~हरि अधिकारी~
साहित्यकार खगेन्द्र संग्रौला आफ्नो विशिष्ट शैली, भाषालाई रोचक ढंगले खेलाउने कला अनि दिल र दिमागमा जमठ भएर बसेका केही कठोर आग्रहका कारण अरू हजारौँ नेपाली लेखकका भीडमा पनि सर्लक्कै चिनिने अग्ला कदका सर्जक हुन्। साहित्य सिर्जना उनका लागि स्वान्त: सुखाय गरनिे मनोविलासको एउटा प्रक्रिया होइन, त्यो त समाजमा बलियाहरूले निर्धाहरूमाथि गर्ने अर्घेल्याइँलाई दुनियाँका सामुन्ने उदांग पारेर ती निमुखाहरूको विदीर्ण हृदयमा थोरै मात्रामा भए पनि ढाढसको मल्हम लगाउने उनको चाहनाको प्रकटीकरण हो। संग्रौलाले लेखेका आख्यानका पुस्तकहरूको अध्ययन गर्ने अवसर अहिलेसम्म पाउन नसकेको यी पंक्तिका लेखकको यो धारणा उनका, मुख्यत: आत्मवृत्तान्तका रूपमा लेखिएका निबन्ध/प्रबन्धहरूमा आधारति छ।
ठाउँठाउँमा झर्कोलाग्दो र सस्तो बन्न पुग्ने वर्गीय पक्षधरताको पौल भएका यस्ता निबन्धहरूका दुईवटा संग्रह पहिले नै दिइसकेका संग्रौला यस सालको प्रारम्भमा अर्को निबन्धसंग्रह लिएर आएका छन्। आफ्नै आँखाको लयमा जस्तो दूर्वोध्य र भावुक शीर्षक दिइएको यस संग्रहमा १९ थान बहुधा संस्मरणकेन्द्रित आत्मपरक निबन्धहरू संकलित छन्। संग्रौलाका निबन्धहरू पढ्दा पाठकलाई उनले लगातार उनको जीवनकहानीलाई टुक्राटुक्रामा बाँडेर सुनाइरहेको लाग्छ। पाठकलाई संग्रौला आफ्नो जन्मथलो, परिवार, आफन्त र सबैले मिलेर बनाएको एउटा विशिष्ट परविेशको स्मृति-विम्बहरूको धङधङीमा बाँचिरहेका छन् र आफ्ना निबन्धहरूका माध्यमबाट लगातार अतीतको स्वप्नबाटिकामा विचरण गर्न चाहन्छन् भन्ने कुरा पनि थाहा हुन्छ।
संग्रहमा ‘एकल जीवनका छ महिना’, ‘तराजुमा बाबुछोरा’, ‘दुई चिट्ठी’, आइरन गेट’ र ‘रेस्टिकेट’, ‘परचियहीन परचिय’जस्ता केही निबन्ध पनि छन्, जसको सार्वजनीन र सार्वभौम महत्त्वको पुष्टि हुन सजिलो छैन। यी निबन्धहरूमध्ये ‘आइरन गेट’लाई छोडेर अरूमा लेखक संग्रौला कुनै लोकपि्रय सेलिब्रिटीको अवतारमा प्रकट हुन खोजेका छन्, मानौँ जसको निजी जीवनमा हुने मसिनोभन्दा मसिनो घटनाको पनि राष्ट्रिय महत्त्व हुन्छ। अरू धेरैजसो सन्दर्भमा आफ्नो व्यक्तित्वलाई चमकदमकबाट टाढा ‘लो प्रोफाइल’मा राख्न चाहेको जस्तो देखाउने संग्रौलाले आफ्नो परिवारलाई ‘हाई प्रोफाइल’मा चित्रण गर्नेजस्ता रचनाहरू किन प्रकाशन गरेका होलान् ? पाठकले सजिलै बुझ्न सक्दैनन्।
पुस्तकमा ‘भूपी र हामी’, ‘माटो र देउराली’, ‘हातेफोनमा सुखदु:ख’जस्ता केही यस्ता निबन्ध पनि छन्, जसलाई तयार गर्दा सिद्धहस्त संग्रौलालाई साह्रै अल्छी लागेको हुँदो हो भन्ने अनुमान गर्न सकिन्छ। यी निबन्धहरूमा न केन्द्रीय कथ्यको गहिराइ छ न त बुनोट र बान्कीकै रमणीयता। संग्रौलाको निजी छाप पनि कतै छैन।
संग्रहको उत्कृष्ट निबन्धचाहिँ ‘जुन हो बेवकुफ’लाई मान्न सकिन्छ। थोरै समयका लागि लेखक संग्रौलाको गाउँको विद्यालयमा पढाउन पुगेका वामदेव पहाडी, डबल एमए, बीएलको सम्झनामा लेखिएको यो निबन्धमा संग्रौलाले आफूसँग भएको लेखकीय सीपको प्रशंसा गर्नलायक ढंगले उपयोग गरेका छन्। विवेक र ज्ञानले प्रदीप्त, अलिअलि एकोहोरो स्वभावका र क्षणो रुष्टा क्षणो तृष्टा हुने भएकाले अवोधगम्यजस्ता लाग्ने वामदेव पहाडीको व्यक्तित्वलाई एउटा सानो आलेखमा समग्रतामा वर्णन गर्न सक्नु संग्रौलाको लेखकीय क्षमताको उत्कृष्ट नमुना हो। यो समीक्षकका विचारमा नेपाली भाषामा लेखिएका थोरै सुन्दर व्यक्तिचित्रहरूको पंक्तिमा ‘जुन हो बेवकुफ’ सगर्व उभिन सक्छ।
लेखकले आफ्ना दिवंगत दाइका स्मृतिमा लेखेको ‘मेरो घाम, जो अस्तायो’ शीर्षकको निबन्ध पनि सुन्दर छ र अति नै मार्मिक पनि। तर, यसमा अभिभावकतुल्य दाइको अवसानपछि व्यथित भएको कवि हृदय भाइको भावुकतापूर्ण चीत्कार पनि मिसिइएकाले यसले ‘जुन हो बेवकुफ’ले दिने झर्रो साहित्यको आनन्द दिन सक्दैन। पाठकलाई लेखकप्रति सहानुभूतिशील भने अवश्य नै बनाउँछ यस निबन्धले। दिवंगत दाइसँग गाँसिएका सम्झनाहरूको अभिलेखन गर्ने क्रममा संग्रौलाले पूर्वी नेपालको पल्लो किराँत भेगको जनजीवनको राम्रो झल्को पनि पेस गरेका छन्। संग्रौलाले राजनीतिक रूपले एउटै कित्तामा उभिएका दुई साहित्यकार रमेश विकल र पारजिातका बारेमा लेखेका एकएक थान निबन्धलाई पनि संग्रहमा समावेश गरेका छन्। विकलका बारेमा लेखिएको लेख पढ्दा थाहा हुन्छ : संग्रौलाका मनमा विकलको साहित्यको मूल भावभूमिलाई लिएर केही गहिरा असन्तुष्टि थिए। संग्रौलाले असल साहित्यको जुन नमुना मन र मस्तिष्कको क्यानभासमा बनाएका थिए र छन्, त्यसमा विकल साहित्य कहीँ पनि फिट नहुने देखेपछि उनले रमेश विकलको सम्पूर्ण साहित्यिक उपलब्धि ‘लाहुरी भैँसी’ शीर्षकको एउटा कथामा गएर सीमित भएको निक्र्यौल निकालेका छन्। कतिपय पछिल्ला रचनाहरूका सन्दर्भमा प्रख्यात वामपन्थी साहित्यकार पारजिातप्रति पनि संग्रौला अनुदार देखिएका छन्। जीवनका अन्तिम दिनहरूमा साह्रै व्यथित, थकित र विचलित हुन पुगेकी ती अद्भुत लेखकप्रति संग्रौलाको आदर र स्नेह भने अविचलित नै रहेको देखिन्छ।
संग्रहमा खगेन्द्र संग्रौलाले खाडी मुलुक कतार भ्रमण गरेर आएपछि तयार पारेको एउटा लामो निबन्ध पनि संकलित छ : ‘कतार घुमेर’। कतारमा काम गर्न गएका नेपालीहरूमध्ये वामपन्थतिर झुकाव भएकाहरूले संगठन गरेको एउटा साहित्यिक संस्थाको निमन्त्रणामा देवकोटा जयन्तीका अवसरमा त्यहाँ पुगेका संग्रौलाले यस लेखका माध्यमबाट खाडी क्षेत्रमा श्रम बेच्न पुगेका नेपालीहरूको व्यथाकथालाई सशक्त वाणी दिएका छन्। आधा नियात्रा र आधा अखबारी न्युज फिचरजस्तो लाग्ने यस निबन्धले बर्सेनि अर्बौं डलरको रेमिट्यान्स मुलुकमा भित्र्याउने कामदार नेपालीहरूले उष्ण मरुभूमिमा के-कस्तो प्रतिकूलता भोग्नुपर्छ भन्ने कुराको मार्मिक वर्णन गर्छ। वैदेशिक रोजगारीसँग सरोकार राख्ने जिम्मेवार सरकारी अधिकारीले पढ्नैपर्ने निबन्ध हो यो।
‘स्तम्भ लेखन : एक वक्रयात्रा’मा लेखक संग्रौलाले आफ्नो अखबारी लेखनको इतिहासलाई उधिन्ने प्रयास गरेका छन्। एकताका अत्यन्त चर्चित र पाठकको एउटा विशेष वर्गद्वारा मन पराइएका स्तम्भकार रहेका खगेन्द्र संग्रौलासँग पनि, नेपालका अरू अनेकौँ स्तम्भ लेखकहरूको जस्तै आफ्ना लेखरचना कहिलेकाहीँ नकटो बनाएर छापिएको तीतो अनुभव रहेछ। लेखकका आफ्ना आग्रह हुन्छन् र हुन्छन् सम्पादकका पनि। यो कटु यथार्थका आलोकमा पढ्दा संग्रौलाको यो लेख फिक्का लाग्छ।
नेपाली भाषालाई खरो पूर्वेली लवजमा प्रस्तुत गर्न संग्रौला खप्पिस छन् र प्रायश: उनको यो प्रयोग रोचक पनि लाग्छ। तर, यस संग्रहका निबन्धहरूमा भने बहुधा यो प्रयोग निरस भएको छ। एकरूपता पनि छैन। सरल र बहुप्रचलित शब्द प्रयोग गर्दा राम्रो हुने ठाउँमा पनि शाब्दिक करतब देखाउन खोज्दा त्यसको असर फिक्का भएको पनि देखिएको छ। ‘छोराकी आमा’को भन्दा स्वाभाविक देखिने ठाउँमा यिनी ‘मातेको’ लेख्छन्, ‘मिजासिला’ भने पुग्नेमा जापानी शब्दजस्तो लाग्ने ‘सुमिजासी’ भन्छन्।
यस पुस्तकको प्रसंगमा प्रकाशन संस्था फाइन पि्रन्टका कर्ताधर्ताहरूलाई पनि खिप्न यसकारणले आवश्यक छ कि नेपालको श्रेष्ठतर साहित्य प्रकाशन बन्ने अठोटमा लागेकाहरूले निकालेको पुस्तकमा यति धेरै मुद्रण त्रुटि हुनु लाजमर्दो कुरो हो।
आफ्नै आँखाको लयमा
लेखक : खगेन्द्र संग्रौला
प्रकाशक : फाइन पि्रन्ट
मूल्य : ३०० रुपियाँ
पृष्ठ : २००+
(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क ४५२)