पुस्तक समीक्षा : स्तरीय कथाहरूको संकलन “पाखाको”

~हरि अधिकारी~book-cover-baburam-lamichhane-pakhako-katha

“पाखाको” जस्तो अनौठो तर अनाकर्षक नाम दिइएको कथासंग्रहका लेखक बाबुराम लामिछाने (जन्म विसं २००९) समसामयिक नेपाली कथाकारहरूमध्ये तुलनात्मक रूपमा कम चर्चित र समीक्षकहरूको दृष्टिबाट प्रायशः ओझेल परेका कथाकार हुन् । भित्री मधेसमा जन्मिएका र सरकारी कर्मचारीका हैसियतले जीवनको अधिकांश समय राजधानीबाहिर बिताएका लामिछानेले साहित्यसेवालाई मौन साधनाका रूपमा लिएको देखिन्छ । स्वान्त सुखायः आख्यानको दुनियाँमा रमाएका लामिछानेले विगत तीन-चार दशकदेखि निरन्तर सिर्जनारत रहेर नेपाली साहित्यको श्रीवृद्धिमा योगदान गरेका छन् । आलोचक-समालोचक, पुरस्कार गुठीहरूका कर्ताधर्ता वा साहित्यका विद्यार्थीहरूका नजरमा त्यति गहिरोसँग चढ्न नसके पनि आफ्नो रचनात्मक सामर्थ्यका बलमा बाबुरामले आख्यानको उपविधा कथाको क्ष्ाेत्रमा सार्थक उपस्थिति जनाएका छन् ।hari-adhakari

समीक्ष्य संकलन पाखाकोमा २१ थान कथाहरू छन् । जागिरे जीवनयात्राका क्रममा मुलुकको विविधतापूर्ण जनजीवनका विविध पक्षसँग साक्ष्ाात्कार गर्ने अवसर पाएका कथाकार लामिछानेले आफ्ना कथाहरूको जमिन, विषयवस्तु, पात्रपात्रा, कथ्य र भावभूमि तिनै जनजीवनका बहुविध रूप र रङबाट चुनेको पाइन्छ । उनका कथामा नेपाली पहाड, तराई र उच्च हिमाली भूभागको माटोको सुगन्ध त पाइन्छ नै, देशका कुनाकाप्चासम्म छरिएर रहेका नेपालीहरूको समाज, त्यसमा आबद्ध बहुसंख्यक विपन्न, दुःखी, पीडित, कमजोर, कुण्ठाग्रस्त र अलमलिएका मानिसहरूको व्यथाकथाको मार्मिक चित्र पनि कोरिएको छ ।

बाबुराम लामिछानेका कथाहरूलाई सामाजिक यथार्थवादी कथा भन्न सकिन्छ । उनले आफ्ना कतिपय कथाहरूलाई समसामयिक नेपालका जटिलतर बन्दै गएका मुद्दा र समस्याहरूको दर्पण बनाउने जमर्को पनि गरेका छन् । माओवादी जनयुद्धको पृष्ठभूमिमा लेखिएका उनका कथाहरू ‘घाउ’, ‘काँधको मान्छे’ र ‘किनारामा’ले जनयुद्धले सौहार्द्रपूर्ण सामाजिक र पारविारकि सहचर्यमा रहेका व्यक्ति-व्यक्तिबीचको सम्बन्धमा पैदा गरििदएको विद्वेष, शोषण र त्रासको पडताल गर्ने प्रयत्न गरेका छन् । जनयुद्धका नाममा कसरी क्रान्तिको दुरूपयोग गरिएको थियो र त्यसलाई शोषणको माध्यम बनाइएको थियो भन्ने कुराको मार्मिक चित्रण पनि उनका कथाहरूमा गरिएको छ ।

कथाकार लामिछानेले केही कथाहरूमा प्रकृतिको सुन्दर-कठोर रूप र तिनले मानिसको मन र मस्ितष्कमा पार्ने प्रभावको रोचक खोतलखातल गरेका छन् । ‘महमा भुनभुनाएका माहुरी’ भन्ने एउटा सुन्दर कथा छ यस संग्रहमा, जसमा लेखकले प्रकृति र मानिसको सम्बन्धलाई यति सघन र अभिन्न बनाएका छन्, कथाकी प्रमुख स्त्री पात्रको यौनेच्छाको उद्दीपन प्रकृतिले क्षणक्षणमा फेर्ने रङसँग समन्वित छ झैँ प्रतीत हुन्छ । यो कथा पढ्दा प्रकृति स्वयं कथाका पात्रपात्राका बीचमा उपस्थित एउटा अर्को पात्रजस्तो लाग्छ । संग्रहको अर्को एउटा कथा ‘जाडो र बत्तीको राप’मा भने प्रकृतिको दुर्दान्त र कठोरतम् रूप चित्रित छ । यो कथामा प्रकृति मानिसको सहयोगी छैन, मानिस र प्रकृतिका बीचको सम्बन्धको नकारात्मक पक्ष यसमा उजागर भएको छ । प्रकृतिको कठोर रूपले मुख्य पात्रको एकाकीपना, बेचैनी र कुण्ठित मानसिकतालाई अझ घनीभूत बनाउँछ । सम्भवतः बाजुरा र डोल्पा जिल्लाको पृष्ठभूमिमा लेखिएका यी कथाहरू नेपाली भाषामा लेखिएका राम्रा आञ्चलिक कथा हुन् ।

कथाकारले आफ्ना केही कथाहरूको विषयवस्तु स्त्री-पुरुषका बीच दैहिक आकर्षण, विवाह, विछोड, यौन सम्बन्ध आदिलाई बनाएका छन् । एक-दुइटा कथामा स्त्री-पुरुषका बीचको रुमानी सम्बन्धको झल्को पनि प्रस्तुत गरिएको छ । तर, यसखाले कथाहरूमा लेखक कथ्यलाई लिएर प्रस्ट हुन नसकेका कारण ती फिक्का भएका छन् । स्त्री-पुरुष सम्बन्धलाई लिएर नै अत्यधिक मात्रामा कथाहरू लेखिने हुनाले कुनै नयाँ कथाकारले यस विषयको जगमा कथाको घर बनाउने हो भने उसले कहीँ न कहीँ, केही न केही नयाँपना दिन सक्नैपर्छ । बाबुराम लामिछानेले यस विषयमा लेेखेका कथा पढ्दा यतातिर उनको अनुभव र अनुभूति त्यति गहन नभएको प्रस्ट हुन्छ ।

संग्रहमा ‘प्रकोप’, ‘गजेन्द्रको गाडा’ र ‘नयाँ प्रारम्भ’जस्ता उत्कृष्ट कथाहरू पनि समाविष्ट छन्, जसका बलमा बाबुराम लामिछाने सफल नेपाली कहानीकारहरूको पंक्तिमा सगर्व उपस्थित रहनेछन् सधैँसधैँका लागि । ‘प्रकोप’ले मानवीय लालचको, स्वार्थको र सँगसँगै मानिसभित्र धुकधुकीझैँ जीवित रहिरहने जिजीविषाको बडो मार्मिक चित्रण गरेको छ भने ‘गजेन्द्रको गाडा’ले एउटा श्रमजीवी परविारले आजको खराब समयमा दिनदिन, छिनछिन गर्नुपर्ने कठोर संघर्षको कहानी भन्छ । नयाँ प्रारम्भमा सोझासाझा धर्तीपुत्रहरू कसरी आर्थिक संक्रमणकालको शोषणचक्रद्वारा पिसिन्छन् र मालिकबाट दासको हैसियतमा ओर्लिन्छन् भन्ने कटुसत्यलाई आख्यानमा उतारिएको छ । संग्रहको नाम नै जुन कथाको नामबाट राखिएको छ त्यो ‘पाखाको’ भन्ने कथाचाहिँ कथातत्त्वका हिसाबले कमजोर छ र निष्प्रभावी पनि छ । तर, त्यसलाई एउटा संक्रमणकालीन नागर केन्द्रलाई लिएर लेखकले तयार गरेको आत्मपरक निबन्धका रूपमा पढ्ने हो भने रमाइलो लाग्न सक्छ ।

बाबुराम लामिछानेको कथाकारतिामा धेरैखाले कमजोरी पनि देखिन्छन् । दुई-चार थान कथामा बाहेक अरू सबैमा लेखक अनेक खाले व्याख्या, विश्लेषण र प्रस्ट्याइँका साथ उपस्थित हुने गरेकाले कथाहरू बोझिल बनेका छन् । भाषा खेलाउने कसरत पनि खूबै गरेका छन् लेखकले, जसले गर्दा कथा लेखनको प्रवाह धेरै ठाउँमा भंग भएको छ । अभिव्यक्तिमा सहजता सबै ठाउँमा निर्वाह भएको छैन । बाबुराम लामिछानेको लेखनमा मीतव्ययिता र शब्दानुशासनको पनि नितान्त अभाव देखिन्छ । संस्कृतिनिष्ठ भाषा, आवश्यक अनावश्यक विम्बहरूको अत्यधिक प्रयोग र कथाका पात्रपात्राहरूको विकासक्रम देखाउन लेखकले प्रत्यक्ष वर्णनको सहारा लिने गरेका कारण धेरैजसो कथामा आवश्यक विश्वसनीयता आउन सकेको छैन । लामिछानेले कथा कथ्दा आफूभित्रको निबन्धकारलाई एकछिन विश्राम दिनु जरुरी देखिन्छ । स्थिति र पात्रहरूको मनस्थितिको नाटकीकरण कथालेखनका लागि आवश्यक भए पनि लामिछाने भने यसमा अति नै निर्भर भएको देखिन्छ । यसमाथि पनि उनले पुनःविचार गर्न आवश्यक छ ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ३९५)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.