….”
“क कसको पढेकोछस् -“
“वि.पि., पारिजात, ध.च. गोतामे, मदनमणि, नारायण ढकाल, प्रदीप नेपाल, कृष्ण धारावासी, नयनराज पाण्डे आदि नयाँ पुराना पाएसम्मका …”
“अनि अरु ….”
“विजय मल्ल, विकल, गोठाले, इन्द्र बहादुर राई आदि थुप्रैको पढेको छु “
“अनि मेरो पढेको छैनस् <“
फेरि खित्का मुखभित्रै कोचेर उसले सोध्यो ः
“…. तपाईं पनि लेख्नु हुन्छ र <“
“…. किन लेख्दिन < लेख्छु तँ जस्ता थुप्रै आतंकवादीको कथा, उपन्यास लेखेको छु ….”
“के नाम तपाईंको <“
“षडवीर मोक्तान …. सुनेको छस् <“
“छैन …. “
“अब सुन्लास् …. जेलको लाइब्रेरीमा मेरो उपन्यास पाइन्छ ….. म तँलाई त्यहीं पठाइदिन्छु …..”
त्यसपछि ऊ जेल पठाइएको थियो । त्यहाँ पनि पटक पटक उसले यातनाको उत्कर्षभोगेको थियो । जेलबाट छुटेपछि पनि त्यो यातना सम्झँदै ऊ आत्मगुप्तवास बस्न वाध्य भयो । किनभने उसलाई पढाइ पूरा गर्नु थियो । बढी खुला रूपमा हिंड्दा फेरि काला पुलिसले अँठ्याउलान् र पढाइ पूरा गर्न नसकुँला भन्ने उसलाई डर थियो । त्यसकारण ऊ आत्मगुप्तवास बस्न वाध्य भयो । र, आफ्नू स्नातकोत्तरको पढाइ त्यसरी ध्यानस्थ भएर पूरा गर्यो । त्यसपछि उसले आत्मगुप्तप्रवास छोडयो र जागीर खोज्न थाल्यो । शासनका हाँगाबिँगादेखि व्यक्तिका उद्योग-व्यापारसम्म उसले रोजगारी खोज्यो । तर, कतै केही भेटेन । अन्ततः ग्लानि र निराशाले चरमसँग पेलिएपछि ऊ चार दिन अगाडि गाउँ आएको थियो । गाउँ आएपछि गाउँका पाडा-पाडी, खेती-पाती, घाम पानी, धूलो, पसिना, गाउँले आँखा, रूप, श्रम, किसानी-जीवन, गोरुगाडा, बागबगैँचा, बालीले लहलहाएका अनन्त फाँट आदि अनेक देख्न, भोग्न थालेपछि ऊ हल्का हुन थालेको थियो । वास्तवमा गाउँमा आएपछि ऊ रोमान्टिक रूपले प्रफुल्ल हुन थाल्छ । शहरमा हुँदा ऊ एलेन गिन्र्सबर्ग, अमिरी बराका, भूपी शेरचन, द्वारिका श्रेष्ठ, कृष्णभक्त श्रेष्ठ आदिका कविता पढ्न मनपराउँछ भने गाउँमा ऊ पाब्लो नेरुदा, अख्मातोभा, ओसिप पेन्डेल्स्टाम, मेरी ओलिभरका कविता पढ्न मनपराउँछ । उसले यस पटक मेरी ओलिभरकै कवितासङग्रह ल्याएको थियो । तर, आज साँझ राता पुलिसले उसलाई समात्दा कोलम्बियान कुख्यात लागूपदार्थ तस्कर तथा डन प्याब्लो इस्कोबारले गरेको कोलम्वियन पत्रकारहरूको अपहरणबारे ग्याब्रिएल गार्सिया मार्खेजले लेखेको उपन्यास “न्यूज अफ अ किड्न्यापिंग” च्यापेको थियो । ऊ त्यो किताब मध्यफाँटमा सुनहरि अहिरको साँधमा भएको आफ्नो मसुरीको खेतको आलीमा डेढ-दुइ घण्टा बसेर ध्यानस्थ भएर पढ्ने शुरमा थियो । वस्तवमा गाउँका फाँटका खेतखेतका हरिया आलीमा बसेर उसले टोनी मोरिसनको विलभ्डदेखि चिनुवा अचेवेको “एरो अफ गड” सम्म गरेर दश आठ मोटा उपन्यास पढिसकेको छ । नेरुदा, पाजनिकोनार पारा, यान्निस रित्सोस, आफ्नू नेपालीका देवकोटा, रिमाल, पारिजात, कुन्दन शर्मा, वासु शशी आदि थुप्रै कविहरूका कविताका पुस्तकको आनन्द उसले आलीमै बसेर लिएको छ । “यस्तो खुला ठाउँको मुक्त अध्ययनको एकान्तिक आनन्द अर्कै हुन्छ …..” गाउँतिर कम आउने आफ्नै गाउँको एक पोष्टमोर्डन लिवरल बुद्धिजीविलाई यस्तै आली आली गफ्फिदै हिँड्दा उसले भनेको थियो । हो, ठ्याक्क त्यस्तै आनन्द लिन ऊ मार्खेजको उपन्यास “न्यूज अफ अ किड्न्यापिंग” काखी च्यापेर सुर्ती-चुना माड्दै खेतका आली आली मजा लिँदै हिँडिरहँदा आज साँझ राता पुलिसबाट समातिएको थियो । अरु यसरी समातिनुलाई अपहरण भन्छन् । तर, ऊ चाहिं यस्तो अपहरणलाई अपहरण हैन गिरिफ्तारी भन्छ । किनभने उसको आत्मचेतनाले अब देशमा काला पुलिस र राता पुलिसको गरी दुइ सरकारको शासन चल्न थालेको स्वीकारी सकेको छ । त्यसकारण अरुले अपहरण भने पनि यस किसिमको अपहरणलाई ऊ गिरिफ्तारी नै भन्छ ।
अघि साँझ धनेश बैठाको उखुबारीबाट निस्केका दश-बार्ह राता पुलिसले उसलाई समातेका थिए । खेतको आली आली चारैतिरबाट घेर्दै उसलाई गाउँको गोरुगाडा चल्ने लिकमा पुर्याएका थिए । त्यहाँ पुर्याएर तिनले उसको आँखामा रातो बाक्लो कपडाको पट्टी बाँधिदिए । त्यसपछि त्यहाँ तीन मोटरसाइकल सहित ढुकेर बसेका अर्का राता पुलिसले बीचको मोटर साइकल पछाडि उसलाई बसाए । ऊ अगाडि चालक रातो पुलिस थियो । ऊ पछाडि कोच्चिएर अर्को रातो पुलिस बस्यो । त्यसपछि उसको अगाडि पछाडि गरेर तीन मोटर साइकल बीस मिनेट कुदे । एउटा थलोमा पुगेर मोटरसाइकल रोक्कियो । मोटरसाइकलबाट उसलाई ओरालेर दुइ राता पुलिस मिलेर उसको दुबै हात बाँधिदिए । र, उसलाई त्यहाँ छरेको परालको धुस्नोमा बसाइयो । त्यहाँ थुप्रै सर्याङ … सुरुङ खासखुस चलिरहेको उसको कानमा परिरह्यो । त्यस बेला उसको मुटुको धडकन प्रति मिनेट एक सय साठीको गतिमा धड्किरहेको थियो । ऊ अकस्मात् घेरिएर समातिएको क्षणमै केही पिशाव उसले भित्र लगाएको भारतीय कुनै ब्राण्डको कट्टुभित्र तुर्किएको थियो । त्यहाँ बसाइएपछि फेरि उसको कट्टुमा पिशाव अली अली रसाउन थाल्यो । तर, उसको मुखमा भने पानी रसाउन सकेको थिएन । तैपनि त्यहाँ सलबलाएका रातापुलिसमध्ये एउटा पुलिसले उसको नाम सोधेपछि उसले भन्यो ः
“हरि सिंह कार्की ….”
“हामीलाई थाहा छ ….”
“त्यो भए किन सोधेको त ….. -” उसले मनमनै भन्यो । तर, मुख खोलेन ।
फेरि त्यही स्वरले भन्यो ः “हामी क्रान्तिकारी हौँ …..”
“…. हामीलाई तँमाथि शंका छ ….”
ऊ मौन थियो । त्यही स्वरले सोधिरह्यो ः
“…. तँ काँग्रेस, पुलिसको मान्छे के होस् <….”
ऊ बोल्दैबोलेन । त्यसकारण त्यही स्वरले कड्किएर सोध्यो ः
“किन बोल्दैनस् ….”
“बोल्छु ……”
“अनि किन भन्दैनस् तँ पुलिसको मान्छे, काँग्रेस के होस् भन्ने ….”
“कालापुलिसप्रति मलाई घृणा छ, म कुनै पार्टीमा छैन …”
“तँ फटाहा होस् हामीलाई तेरो सबै कुरा थाहा छ ….”
उसलाई अचम्म लाग्यो । किनभने कालापुलिसले भने जसरी नै रातापुलिसले पनि उसलाई भन्यो । त्यसकारण उसलाई रातापुलिस र कालापुलिसको चारित्रिक भिन्नता केही रहेनछ, उस्तै रहेछ भन्ने लाग्यो ।
“तँ गाउँमा किन आएको < ” पूर्ववत् स्वरले सोध्यो ।
“म आफ्नू घर आएको हुँ”
“घर त आइस् तर किन आइस् के उद्देश्यले आइस <“
“आफ्नो घरमा आउनुको कुनै उद्देश्य चाहिन्न …. घरमा त सहज रूपमा आइन्छ ….”
“…. तर तँ त्यसै घरमा आएको हैनस् … हामी विरुद्ध कुनै षड्यन्त्र लिएर आएको हुनसक्छस् ……”
“….मलाई कसैको केही मतलव छैन, म आफ्नै स्वतन्त्रतामा रमाउने मान्छे हुँ …. काठमाडौंमा जागीर खोज्दा खोज्दा थाकेर केही दिन आराम गर्न घर आएको हुँ …. मेरो यथार्थ यै हो …”
“के गर्थिस् काठमाडौंमा <“
“पढ्थेँ …”
“के पढ्थिस् …”
“एम.ए. ….”
“साला बुर्जुवा ! जनताका छोरा पढ्न पाउँदैनन् तँ चाहिँ एम.ए. गर्ने ….-“
ऊ फेरि चुप छ । आतंकित छ । रात परिसकेको छ र चारैतिर स्यालहरूको हुइयाँ चर्किरहेछ । नजिकै रातापुलिसहरूले आगो बाले छन् । त्यसकारण उसको शरीरको एक छेउमा न्यानो राप परिरहेछ । माघको महिना भएको हुनाले वातावरणमा जाडोको चिसो फैलिरहेछ ।
फेरि त्यही स्वरले सोध्यो ः
“….. साला तँ कुन चिज होस्, कुन् जिनिस् होस् हामीले जान्न चाहेको यै हो …. तँ मन्डले होस् कि, सुन्डले होस् कि, काँग्रेस होस् कि, सि आइ डी होस् कि, कुन जिनिस, कुन चीज होस् ….. -“
“मैले भिनहालेँ केही समय आगडिसम्म म विद्यार्थी थिएँ … अब जागीर खोज्न थालेको बेकारी भएको छु ….”
“….योबाहेक तँ अरु के होस् तेरो बाउ काँग्रेस …. तँ के होस् … -“
“म गाउँमा हुर्के बढेको एउटा साधारण किसानको छोरो हुँ …. एउटा जागीर पाए म सन्तुष्ट हुने थिएँ …. मेरो अरु कुनै सौख, उद्देश्य छैन, म आफ्नै स्वतन्त्रतामा रमाउने मान्छे हुँ ……”
“के रे …… आफ्नै स्वतन्त्रता ….. आफ्नै स्वतन्त्रताको कुरा बुर्जुवाहरूमात्र गर्छन् थाहा छ तँलाई ….”
“………………………………….”
यसपछि उनीहरूले खासखुस शुरु गरे । खासखुसमा उनीहरूले यस्तो मान्छे शंकास्पद र खतरनाक हुन्छ भन्ने छलफल गरे । र फेरि ऊतिर खतरनाक तरिकाले फर्के ।
रात बयस्क भैसकेको छ । अलि अलि जाडो र डरले उसको शरीर भित्र भित्र कामिरहेछ उसको आँखामा पट्टी यथावत् कडासँग कस्सिएकै छ ।
अब उसको दृष्टिको भविष्य रातापुलिसको हातमा छ ।
हाल – अमेरिका
(स्रोत : रचना द्वैमासिक)