~दिपेन घिसिङ्~
उहिल्यै ढुङ्गाले चार छेउ बाँधेर
मझधारमा खदाको फेटा लाएर एउटा खाम्बो गाडियो।
त्यसको खुट्टामुनि
अलिकति सुनपाति/ भैरूङपाति
अलिकति चामल
र एक रूपियाँको सिक्का राखिदियो।
खाम्बो उठेको त्यही दिनदेखि त्यो मेरो बाऊको निम्ति बुद्ध भए।
आमाको निम्ति बन्बो भए।
मैँले भनेँ- घरका ढोकाले कञ्चन हिमाल देखोस्।
हिमालले सिधै घरका ढोका।
बाऊले भने-
पाहुनासरी सूर्यको पहिलो किरण यो ढोकाभित्र पसोस्।
आमाले भनिन्-
धुरी ठाडो राख्नु हुँदैन। अर्थात्
बाऊको बिचार आमाले पनि बोकिन्।
टिनको ठाडे धुरी घर बनियो।
ढोकाबाट निस्कनसाथ कञ्चन हिमाल हेर्ने मेरो रहर पुरियो।
एउटा कोठा,
सानो झ्याल, एउटा सानो काठको टेबिल
एउटा पलङ्ग र त्यसमा खुद्रा लुगाहरू
मेरा निम्ति थिए।
कञ्चनजङ्घा हेर्न आउनेहरूलाई सम्झिएँ।
मुस्कानका डल्ला फुटाएर तस्वीर फ्रेम गरेको सम्झिएँ।
फ्रेममा कैद भएको हँसिलो हिमाल सम्झिएँ।
अनि त्यही कञ्चन हिमाल हेर्ने लाल्सा अपुग भएको सम्झिएँ।
अन्धकार कोठाभित्रबाट हिमाल निस्सार थियो।
त्यसैले- हिमालपट्टि फर्काएँ ओछ्यान र
सपना देख्न सक्ने सिरानीलाई।
ढोकाबाट सिधै देख्न नसक्ने कञ्चन हिमाललाई
म ओछ्यानबाटै निहाल्न सक्ने भएँ। छुन सक्ने भएँ।
एका बिहान आमाको प्रश्न उठ्यो।
हिमालपट्टि कुर्कुच्चा फर्काएर सुत्ने यो कस्तो मान्छे हँ ?
मरेकाहरूलाई पो यस्तरी सुताउँछन्।
सोचेँ- म कस्तो मान्छे हूँ ?
निःशब्द भनिदिएँ म आधुनिक युगको मान्छे हूँ आमा !
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)